
२७ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरु गरेको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको कार्यान्वयन शुरु भएको छ । परियोजना अन्तर्गत आइतबारबाट काठमाडौंका विभिन्न स्थानमा एकैसाथ काम शुरु भएको हो ।
परियोजनाले टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) सँगको सहकार्यमा नारायणहिटी दरबार संग्रहालयमा १ सय जना, चन्द्रागिरीको मातातीर्थमा १ सय र शहीद स्मारक प्रकृति प्रतिष्ठान थानकोटमा ६० जना पर्यटन मजदुरहरुलाई काममा लगाइएको छ । यस्तै होटल एशोसिएसन नेपाल (हान)सँगको सहकार्यमा ४० जना बढीले काम शुरु गरेका छन् । जसअनुसार आइतबार मात्रै करिब तीन सय बढी पर्यटन क्षेत्रका श्रमिक तथा मजदूर काममा जोडिएका छन् ।
परियोजनाअन्र्तगत काठमाडौंकै कीर्तिपुर र काठमाडौं बाहिर पर्वतको जलजला, संखुवासभाको चिचिलामा करिब २ सय ५० जना श्रमिक काममा आवद्ध भएका छन् । परियोजनाले पर्यटनका विभिन्न छाता संस्थाका साथै काठमाडौमा कीर्र्तिपुर, भक्तपुरको चाँगुनारायण, मकवानपुरको थाहा, चितवनको रत्ननगर नगरपालिका ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, मुस्ताङ, पर्वत र ओखलढुङ्गाका एक÷एक गरी १० स्थानीय तहसँग सम्झौता गरी जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना शुरु गरेको छ ।
दुई वर्ष ६ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा यूएनडीपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कुल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ । विशेषगरी पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरी राहत पुर्याइने परियोजनाको लक्ष्य छ । बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप दुई हजारभन्दा बढीलाई रोजगारी दिने लक्ष्य लिएको समेत बताएको छ ।
परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (राफ्टिङ्ग) गरिने नदी, ट्रेकिङ ट्रेल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदामा क्षेत्र निर्धारण गरी पर्यटन मजदूरलाई अल्पकालीन रोजगारी दिइने बोर्डका सूचना अधिकारी तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिए ।
परियोजना अन्र्तगत पहिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अतिप्रभावित एक हजार ६०० जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाइ, पद मार्गको मर्मतसम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार, सङ्केत चिन्हको स्थापन तथा मर्मत सम्भारलगायतका कार्यमा संलग्न गराई ६४ हजार कार्य दिन (मेन डेज) बराबरको रोजगारी प्रदान गरिने लक्ष्य अनुरुप काम शुरु गरिएको बताइएको छ ।
प्रतिक्रिया 4