+
+
इलम :

बेलुनले बदलेको जीवन-कथा

नुनुता राई नुनुता राई
२०७८ भदौ ३१ गते ९:०५

‘बेलुनमा हावा भरेर पनि पैसा कमाइन्छ !’

यस्तो कुरा गर्दा शुरूमा त साथीभाइले जीवन श्रेष्ठलाई ‘हावामा उडाइदिए ।’ तर यो उनको उपदेश होइन उदाहरण थियो । किनभने उनले यो काम गरेरै देखाइदिए ।

शहरमा हुने कुनै सभा-समारोहदेखि, बिहे-भोजसम्म उनी बेलुनको सजाउने गर्छन् । र, यसबाट मनग्ये आम्दानी पनि । बेलुन फुलाउने र सजाउने कामका लागि १० जनालाई रोजगारी दिएका छन् ।

हरेक दिन कम्तीमा दुई वटासम्म पार्टीको लागि रङ्गीन बेलुनले कार्यक्रम स्थल सजाउने गरेका छन् जीवन श्रेष्ठले । उनले यसरी काम गर्न थालेको करीब पाँच वर्ष भयो । उनी कसरी ग्राहकको रोजाइका व्यस्त बेलुन आर्टिस्ट बने भन्ने बुझ्न भने करीब ९ वर्ष अगाडि फर्कनुपर्छ ।

सेनाको जागिर छाडेर वैदेशिक रोजगारी

जीवन पूर्व नेपाली सेना हुन् । सेनामा छँदा परिवारको आवश्यकता पूरा गर्न नसक्ने अवस्था भएपछि उनले सेनाबाट राजीनामा दिए । त्यसपछि विदेश गएर पैसा धेरै कमाएर परिवारको आधारभूत आवश्यकता पूरा गर्ने सपना देखे । २०६१ सालमा सेनामा भर्ती भएका जीवनले २०६६ सालमा राजीनामा दिएर वैदेशिक रोजगारीमा जाने तयारी थाले ।


तर एक वर्षसम्म जीवन वैदेशिक रोजगारीमा जान सकेनन् । त्यसले उनलाई निकै हतास बनायो । ‘सबै समस्या विदेश गएपछि समाधान हुन्छ भन्ने थियो तर जानै नसकेपछि समाजले कुरा काट्न थाले । म निकै हतास भएको थिएँ ।’ उनी त्यसबेलाको परिस्थितिलाई सम्झँदै भन्छन्, ‘अब जसरी हुन्छ यो समाजबाट लुक्नलाई पनि विदेश जानुपर्छ भन्ने लाग्न थाल्यो । बल्ल एक वर्षपछि वेटरको काम गर्नका लागि साउदी गएँ ।’

जीवन साउदी पुगेपछिको कामबाट सन्तुष्ट भएनन् । केही समय काम गरेपछि उनले फरक काम खोज्न थाले ।

बेलुनमा हावा भर्ने काम

खान-लाउन नपुगेपछि जीवन श्रेष्ठ आर्मीको जागिर छाडेर वैदेशिक रोजगारीमा गए । त्यहाँ उनको काम थियो, बेलुन फुक्ने । स्वदेश फर्किएपछि उनले यसैमा आफ्नो कर्म खोज्ने निधो गरे

केही समय रोजगारविहीन भएपछि इभेन्ट कम्पनीमा बेलुन फुलाउने काम पाउने भए । नेपालमा मुखले हावा भरेर बेलुन फुलाएको देखेका जीवनलाई त्यो रात निद्रै परेन । हाँस्दै सम्झन्छन्, ‘मलाई रातभर भोलि मुखले कति बेलुनमा हावा भर्न सक्छु होला भन्ने पीर लागिरहृयो ।’

कार्यस्थलमा पुगेपछि थाहा पाए हावा भर्ने पम्प हुने रहेछ भन्ने । त्यसपछि ढुक्कले काम गरे । काम गर्दै, सिक्दै गए । त्यो कामले उनलाई आत्मसन्तुष्टि दिन थाल्यो । करीब साढे तीन वर्ष काम गरेपछि नेपालमा नै काम गर्ने सोच बनाएर फर्के । सुनसरीको इनरुवा घर भएका जीवन केही समय काठमाडौंमा बसेर योजना बनाएर घर गए । तर योजना बनाए अनुसार हुन सकेन । जम्मा गरेको अलिकति रकम पनि सकियो ।

