 
																			२९ भदौ, काठमाडौं । बागबजारको भक्तपुर बसपार्कबाट भित्र छिर्दा एउटा अँधेरो गल्ली भेटिन्छ । त्यही गल्लीको एक पुरानो घरमा ‘बाल उदय’को कार्यालय छ । त्यहाँ हलजस्तो कोठामा बालपुस्तक, चित्रकला र पत्रिकाहरू राखिएका छन् ।
कार्यालयमा बालपत्रिका प्रकाशन र सिकाइ संस्कृति विकासको सपना बोकेर चार वर्षदेखि संघर्षरत नरेन्द्रकुमार नगरकोटी (३७) भेटिन्छन् । उनले बाल-उदय नामक मासिक बालपत्रिका प्रकाशन गर्दै आएका थिए । २०७५ पुषमा पहिलो अंक प्रकाशित भएको बाल-उदय छोटो समयमै बालबालिकामाझ लोकप्रिय बन्दै थियो । तर लकडाउनपछि चरम आर्थिक संकटले गर्दा यो पत्रिका आठ अंक प्रकाशन हुन नपाउँदै रोकिन पुगेको छ ।
झट्ट हेर्दा, सानो आकारको पत्रिका भए पनि बाल उदय प्रकाशनको अन्तरकथा संघर्षपूर्ण छ ।
२०७० सम्म नरेन्द्र काभ्रेपलाञ्चोक जिल्लामा शिक्षण पेशा गर्दथे । साहित्यमा पनि सक्रिय उनलाई स्कुलमा कार्यरत रहँदा नै बालबालिकालाई मात्रै लक्षित गरी बालपत्रिका प्रकाशन गर्ने रहर थियो ।
तर निजी स्कुलले नाफा नहुने काम भनेर नरेन्द्रको योजनामा साथ दिएन । यसपछि उनी आफ्नै बलबुताले देशभरिको प्रतिनिधित्व गर्ने राष्ट्रिय स्तरको बालपत्रिका प्रकाशन गर्न अघि बढे ।
बालपत्रिकाकै लागि शिक्षक तालिम, लेखन सम्पादनदेखि अन्य काम गर्दै लगानी जुटाउन खोजे । यद्यपि पत्रिका प्रकाशन गर्ने रकम जुटाउन निकै मुस्किल भयो ।
‘अति सामान्य हिसाबले पत्रिका प्रकाशन गर्दा पनि सुरूमै पाँच-छ लाख रूपैयाँ चाहिन्छ’ नरेन्द्र सुनाउँछन्, ‘त्यति रकम र पत्रिकाको टिम जुटाउन पनि दुई वर्षभन्दा बढी लाग्यो ।’
अन्ततः साथीभाइ र केही अग्रजहरूको सहयोगमा उनले पैसाको जोहो गरी पत्रिकाको नाम सूचना विभागमा दर्ता गराए । यसपछि तीन महिनाको दैनिक तयारी गर्दै २०७५ पुषमा बाल उदयको पहिलो अंक प्रकाशित गराए । ५० रूपैयाँ मूल्य रहेको यो रंगीन पत्रिका ग्लसी पेपरमा (चिल्लो कागज) प्रकाशित हुँदै आएको थियो ।
पत्रिका उत्पादनको खर्चभन्दा धेरै कम मूल्य थियो पत्रिकाको । यसका लागि सहयोग जुट्नेमा उनको विश्वास थियो । त्यसैले उनले बालबालिकालाई असर पर्ने खालका विज्ञापन प्रकाशन नगर्ने घोषणा गरे पहिलो अंकमै ।
सुरूमा नरेन्द्रले सोचेका थिए, राजधानीमा बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारीदेखि गैरसरकारी संस्था धेरै छन् । स्तरिय बालपत्रिका प्रकाशन गर्न सक्यो भने तिनले सहयोग गर्छन् ।
तर परिवेश उनले सोचेभन्दा ठीक विपरित भइदियो । पत्रिका पाँच अंक प्रकाशित भइसक्दा पनि उनले कहीँ-कतैबाट उल्लेख्य सहयोग पाएनन् । बरू प्रत्येक अंक प्रकाशन गर्दा उनको मासिक चार लाख रूपैयाँ खर्च भइरहृयो ।
