+
+
तरलता समस्या :

राष्ट्र बैंकको उदारता चाहिन्छ

दीपेन्द्रबहादुर क्षेत्री, पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पूर्व गभर्नर
२०७८ असोज ६ गते १९:१२

यो वर्ष दशैंको बेलामा तरलता अभाव देखियो, तर तरलता समस्या सधैं दशैंको बेलामा देखिने भने होइन । अहिले तरलता अभाव हुनुका केही कारण छन् । पहिलो हो, बजेटको अनिश्चितता । बजेट पारित नहुँदा सरकारले गर्ने खर्च नै रोकिएको छ । बजेट अनिश्चित हुँदा सरकारको ढुकुटीमा धेरै रकम थन्कियो ।

बजारमा आउनुपर्ने रकम सरकारी ढुकुटीमा नै थन्किदा असर परिहाल्छ । ठेकेदारलाई दिनुपर्ने भुक्तानीलगायत सरकारले दिनुपर्ने अधिकांश भुक्तानी रोकिँदा वित्तीय बजारमा ठूलै असर परेको छ । सरकारी बजेट खर्च भएको भए पैसा बजारमा आउँथ्यो । बजेट कार्यान्वयनमा जानेवित्तिकै यो समस्या समाधान हुन्छ ।

तरलता समस्या देखिएपछि बैंकहरुले ब्याजदर बढाएका छन् । केही बैंकले त निक्षेपमा १० प्रतिशत हाराहारी ब्याज दिने घोषणा गरेका छन् । तर अझै पनि ब्याजदर मुद्रास्फिति भन्दा तल छ । तथ्यांकमा मुद्रास्फिति अहिले ६ प्रतिशत हाराहारीमा छ । बजारमा महंगी कति छ भनिसाध्य छैन ।

तरलता समस्या देखिनुको अर्को कारण कर्जाको माग पनि हो । बैंकहरुमा जति वचत (निक्षेप) संकलन भयो त्यो भन्दा धेरै ऋण (कर्जा) लगानी भएको छ । २० प्रतिशत वचत संकलन भएको छ भने कर्जा लगानी २७ प्रतिशतले बढेको छ ।

यो तथ्यांक हेर्दा कोरोना महामारीले अर्थतन्त्रलाई खासै असर पारेको देखिँदैन । उद्योगी व्यवसायीहरुले हामीलाई धेरै समस्या भयो, कोरोनाले अर्थतन्त्र नराम्रो अवस्थामा पुर्‍यायो भनिरहेका छन् । तर बैंकमा खराब कर्जाको अवस्था एकदमै न्यून छ । कोरोनाको असर उद्योग व्यवसायमा परेको भए खराब कर्जा अहिलेको भन्दा धेरै हुन सक्थ्यो । किनकी ऋणीले ऋण तिर्न सक्ने अवस्था हुँदैनथ्यो ।

अहिले बैंकहरुमा कर्जाको माग धेरै भएकाले तरलता अभावको समस्या तिहारसम्मै रहन सक्छ । यो समस्या समाधानका लागि बैंकहरुले पनि तत्परता देखाउनुपर्छ । यसका लागि राष्ट्र बैंकले रिपोमार्फत बजारमा पैसा पठाउनुपर्छ । तर बैंकहरुले फाइदा कम हुन्छ भनेर रिपो लिन मानिरहेका छैनन् ।

तरलता समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको घोषणा कार्यान्वयन हुनुपर्छ । रीत पु¥याएनन् भने पु¥याएर आउनुस् हामी दिन्छौं भन्ने तत्परता देखाउनुपर्छ ।

स्थिर नीतिको आवश्यकता

नेपालमा तरलताको समस्या आउँछ, तर धेरै लामो समय रहदैन । यसअघि पनि यस्तो समस्या बेलाबेलामा देखिएको हो । तरलता समस्याको दीर्घकालीन समाधान भनेको स्थिर नीति नै हो । नीतिहरु चाडैचाँडै परिवर्तन भइरहने हुँदा समस्या देखिएको हो । सरकारले खर्च गर्ने कुरामा पनि अलि बढी ध्यान दिनुपर्छ । सरकारले समयमा खर्च गर्ने हो भने पनि तरलताको समस्या धेरै हुँदैन ।

अहिले बजेटका कारण २४ वटा फलाम उद्योगहरु बन्द हुने अवस्थामा पुग्यौं भन्दैछन् । यसले त्यस क्षेत्रमा कर्जा जाने क्रम घट्ला । राजश्व आम्दानी पनि गुम्छ । ६ वटा उद्योगले प्रश्रय पाए २४ वटा समस्यामा पर्‍यो भनेका छन् । यो पनि दीर्घकालीन नीतिको समस्याका कारण भएको हो । नेपाल राष्ट्र बैंकले तरलता पम्पिङ गर्न नीतिभित्रै रहेर उदारता देखाउनुपर्छ । राष्ट्र बैंकले उदारता नदेखाएसम्म समस्या समाधान भइहाल्ने देखिँदैन ।

(राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष र पूर्वगभर्नर अर्थशास्त्री क्षेत्रीसँग अनलाइनखबरकर्मी रोयल आचार्यले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?