+
+

विद्यार्थी आन्दोलनको चित्र र चरित्र बदल्न क्रान्तिकारीको अध्यक्षमा दाबी गरेको छु : बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १०:१२

४ असोज, काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन यही असोज ८, ९ र १० गते काठमाडौंमा हुँदैछ । राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।

अध्यक्ष पदका दाबेदारहरूमध्ये झापाका सुरेन्द्र बस्नेत पनि एक हुन् । ०७४ सालमा भएको २१ औं राष्ट्रिय सम्मेलनमा खुला उपाध्यक्षतर्फ सबैभन्दा बढी मत ल्याएर विजयी बनेका बस्नेत क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष हुन् । बस्नेतले पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् र पीएचडीको तयारीमा छन् ।

२२ औं राष्ट्रिय सम्मेलनको प्रचारप्रसार उपसमिति संयोजक समेत रहेका  बस्नेतसँग सम्मेलनको तयारी लगायतका विषयमा गरिएको कुराकानी :

राष्ट्रिय सम्मेलनको तयारी कसरी हुँदैछ ?

हाम्रो गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २२औं राष्ट्रिय सम्मेलन यही २०७८ असोज ८ गते काठमाडौंको प्रज्ञा भवनमा उदघाटन हुँदैछ । सम्मेलनको बन्दसत्र त्रिवि कीर्तिपुरमा हुनेछ । यस सम्मेलनमा ७९९ जना प्रतिनिधि हुनेछन् । गएको राष्ट्रिय सम्मेलनमा २२ सय जना प्रतिनिधि थिए । यसपालि कोभिड कहरका कारण प्रतिनिधि संख्या घटाएका छौं । सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न १० वटा उपसमिति निर्माण गरेका छौं । राष्ट्रिय सम्मेलनकै तयारी स्वरुप भदौ २६ गते भर्चुअल माध्यमबाट विधान सम्मेलन सम्पन्न गरेका छौं । सम्मेलनकै दौरानमा देशव्यापी रुपमा जिल्ला सम्मेलन, क्याम्पस सम्मेलन, विश्वविद्यालयहरु सम्मेलनहरु भैरहेका छन् । समग्रमा राष्ट्रिय सम्मेलनको तयारीको काम तीव्र रुपमा अघि बढिरहेको छ ।

अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष भएर विद्यार्थी आन्दोलनको चित्र र चरित्र बदल्ने मेरो सोच छ । विद्यार्थी आन्दोलनलाई रहरलाग्दो, डरलाग्दो र भरलाग्दो बनाउने मेरो उद्देश्य छ ।

एजेण्डाका हिसाबले विगतको भन्दा यो राष्ट्रिय सम्मेलनमा फरक के हुन्छ ?

हामीले हाम्रो सम्मेलनको मूल नारा नै ‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन’ भन्ने तय गरेका छौं ।  विद्यार्थी आन्दोलनको लामो लडाइँको परिणाम स्वरुप हामीले शिक्षा, स्वास्थ्य र रोजगारीलाई नागरिकको मौलिक हकको रुपमा संविधानमा नै लेखाउन सफल भयौं । अधिकार प्राप्तिको क्षेत्रमा अत्यन्तै महत्वपूर्ण उपलब्धि हासिल गर्यौं तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने काम भने हुन सकेको छैन । अबको विद्यार्थी आन्दोलन उक्त अधिकारलाई कार्यान्वयन गराउन क्रियाशील हुनुपर्दछ ।