लगानी गर्ने पैसा पनि भएन । उनले आफूले गर्ने काम अगाडि बढाउने उपाय देखेनन् । फेरि विदेश नै जाने निर्णय गरे । बेलुन आर्टिस्टको रूपमा कुबेत गए । त्यहाँ बिहे, जन्मदिन, बिहे वाषिर्की, वेबी सावर लगायत कार्यक्रममा भव्य बेलुन सजावट हुन्थ्यो । १५ महीना काम गरेपछि बेलुन आर्टिस्टको भविष्य नेपालमै राम्रो देखेका उनी २०७४ सालमा स्वदेश फर्किए ।

रंगीन बेलुनमा जब मान्छेको खुशी देखे

नेपाल आउँदा अरू सामान नलिई सुट्केश भरी रङ्गीचङ्गी बेलुन लिएर आए । बसपार्क, कलंकी, रत्नपार्क, सुन्धारा लगायत स्थानमा कुबेतबाट ल्याएको बेलुन फुलाएर निःशुल्क बाँडे ।

‘रङ्गीन बेलुन देखेर मानिसको मुहारमा आउने खुशी राम्ररी नियाले । विभिन्न आकार, प्रकारमा पाइने बेलुनप्रतिको मानिसको लगाव बुझे । विभिन्न कार्यक्रममा बेलुनको प्रयोग हुन थालेको थियो । तर बेलुन आर्टिस्ट नेपाली भएको उनले भेटेनन् । त्यसबेला भारतीय, बंगाली बेलुन आर्टिस्टहरू मात्रै भेटेको बताउँछन् ।

त्यसपछि विभिन्न स्थानमा लाग्ने मेलाहरूमा गएर बेलुन बेच्न थाले । धरान, विराटनगर, उपत्यकाका विभिन्न स्थानमा लाग्ने मेलामा गएपछि उनले अब चाहिं यसैमा भविष्य बनाउने निधो गरेर परिवार, आफन्तलाई योजना सुनाए ।

आफैंले फुकेका बेलुनले सजाएको पार्कमा जीवन श्रेष्ठ ।

बेलुनमा हावा भरेर पैसा कमाइन्छ !

तर जीवनको उत्साह मिश्रति योजनालाई कसैले पत्याएनन् । ‘बेलुनमा हावा भरेर पनि पैसा कमाइन्छ’ भनेर उडाए । तर उनी दृढ भएर काम गर्न थाले । चिनजानका सबैलाई आफ्नो कामबारे जानकारी दिए ।

शुुरूमा बेलुन सजावटको लागि काम नपाउने बुझेका उनले चाबहिलमा किराना पसल पनि खोले । भन्छन्, ‘जीवन चलाउनको लागि केही समय गाह्रो हुने बुझेर चाबहिलमा किराना पसल पनि खोलें । तर किराना पसलबारे केही आइडिया नहुँदा डुब्यो ।’

संयोगवश रामेछाप र लमजुङस्थित आर्मी ब्यारेकमा वार्षिकी कार्यक्रमको लागि बेलुन सजावटको काम पाए । त्यसपछि विस्तारै काम पाउन थाले । उनले गरेको कामहरूको फोटो सामाजिक सञ्जालमा राखे । फेसबुक पेज बनाए । विस्तारै काम बढ्दै गयो ।

बेलुनले बदलेको जीवन

चाबहिलमा बेलुन पार्टी शप नाम दिएर जीवन एक्लैले शुरू गरेको कामको माग बढ्दै जाँदा कर्मचारी राख्दै गए । उनले अर्को भत्केको पुलमा समेत आउटलेट खोलेका छन् भने दश जनालाई रोजगारी दिएका छन् । एक दिनमा २० वटा कार्यक्रममा बेलुन सजावटको काम गरेका जीवन भन्छन्, ‘रातभर बेलुन फुलाएर भोलिपल्ट खाजा खानै नखाएर सजावटको काम गरेको छु । अहिलेको अवस्थासम्म आइपुग्न दिनरात मिहिनेत गरेको छु ।’ उनको कामको माग दैनिक बढ्दै गइरहेको छ ।

