+
+

बाँकी जिल्लाको क्रियाशील सदस्यता शनिबारसम्म सार्वजनिक हुन्छ : प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १४:१४

१ असोज, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद सहमति नजिक पुगेको छ । १४ औं महाधिवेशन अन्तर्गत ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसके पनि क्रियाशील सदस्यता विवादकै कारण २० जिल्लामा अधिवेशन हुन सकेको छैन । कांग्रेसले २० मध्ये काठमाडौंसहित ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिसकेको छ ।

बाँकी प्रदेश दुईका आठसहित १३ जिल्लाको क्रियाशील सदस्यता विवाद पनि सहमति नजिक पुगेको क्रियाशील सदस्यता छानविन समिति सदस्य रहेको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

‘प्रदेश दुईका सबै जिल्लाको विवाद हामीले टुंग्याएका छौं, बाँके–१, डोल्पा र रसुवाको सदस्यता विवाद पनि टुंग्याउने प्रक्रियामा छौं,’ उनले भने, ‘शनिबारसम्म बाँकी सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसक्छ ।’

प्रदेश दुईका धनुषा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, सिराहा र पर्सा गरी आठ वटै जिल्लामा क्रियाशील सदस्यतालाई लिएर विवाद देखिएको थियो । क्रियाशील सदस्यता छानबिन समितिले धनुषा-४, सर्लाही–२, बारा र सप्तरीको सदस्यता विवाद सुल्झाउने जिम्मा पार्टी पदाधिकारीलाई दिएको थियो । त्यस्तै रसुवा, बाँके, कैलाली, सुर्खेत र डोल्पामा समायोजनलाई लिएर विवाद थियो ।

कांग्रेसमा क्रियाशील सदस्यता विवादमा सहमति खोज्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले काम गरिरहेका छन् । तीन नेताले गरेको सहमति कार्यान्वयनका लागि क्रियाशील सदस्यता छानविन समिति सदस्यहरु प्रदीप पौडेल, जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ । नेताहरु शुक्रबार पनि छलफलमै छन् ।

बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । योसँगै कांग्रेसमा ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेको हो ।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत १८ भदौदेखि वडा अधिवेशन प्रक्रिया सुरु भइसकेको छ । डडेल्धुरा जिल्लासहित ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको भने बाँकी जिल्लाको वडा अधिवेशन ५ असोजकमा हुनेछ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९-१३ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?