आज तीन तहको चुनाव हुने वित्तिकै संविधान कार्यान्वयन भयो भन्ने गरिन्छ । तर त्यो पूर्ण सत्य होइन । संविधान कार्यान्वयन हुनुलाई कक्षा १२ सम्मको शिक्षा पूर्णरुपमा निःशुल्क र कक्षा ८ सम्मको शिक्षा निःशुल्क र अनिवार्य हुनु जरुरी छ । एकातिर हाम्रो संविधानमा नै समाजवादउन्मुख राज्य प्रणाली अवलम्बन गरिएको छ भने अर्कोतिर शिक्षा क्षेत्रमा अझै पनि निजीकरण, ब्यापारीकरण र माफियाकरण व्याप्त छ । यसलाई पूर्ण रुपमा अन्त्य गर्दै शिक्षा र स्वास्थ्यको सम्पूर्ण दायित्व राज्यले लिनुपर्छ भन्ने विषयलाई प्रमुखताका साथ उठाउँछौं । हामीले शिक्षालाई श्रमसित, श्रमलाई सिपसित, सिपलाई उत्पादन र रोजगारीसित, उत्पादन र रोजगारीलाई विकास र समृद्धिसित अनि त्यसलाई समाजवादसित जोड्नुपर्छ भन्ने मान्यता अघि सारेका छौं ।

पहिले तपाईंहरु जनवादी शिक्षा भन्नुहुन्थ्यो, आजकाल समाजवादी शिक्षा भन्दै हुनुहुन्छ । के जनवादी शिक्षा हासिल भैसकेको हो ?

हामीले स्थापनाकालदेखि नै सामन्ती स्तुतिगानमा आधारित अनुत्पादक र पुरातन शिक्षा प्रणालीको विरुद्ध आवाज बुलन्द गरेका हौं । हामीले वैदेशिक दबाब र प्रभावमा आधारित पराधिन र औपनिवेशिक प्रकारको शिक्षा प्रणालीको विरुद्धमा आवाज उठाएका हौं । त्यसको विकल्पमा जनवादी शिक्षाको विषय जोडदार रुपमा उठाउँदै आएका हौं । सामान्यतया जनवादी शिक्षा भन्दै गर्दा हामीले वैज्ञानिक, व्यवहारिक, सिपमुलक, रोजगारमुलक र देशभक्तिपूर्ण शिक्षा नीतिको कुरा गरेका हौं । व्यक्तिलाई आत्मनिर्भर बनाउने र व्यक्तिलाई स्वरोजगार बनाउने वैज्ञानिक र उत्पादनमुखी शिक्षा नीतिको कुरा हिजो हामीले गरेका हौं ।

पटक–पटकका आन्दोलन र क्रान्ति हुँदै नयाँ संविधान जारी गरेसँगै आज शिक्षा मौलिक हक भएको छ । हिजोको जस्तो सामन्ती संस्कार र प्रचलनलाई मलजल गर्ने स्तुतिगानमा आधारित शिक्षा प्रणाली आज छैन । संविधानमा नै समाजवादउन्मुख व्यवस्थाको बाटो तय गरिएको छ । आज मुलुकमा प्राविधिक शिक्षाको क्षेत्रमा ठूलै क्रान्ति पनि भएको छ । संविधानमा स्पष्ट रुपमा शिक्षालाई मौलिक हक भनिएको छ र कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क हुनुपर्ने प्रावधान राखिएको छ । यस हिसाबले आधारभूत रुपमा जनवादी शिक्षाको क्षेत्रमा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समाजवादी शिक्षा प्राप्तिको आधार निर्माण गर्ने दिशामा हामीले हाम्रो कार्यदिशालाई सिफ्ट गरेका हौं ।

तपाईंहरुले सिपमुलक, रोजगारमुलक र वैज्ञानिक शिक्षाको कुरा गरेको वर्षौं भइसक्यो तर सिप र रोजगारीको अवसर खोज्दै युवा जनशक्ति विदेश पलायन भइरहेका छन् । अहिलेको युगले मागेको शिक्षा दिलाउन तपाईंहरुको पहल नपुगेको त होला नि ?

