+
+
सन्दर्भ : संरक्षण दिवस :

हर्क गुरुङ जो नेपालको वैज्ञानिक विकास र भूगोलको डाक्टर थिए

डा. गोकर्ण जंग थापा डा. गोकर्ण जंग थापा
२०७८ असोज ७ गते ८:४९

एकजना अनुभवी र जान्ने डाक्टरले बिरामी हेर्ने बित्तिकै प्रमुख रोग पत्ता लगाउँछ र बाँकी त्यसको निदान गर्ने तरिका बताउन सक्छ । त्यस्तै एकजना कुशल भूगोलविद् हुनुहुन्थ्यो डा. हर्क गुरुङ । एकजना यस्ता भूगोलविद् जो नेपालको वैज्ञानिक विकास र भूगोलको डाक्टर हुनुहुन्थ्यो, उहाँले कोरेका सिमानाहरूमा कहिल्यै विवाद आएन । उहाँले देशभित्रको प्रत्येक नसाको निगरानी गर्न सक्नुहुन्थ्यो । प्रत्येक भू-भौतिक विभाजनको सही भू-उपयोग नीति र जनसङ्ख्याको उचित वितरण र अवसरहरूको फेहरिस्त राख्नुहुन्थ्यो ।

उहाँले नेपालको संघीयता सम्बन्धी खाका पनि कोर्नुभएको थियो र त्यसमा मैले पनि उहाँलाई सहयोग गरेको थिएँ । महेन्द्र सरकारबाट उतिबेला नेपालको विकास योजना समानुपातिक होस् भनेर तत्कालीन समयमा उपलब्ध अब्बल भूगोलविद् हर्क सरलाई उपयुक्त जिम्मेवारी प्राप्त भयो । लगत्तै उहाँले नेपालको वैज्ञानिक योजनाको शुरुआत गर्नुभयो । उहाँले जिल्ला, अञ्चल र विकास क्षेत्रको बलियो आधारस्तम्भ खडा गर्न महत्वपूर्ण भूमिका खेल्नुभयो ।

नेपालमा वैज्ञानिक विकासको अवधारणा चाहे जिल्ला, अञ्चल, विकास क्षेत्र समानुपातिक ढंगले गराउन प्रत्येक विकास क्षेत्रमा औद्योगिक क्षेत्रको स्थापना, सदरमुकामको छनोट किन नहोस् उहाँको ठूलो योगदान रहेको छ।

टोनी हागनपछि नेपाल बुझेको भूगोलविद् डा. हर्क नै हुनुहुन्थ्यो । मलाई अझै पनि लाग्दछ- उहाँले तान्ने प्रत्येक चुरोटको सर्कोमा नयाँ विचार आउँथ्यो कि। उहाँको घरमा जाँदा चुरोट राख्ने स्ट्रेमा दुईवटा चुरोट सल्काएर राखेको देखेको छु ।

‘थापा आइस्, ल अब नेपालको उचाइ भूगोल सम्बन्धी तेरो विचार के छ, यसले नेपालको भौतिक, सामाजिक, आर्थिक, परिवहन, कृषि र मानवीय विकास, वितरण र प्रणालीमा कस्तो भूमिका खेलेको छ ?’ मैले प्रश्न पाइहाल्थें ।

मैले पनि जानेजति जवाफ फर्काउँथें। हर्क गुरुङ सरको घरमा मलाई अक्सर उहाँको देश या विदेशमा हुने प्रस्तुतिको एनिमेसन गर्न र फोटोग्राफहरूको सिलसिलेबार परिवर्तन देखाउन मिल्ने गरी बनाउन डाक्नुहुन्थ्यो।

उहाँको सपना नेपालमा एकीकृत बस्ती बसाल्ने थियो। यसले पूर्वाधार र राज्यले जनतालाई दिने सुविधा सहज होस् भन्ने उहाँको चाहना थियो। नेपालको विभिन्न भौगोलिक विभाजन अनुसार वैज्ञानिक भू-उपयोग नीति अवलम्बन गर्ने, नेपालको भू-बनोट र भूगर्वको विस्तृत अध्ययन गरेर कुन विकासको योजना बनाउनेबारे उहाँ हरदम सोचिरहनुहुन्थ्यो। परामर्श गरिरहनुहुन्थ्यो।