अहिले यो क्षेत्रको भविष्य राम्रो देखेपछि धेरै नेपाली लागेको बताउँछन् । उनको कामबाट कमाइ राम्रो हुन थालेपछि परिवार, आफन्त, साथीभाइले पनि राम्रो मान्ने गरेको उनको अनुभव छ ।

हिजो मेला, सडकमा बेलुन बेचेर हिंड्दा बोल्न लाज मान्ने साथीले पनि अहिले उनको काम रुचाउन थालेका छन् । अहिले जीवनको मासिक कमाइ करीब दुई लाख हुन्छ । भाडा, कर्मचारीलाई तलब दिएर बाँकी हुने कमाइ हो यो । भन्छन्, ‘सफल भएपछि मात्रै अरूको साथ पाइने, संघर्ष त एक्लैले गर्नुपर्ने रहेछ ।’

६ हजारदेखि तीन लाखसम्मको काम

जीवन जस्तो कामको माग आए पनि गर्ने गरेको बताउँछन् । न्यूनतम ६ हजारदेखि साढे तीनलाखसम्मको बेलुन सजावटका लागि काम पाउँछन् । सानो रकमको अर्डर विशेषगरी जन्मदिनको हुने बताउँछन् ।

आर्थिक अवस्था कमजोर भए पनि आफ्ना बालबालिकालाई खुशी पार्नको लागि बेलुन सजावट गराउन चाहने आमाबुवाका लागि नाफा नराखेर पनि गर्दिने गरेको बताए । उनी भन्छन्, ‘मेरो काम भनेको बेलुनमा हावा भर्ने मात्रै होइन उनीहरूलाई रङ्गीन, उमंगमय अनुभूति गराउनु पनि हो । त्यसैले जतिसक्दो सबै खुशी होउन् भन्ने लाग्छ ।’ उनले चीन र भारतबाट आवश्यक बेलुन ल्याउने गरेका छन् ।

अहिले पोखरा, धरानलगायत शहरी क्षेत्रहरूबाट कामको माग आइरहे पनि जान सकेका छैनन् । त्यसैले दशैंपछि ती शहरका इच्छुक व्यक्तिहरूलाई तालिम दिने तयारीमा छन् जीवन ।

उनी भन्छन्, ‘यो क्षेत्रमा दुःख गर्न सक्यो भने भविष्य राम्रो छ । बजार पनि दिनप्रतिदिन बढिरहेको छ । त्यसैले यौ क्षेत्रमा अझै धेरै आउन् भनेर तालिम दिने सोचमा छु ।’ अहिले विद्यालय, विभिन्न सरकारी, गैरसरकारी संघ-संस्थाको वार्षिकीलगायत कार्यक्रममा पनि बेलुन सजावटको प्रचलन बढ्दै गइरहेको छ । त्यसैले यो क्षेत्रमा आउन चाहनेले सम्मान, पैसा दुवै कमाउने र थप अरू धेरैलाई रोजगारी दिन सक्ने सम्भावना देखेका छन् उनले ।

जीवनले बेलुनसँगै फूल सजावटको लागि पनि काम शुरू गरेका छन् । फूल सजावटमा भारतीय, बंगालीहरूको बाहुल्य रहेको उनको दाबी छ । फूल सजावटमा नेपाली पनि लाग्नुपर्छ भन्ने सोचले यो क्षेत्रमा पनि हात हालेका छन् । नेपालमा बसेर केही हुँदैन भन्ने पुस्ताको मानसिकता परिवर्तन गर्नको लागि आफूले सक्दो प्रयास गरिरहेको बताउँछन् ।

उनी भन्छन्, ‘नेपालमा सम्भावना अनेक छन् । त्यसलाई हामीले क्यास गर्न सकेका छैनौं भन्ने मेरो बुझाइ हो । त्यो बुझाइ परिवर्तन गर्न अवसर सिर्जना गर्ने जिम्मा मेरो पनि हो भन्ने सोचले काम गरिरहेको छु ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?