
News Summary
Generated by OK AI. Editorially reviewed.- गिजुभाई बधेका गुजरातको सौराष्ट्रमा १८८५ मा जन्मिएका थिए र बाल मनोविज्ञान र शिक्षाशास्त्रमा योगदान दिए।
- उनले बालबालिकाको स्वाभाविक विकास, स्वतन्त्रता र सकारात्मक वातावरणको महत्त्वमा जोड दिए।
- गिजुभाईले बालबालिकालाई बुझ्ने, सम्मान गर्ने र खेल, कथा र संवादमार्फत सिकाउने विचार व्यक्त गरे।
गिजुभाई बधेका भारतका प्रख्यात शिक्षाशास्त्री, लेखक र बाल मनोविज्ञानका जानकार थिए । गुजरातको सौराष्ट्रमा सन् १८८५ मा जन्मिएका गिजुभाईको ५४ वर्षको उमेरमा उनको मृत्यु भएको थियो ।
गुजराती भाषामा उनले बालबालिकाको शिक्षा र लालनपालनमा केन्द्रित धेरै पुस्तकहरू लेखे । उनका पुस्तकले बालमैत्री शिक्षण विधिको परिकल्पना र विकासमा महत्त्वपूर्ण योगदान पुर्याए ।
उनको दर्शन र शिक्षण विधि अभिभावक, शिक्षक र शिक्षाविद्हरूका लागि आज पनि प्रेरणादायी छ। गिजुभाईको विचारमा बालबालिकालाई हुर्काउन एक कला हो । यो कलामा माया, समझदारी, स्वतन्त्रता र सही मार्गदर्शनको सन्तुलन आवश्यक हुन्छ ।
उनले बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक र भावनात्मक विकासलाई प्राथमिकता दिँदै उनीहरूको स्वाभाविक जिज्ञासा र रचनात्मकतालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
गिजुभाई बधेकाले बालबालिकालाई हुर्काउने कलाबारे व्यक्त गरेका विचार, सिद्धान्तहरू र व्यावहारिक ज्ञानहरू के-के हुन् त ?
बालबालिकालाई बुझ्ने र स्वीकार गर्ने कला
बालबालिकालाई हुर्काउँदाको पहिलो कदम उनीहरूको स्वभाव र आवश्यकताहरूलाई बुझ्नु रहेको गिजुभाईको भनाइ छ । ‘बालबालिकामा बुद्धि छ, भावना छ, मन छ, आफ्नै बुझाइ छ’ उनी भन्थे । बालबालिकाको व्यक्तित्वलाई सम्मान गर्न र उनीहरूको रुचि, इच्छा र भावनाहरूलाई बुझ्न उनले अभिभावक र शिक्षकहरूलाई आग्रह गरे ।
आग्रह गरे ।
गिजुभाईका अनुसार, प्रत्येक बच्चा अद्वितीय हुन्छ र उसको विकास उसको आफ्नै गतिमा र तरिकाले हुन्छ । त्यसैले, अभिभावकले बच्चालाई कुनै निश्चित साँचोमा ढाल्न खोज्नुको सट्टा उसको स्वाभाविक विकासलाई प्रोत्साहन गर्नुपर्छ ।
उनले बालबालिकालाई अबोध र निर्दोष प्राणीका रूपमा हेरे । उनको विचारमा, बच्चाहरूलाई तिरस्कार गर्नु वा उनीहरूको भावनालाई उपेक्षा गर्नुले उनीहरूको आत्मविश्वास र रचनात्मकतामा नकारात्मक असर पार्छ । उनले भनेका छन्-आफ्नो अहंकार र अभिमानका कारण हामीले बच्चाहरूलाई तिरस्कार वा अपमान गर्नुहुँदैन।