शिक्षा नीतिमा कुनै पनि परिवर्तन भएकै छैन त भन्न मिल्दैन । हामीले पढ्दा कस्तो थियो, के पढ्थ्यौं र अहिले के पढाइ भइरहेको छ यसैबाट पनि परिवर्तन देख्न सकिन्छ । तर जति हुनुपर्थ्यो त्यति नपुगेको पक्कै हो । हामीले राष्ट्रिय सम्मेलनमा यसलाई समीक्षाको विषय जरुर बनाउने छौं ।

जहाँसम्म विदेश पलायन हुने कुरा छ, विदेशमा पढ्न जानै हुँदैन भन्ने होइन कि हामीले विदेशमा सिकेका राम्रा सिप सिकेर ल्याउनु पनि पर्दछ । बाहिरका अध्ययन, अनुसन्धान, अनुभव, सिपलाई ल्याएर राष्ट्र निर्माणमा लगाउनुपर्छ । विदेशको ज्ञान र सिपलाई हाम्रो देशको माटोसँग जोडेर नेपाललाई सुहाउँदो शिक्षा नीति तय गर्नुपर्छ । त्यसलाई राष्ट्र निर्माणको अभियानमा लगाउनुपर्छ । अबको आवश्यकता यही हो जस्तो लाग्छ । अहिलेसम्म जुन खालको शिक्षा नीतिबाट हामी गुज्रिंदै आएका छौं यसले व्यक्तिलाई आत्मनिर्भर बनाउन सकेको छैन, सिप भएको व्यक्ति बनाउन सकेको छैन । सिप छ, ज्ञान छ तर त्यो ज्ञानलाई प्रयोग गरेर देखाउन खोज्दा अनेक खालका प्रक्रियागत झन्झट र ढिलासुस्तीका कुराहरु आइलाग्छन् । यी तमाम समस्यालाई समाधान गर्न फेरि पनि निरन्तर खबरदारी, पहरेदारी र आन्दोलनको खाँचो छ । त्यसैले हामीले विद्यार्थी आन्दोलनलाई अब शैक्षिक मुद्दा केन्द्रित बनाउनुपर्दछ । विद्यार्थी संगठनलाई शिक्षणसंस्थातिर फर्काउनु पर्दछ । विद्यार्थी आन्दोलनलाई विद्यार्थीतिर फर्काउनुपर्दछ ।

विद्यार्थी आन्दोलन कमजोर भयो भने नेपालको राष्ट्रियता र लोकतन्त्र कमजोर हुन्छ । योसँगै समाजवाद प्राप्तिको निम्ति पनि विद्यार्थी आन्दोलन जरुरी छ । तर यसलाई अद्यावधिक भने गर्नै पर्दछ ।

कतिपयले विद्यार्थी नेताहरु शिक्षाको एजेण्डाभन्दा माउ पार्टीको बफादार मात्रै बने, कमाउ धन्दामा लागे, अब त विद्यार्थी आन्दोलनको औचित्य पनि सकियो भन्छन् नि ?

मूल नीति भनेको राजनीति नै हौ । राजनीति सही दिशामा गयो भने यससँग जोडिएर आउने सबै कुराले सही बाटो पकड्छ । त्यसैले राजनीतिसँग विद्यार्थी अलग हुन सक्दैन ।

विद्यार्थी आन्दोलन दबाब, जागरण र खबरदारीको एउटा प्रतिपक्षीय आन्दोलन हो । नेपालमा विद्यार्थी आन्दोलनको इतिहास राजनीतिक दलको भन्दा पुरानो र गौरवशाली रहेको छ । राष्ट्रियता, लोकतन्त्र, जनजीविका, सामाजिक न्याय र शैक्षिक रुपान्तरणको सवालमा यसले सदैव महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

आज कतिपयले मानिसहरुले यसको औचित्य सकियो भनेर टिप्पणी गरेको सुनिन्छ । यसमा दुईथरि मानिस छन् । एकातिर विद्यार्थी आन्दोलनको राप र तापबाट प्रताडित भएका यथास्थितिवादी र पश्चगामी मानिसहरु छन् । उनीहरु विद्यार्थी आन्दोलनको हिजो पनि विरोधी थिए, आज पनि विरोधी छन् र भोलि पनि विरोधी नै रहनेछन् । विद्यार्थी आन्दोलन कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ भनेर नियोजित रुपले यसका विरुद्ध लाग्नेहरुको कुरा फरक हो ।

