+
+

जनप्रतिनिधिको झुट र लुटतन्त्र

साङ्यो लामा साङ्यो लामा
२०७८ असोज ४ गते १३:४६

हिलाम्मे बाटो । बाटोभन्दा पनि धान रोप्नुअघि खेत हिल्याएको जस्तो । त्यहाँ एक ढाकाटोपी ढल्काएका, जुहारी कोटमा ठाँटिएका सुकिला मान्छे देखिन्छन् । तर, कसैले यी भलाद्मीको कठालो समातेका छन् ।

यतिबेला उनको अनुहार मास्कले छोपिएको छ । शायद रातोपिरो भएको हुनुपर्छ ।

कठालो समात्ने व्यक्तिको अनुहारमा भने आक्रोश छ । के यो आक्रोश यत्तिकै पैदा भएको होला ? ती व्यक्ति त्यसै आक्रोशित भएका होलान् ? कुनै भलाद्मी व्यक्तिको कठालो समात्न उनी किन बाध्य भए ?

यसका लागि उक्त तस्वीरको अन्तर्यलाई बुझ्नुपर्ने हुन्छ । तस्वीर भन्दा पनि यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो, गत भदौमा । तस्वीर र भिडियोसँगै प्रेम लामा नामक व्यक्तिले फेसबुकमा यसको भित्री कथा लेखेका छन् ।

उनी यसरी लेख्छन्, ‘यो तस्वीर मेलुङ गाउँपालिका केन्द्र जोरधारा छेउको हो । मेलुङ गा.पा. ३ मुकुनेबाट सिरियस बिरामी जनकबहादुर तामाङलाई उपचारका लागि काठमाडौं लैजाँदै गरेको दृश्य हो यो । जहाँ एम्बुलेन्स जाने कुनै संभावना छैन, कार्यालय छेवैमा समेत यस्तो हालत हुनु भनेको गाउँपालिकाको बेइज्जत मात्र नभई स्थानीय सरकारको उदासीनता र लज्जास्पद अवस्था देखाउँछ । तस्वीरमा देखिएका एक चिरिच्याट्ट ढाकाटोपी र सेतो जुहारीकोट लगाउने राम्रो मान्छे गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठ हुनुहुन्छ । केहीबेर अगाडि बिरामी बोक्ने व्यक्तिहरूले नरबहादुर श्रेष्ठलाई बिरामी लिन आएको हाम्रो गाडी बाटोमा पहिरो हिलोमा फसेको छ । गाउँपालिकाको डोजरले सफा गरिदिनु पर्‍यो भनी फोन गर्दा ‘म चरिकोट छु । मैले बाटो सफा गर्न भनिदिन्छु’ भने । तर, केही एकछिन पछि बिरामी बोक्नेहरू जोरधारा पुग्दा नरबहादुर श्रेष्ठ त्यहीं देखेपछि झुक्याएको र बाटो समेत सफा नगरिदिंदा त्यो बेलासम्म तीन वटा स्टेचरसमेत भाँचिएकोले आक्रोशित भई यो स्थिति सिर्जना हुन पुग्यो ।’

मेरो जन्मथलो मेलुङ गाउँपालिका । मेलुङको यो तस्वीरले मलाई पनि तान्यो । वास्तवमा यो तस्वीरले लोकतन्त्रलाई गिज्याएको छ । संघीय शासन व्यवस्थालाई कुरीकुरी गरेको छ ।

लोकतन्त्र आयो, संविधान निर्माण भयो । राज्य संघीय प्रणालीमा गयो । हामी सर्वसाधारणलाई लागेको थियो, अब हाम्रो पालो आयो । अब हामीले चाहेको जस्तो शासन व्यवस्था हुनेछ । हामीले चाहेको व्यक्ति नेतृत्वमा पुग्नेछन् । हाम्रो सुखदुःख बुझ्नेछन् । हाम्रो जीवनयापन सजिलो बनाइदिनेछन् ।

किनभने त्यसबेला नेताहरूले हामी सर्वसाधारणलाई यस्तै सपना देखाएर कहिले आन्दोलन गर्न उक्साएका त कहिले भोट हाल्न लालायित बनाएका थिए ।

उनीहरूले हामीलाई यसरी सपना देखाएका थिए –

– गाउँ-गाउँसम्म विकासको लहर आउनेछ । बाटो बन्नेछ, घर-आँगनमा गाडी गुड्नेछ । सामान ढुवानी गर्न वा यात्रा गर्न धेरै हिंड्नुपर्ने छैन ।

– घर-घरमा पिउनेपानीको धारो निर्माण हुनेछ । टाढाको खोला वा खोल्साबाट पानी बोक्नुपर्ने दिनको अन्त्य हुनेछ ।

– घर-घरमा बिजुलीको लाइन आउनेछ । घर-भान्सा झलमल्ल उज्यालो हुनेछ ।

अब दुःखका दिन जानेछन् । समृद्धिको लहर आउनेछ ।

हामीले नेतालाई विश्वास गर्‍यौं । उनीहरूको कुरा मान्यौं । उनीहरूले जे-जसो भन्छ, त्यसै गर्‍यौं । कहिले आन्दोलनमा हिंड्यौं । कहिले भोट दिने पंक्तिमा उभियौं । उनीहरूले चुनाव जिते । सत्ता र शक्ति आफ्नो हातमा लिए । तर, हाम्रो अपेक्षा पूरा भएन ।

हाम्रो गाउँ जस्ताको तस्तै रहृयो । हाम्रो दुःख ज्यूँका त्यूँ रहृयो ।

देश बनाउँछु, गाउँ बनाउँछु भन्दै हिंडेका नेताहरू आफ्नो खल्ती भर्नतर्फ लागे । विकासको नाममा विनाश गरे । आफूलाई मनलाग्दी गरे । जसरी हुन्छ, जे गरेर हुन्छ पैसा कुम्ल्याउनतर्फ लागे । उनीहरूले जनतासामु गरेको वाचा बिर्सिए ।

स्थानीय तहका परिस्थिति र मनस्थिति बुझेका स्थानीय नेताहरूले गाउँ-समाज सुधारका कामहरू गर्छन् भन्ने लागेको थियो । तर, उनीहरू कामचोर र भ्रष्ट निस्किए । तर, यो झुटको खेती कहिलेसम्म टिक्छ ? सर्वसाधारणको धैर्य कहिलेसम्म बाँकी रहन्छ ? यस्ता झुट, कामचोर, भ्रष्ट जनप्रतिनिधिहरूको अब कठालो समातेर सोध्ने बेला भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?