+
+

एक वर्षमा २,३३१ यात्रुलाई अध्यागमनले विमानस्थलबाटै फर्कायो

अच्युत पुरी अच्युत पुरी
२०७८ भदौ २८ गते १८:२३
फाइल तस्वीर

२८ भदौ, काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा अध्यागमन कार्यालयले साढे दुई हजार यात्रुलाई विमानस्थलबाटै फिर्ता पठाएको छ । आर्थिक वर्ष २०७७/७८ मा आवश्यक प्रक्रिया पूरा नगरी विदेश प्रस्थान गर्न लागेका २ हजार ३३१ जना यात्रुलाई नेपालबाट प्रस्थान अनुमति नदिई फिर्ता (अफलोड) गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार भिसा नभएको, यात्रासँग सम्बन्धी कागजात शंकास्पद देखिएको, वैदेशिक रोजगारीमा जानेको हकमा श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा कम भएको जस्ता कारण देखिएमा प्रस्थान अनुमति दिँइदैन ।

एक पटक प्रस्थान अनुमति नपाएका यात्रुले आवश्यक कागजात पूरा गरी पुनः आएमा भने दिने गरिएको छ । कार्यालयका अनुसार पछिल्लो एक वर्षमा श्रम स्वीकृति नलिएको वा श्रम स्वीकृतिको म्याद नाघेका कारण कतिपय यात्रु फर्कनु परेको थियो । गन्तव्य मुलुकको भिसा नै नभएका यात्रु समेत फिर्ता पठाइएको छ ।

भारत जाने भनेर तेस्रो मुलुक जान खोज्ने समेत फिर्ता

यो अवधिमा केही यात्रुले भारत जाने भनेर कागजात पेश गर्ने तर, उनीहरु भारतको बाटो हुँदै तेस्रो मुलुक जाने गरेको समेत देखिएको छ । खासगरी नेपालबाट प्रस्थान अनुमति नदिइएका मुलुकमा गैरकानूनी रुपमा जाने यात्रुहरु विदेशमा जोखिममा पर्ने गरेका छन् ।

कतिपय यात्रुको यात्रासँग सम्बन्धित कागजात नै शंकास्पद लागेपछि फिर्ता गरिएको कार्यालयले जनाएको छ । अर्कोतर्फ पहिलो पटक नेपाल हुँदै तेस्रो मुलुक प्रस्थान गर्न ठूलो संख्यामा भारतीय यात्रु आएका थिए । उनीहरुलाई भारतीय दूतावासबाट सिफारिस पत्र मागिएको थियो । त्यसरी सिफारिस ल्याउन नसकेका यात्रु समेत विमानस्थलबाटै फर्काइएको थियो ।

भ्रमण भिसामा जाने यात्रुको साथमा तोकिए अनुसार विदेशी मुद्रा नभएको, होटेल बुकिङ वा बस्ने स्थानको जानकारी नभएको अवस्थामा समेत यात्रुलाई फिर्ता गरिएको छ । अध्ययन भिसामा जानेको हकमा शिक्षा मन्त्रालयको एनओसी नभएका यात्रुलाई समेत यात्रा गर्न नदिइएको कार्यालयको भनाइ छ । भ्रमणको उद्देश्य स्पष्ट नभएको वा प्रष्ट पार्न नसकेका यात्रु समेत फर्किएका थिए । कोभिड–१९ को संक्रमणका कारण गन्तव्य मुलुकले प्रवेशका लागि विशेष व्यवस्था गरेकोमा त्यो पूरा नगरेका यात्रुलाई समेत विमानस्थलबाट घर पठाइएको अध्यागमन कार्यालयले जानकारी गराएको छ ।

