+
+

ओमानलाई नेपालको १९७ रनको लक्ष्य, आसिफले जोडे ९० रन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते २०:००

२९ भदौ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानलाई १९७ रनको लक्ष्य दिएको छ ।

मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १९६ रन बनाएको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रन बनाए । पहिलो ओडीआई अर्धशतक बनाउने क्रममा उनले ११२ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१, रोहित पौडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सोमबार अमेरिकाविरुद्ध नेपालको जितमा सर्वाधिक रन बनाएका ओपनर कुशल भुर्तेल ओमान विरुद्ध खाता नखोली आउट भए । भुर्तेललाई ओमनका बिलाल खानले पहिलो ओभरको दोस्रो बलमै विकेटकिपर सुरज कुमारबाट क्याचआउट गराए ।

त्यसपछि आसिफ र कप्तान ज्ञानेन्द्रले नेपालको इनिङ्स सम्हाल्दै दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । तर ज्ञानेन्द्र १२ औं ओभरमा आउट भएपछि नेपालले एक छेउबाट विकेट गुमाउने क्रम जारी रह्यो । ज्ञानेन्द्र २१ रन बनाएर आउट भए । त्यसअघि आएका रोहितकुमार पौडेल पनि धेरै बेर क्रिजमा टिकेनन् । उनी २० रन बनाएर आउट भए । आसिफ र रोहितले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरे ।

आसिफले एक छेउबाट इनिङ्सलाई होल्ड गरेपनि अर्को छेउबाट निरन्तर विकेट गुमेपछि नेपालले पूरा इनिङ्स समेत ब्याटिङ गर्न सकेन । शतकतर्फ अग्रसर भइरहेका बेला आसिफलाई ३६ औं ओभरमा बिलाल खानले बोल्ड गरे । विनोद भण्डारी ६, सोमपाल कामी ७, कुशल मल्ल ४ र विक्रम सोब २ रनमा आउट भए ।

१५६ रन जोड्दा ८ विकेट गुमाएपछि सन्दीप लामिछाने र करण केसीले नेपालको इनिङ्सलाई सम्हाल्ने प्रयास गरे । तर ४० औं ओभरको अन्तिम बलमा ओमानका सन्दीप गौडले नेपालका सन्दीप लामिछानेलाई रनआउट गरे । उनले १० बल खेल्दै १ छक्का र १ चौका मद्दतमा १६ रन जोडे ।

१७३ मा ९ विकेट गुमेपछि करण केसीले नेपालको इनिङ्सलाई होल्ड गरिरहेका थिए । तर ४८ औं ओभरको चौबलमा करण आउट भएपछि नेपालको इनिङ्स १४ बल अगावै सकिएको हो ।

ओमानका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै १ मेड राखेर ४७ रन खर्चिए । यस्तै डेब्युटान्ट नेस्टोर धाम्बाले ५ ओभर बलिङ गर्दै २५ रन खर्चेर २ विकेट लिए । कप्तान जिसान मक्सुद र मोहम्मद नदिमले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?