+
+
संखुवासभा घटनामा ट्वीस्ट :

६ जनाको योजनाबद्ध हत्या, चिर्पटसँगै चक्कु पनि हानिएको थियो

गौरव पोखरेल गौरव पोखरेल
२०७८ असोज ४ गते २२:१०
संखुवासभा सामूहिक हत्या प्रकरणमा संलग्न भएको भन्दै प्रहरीले सोमबार सार्वजनिक गरेका अभियुक्तहरु

४ असोज, काठमाडौं । संखुवासभाको मादी नगरपालिका-१ मा एकै परिवारका ६ जनाको हत्या भएको एक सातापछि प्रहरीले लोकबहादुर कार्कीलाई सार्वजनिक गर्दै भनेको थियो, ‘घटना सुनियोजित होइन, चरण घृणा र आवेशमा भएको देखिन्छ ।’

२१ भदौमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या भएको थियो । २७ भदौमा भतिजा लोकबहादुरलाई अभियुक्तको रुपमा सार्वजनिक गर्दै प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण बीसीले ठूलाबा तेजकुमारको व्यवहारका कारण अभियुक्तको मनमा घृणाभाव रहेको र घटना भएको दिन बिहानै उठाउँदा अचानक आवेशमा आएर घटना घटाएको देखिएको बताएका थिए ।

आरोपी लोकबहादुर एक्लैले चार जनालाई चिर्पटले हिर्काएर र एक जनाको भित्तामा टाउको ठोक्काएर हत्या गरेको प्रहरीले बताएको थियो । साथै यो घटना हुनुमा सम्पत्ति लुटपाटको योजना नभएको समेत प्रहरीको दाबी थियो ।

तर सोमबार जिल्ला प्रहरी कार्यालय, संखुवासभाले घटनामा संलग्न थप अभियुक्त मात्र सार्वजनिक गरेन, योजनावद्ध रुपमा हत्या भएको समेत बताएको छ ।

प्रहरीले हत्याको योजनाकार खड्गबहादुर कार्की भएको बताएको छ भने हत्यामा उनका छोरा हस्तबहादुर, मृतक तेजबहादुरका भाइ रणबहादुर र उनका दुई छोरा लोकबहादुर र नरेश समेत संलग्न भएको प्रहरीको दाबी छ ।

६ जनाको हत्या गरेपछि ५ जना नै लोकबहादुरको घरमा गएको र रगत पखालेर छुरी लुकाएको प्रहरीले बताएको छ । उनीहरु फेरि भेला भएर कसैले सोधे केही थाहा नभएको भन्ने र प्रहरीले पत्ता लगाए लोकबहादुरले मानसिक औषधि खाने गरेकाले उनले जिम्मा लिने सल्लाह भएको प्रहरीको दाबी छ ।

२१ भदौमा ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो । घरमै रहेका ९२ वर्षीय बौद्धमान भने सकुशल छन् । उनले घटना भएको बेला थाहै पाएका थिएनन् ।

चक्कु पनि हानिएको थियो

प्रहरीले लोकबहादुरलाई सार्वजनिक गर्दैगर्दा उनमा मानसिक समस्या भएको र औषधि खाइरहेको बताएको थियो । र, उनले नै घटना घटाएको बताएको थियो ।

घटनाको सफल अनुसन्धान गरेको भन्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ५ जना प्रहरी अधिकृतलाई सम्मान पनि गरे । सम्मानित हुनेमा प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण बीसी, संघीय प्रहरी कार्यालयका एसपी भीम दाहाल, संखुवासभाका डीएसपी लालध्वज सुवेदी, सीआईबीका इन्स्पेक्टर मणिराम थापा र प्रदेश १ प्रहरीका इन्स्पेक्टर बबिन्द्र नेम्वाङ थिए ।

अनुसन्धान सकिएको निष्कर्षसहित प्रहरी हेडक्वार्टरले सम्मान गरे पनि इलाका प्रहरी कार्यालय, चैनपुरले अनुसन्धान जारी राख्यो । त्यसक्रममा मृतक रञ्जनाको मोबाइल नरेशले लगेर घरमुनिको ओडारमा लुकाएको भेटिएको थियो ।

प्रहरीले उनलाई पनि नियन्त्रणमा लियो । ‘घटनाबारे धेरै कुरा उनलाई थाहा हुनसक्ने देखिएपछि अनुसन्धानका लागि ल्याएका थियौं,’ संखुवासभा प्रहरीका डीएसपी लालध्वज सुवेदी भन्छन्, ‘त्यसक्रममा ५ जनाको संलग्नता रहेको खुलेको छ ।’