गिजुभाईले बालबालिकालाई स्वतन्त्रता प्रदान गर्नुपर्नेमा विशेष जोड दिए । ‘बच्चालाई सारा काम आफैं गर्न दिनुहोस्’ उनी भन्थे, ‘उसको आफ्नै मर्जीले र आफ्नै ढंगले गर्न दिनुहोस्।’ उनको यो दृष्टिकोणले बच्चाहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको आत्मविश्वास बढाउन मद्दत गर्छ ।
बच्चाहरूलाई साना-साना कामहरू, जस्तै मटरको दाना निकाल्ने, खानेकुरा पस्कने वा आफ्नो सामान व्यवस्थित गर्ने जिम्मेवारी दिनुपर्ने उनको सुझाव थियो । यी गतिविधिहरूले बच्चाहरूलाई जिम्मेवार बन्न सिकाउँछ र उनीहरूको बौद्धिक तथा शारीरिक विकासमा योगदान पुर्याउँछ ।
बच्चाहरूलाई गल्ती गर्न दिनुपर्छ भन्ने कुरामा पनि उनको जोड थियो । गल्तीबाट सिक्ने प्रक्रियाले उनीहरूको बुद्धिमा विकास हुन्छ भन्ने धारणा उनको थियो । गिजुभाईको यो दृष्टिकोण आजको ‘लर्निङ वाइ डुइङ’ अवधारणासँग मिल्दोजुल्दो छ, जसले बच्चाहरूलाई अनुभवबाट सिक्ने अवसर प्रदान गर्छ ।
सकारात्मक शैक्षिक वातावरण
गिजुभाईले बालबालिकाको विकासमा घर र विद्यालयको वातावरणले ठूलो भूमिका गर्छ भनेका छन्। ‘बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरण चाहिन्छ’ उनको तर्क छ । उनको विचारमा, बच्चाहरूलाई सिकाइको लागि प्रेरित गर्न, उनीहरूको रुचि र जिज्ञासालाई जगाउने वातावरण बनाउनुपर्छ । यो वातावरण दण्ड र भयमा आधारित नभई माया, प्रोत्साहन र सहयोगमा आधारित हुनुपर्छ ।
उनले अभिभावक र शिक्षकहरूलाई बच्चाहरूसँग कठोर व्यवहार नगर्न र उनीहरूको गल्तीलाई सकारात्मक रूपमा सुधार गर्न सुझाव दिए । यदि बच्चाले गल्ती गर्छ भने, उसलाई डर देखाउनुको सट्टा उसको गल्तीबाट सिक्ने अवसर प्रदान गर्नुपर्छ । गिजुभाईको यो दृष्टिकोणले बच्चाहरूमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्छ।
कथा र खेलको भूमिका
कथा र खेलहरूको माध्यमबाट बच्चाहरूलाई सिकाउने पक्षका ठूलो समर्थक थिए गिजुभाई। उनले कथाहरूलाई बालबालिकाको नैतिक, सामाजिक र भावनात्मक विकासको प्रभावकारी माध्यम माने । उनको पुस्तक ‘दिवास्वप्न’ मा उनले बालबालिकालाई कथाहरू सुनाउने र तिनको कल्पनाशक्तिलाई प्रोत्साहन गर्ने तरिकाहरू उल्लेख गरेका छन् । कथाहरूले बच्चाहरूलाई जीवनका मूल्यहरू, सहानुभूति र नैतिकताको पाठ सिकाउँछन् ।
त्यस्तै, उनले खेललाई बालबालिकाको सिकाइ र विकासको अभिन्न अंग माने । उनको भनाइ थियो, ‘खेलबाट बच्चाहरूले आफ्नो शारीरिक र मानसिक विकास गर्छन् ।’ खेलले बच्चाहरूलाई सहकारिता, नेतृत्व र सामाजिक कौशल सिकाउँछ । गिजुभाईले शिक्षक र अभिभावकहरूलाई बच्चाहरूलाई खुला ठाउँमा खेल्ने अवसर दिन र उनीहरूको रचनात्मकतालाई प्रोत्साहन गर्न सुझाव दिए ।