उक्त योजना अनुसार जस्तै तराईमा अन्न, नगदेबाली, दलहन, कृषि अनुसन्धान केन्द्र खोल्ने, उत्पादित विभिन्न बालीको आधुनिकीकरण र बजारीकरण चुस्त बनाउन चाहनुहुन्थ्यो। जनसङ्ख्या, पूर्वाधार र बजारसम्मको पहुँचको आधारमा औद्योगीकरणको अवधारणा ल्याउने र सफल कार्यान्वयन गर्न चाहनुहुन्थ्यो। जनकपुर चुरोट कारखाना, सिमराको कृषि कारखाना, हेटौंडा सिमेन्ट, कपडा कारखाना, बुटवलमा चिनी, कागज, रबर उद्योगहरू यही अवधारणा अनुसार थिए, तर अहिले सब उद्योगले राजनीतीकरणले हावा खाइसके।

अझै पनि नेपालका दल र दलका प्रमुखहरू एउटा घर, एउटा स्कोर्पियो गाडी, दुई-चार वटा घडेरी, ५-१० जना आसेपासेमै रमाएका छन् । सोच ठूलो बनाउनु पर्यो, राजनीतिक दलका प्रमुखहरू (नेता त भन्दिनँ, नेता भनेको महाथिर, ली क्वुआन र सी जिन पिङ्ग जस्ता हुनुपर्छ), गमलामा रमाउनेहरू कहिल्यै पनि लेजेन्डरी फिगर हुन सक्दैनन्

मध्यपहाडमा पशुपन्छी, वागबानी, जलविद्युत अनि पहाडको घाँटीमा अति आकर्षक शहरहरू बसाउने र पर्यापर्याटनलाई पनि अगाडि बढाउने उहाँको सपना थियो। हिमाली भेगमा उच्च भेगीय बालीनाली, पशुपन्छी, साहसिक पर्यटन, संस्कृति आदिको संरक्षण र प्रवर्द्धन चाहनुहुन्थ्यो ।

मलाई- आज आएर के लाग्दैछ भने यो देश बिगार्न जसरी राजनीतिक पात्रहरू लाग्नुभएको छ, हामी भूगोलविद्, योजनाविद्, शिक्षा विज्ञ, पूर्वाधार विज्ञ, परिवहन विज्ञ, कृषि विज्ञ, वन तथा वातावरण विज्ञ, खानिजविद्, वन्यजन्तु विज्ञ, नदी विज्ञ, पशु विज्ञ आदि सबै मिलेर एकीकृत विकासको अवधारणा ल्याउने हो भने अझै पनि यो देशको कायापलट गर्न र अब्बल बनाउन सक्छौं ।

सक्छौं तर, राजनैतिक बिल्ला भिरेर वा झोले भएर हैन । विज्ञको हैसियतले सबैले आफ्नो काम गर्नु पर्यो, राजनीति गर्नेले राजनीति मात्रै गर, तिमीहरू ज्याक अफ अल, मास्टर अफ नन नबनौं, सबैले आफ्नो विषयलाई समातेर अगाडि बढौं ।

सबै क्षेत्रका विज्ञलाई एउटै प्लेटफर्ममा राखौं र वैज्ञानिक विकासको अवधारणा बनाऔं। यसले वैदेशिक नीति, भू-राजनीति, मानवीय स्रोत, प्राकृतिक स्रोत, पूर्वाधार विकासको खाका बनाओस्। राजनीतिक पार्टीले, चुनावमा खर्चिने पैसा नेपालमै भएका विभिन्न अनुसन्धान केन्द्रहरूलाई दिऊन्, प्रत्येक प्रदेशमा अनुसन्धानमूलक केन्द्र बनाऔं, जसले त्यहाँको भूगोल हेरेर काम गरोस् ।