‘बालबालिका र शिक्षा क्षेत्रमा काम गर्ने दर्जनौं संस्थासँग हामीले कुरा गर्यौं’ नरेन्द्र सुनाउँछन्, ‘भेट्दा सबैले राम्रो पत्रिका निकाल्नुभएछ भनेर प्रशंसा गरे तर सहयोग गर्नेबेला भने पछि हटे ।’

सहायता गर्नेहरू पछि हटे पनि नरेन्द्र पछि हटेनन् । साथीभाइसँग सहयोग माग्दै र ऋण काढेरै पत्रिकाको सातौं अंक प्रकाशित गरे । आजको दिनसम्म आइपुग्न प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने देश विदेशका बाल उदयका सदस्य, सहकर्मी र सहयोगी व्यक्ति एवम् संस्थाहरूको सहायता भुल्दैनन् ।
पत्रिका सञ्चालन गर्ने क्रममै उनले कम्प्युटर तथा कार्यालय स्थापना गर्न सहकारीबाट ऋण लिए । कतिसम्म भने आफूले शिक्षक तालिमबाट कमाएको पैसासमेत उनी प्रेसमा बुझाउँथे । तर सात अंकपछि भने उनलाई आर्थिक स्रोत जुटाउन हम्मेहम्मे पर्यो ।
उनी सुनाउँछन्, ‘सुरुमा मलाई प्रेसका लागि चाहिने पैसा जुटाएमात्र पुग्छ भन्ने लागेको थियो । एउटा अंक निकाल्दा अर्को अंक प्रकाशनको आधार बनाउन सकिन्छ भन्ने लागेको थियो । तर डिजाइनर, चित्रकार, वितरक, कर्मचारी सबैलाई नियमित पैसा दिनुपर्दा आर्थिक भार बढ्दै गयो ।’
पत्रिकाले गति लिन नसकेपछि बाल उदय समूह बालपुस्तक सिफारिसतर्फ केन्द्रीत भयो । रूचि, उमेर र आवश्यकताका आधारमा उपयुक्त किताब सिफारिस गर्ने काम अहिले पनि जारी छ । बालपत्रिका जति प्रभावकारी पुस्तक वितरणको काम नहुने रहेछ भन्ने बोध भयो ।
‘पत्रिकाले पाठकसँग दोहोरो अन्तरक्रिया गराउने रहेछ’ नरेन्द्र भन्छन्, ‘एक अंकमा मन नपरेको कुराको अर्को अंकमा प्रतिक्रिया लेख्न पनि पाइन्छ ।’
अहिले नरेन्द्र र बाल उदयको टोली डिजिटल बाल उदयको अभ्यासमा केन्द्रित छ । उनीहरूले बाल उदय पत्रिकाको अन्तरक्रियात्मक मोबाइल एप्लिकेसन सार्वजनिक गरिसकेका छन् भने वेभसाइटको काम अन्तिम चरणमा छ । यद्यपि चित्रकला, गीत, कथा, कविता र रोचक जानकारीले भरिपूर्ण पत्रिकाजस्तो डिजिटल माध्यम नबन्ने ठहर गर्दै पत्रिका प्रकाशन पुनः सुरू गर्ने लक्ष्य राखेका छन् ।
बालबालिका जहाँ छन् त्यहीँ हामी पुग्नुपर्छ भन्ने मान्यतामा अहिलेको समयमा डिजिटल बाल उदयमार्फत पनि पुस्तक पठन संस्कृतिमै जोड दिएर स्कुलहरूसँग सहकार्य गर्दै बालबालिकासँग काम गर्दै छन् उनीहरू ।
‘सक्रिन एडिक्सन हटाउनुपर्छ’

कोरोना महामारीपछि सरकारले नै विद्यालयहरूलाई अनलाइन कक्षाबाट पढाउनू भन्ने सूचना जारी गर्यो । यो सँगै बालबालिकाको अधिकांश समय मोबाइल र ल्यापटपमै बित्ने गरेको देखिन्छ । यसलाई ‘स्क्रिन एडिक्सन’ अर्थात् स्क्रिनमै मात्र झुम्मिने लतको संज्ञा दिइन्छ ।
नरेन्द्रका अनुसार बालिकालिकालाई सकेसम्म स्क्रिनबाट टाढा राख्नुपर्नेमा प्रत्येक दिन ग्याजेटमै व्यस्त बनाउनु हानिकारक हो ।