तर अर्कोतिर मानिसहरुले विल्कुल सकारात्मक ढंगले रचनात्मक आलोचना र खबरदारी गरिरहेका छन् । यसको हामीले सम्मान गर्नुपर्दछ ।

राजनीतिमा छिटफुट गलत क्रियाकलाप हुने गर्दछन् र आन्दोलनसँगै शुद्धीकरण पनि हुँदै जान्छन् यसलाई त्यही रुपमा बुझ्नुपर्छ । तर पनि विद्यार्थी आन्दोलनले अब आफूलाई समीक्षाको कठघरामा उभ्याउनु पर्दछ । पुरानो ढर्रा र तरिकाको विद्यार्थी आन्दोलनको औचित्य माथि प्रश्न अवश्य उठेको छ । नयाँ मान्यता, नयाँ परिभाषा र नयाँ स्वरूपको विद्यार्थी आन्दोलन आजको आवश्यकता हो । हिजो राजनीतिक दल प्रतिवन्धित हुँदा विद्यार्थी आन्दोलनले अग्रभागमा उभिएर राजनीतिक आन्दोलनको अगुवाइ गरेकै हो । हिजो व्यवस्था परिवर्तनका लागि भएको आन्दोलनमा विद्यार्थी आन्दोलनले निर्णायक भूमिका खेलेकै हो । तर राजनीतिक आन्दोलनको मूल झण्डा बोक्न दलहरु स्वयं अगाडि आएका छन् ।

अधिकार प्राप्तिको लडाइँमा हामीले एकहदसम्म सफलता प्राप्त गर्यौं । अबको आन्दोलन त्यसलाई कार्यान्वयन गर्नेमा केन्द्रित गर्नुपर्दछ । जबसम्म नेपाली विद्यार्थी र नेपालको शिक्षा क्षेत्रमा समस्या रहिरहन्छ तबसम्म विद्यार्थी आन्दोलनको औचित्य रहिरहन्छ ।

अर्कोतर्फ राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका निम्ति नेपालको विद्यार्थी आन्दोलन जहिलेसुकै बर्दीविनाको सेना हो । विद्यार्थी आन्दोलन कमजोर भयो भने नेपालको राष्ट्रियता र लोकतन्त्र कमजोर हुन्छ । योसँगै समाजवाद प्राप्तिको निम्ति पनि विद्यार्थी आन्दोलन जरुरी छ । तर यसलाई अद्यावधिक भने गर्नै पर्दछ ।

भदौ २६ गतेको विधान सम्मेलनबाट अनेरास्ववियू (क्रान्तिकारी) को कस्तो संरचना बनाउने निर्णय गर्नुभयो ?

यही भदौ २६ गते हामीले भर्चुअल माध्यमबाट प्रथम विधान सम्मेलन गर्यौं । यसबाट हामीले १९९ सदस्यीय केन्द्रीय समिति, २३ जनाको पदाधिकारी बनाउने निर्णय गरेका छौं । केन्द्रीय समिति र पदाधिकारीलाई शैक्षिक घनत्व, संगठनको आवश्यकता र समावेशी चरित्र अनुरुपको बनाउने छौं । पदाधिकारी बनाउँदा विभिन्न विश्वविद्यालयहरुमा राष्ट्रियस्तरका विश्वविद्यालय राष्ट्रिय समितिहरु बनाउनेछौं । प्रदेशहरुलाई थप शक्तिशाली र कार्यकारी बनाउनेछौं । संगठनको केन्द्रमा केन्द्रीय परिषद, प्रदेशमा प्रदेश परिषद र विश्वविद्यालयहरुमा विश्वविद्यालय परिषद पनि बनाउनेछौं ।

आसन्न राष्ट्रिय सम्मेनमा तपाईंले अध्यक्षमा आफ्नो दावी पेश गर्नुभएको छ । अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?

