
News Summary
Generated by OK AI. Editorially reviewed.- उत्तरपूर्वी भारतको सिक्किममा भारी वर्षापछि आएको पहिरोले ३ सैनिकको मृत्यु भएको छ भने ६ जना बेपत्ता बनाएको छ।
- सिक्किम र पूर्वोत्तर भारतका अन्य भागहरूमा लगातार चार दिनदेखि वर्षा र बाढीले ३७ जनाको ज्यान लिएको छ।
- भारतीय सेना, वायुसेना र असम राइफल्सले राहत र उद्धार कार्यमा सक्रियता देखाएको छ।
१९ जेठ, नयाँदिल्ली । उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु हुनुका साथै अन्य छ जना बेपत्ता भएको भारतीय सेनाले सोमबार जनाएको छ ।
आइतबार साँझ ७ बजे नेपाल र चीनसँग सीमा जोडिएको हिमाली राज्य सिक्किममा अवस्थित एक सैनिक शिविरमा भारी वर्षापछि आएको पहिरोले आक्रमण गर्दा ३ सैनिकको मृत्यु भएको हो। भारतीय सञ्चार माध्यमका अनुसार उनीहरूको शव भेटिइसकेको छ। चार जनालाई मलबामुनिबाट जीवितै उद्धार गरिएको छ, जसलाई सामान्य चोटपटक लागेको छ। तर ६ जना सैनिक अझै बेपत्ता छन् र खोज तथा उद्धार कार्य जारी छ।
सेनाले सोमबार घटनाबारे जानकारी दिँदै मृतक सैनिकहरू हवल्दार लखविन्दर सिंह, लान्स नायक मनीष ठाकुर र पोर्टर अभिषेक लखाडा रहेको बताएको छ।
यसैबीच, सिक्किमको लाचेन र लाचुंग क्षेत्रमा ३० मेदेखि अड्किएका एक हजारभन्दा बढी पर्यटकहरूलाई पनि आज उद्धार गरिएको छ।
पूर्वोत्तर भारतमा अविरल वर्षा, बाढी र पहिरोबाट ३७ जनाको मृत्यु
सिक्किमसहित पूर्वोत्तर भारतका राज्यहरूमा चार दिनदेखि लगातार भारी वर्षा भइरहेको छ। यसले ल्याएको बाढी र पहिरोका घटनामा अहिलेसम्म ३७ जनाको ज्यान गएको छ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार असममा १० जना, अरुणाचल प्रदेशमा ९ जना, मिजोरममा ५ जना र मेघालयमा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ।
सिक्किममा अक्टोबर २०२३ मा बादल फाटेपछि टिष्टा नदीमा आकस्मिक बाढी आएको थियो, जसमा १८ जनाको मृत्यु भएको थियो।
कम्तीमा ९८ जना बेपत्ता भएका थिए, जसमा भारतीय सेनाका २२ जना जवान पनि परेका थिए। उनीहरूको हालसम्म केही अत्तोपत्तो छैन।
राहत र उद्धारमा सेना सक्रिय
पूर्वोत्तर भारतमा भइरहेको विपद् व्यवस्थापनका लागि भारतीय सेना, वायुसेना र असम राइफल्सका जवानहरू परिचालन गरिएको छ।
असममा ३.६४ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन्। ब्रह्मपुत्र र बराकसहित १० वटा प्रमुख नदीहरू खतरा सीमा नाघेर बगिरहेका छन्।
मणिपुरमा १९,००० भन्दा बढी मानिस प्रभावित, ३,३६५ घर क्षतिग्रस्त भएका छन्। त्रिपुरामा १०,००० भन्दा बढी मानिस प्रभावित छन्।
मिजोरमको राजधानी आइजोलमा भारी वर्षाका कारण २ जुनमा सम्पूर्ण विद्यालय बन्द गराउने आदेश दिइएको छ।
मिजोरममा ३० मे यताका २११ वटा पहिरोका घटना दर्ता भएका छन्।
अन्य राज्यहरूमा पनि सतर्कता
राजस्थानका ३० जिल्ला र मध्यप्रदेशका ५० जिल्लामा भारी वर्षाको अलर्ट जारी गरिएको छ। बिहारको वैशालीमा आइतबार बेलुका आएको आँधी र वर्षाले घर भत्किँदा ६० वर्षीया महिलाको मृत्यु भएको छ।
बिहारका ९ जिल्लामा आँधी-हावाहुरीको चेतावनी दिइएको छ।
सेनाले एक विज्ञप्ति जारी गर्दै भारी वर्षाका कारण आएको ठूलो पहिरो आइतबार साँझपख सेनाको क्याम्पमा खसेको जनाएको छ । सेनाले सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गरेको छ जसमा एक भवन अर्ध–जलमग्न भएको देखिन्छ ।
भारतमा मनसुनको मौसममा आकस्मिक बाढी आउनु सामान्य हो । योसामान्यतया जुनमा सुरु हुन्छ र सेप्टेम्बरको अन्त्यसम्ममा कम हुन्छ । दक्षिण एसियामा गर्मी बढ्दै गएको छ र हालैका वर्षहरूमा मौसमी अवस्थामा परिवर्तन आएको छ ।
- एजेन्सीहरूको सहयोगमा
प्रतिक्रिया 4