
३ असोज, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनमार्फत मधेसी जनतालाई अधिकार सम्पन्न नबनाएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
आइतबार पकहामैनपुर गाउँपालिकामा शहीद शत्रुधन पटेलको छैठौं स्मृति दिवसमा उनले मधेसमा स्वशासनको अधिकार दिनुपर्ने बताए । ‘संविधानले यस्तो अधिकार दिएको छैन । त्यसैले संविधान संशोधन नै हाम्रो आन्दोलनको माग हो । ’
उनले मधेस आन्दोलनका नेता कार्यकर्तामाथि सरकारले मुद्धा लगाएर विभेद गरेको बताए ।
‘नेपालमा माओवादी जनयुद्ध भयो, हजारौं मानिस मारिए । के तपाईं बताउन सक्नुहुन्छ उनीहरुमध्ये कोही नेता जेलमा छन् ?’ उनले प्रश्न गरे, ‘मधेस आन्दोलन जुन शान्तिपूर्ण थियो, त्यसको नेता कार्यकर्तामाथि किन कारबाही ? किन अहिलेपनि जेलमा छन्, अहिले पनि तारेख धाइरहेका छन् ?’
मधेस आन्दोलनका क्रममा भएका टीकापुर, जलेश्वर घटनाको अनुसन्धान र कारबाही बदलाको भावनाले गरिएको उनले बताए ।
‘मधेसी आन्दोलनकारीले त हतियार उठाएका थिएनन् । हतियार उठाउने हजारौं मान्छे मारेको आरोप लाग्नेलाई सबै आरोपबाट मुक्ति, कोही प्रधानमन्त्री बन्ने, कोही सभामुख बन्ने । मधेसका मानिसले के अपराध गरेका छन्, उनीहरुलाई मुद्धा मामिला खेप्नुपर्ने ?’ उनले प्रश्न गरे ।
तीन वर्षदेखि नागरिकता विधेयक दर्ता भएपनि संसदमा प्रस्तुत गरेर पास गर्नुको साटो अड्काएर राखिएको ठाकुरले गुनासो गरे । न्यायालयले समेत मधेसीलाई विभेद गर्ने गरेको उनको भनाइ छ ।
कार्यक्रममा नेता राजेन्द्र महतोले देशमा अझै निर्णयक आन्दोलन आवश्यक रहेको बताए ।
‘एउटा निर्णयक आन्दोलन सबै मिलेर गर्ने, थारु मधेसी अलग अलग भएर हैन, एक भएर, मधेसी थारु, जनजाति, जो पनि अधिकार र पहिचानका लागि लडनेवाला जनता छन्, अन्तिम लडाई लड्नेछौ’ उनले भने ।
प्रतिक्रिया 4