त्यसक्रममा मृतक तेजबहादुरको टाउकोमा चिर्पट हान्नुका साथै पेटमा छुरी हानेको खुलेको प्रहरीले बताएको छ । तेजबहादुरकी पत्नी कमलाको घाँटीमा छुरा हानेको तथा दीपेन, गोमा र पार्वतीलाई घाँटी बटारेर मारेको प्रहरीले बताएको छ ।

जबकि २७ भदौमा प्रहरीले पार्वतीको टाउको भित्तामा ठोकेको र अरुलाई चिर्पटले हानेर हत्या गरेको बताएको थियो । तर अहिले हत्यामा प्रयोग भएको छुरी लोकबहादुरको घरको बुइगलमा लुकाएको अवस्थामा भेटिएको बताएको छ । संखुवासभाका प्रहरी निरीक्षक शुभेश अधिकारी भन्छन्, ‘अहिले घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोबाइल पनि बरामद भइसकेको छ ।’

योजनाबद्ध हत्या

लोकबहादुरलाई सार्वजनिक गर्दा प्रहरीले प्रष्ट भनेको थियो, यो योजनाबद्ध घटना होइन । तर सोमबार थप अभियुक्तलाई सार्वजनिक गर्दै योजनाबद्ध हत्या भएको बताएको छ ।

प्रहरीले अहिले बताएअनुसार घटनाको अघिल्लो रात लोकबहादुरको घरमा योजना बनेको थियो । भोलिपल्ट तेजबहादुर खेताला बोलाउन लोकबहादुरको घरमा आउने र त्यही मौकामा तेजबहादुर र उनकी पत्नीको हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ । अन्य थाहा पाए उनीहरुको पनि हत्या गर्ने र मिलेमा तेजबहादुरको घरमा भएको धनमाल लाने योजना भएको प्रहरीले बताएको छ ।

६ जनाको हत्या भएको तेजबहादुर कार्कीको घर

पूर्व योजनाअनुसार नै खड्गबहादुर बिहान ५ बजे तेजबहादुरको घरमा गएको र लोकबहादुर अल्छी छ, घरमै गएर खेताला निश्चित गर्नु भनेको भन्दै प्रहरीले भनेको छ, ‘तेजबहादुर लोकबहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर घर पछाडि चिर्पट बोकेर तयारी हालतमा बसेको ।’

प्रहरीका अनुसार तेजबहादुरले कराएपछि लोकबहादुर उठे र योजनाअनुसार चिर्पट र कलैची काट्ने चक्कु बोकेर घरतिर फर्किएका ठूलोबालाई पछ्याएका थिए । उनले गोगनेको रुख नजिक पुगेपछि टाउकोमा चिर्पटले हाने । खड्गबहादुरले पनि चिर्पटले हाने भने हस्तबहादुरले चिर्पटका साथै चक्कुले पेटमा हानेर डिलबाट लडाएको प्रहरीले बताएको छ । तेजबहादुरले लोकेले मार्‍यो भनेर कराएपछि उनकी पत्नी कमला र बुहारी रञ्जना आएका थिए । कलोकबहादुरले कमलालाई चिर्पट हानेका थिए भने हस्तबहादुरले छुरा । नरेशले रञ्जनालाई ठेलेर खोल्सामा झरेको र खड्गबहादुर, लोकबहादुर र हस्तबहादुर मिलेर उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

नाबालक दीपेन र गोमालाई पनि हस्तबहादुर र लोकबहादुरले बाटो छेकेको र चिर्पटले हान्नुका साथै घाँटी बटारेर हत्या गरेको संखुवासभा प्रहरीले जनाएको छ ।

प्रहरीले हत्याको योजनाकार खड्गबहादुर कार्की भएको बताएको छ भने हत्यामा उनका छोरा हस्तबहादुर, मृतक तेजबहादुरका भाइ रणबहादुर र उनका दुई छोरा लोकबहादुर र नरेश समेत संलग्न भएको दाबी गरेको छ ।

यसअघि प्रहरीले लोकबहादुर घरमा गएको र कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीलाई टाउको भित्तामा ठोक्काएर हत्या गरेको बताएको थियो । अहिले पाँचै जना गएको र मकै नंग्याइरहेकी पार्वतीलाई हस्तबहादुरले गोठ पछाडि लगेको र लोकबहादुरले टाउको भित्तामा ठोक्काएर घाँटी बटारेर हत्या गरेको बताएको छ ।

६ जनाको हत्या गरेपछि ५ जना नै लोकबहादुरको घरमा गएको र रगत पखालेर छुरी लुकाएको प्रहरीले बताएको छ । उनीहरु फेरि भेला भएर कसैले सोधे केही थाहा नभएको भन्ने र प्रहरीले पत्ता लगाए लोकबहादुरले मानसिक औषधि खाने गरेकाले उनले जिम्मा लिने सल्लाह भएको प्रहरीको दाबी छ ।

