News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले आफ्नो उपदान र पेन्सन कोषमा रहेको ९ अर्ब ५० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ।
- राष्ट्र बैंकले वाणिज्य बैंकमा ७ अर्ब ६० करोड ६० लाख, विकास बैंकमा १ अर्ब ४२ करोड ५० लाख र वित्त कम्पनीमा ४७ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछ।
- निक्षेपमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले चैत ५ गतेसम्म आवेदन दिनुपर्ने र विभिन्न वित्तीय मापदण्ड पूरा गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।
२ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको साढे ९ अर्ब रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।
केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा प्रतिशतका आधारमा लगानी हुनेछ। उक्त रकममध्ये वाणिज्य बैंकमा ७ अर्ब ६० करोड ६० लाख, विकास बैंकमा १ अर्ब ४२ करोड ५० लाख र वित्त कम्पनीमा ४७ करोड ५० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने गरी छुट्याइएको छ ।
राष्ट्र बैंकले चैतको १० देखि २०८३ चैत २ गतेसम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा राख्न लागेको हो । उक्त रकम निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आगामी बिहीबार अर्थात् चैत ५ गतेसम्म माग आवेदन बुझाउपर्नेछ ।
उक्त रकम निक्षेपमा लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ । राष्ट्र बैंकबाट तोकिएको न्यूनतम कुल पूँजीकोष (बफर सहित) कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ ।
खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा/निक्षेप अनुपात समय–समयमा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाब अनुसार खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको छ ।
त्यसैगरी निक्षेप लगानी गरिने बैंक तथा वित्तीय संस्था शीघ्र सुधारात्मक कारबाहीमा परेको भए यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, त्यस्तै राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने र भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ ।
प्रतिक्रिया 4