३२ जनालाई नेपाल छिर्न रोक

विमानस्थलसम्म आएका ३२ जनालाई भने यो वर्ष नेपाल छिर्न रोक लगाइएको छ । आर्थिक वर्ष २०७७/७८ मा विभिन्न मुलुकबाट विमानस्थलसम्म आएका ३२ जना यात्रुलाई सम्बन्धित मुलुकमा फिर्ता पठाइएको कार्यालयको तथ्यांकमा उल्लेख छ । राहदानी र भिसा शंकास्पद देखिएका यात्रुले नेपालमा अनुमति पाएका छैनन् ।

अध्यागमन कार्यालयमा जडित इन्टरपोलको डाटाबेसमा रहेको अभिलेखका आधारमा खोजी सूचीमा रहेका यात्रुलाई समेत नेपालमा छिर्न अनुमति दिइएको छैन । यस्तो सूचीमा आपराधिक पृष्ठभूमि थाहा भएका व्यक्ति समेत रहेको कार्यालयले जनाएको छ ।

४३० नेपालीलाई अन्य मुलुकले गरे फिर्ता

यो वर्ष नेपालको विमानस्थलबाट विदेश प्रस्थान गरेका ४३० जना नेपालीलाई भने सम्बन्धित मुलुकले प्रवेश दिएनन् । उनीहरुलाई गन्तव्य मुलुकको अध्यागमनले नेपाल फिर्ता गरेको छ । अध्यागमन कार्यालयका अनुसार अगमन अनुमति नपाई पुगेका, सम्बन्धित मुलुकको कानून विपरीत कार्यमा संलग्न भएका, भिसाको समयभन्दा बढी लुकेर बसेका, खाडीमा भिसाको म्याद सकिएपछि पनि काम गरिरहेका नेपालीलाई सम्बन्धित मुलुकले फिर्ता पठाएका हुन् । यो सूचीमा गैरकानूनी बाटोबाट लुकिछिपी विदेश पुगेका नेपाली समेत छन् ।

नेपाल फिर्ता पठाइएका नागरिकमा काठमाडौंस्थित अध्यागमनले प्रस्थान अनुमति दिएका नागरिक समेत छन् । यसरी विमानस्थलबाटै फिर्ता पठाइएका व्यक्तिले भ्रमणको उद्देश्य स्पष्ट गर्न नसक्नु, बस्ने व्यवस्थाबारे बताउन नसक्नु, सम्बन्धित मुलुकले कालोसूचीमा राख्नु र कोभिड–१९ सँग सम्बन्धित मापदण्ड पालना गर्न नसकेको कारणलाई आधार बनाइएको छ ।

कोभिडका कारण यात्रामा सास्ती

विभागको आँकडाअनुसार आव २०७७/७८ मा कोभिड–१९ र यसको रोकथामका लागि मुलुकहरुले लगाएको कडा प्रावधानका कारण यात्रामा सास्ती भोग्नु परेको देखिएको छ । खासगरी तोकिएका मापदण्ड पूरा गर्न नसकेको भन्दै यात्रुले विमानस्थल पुगेर समेत फिर्ता हुनु परेको छ ।

यो वर्ष कुल ६८ हजार १ सय ८१ जना विदेशी र ४ लाख १४ हजार ४ सय ५० जना नेपाली त्रिभुवन विमानस्थल हुँदै नेपाल आएका छन् । नेपालबाट भने ७० हजार ३ सय ८ जना विदेशी र ३ लाख ४ हजार १ सय ९९ जना नेपाली विदेशिएको तथ्यांकले देखिएको छ । एक वर्षको अवधिमा नेपालमा १७१ वटा मुलुकका नागरिकले आवतजावत गरेको अध्यागमन कार्यालयको आँकडामा देखिएको छ ।

तथ्यांकमा यात्रु

नेपाल आएका : ४,८२,६३१ (विदेशी : ६८,१८१)

नेपालबाट बाहिरिएका : ३,७४,५०७ (विदेशी : ७०,३०८)

नेपालले प्रस्थान अनुमति नदिएको : २,३३१

नेपालमा प्रवेश अनुमति नदिएको : ३२

अन्य मुलुकले फिर्ता गरेका नेपाली : ४९३

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?