+
+
Shares

केन्द्रीय बैंकले एकै दिनमा डेढ खर्ब तरलता खिच्यो, निक्षेप संकलनको ब्याजदर बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते २१:५३

१९ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार मात्रै एक खर्ब ५७ अर्ब तरलता खिचेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको उक्त रकम निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत खिचेको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएको छ ।

केन्द्रीय बैंकले तरलता व्यवस्थापनमा सहज हुने भन्दै ४ प्रतिशतको अनिवार्य नगद मौज्दातको दैनिक कायम गर्नुपर्ने सीमा ७० बाट बढाएर ९० प्रतिशत पुर्‍यायो । तरपनि वित्तीय प्रणालीको अधिक तरलताको समस्या व्यवस्थापन गर्न झनै जटिल देखिएको हो ।

आर्थिक गतिविधिमा आएको सुस्तता, बैंकहरू लगानी भन्दा पनि असुलीमा केन्द्रित हुँदा कर्जाको मागमा आएको कमीले अधिक तरलताको समस्या बढ्दै गएको हो । त्यसका साथै रेमिट्यान्स आप्रवाहमा आएको निरन्तर सुधार र निर्यात बढ्दा वित्तीय प्रणालीमा निक्षेप थपिएको तुलनामा कर्जा बढ्न नसक्दा पनि समस्या आएको हो ।

बैकिङ प्रणालीमा अधिक तरलता भएपछि सोमबार केन्द्रीय बैंकले ७० अर्बको निक्षेप संकलन उपकरण निष्काशन गरेको थियो । उक्त उपकरणका लागि बैंक तथा वित्तीय संस्थाले ४४ अर्ब ४० करोड रुपैयाँ मात्रै दिएका छन् ।

निक्षेप संकलन उपकरण परिपक्क हुन २१ दिन लाग्ने भएकाले सोमबार बैंक तथा वित्तीय संस्था एक खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ स्थायी निक्षेपमा राखेका छन् । सोमबार वित्तीय प्रणालीमा २ खर्ब ५३ अर्ब ४७ करोड रुपैयाँ तरलता भएपछि केन्द्रीय बैंकले उक्त निक्षेप संकलन उपकरण जारी गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन भन्दा स्थायी निक्षेपमा धेरै ब्याजदर पाउँछन् । किनभने स्थायी निक्षेपको दर ब्याजदर करिडोरको तल्लो सीमा अर्थत ३ प्रतिशत हो । तर, निक्षेप संकलनको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुन्छ ।

सोमबारको निक्षेप संकलनमा बैंक तथा वित्तीय संस्थाले अधिकतम ३ र न्यूनतम २.८५ प्रतिशत माग गरेका छन् । सोमबारको निक्षेप संकलको औसत ब्याजदर २.९८५८ प्रतिशत कायम भएको छ । यो ब्याजदर यसभन्दा जोठ १४ गतेको निक्षेप संकलन उपकरणको औसत ब्याजदर भन्दा धेरै हो । सो दिन निक्षेप संकलनको औसत ब्याजदर २.८००७ प्रतिशत कायम भएको थियो ।

सोमबार खिचेको तरलता सँगै केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको ३ खर्ब ६९ अर्ब ४० करोड रुपैयाँ छ । केन्द्रीय बैंकमा भएको उक्त रकम मध्ये निक्षेप उपकरणको २ खर्ब ५६ अर्ब ६५ करोड रुपैयाँ हो भने स्थायी निक्षेप सुविधाको एक खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?