 
																			२२ चैत, काठमाडौं । कार्यकाल सकिएपछि बल्ल नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकमाथि आफूले कार्यकाल सम्हाल्दै गर्दा सरकारबाट हस्तक्षेप भएको स्पष्ट पारेका छन् ।
साथै उनले आफ्नो कार्यकालमा भएका प्रमुख उपलब्धि सार्वजनिक गरेका छन् । शुक्रबार राष्ट्र बैंकमा आयोजित एक कार्यक्रम मार्फत उनले ५ वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरेका हुन् ।
सोही क्रममा उनले केन्द्रीय बैंकमाथि भएको ठाडो हस्तक्षेपविरुद्ध प्रभावकारी सहयोग पाएको उल्लेख गरे । घुमाउरो भाषामा उनले आफ्नो कार्यकालको दोस्रो वर्ष पुग्दै गर्दा केन्द्रीय बैंकमाथि तत्कालीन सरकारबाट ठाडो हस्तक्षेप भएको उल्लेख गरे ।
‘कार्यकालको दोस्रो वर्ष पुग्दै गर्दा नेपाल राष्ट्र बैंक नेतृत्वमाथि प्रहार भइ केन्द्रीय बैंकको स्वायत्ततामाथि ठाडो हस्तक्षेप भएको अवस्थामा बैंक सञ्चालनको विश्वव्यापी मान्यताअनुरुप स्वायत्ततालाई अक्षुण राखिदिनुहुने सर्वोच्च अदालत, न्यायाधीश तथा अधिवक्ताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु’ उनले भने ।
२०७८ को चैत अन्तिम साता शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको दवावमा गभर्नर अधिकारीलाई निलम्वन गरेको थियो । सो निलम्बनपछि सर्वोच्च अदालत पुगेका अधिकारीलाई अदालतले पुर्नबहाली गरिदिएको थियो । सोही प्रसंगलाई अधिकारीले शुक्रबार उल्लेख गरेका हुन् ।
आफूले कार्यकाल सम्हाल्दै गर्दा कोरोना महामारी त्यसलगत्तैको रुस–युक्रेन युद्धका कारण मुलुकको अर्थतन्त्रमा ठूला चुनौति आइपरेको उल्लेख गरे । ती चुनौतीलाई केन्द्रीय बैंकले सक्दो रुपमा समाधानको पहल गरेको उनले स्पष्ट पारे ।
विदेशी लगानी विविधीकरण, विदेशी विनियम व्यवस्थापन विभागको लगानी शाखामा थप समय काम गर्ने परिपाटीको सुरुवात गरिएको उनले बताए । यसले नेपाल सरकारको खातामा जम्मा हुने रकमान्तर बढेको उनले बताए ।
कोभिड संक्रमणको पहिलो वर्षबाहेक बाँकी ४ वर्षमा ऐनले निर्दिष्ट गरेको व्यवस्थाअनुसार समयमै वार्षिक प्रतिवेदन सरकारसमक्ष पेश गर्न सफल भएको उनले बताए । सूचना प्रविधि महाशाखालाई विभागमा अपग्रेड गरिएको, रेमिट्यान्स कम्पनी तथा गैर बैंकिङ संस्थालाई सुपरीवेक्षण गर्न नयाँ विभागको स्थापना गरिएको अधिकारीले बताए ।
मौद्रिक नीतिलाई आधुनीकीकरण गर्दै तरलता व्यवस्थापनको काम प्रभावकारी बनाउँदै लगिएको उनले बताए । ‘कोरोना महामारीका बेला उपलब्ध सीमित स्रोतसाधनलाई प्रयोग गरी वित्तीय स्थितिलाई लयमा राख्नु ठूलो चुनौति थियो’ उनले भने ‘यस्तो अवस्थामा मौद्रिक नीति तर्जुमा गर्दा सजगतापूर्वक, तथ्यमा आधारित रहेर राष्ट्र बैंकले उपायहरु अवलम्बन गर्यो ।’ यी उपायले नै समकक्षी देशहरुको तुलनामा नेपालको अर्थतन्त्रलाई बलियो लयमा राख्न राष्ट्र बैंक सफल भएको उनले बताए ।
अधिकारीले आफ्नो कार्यकालमा ल्याइएको चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनले वित्तीय क्षेत्रलाई दीर्घकालीन रुपमा बलियो बनाउने उल्लेख गरे । ‘यो मार्गदर्शनले तत्कालीन समयमा केही व्यवसायीलाई अप्ठेरो परे पनि यसले दीर्घकालीन रुपमा वित्तीय प्रणाली र समग्र अर्थतन्त्रलाई मजबुत बनाउने छ’ उनले भने ।
वित्तीय क्षेत्रको प्रभावकारी नियमन र सुपरीवेक्षणको लागि असल अभ्यास अवलम्बन गरिएको अधिकारीले बताए । ‘सम्पत्ति सुद्धीकरण तथा साइबर सुरक्षासम्बन्धी सुपरीवेक्षण, भुक्तानी प्रणालीमा संलग्न संस्थाहरुको निगरानी, गैरबैंकिङ संस्थाहरुको सुपरीवेक्षण लगायतका कार्यलाई प्रभावकारी बनाइएको छ’ उनले भने ।
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4