अझै पनि नेपालका दल र दलका प्रमुखहरू एउटा घर, एउटा स्कोर्पियो गाडी, दुई-चार वटा घडेरी, ५-१० जना आसेपासेमै रमाएका छन्। सोच ठूलो बनाउनु पर्यो, राजनीतिक दलका प्रमुखहरू (नेता त भन्दिनँ, नेता भनेको महाथिर, ली क्वुआन र सी जिन पिङ्ग जस्ता हुनुपर्छ), गमलामा रमाउनेहरू कहिल्यै पनि लेजेन्डरी फिगर हुन सक्दैनन्।

डा. हर्कले करीब १५ वटा पुस्तक र ६७५ भन्दा बढी अनुसन्धानात्मक लेखहरू प्रकाशित गर्नुभएको थियो। सन् १९६८ मा जब राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष भएर काम गर्नुभएको थियो जुनबेला नेपालको आधुनिक विकासको खाका तयार गर्नुभयो। तत्पश्चात् उहाँले शिक्षा राज्यमन्त्री, उद्योग तथा व्यापार मन्त्री, पर्यटन राज्यमन्त्री भएर देशको वैज्ञानिक विकासको खाका तयार गर्नुभयो ।

हर्क सरलाई अझै पनि झल्झली सम्झन्छु र मृत्युपर्यन्त सम्झिरहनेछु। भूगोल विषयमा स्नातकोत्तर सक्ने बित्तिकै ताहाचल क्याम्पस, स्कूले विद्यार्थीको लागि एटलस, इसिमोडको काम, भूगोल केन्द्रीय विभाग, युएनडीपी हुँदै विश्व वन्यजन्तु कोषमा काम गर्न थालियो ।

डा. चन्द्रप्रसाद गुरुङको त्यो वजनदार बोली, गहकिलो र आकर्षक व्यक्तित्व, सधैं क्षितिजभन्दा पर हेरेर योजना बनाउने र नेपालको संरक्षण कार्यलाई देश, महादेश हुँदै विश्व भूगोलमा विस्तार गर्न सफल व्यक्तिव, डा. हर्कका अनन्य मित्र मात्र नभई सहोदर दाजुभाइ झैँ थिए।

विश्वमै पहिलो समुदायमा आधारित कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई समुदायमा औपचारिक हस्तान्तरण गर्दागर्दै अचानक सन् २००६ को सेप्टेम्बर २३ मा डा.चन्द्र गुरुङ, मिङ्ग्मा शेर्पा, डा. हर्क गुरुङ, देश तथा विदेशका संरक्षण क्षेत्रका अब्बल हाम्रा गुरुहरू लगायत २४ जनाले ताप्लेजुङ्गको घुन्सा नजिकै पर्ने फलेमा हेलिकोप्टर दुर्घटनामा परेर दिवंगत हुनुभयो । आदरणीय दिवंगत सम्पूर्णमा हार्दिक समवेदना !

विश्व वन्यजन्तु कोषको सल्लाहकार हुँदाहुँदै यो संसारबाट विदा हुनुभएका डा. हर्क गुरुङ, तपाईंलाई हामी भूगोलविद्हरूले आफ्नो संरक्षक मानेका थियौं र मानेका छौं। हामी सबै मिलेर आज नेपालको वन्यजन्तु, वन तथा वातावरण, जलवायु परिवर्तन, भू-जलाधार लगायत धेरै काम गर्दैछौं । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय र विभिन्न संघसंस्थासँग हातेमालो गर्दै विश्व वन्यजन्तु कोषले नेपालको संरक्षण क्षेत्रमा विश्वमै अनुकरणीय र अद्वितीय काम गरेको छ। हाम्रा अग्रजहरूलाई निराश नहुने गरी काम गरेका छौं । सदासर्वदा गरिनै रहनेछौं ।

(लेखकको प्रस्तुत विचारले कार्यरत संस्थाको प्रतिनिधित्व गर्दैन ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?