निश्चय नै अनेरास्ववियू (क्रान्तिकारी) को आसन्न राष्ट्रिय सम्मेलनमा मैले आफ्नो दावी पेश गरेको छु । यसका निश्चित कारण छन् । अहिलेको कार्यसमितिमा अध्यक्ष रञ्जित तामाङपछिको सबैभन्दा वरिष्ठ  उपाध्यक्ष म हुँ । २०६३ सालदेखि म संगठनको केन्द्रीय समितिमा लगातार काम गरिरहेको छु । गत ०७४ सालमा सम्पन्न २१ औं राष्ट्रिय सम्मेलनमा खुला उपाध्यक्ष तर्फ सबैभन्दा धेरै मत पनि मैले नै ल्याएको  थिएँ । सम्मेलनपछिको बसेको क्रान्तिकारीको पहिलो बैठकवाट नै मेरो मर्यादाक्रम एक नम्बरमा निर्धारण गरिएको थियोे । त्यसै आधारमा मैले संगठनको कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेको छु ।

विगतमा मैले काठमाडौं क्याम्पस जिल्लाको सहइन्चार्ज र इन्चार्ज, तत्कालीन नेवाः राज्य (उपत्यका) को सहसंयोजक र संयोजक हुँदै सचिवको भूमिका निर्वाह गरिसकेको छु । अनेरास्ववियू  (क्रान्तिकारी) को इतिहासमा नै म संस्थापक प्रवक्ता बनेर दुई कार्यकाल काम पनि गरें । पूर्व अध्यक्षद्वय रमेश मल्ल र नरेन्द्र न्यौपानेको पालामा मैले प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको थिएँ ।

विगतमा राजधानीको ठूलो र महत्वपूर्ण शैक्षिक केन्द्रको रुपमा चिनिने  आरआर क्याम्पसको निर्वाचित स्ववियु सदस्य, सहसचिव र उपसभापतिको जिम्मेवारी समेत पूरा गरेको छु । विद्यार्थीका  जल्दाबल्दा समस्यामा म सदैव अग्रपंक्तिमा उभिने गरेको छु । संयुक्त विद्यार्थी आन्दोलन,  प्रतिगमन विरोधी आन्दोलनदेखि लिएर जनजीविकाका पक्षमा हुने हरेक आन्दोलनमा मैले आफूलाई खरो रुपमा उतार्दै आएको छु । यी सबै कारणले गर्दा आगामी राष्ट्रिय सम्मेलनमा मैले अध्यक्षको दावी पेश गरेको छु ।

यही अनेरास्ववियू  (क्रान्तिकारी) को झण्डा बोक्दाबोक्दै जनयुद्धको दौरानमा मैले मेरो सहोदर दाजु पुष्पराज बस्नेत र भाइ धीरेन्द्र बस्नेतलाई पनि गुमाएको छु । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाती आन्दोलन लगायत अन्य तमाम आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका अन्य पनि अध्यक्षका दावेदार हुनुहुन्छ । म उहाँहरुलाई सम्मान गर्छु । मेरो योगदान, निष्ठापूर्ण क्रियाशीलता र वरिष्ठतालाई हेरेर अन्तिममा सबैले मलाई नै समर्थन गर्नुहुन्छ भन्ने लागेको छ ।

अध्यक्ष भएर विद्यार्थी आन्दोलनको चित्र र चरित्र बदल्ने मेरो सोच छ । विद्यार्थी आन्दोलनलाई रहरलाग्दो, डरलाग्दो र भरलाग्दो बनाउने मेरो उद्देश्य छ । विद्यार्थी आन्दोलनको छवि सुधार्दै आम विद्यार्थी र जनताको आशालाग्दो संगठन बनाउनेमा मेरो जोड रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?