अभिभावक र शिक्षकको भूमिका
गिजुभाईले अभिभावक र शिक्षकहरूलाई बालबालिकाको विकासमा मार्गदर्शकको भूमिका निभाउन सुझाए । उनको विचारमा, अभिभावक र शिक्षकले बच्चाहरूलाई सधैं नियन्त्रण गर्न खोज्नुहुँदैन, बरु उनीहरूलाई आफ्नो बाटो आफैं बनाउन प्रोत्साहन गर्नुपर्छ । उनले भनेका छन्-हामीले बच्चाहरूको इच्छा र भावनालाई बुझ्नुपर्छ र तिनलाई सम्मान गर्नुपर्छ।’
उनले अभिभावकहरूलाई बच्चाहरूसँग खुला संवाद गर्न र उनीहरूको विचार सुन्न प्रोत्साहन गरे । यो संवादले बच्चाहरूलाई आफ्ना भावनाहरू व्यक्त गर्न र आत्मविश्वास बढाउन मद्दत गर्छ । साथै, उनले शिक्षकहरूलाई पनि परम्परागत शिक्षण विधिबाट हटेर बालमैत्री र रचनात्मक शिक्षण विधि अपनाउन सुझाव दिए।
गलत धारणा र अभिमानको प्रभाव
गिजुभाईले बालबालिकालाई हुर्काउने क्रममा अभिभावक र शिक्षकहरूको गलत धारणा र अभिमानले बच्चाहरूको विकासमा नकारात्मक प्रभाव पार्ने बताए । ‘आफ्नो गलत रीति र नीतिबाट हामी बच्चाहरूको शुद्ध आत्मालाई प्रदूषित नपारौं’ उनले भनेका छन् । उनको यो कथनले अभिभावकहरूलाई आफ्ना पुराना र कठोर परम्पराहरूलाई छोडेर बच्चाहरूलाई स्वतन्त्र र रचनात्मक वातावरण प्रदान गर्न प्रेरित गर्छ।
बच्चाहरूलाई अनावश्यक दबाब दिने वा अरुसँग तुलना गर्ने प्रवृत्तिको विरोध गरे । उनको विचारमा, प्रत्येक बच्चाको आफ्नै क्षमता र गति हुन्छ र उनीहरूलाई अरूसँग तुलना गर्नाले उनीहरूको आत्मसम्मानमा कमी आउँछ ।
गिजुभाईका १८ टिप्स
गिजुभाईले बालबालिकालाई हुर्काउने र शिक्षित गर्ने सन्दर्भमा केही व्यावहारिक टिप्स पनि दिएका छन्, जुन आज पनि उत्तिकै सान्दर्भिक छन् ।
१.बच्चालाई स्वतन्त्रता दिनुहोस्
२.गल्ती गर्न दिनुहोस्
३.बच्चाको रुचिलाई सम्मान गर्नहोस्
४.कठोर दण्ड नदिनुहोस्
५.खेललाई प्राथमिकता दिनुहोस्
६.कथाहरू सुनाउनुहोस्
७.बच्चाको भावनालाई बुझ्नुहोस्
८.आत्मविश्वास बढाउहोनुहोस्
८.सकारात्मक वातावरण बनाउनुहोस्
१०.बच्चालाई तुलना नगर्नुहोस्
११.खुला संवाद गर्नुहोस्
१२.रचनात्मकताको कदर गर्नुहोस्
१३.सहानुभूति देखाउनुहोस्
१४.जिज्ञासालाई प्रोत्साहन गर्नुहोस्
१५.आलोचना होइन, मार्गदर्शन गर्नुहोस्
१६.सामाजिक कौशल सिकाउनुहोस्
१७.आफ्नो व्यवहार सुधार्नुहोस्
१८.बालमैत्री शिक्षण अपनाउनुहोस्
प्रतिक्रिया 4