‘स्वास्थ्य र सिकाइ दुवै दृष्टीकोणबाट बालबालिकालाई स्क्रिन घातक छ भन्ने कुरा अनुसन्धानबाट पुष्टि भइसकेको छ’ उनी भन्छन्, ‘यही कारण चित्रकला, पुस्तक र खेलकुदजस्तै सिकाइको लागि बालपत्रिका र यसको सिकाइ अभियान पनि अनिवार्य हुन्छ ।’
बालबालिकाको स्वास्थ्य र सिकाइमा परेको असरबाट उनी चिन्तित छन् । आफूले चिनेजानेका विद्यालयका पि्रन्सिललाई फोन गरेर सकेसम्म अन्तरकि्रयात्मक अनलाइन कक्षा लिन पनि सुझाव दिएका छन् उनले । यस्तै सामाजिक सञ्जालमार्फत् बालबालिकालाई पठनतर्फ कसरी आकषिर्त गर्नेबारे रचनात्मक सुझावहरू लेखिरहेका हुन्छन् ।
छैन बालपत्रिका संरक्षणको संयन्त्र
बालसाहित्यका अनुसन्धाता प्रमोद प्रधानको ‘नेपाली बालसाहित्यको इतिहास’ पुस्तकका अनुसार सन् १९४९मा सुनकेशरी प्रधानको र पारसमणि प्रधानको प्रकाशनमा दार्जिलिङबाट निस्किएको ‘शिक्षा’ नै नेपाली भाषाको पहिलो बालपत्रिका हो ।
यता बालसखा दल समूहले धनमायासिंह परियारको प्रधान सम्पादकत्वमा २००८ मा प्रकाशित गरेको ‘बालसखा’ नै नेपाली भाषामा निस्किएको दोस्रो र नेपालबाट निस्किएको पहिलो बालपत्रिका रहेको उक्त पुस्तकमा उल्लेख छ । ‘शिक्षा’ ४ अंक प्रकाशित भएर बन्द भयो भने नेपालबाटै प्रकाशित ‘बालसखा’ ६ अंकपछि बन्द भयो ।
कुनैबेला राजधानीबाहिरका झापा, कञ्चनपुर, नवलपरासी, सुर्खेत, बारालगायत सहरबाट पनि बालपत्रिका छापिन्थे । यद्यपि कुनै पनि बालपत्रिकाले निरन्तरता पाउन सकेकको देखिँदैन । यसरी हेर्दा नेपालका बालपत्रिकाहरू बन्द हुने र खुल्ने क्रम निरन्तर चलिरहेको बताउँछन् प्रमोद प्रधान ।
प्रधान भन्छन्, ‘राज्य तहबाट पनि बालपत्रिको क्षेत्रमा ठोस काम भएको छैन । यस्तै नीजि क्षेत्रले पनि दिर्घकालीन प्रभाव पार्नेगरी बालपत्रिका प्रकाशन गरेको छैन ।’
बालपत्रिकाले निरन्तरता पाउन नसक्नुको पहिलो र मुख्य कारण नै आर्थिक संकट भएको बताउँछन् प्रधानको अनुभव छ ।
अहिले नेपाल प्रज्ञा प्रतिष्ठानले अर्धवाषिर्क रूपमा ‘बालप्रज्ञा’ नामक पत्रिका प्रकाशन गर्दै आएको छ । तर छ महिनामा एकचोटी निस्कने र कमजोर वितरण प्रणालीका कारण यो बालबालिकासम्म पुग्न सकेको छैन । गोरखापत्र संस्थानको मासिक बालपत्रिका ‘मुना’ नियमित प्रकाशन भइरहे पनि निकै कम संख्यामा प्रकाशति हुने गोरखापत्र स्रोत बताउँछ । वाषिर्क ग्राहकहरूलाई बढी लक्षित गरी मुना प्रकाशन हुने गरेको छ ।
प्रज्ञा प्रतिष्ठानमात्र होइन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा शिक्षा मन्त्रालयले पनि बालपत्रिकाको विकासको लागि काम गरेको पाइँदैन ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4