‘कसैले घटनाबारे सोधपुछ गरे कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भन्ने सल्लाह भएको रहेछ,’ अनुसन्धानका लागि संखुवासभामा रहेका एसपी भीम दाहालले भने, ‘यदि प्रहरी आएर पत्ता लगाए मानसिक रोगको औषधि पनि खाने गरेका कारण लोकबहादुरले जिम्मा लिने भन्ने सल्लाह भएको रहेछ ।’ त्यही कारण यसअघिको अनुसन्धानमा केही विषय छुटेको प्रहरीको दाबी छ ।

कारण पारिवारिक रिसिइबी

प्रहरीले पहिले घटनाको कारण व्यक्ति रिसिइबी भनेको थियो, अहिले पारिवारिक रिसिइबीले भनेको छ । २७ भदौमा प्रहरीले बताएअनुसार तेजबहादुरले लोकबहादुरलाई अल्छी, पागल भनेर गाली गर्ने गरेको र घटना भएको दिन पनि गाली गरेपछि आवेशमा आएर घटना घटाएको प्रहरीको दाबी थियो ।

तर अहिले तेजबहादुरसँग अरु अभियुक्तको पनि रिस रहेको र मिलेर हत्या गरेको बताएको छ । प्रहरीले अहिले बताएअनुसार अभियुक्तमध्ये एक खड्गबहादुर मादक पदार्थ सेवन गरेर घर परिवारमा झगडा गर्थे, तेजबहादुर उनलाई थाली गर्थे । त्यसबेला नै उनले तलाईं मार्छु भनेको प्रहरीको दाबी छ ।

रणबहादुर र उनका छोरा नरेशलाई पनि केही गर्न सक्दैनन् भनेर भन्ने गरेको र उनीहरुले जहिले पनि हेप्ने भनेर मनमा ईख पालेकाले घटना घटाएको प्रहरीको दाबी छ ।

अनुत्तरित प्रश्नहरु

जानकारहरुका अनुसार संखुवासभा घटनामा प्रहरीले प्रमाणभन्दा बयानलाई प्राथमिकता दिएर अनुसन्धान गरेको देखिन्छ । र, अझै पनि केही प्रश्न अनुत्तरित छन् ।

पहिलो प्रश्न : तेजबहादुर र कमलामाथि छुरी प्रहार भएको कसरी थाहा भएन ?

यसअघिसम्म प्रहरीले पार्वतीबाहेक सबैलाई चिर्पटले हानेर हत्या भएको बताएको थियो । तर अहिले तेजबहादुरको पेटमा र कमलाको घाँटीमा छुरी प्रहार भएको बताएको छ । यसले प्रश्न उठ्छ, दुई जनाको शरीरमा छुरी प्रहार भएको कसरी देखिएन ? जबकि सबै मृतकको पोस्टमार्टम गरिएको थियो ।

दोस्रो प्रश्न : पार्वती कुँडो पकाउँदै थिइन् कि मकै नङ्ग्याउँदै ?

प्रहरीले यसअघि मृतकमध्ये पार्वती घरमा कुँडो पकाइरहेका बेला लोकबहादुरले भित्तामा ठोक्काएर हत्या गरेको भनेको थियो । तर हाल प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा पार्वती मकै लंग्याइरहेको अवस्थामा हस्तबहादुरले समातेर गोठ नजिक लगेको र लोकबहादुरले टाउको ठोक्काएको भनेको छ ।

दुई साताको फरकमा मृतकको अवस्थाबारे तथ्य नै कसरी फरक आयो भन्ने खुलेको छैन ।

तेस्रो प्रश्न : प्रहरीले अहिले पाँच जनाले योजनाबद्ध हत्या गरेको र धनमाल लैजाने पनि योजना भएको बताएको छ । तर ६ जनाको हत्या गरेको यो समूहले रञ्जनासँग भएको मोबाइल बाहेक अरु कुनै धनमाल लगेको भेटिएको छैन । यसले प्रश्न उठ्छ, धनमाल लैजाने योजना थियो भने किन लगेनन् ?

यसबाहेक अनुसन्धान गर्दा प्रहरीले मोबाइल भेटिएको विषयलाई किन नजरअन्दाज गर्‍यो भन्ने प्रश्न पनि छ । त्यसैले एकै परिवारको ६ जनाको हत्या भएको यो घटनामा प्रहरीले अझ अनुसन्धान गर्नुपर्ने अधिकारीहरु बताउँछन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?