News Summary
Generated by OK AI. Editorially reviewed.- बाराको सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा रास्वपाका क्षेत्रीय सभापति युवराज न्यौपाने प्यानलसहित निर्वाचित भएका छन्।
- निर्वाचनमा ३ हजार ३ सय २० मत खसेकोमा न्यौपानेले १ हजार १ सय १६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी प्रकाशबहादुर क्षेत्रीले ९ सय ७ मत पाएका छन्।
- एमाले र कांग्रेस विभाजित हुँदा रास्वपाले स्थानीयस्तरमा दिएको पहिलो उम्मेदवारीमा सहज जीत निकालेको र रास्वपाका नेता रिमालले यसलाई जनमत परीक्षण भनेका छन्।
८ मंसिर, बारा । बाराको सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्रीय सभापति युवराज न्यौपाने प्यानलसहित निर्वाचित भएका छन् ।
रास्वपाको बारा–४ का क्षेत्रीय सभापति रहेका न्यौपानेसहित पाँच अलग–अलग समुह प्यानल बनाएर प्रतिष्पर्धामा थिए । पाँच हजार बढी उपभोक्ता मतदाता रहेको सिमरा खानेपानीमा शनिबार भएको निर्वाचनमा ३ हजार ३ सय २० मत खसेको थियो ।
अध्यक्षमा निर्वाचित न्यौपानेले १ हजार १ सय १६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी प्रकाशबहादुर क्षेत्रीले ९ सय ७ मत प्राप्त गरे ।
अध्यक्ष पदका अर्का उम्मेदवार पूर्णचन्द्र तिमल्सिनाले ५ सय ९१ मत प्राप्त गरे । अध्यक्ष पदका उम्मेदवार शशि गौतमले २ सय ३३ र राजकुमार भट्टराईले २ सय १५ मत प्राप्त गरे ।
११ सदस्यीय कार्यसमिति चयनका लागि शनिबार भएको मतदानको गणना सोमबार बिहान सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत शालिकराम अधिकारीले जानकारी दिए ।
एमाले र कांग्रेस विभाजित हुँदा रास्वपालाई फाइदा
जीतपुरसिमरा उपमहानगरपालिकामा सबैभन्दा बलीयो दलका रूपमा रहेको नेकपा एमाले तीन टुक्रामा विभाजित हुँदा रास्वपाले सहज जित निकालेको हो ।
सिमरा खानेपानीको चुनावमा मतदाता रहेका जीतपुरसिमराका चारमध्ये दुईवटा वडामा एमाले र एक–एक वटा वडामा कांग्रेस र माओवादीले अघिल्लो स्थानीय तहको निर्वाचन जितेका थिए ।
अध्यक्ष पदमा एमालेका तीन समूह छुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा थिए भने कांग्रेस पनि दुई तर्फ विभाजित थियो ।
अध्यक्ष पदका उम्मेदवार रहेका पूर्णचन्द्र तिमल्सिनालाई एमालेको संस्थापन समूहले उम्मेदवार बनाएको थियो भने प्रकाशबहादुर क्षेत्री र शशि गौतमले संस्थापनको निर्णय विरुद्ध उम्मेदवारी दिएका थिए ।
संस्थापनबाट उम्मेदवार बन्न नपाएपछि क्षेत्रीले एमालेको वडाकमिटी सचिवबाट राजीनामा दिएर खानेपानीको अध्यक्षमा उम्मेदवार बनेका थिए । उनलाई माओवादी नेताहरूले समर्थन गरेका थिए । गौतम पनि एमाले छाडेको घोषणा सहित खानेपानीको अध्यक्षमा उठेका थिए ।
कांग्रेसका दुई समूह अलग–अलग उम्मेदवारको समर्थनमा हुँदा रास्वपाले त्यसको फाइदा उठाउँदै स्थानीयस्तरमा दिएको पहिलो उम्मेदवारीमा जीत निकाल्न सफल भयो ।
जितपछि प्रतिक्रिया दिंदै रास्वपाका समर्थकहरूले स्थानीयस्तरमा आफूहरूको सफल परीक्षण भएको बताएका छन् ।
सिमराका रास्वपा नेता रवि रिमालले खानेपानीको निर्वाचनमा पाएको सफलता रास्वपाको जनमत परीक्षणका रूपमा रहेको बताए । ‘हामी पहिलोपटक स्थानीय मतदाता माझ गएका थियौं, हामीलाई आगामी निर्वाचनका लागि जनमत परीक्षण गर्ने अवसर बन्यो,’ रिमालले भने ।
प्रतिक्रिया 4