+
+

एमसीसीमा माधव नेपालले खोजेको ७ सुनिश्चितता

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १३:१०

१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा सात सुनिश्चितता खोजेको बताएका छन् ।

नयाँ दलको कार्यालय उद्घाटनपछि शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपामा छँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आजै पास गर्ने, भोलि नै पास गर्ने भनेर परराष्ट्रमन्त्रीलाई नगर्नु पर्ने ठाउँमा हस्ताक्षर गराएको र अर्थमन्त्रीले पनि एमसीसीका निम्ति सीमा नाघेर जाने काम गरेको’ बताए ।

ओली सरकारका पालामा भएका कामहरुको आफूहरुले आलोचना गरेको र अहिले नयाँ सरकार बनेपछि पनि एमसीसीलाई केही प्रश्न सोधेको उनले बताए । मुख्यतः सात वटा विषयमा आफूहरुले उठाएको अध्यक्ष नेपालले जानकारी दिएका छन् ।

एक : यो इण्डो प्यासिफिक रणनीति (आईपीएस) को अंग हुन्छ कि हुँदैन ? एमसीसी प्रोजेक्ट कुनै पनि सेक्युरिटी अम्ब्रेलामा बस्नुपर्ने कुनै शर्त छ कि छैन ? सेक्युरिटी अम्ब्रेलामा बस्ने शर्त हामीलाई मञ्जुर छैन । हामी कुनै पनि देशको सुरक्षा रणनीतिको अंग पनि बन्न सक्दैनौं ।

दुई : स्वतन्त्र परराष्ट्र नीति । परराष्ट्र नीतिमा पञ्चशीलको सिद्धान्तलाई अबलम्बन गर्ने र असंलग्न परराष्ट्र नीतिप्रति समर्पित रहन्छौं ।

तेस्रो : छिमेकीहरुमा आशंका पैदा हुने, सुरक्षा आँच पुग्ने स्थितिलाई स्वीकार गर्दैनौं ।

चौथौ : यो प्रोजेक्ट आउँदा जहाँ हाइटेन्सन लाइन बन्छ, त्यो जग्गाको स्वामित्व, सार्वभौम अधिकार नेपालको रहने सुनिश्चितता चाहन्छौं ।

पाँचौं : यो प्रोजेक्टको बौद्धिक सम्पत्तिमा नेपालको अधिकार सुनिश्चितता चाहन्छौं ।

छैटौं : प्रोजेक्टमा नेपालीहरुले रोजगारी पाउने सुनिश्चित गर्न चाहन्छौं ।

सातौं : लेखा परीक्षणका लागि महालेखा परीक्षकको कार्यालयले गर्ने सुनिश्चितता चाहन्छौं ।

गठबन्धनलाई तोड्ने कोसिस’

सरकारले सोधेका प्रश्नहरुको एमसीसीले जवाफ दिएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘पहिल्यै बनेको कार्यदलका प्रमुखहरुले पनि छलफल चलाइरहनु भएको छ र हामी जनमानसको मानसिकतालाई पनि ध्यानमा राख्नेछौं ।’

उनले एमसीसीलाई नै गठबन्धनमा फाटो ल्याउने हतियारका रुपमा प्रयोग गर्न खोजेको दाबी गरे । उनले भने, जसरी पनि यो गठबन्धनलाई तोड्न कोसिस भइरहेको छ । अनेक भ्रमात्मक प्रचार गरिएको छ । कुनै पनि भ्रममा नपरी अगाडि बढ्न आह्वान गर्छु ।’

कसले हो गठबन्धन तोड्न खोजेको भन्ने प्रश्नमा उनले भने, ‘अनेक तत्वहरु छन्, त्यो पत्ता लगाउने काम तपार्ईं (पत्रकार)हरुको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?