
२९ भदौ, चितवन । चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीले अहिलेसम्म कोभिड भत्ता पाउन सकेका छैनन् । कोभिडको दोस्रो लहरसँगै गत वैशाखदेखि अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याए पनि अहिलेसम्म भत्ता भने वितरण गरेको छैन ।
स्थानीयतहका कर्मचारीले समेत कोभिड भत्ता लिने गरेको तर आफूहरु कोभिडमा नै काम गरेर पनि अहिलेसम्म जोखिम भत्ता नपाएको अस्पतालमा कार्यरत एक नर्सले गुनासो गरिन् । उनले भनिन्, ‘दूधे बच्चा छाडेर कोभिड वार्डमा काम गरियो, तर प्रोत्साहन स्वरुप पाउनु पर्ने भत्ता समेत अस्पतालले दिएन ।’
अस्पतालमा कोभिड वार्ड हेर्दै आएका डा. गुरुशरण साहले हालसम्म कोभिडमा काम गर्ने कसैले पनि भत्ता नपाएको बताए । डा. साहका अनुसार अस्पतालको मेडिकल विभागका चिकित्सकहरु र २० भन्दा बढी मेडिकल अफिसरहरुले कोभिड वार्डमा आलोपालो काम गर्दै आएका छन् ।
नर्सिङ स्टाफहरूले पनि आलोपालो कोभिड वार्डमा काम गर्दै आएका छन् । जोखिम मोलेर काम गरेको भएपनि हालसम्म कोभिड भत्ता नपाएको गुनासो उनीहरुको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले सरकारले पर्याप्त बजेट नपठाउँदा भत्ता वितरणमा समस्या भएको बताए । उनले अस्पतालको सञ्चालक समितिको बैठकले निर्णय गरेर छिट्टै भत्ता वितरण गरिने जानकारी दिए ।
‘कोभिडमा काम गरेकाहरुको पहिचान गरी एउटा मापदण्ड बनाएर कोभिड भत्ता वितरण गर्छौं,’ डा. गौतमले भने, ‘कोभिड भनेपछि भाग्ने तर भत्ता चाहिनेहरू पनि छन्। हामीले कोभिडमै कामहरूलाई मात्रै पाउने गरी भत्ता वितरण गर्ने तयारी गरेका छौं ।’ कोभिडका लागि १४० बेड छुट्टाएको अस्पतालमा अहिले एक जनामात्रै कोभिडका बिरामी छन् ।
कोभिडमा काम गरेकाहरु को-को हुन्, उनीहरुको तलब कति हो ? त्यसको अध्ययन भइरहेको निर्देशक गौतमको भनाइ छ । नेपाल सरकारले तलबको पचास प्रतिशत भत्ता दिने निर्णय गरेको जानकारी दिंदै उनले भने, ‘नेपाल सरकारको तलब र हाम्रोमा पाउने तलब फरक छ । तलबको पचास प्रतिशत भत्ता दिंदा सरकारले दिएको बजेटले पुग्दैन। कति प्रतिशतका आधारमा दिने भन्ने निर्णय गरेपछि भत्ता विवरण गर्छौं ।’
प्रतिक्रिया 4