+
+

लयमा रोहित, लगातार दुई अर्धशतकको कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते ११:१०

२९ भदौ, काठमाडौं । युवक ब्याट्सम्यान रोहितकुमार पौडेलले ओमान टुरमा गजज्बकै ब्याटिङ गरिरहेका छन् । नेपालले पपुवा न्यु गिनीसँग दुई ओडीआई म्याच र क्रिकेट विश्वकप लिग २ को सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध जित हासिल गर्दा रोहितले उत्कृष्ट ब्याटिङ गरे ।

दुई खेलमा नटआउट रहेका उनले दुई खेलमा अर्धशतक प्रहार गरे । उपकप्तान दीपेन्द्र सिंह ऐरी ओमान पुगेर अभ्यासका क्रममा घाइते हुँदै सिरिज खेल्न नसक्ने भएपछि रोहितले चौथो नम्बरमा ब्याटिङ गरिरहेका छन् ।

ओमान टुरमा उनले व्यक्तिगत कीर्तिमानसमेत बनाइरहेका छन् । यस्तै नेपालको तर्फबाट सर्वाधिक साझेदारीमा पनि उनले कीर्तिमान बनाइसके ।

सन् २०२० मा नेपालमै भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग खेलेपछि उनले सिरिजको बाँकी तीन खेल खेल्न पाएनन् । त्यसपछि टी२० टिमबाट पनि ड्रप भएका थिए ।

तर निरन्तर मिहिनेत र कडा परिश्रमपछि उनी टिममा फर्किए । अहिले उनले प्रदर्शनबाट आफूलाई प्रमाणित गरिरहेका छन् ।

सोमबार नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गर्दा रोहितले ओडीआई क्रिकेटमा दुई नयाँ कीर्तिमान बनाए । रोहितले अमेरिकासँग अविजित ६२ रन बनाएका थिए । रोहितले ८७ बलमा २ चौका र ३ छक्का प्रहार गरेका थिए ।

ओडीआईमा नेपालका लागि सर्वाधिक तीन अर्धशतक प्रहार गर्ने रोहित पहिलो खेलाडी बने । यस्तै ओडीआईमा लगातार दुई अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । रोहितले यसअघि पिएनजीविरुद्धको दोस्रो खेलमा ८६ रन बनाएका थिए ।

रोहितले लगातार दुई अर्धशतकको कीर्तिमानबारे सुरुमा थाहा नभएको बताए । ‘सुरुमा मलाई कीर्तिमान बारे थाहा थिएन । पछि थाहा भएपछि खुशी लाग्यो ।’

अमेरिका विरुद्ध अविजित रहँदै जित दिलाएपछि रोहितले प्रदर्शनबाट खुशी भएपछि अझै सुधार गर्न सकिने बताए । ‘प्रदर्शनबाट खुशी छु । अझै सुधार गर्न सकिन्छ । सुरुमा अलि स्लो भयो । रोटेट गर्न सकेको भए गेम चाँडै सकिन्थ्यो होला,’ रोहितले खेलपछि भने, ‘सुरुमा रन स्कोर नहुँदा प्रेसर फिल भइराथ्यो । तर आफूलाई होल्ड गर्ने खेल्ने भन्ने सन्देश आइरहेको थियो । अनी विकेट नफाली गेम फिनिस गर्ने ।’

रोहितले यसअघि युएईसँगको सिरिजको दोस्रो खेलमा ५५ रन बनाउँदै पहिलो ओडीआई अर्धशतक बनाएका थिए । त्यसबेला उनी ओडीआईमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी बनेका थिए । तर पछि २०२० मा नेपालमै भएको लिग २ सिरिजमा नेपालका कुशल मल्लले नै रोहितको कीर्तिमान तोडे ।

अहिलेसम्म नेपालबाट पूर्व कप्तान पारस खड्काले एक शतक र एक अर्धशतक प्रहार गरेका छन् वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले दुई अर्धशतक प्रहार गरेका छन् । त्यसबाहेक अरु ६ खेलाडीले एक-एक अर्धशतक प्रहार गरेका छन् । रोहित तीन अर्धशतक प्रहार गर्ने एक्ला नेपाली खेलाडी हुन् । अहिलेसम्म नेपालबाट ओडीआईमा ५० रनको आँकडा कटाउने ९ खेलाडी छन् । सोमपाल कामी, सुवास खकुरेल, शरद भेषावकर, कुशल मल्ल, विनोद भण्डारी र कुशल भुर्तेलले समान १ अर्धशतक प्रहार गरेका छन् ।

सिरिजअघि पीएनजीविरुद्ध दुवै खेलमा नेपालको जितमा उत्कृष्ट प्रदर्शन गरेका रोहितले अमेरिका विरुद्ध पनि उक्त लयलाई कायम राखे ।

रोहितले पीएनजीविरुद्धको खेलमा कप्तान ज्ञानेन्द्र मल्लसँग तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गर्दै सर्वाधिक रनको साझेदारीको कीर्तिमान पनि बनाएका थिए । नेपालबाट ओडीआईमा भएको तीन अर्धशतकीय साझेदारीमा रोहित समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?