News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष १६ माघसम्म बैंकहरूको कुल निक्षेप ४ खर्ब ४ अर्ब बढ्दा कर्जा १ खर्ब ७२ अर्बमा सीमित भएको छ।
- केन्द्रीय बैंकले पुसमा २ खर्ब रुपैयाँ बराबरको बन्ड जारी गरेर तरलता खिचेको भए पनि ब्याजदरमा दबाब परेको छ।
- बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ७३.९७ प्रतिशतमा छ, जुन माथिल्लो सीमा ९० प्रतिशतभन्दा कम छ।
१८ माघ, काठमाडौं । चालु आर्थिक वर्ष पनि अपेक्षित कर्जा लगानी नहुने स्पष्ट भएको छ ।
चालु आव १६ माघसम्म बैंकहरूको कुल निक्षेप ४ खर्ब ४ अर्ब बढ्दा कर्जा भने १ खर्ब ७२ अर्बमा सीमित भएको हो ।
वित्तीय प्रणालीमा निक्षेप थपिने क्रम बढेको अनुपातमा कर्जा माग नआउँदा अधिक तरलता समस्या जटिल बनेको छ । अधिक तरलताका कारण केन्द्रीय बैंकले ब्याजदरको जोखिमयुक्त उतारचढाव नियन्त्रण गर्नसमेत चुनौतीपूर्ण देखिएको छ ।
चालु आव अधिक तरलताका कारण ब्याजदर निकै न्यून भए पनि दीर्घकालीन रूपमा तरलता खिच्न राष्ट्र बैंकले ऋणपत्र जारी गर्यो । केन्द्रीय बैंकले पुसमा मात्रै २ खर्ब रुपैयाँ बराबरको बन्ड जारी गरेर तरलता खिचे पनि ब्याजदरमा अझै दबाब परेको छ ।
बन्डमार्फत पनि तरलता व्यवस्थापन नभएपछि केन्द्रीय बैंकले लामो अवधिको निक्षेप संकलन उपकरण प्रयोग समेत बढाएको छ । साथै, स्थायी निक्षेप सुविधा पनि एक दिन बिराएर बैंकहरुले प्रयोग गर्दै आएको अवस्थामा समेत अधिक तरलताको समस्या जस्ताको तस्तै देखिन्छ ।
केन्द्रीय बैंकका अनुसार आइतबारसम्म वित्तीय प्रणालीको ८ खर्ब ६४ अर्ब रुपैयाँ केन्द्रीय बैंकसँग छ । उक्त पैसा लिएबापत केन्द्रीय बैंकले २.७५ प्रतिशत हाराहारी ब्याज तिर्न पर्छ । तरलता खिच्दा केन्द्रीय बैंकले दिने ब्याजदर भनेको ब्याजदर करिडोरको तल्लो सीमा अर्थात् निक्षेप संकलन दर २.७५ हो ।
बैंकहरूले पनि त्यसभन्दा कम ब्याजदर बचत वा निक्षेपकर्तालाई दिन पाउँदैनन् । त्यसले गर्दा पनि बैंकहरूले चाहेर पनि बचतको ब्याजदर त्यसभन्दा तल ल्याउन नपाएको एक बैंकरले बताए ।
‘कर्जाको माग छैन, सर्वसाधारणलाई निक्षेप फिर्ता लैजाऊ भन्न नमिल्ने,’ ती बैंकरले भने, ‘लगानी गर्ने क्षेत्र एक्स्प्लोर हुन सकेको छैन, भएकाले पनि कर्जा मागेका छैनन्, ब्याज मात्रै तिर्नुपरेको छ, घटाउन राष्ट्र बैंकले दिँदैन ।’
बैंकहरुले आफूखुसी ब्याजदर घटाएको अवस्थामा धेरै भएको पैसा केन्द्रीय बैंकमा राख्न पाउँदैनन् । चालु आव पुसमा केही कर्जा बढेको देखिन्छ । त्यो विगतकै बैंकिङ कारोबार दोहोरिएको हुन सक्ने उनको भनाइ छ ।
आर्थिक गतिविधि चलायमान भएर भन्दा पनि दोस्रो त्रैमास समाप्तिका कारण पुसमा धेरै कर्जा गएको देखिएको हो । बैंकहरूको उक्त कर्जाले कर्जा भुक्तानी गरी धेरै कारोबार सेटल गर्न मद्दत गरेको हुन सक्ने ती बैंकरको अनुमान छ ।
अर्थतन्त्रमा देखिएको सुस्तता र राजनीतिक अस्थिरताले कर्जा माग बढ्न नसकेको बैंकहरूले बताउने गरेका छन् । नयाँ उद्योग स्थापना गर्ने तथा उत्पादन बढाउने भन्दा पनि पुराना कम्पनी नै बन्द गर्ने वा उत्पादन कटौतीमा लग्दा कर्जा मागमा सुधार नआएको हो ।
त्यस्तै बैंकहरूले पनि कर्जा डिफल्ट दर बढे पनि सुरक्षित क्षेत्र पहिचान गर्न नसकेपछि कर्जा लगानी नियन्त्रण गर्दा माग बढ्न नसकेको हो ।
चालु आव पुसमा वाणिज्य बैंकहरूको निक्षेप १ खर्ब ३० अर्बले बढेको छ । त्यसको कारण बैंकहरूले निक्षेपमा दिएका ब्याजदरका कारण पनि निक्षेप बढ्न मद्दत गरेको हो ।
त्यसैगरी रेमिट्यान्स आप्रवाहमा देखिएको निरन्तर सुधारले निक्षेप बढ्ने क्रम जारी छ । तर, पुस मसान्तसम्म २० वाणिज्य बैंकले १ खर्ब ५ अर्ब कर्जा लगानी गरेका छन् । त्यसपछि मात्र १६ माघसम्म निक्षेप र कर्जा ९ अर्बका दरले घटेको नेपाल बैंकर्स संघले जनाएको छ ।
संघका अनुसार बैंकहरूको कर्जा लगानी अवस्था हेर्दा गत आव माघसम्मको तुलनामा चालु आव थोरै हो । तर, निक्षेप गत वर्षको तुलनामा धेरै हो । १६ माघसम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ७३.९७ प्रतिशतमा छ । यस्तो अनुपातको माथिल्लो सीमा ९० प्रतिशत हो ।
१४ माघसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७६ खर्ब ८४ अर्ब पुगेको छ । सो अवधिमा वित्तीय प्रणालीको कर्जा लगानी ५७ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । सोही अवधिमा वाणिज्य बैंकहरूको निक्षेप ६९ खर्ब २२ अर्ब छ भने कर्जा लगानी ५१ खर्ब ३९ अर्ब पुगेको छ ।
प्रतिक्रिया 4