+
+

कोभिड र वैदेशिक रोजगार : यस्तो छ मलेशियाको खबर

प्रशान्त भट्ट प्रशान्त भट्ट
२०७८ असोज ८ गते १२:१३

कोभिड-१९ को महामारीले विश्व नै आक्रान्त बन्यो । यसको प्रभावबाट कोही पनि मुक्त हुन सकेन । नेपालमा खोप अभियान र एकप्रकारले धेरै संख्यामा हर्ड इम्युनको विकास भएपछि संक्रमितहरूको संख्या ओरालो लाग्न थालेको छ ।

नेपालीहरू नेपालमा मात्र छैनन् । युवा जनशक्तिको विशाल हिस्सा रोजगारीका लागि विश्वका विभिन्न देशमा फैलिएका छन् । कोभिड महाव्याधिको वैश्विक प्रभावबाट विश्वभरि फैलिएर रहेका नेपाली पनि प्रभावित हुँदै आएका छन् ।

यसरी नेपालबाट रोजगारको लागि बाहिरी मुलुकमा जाने नागरिकको बारे पनि कोभिडले पारेको प्रभाव अध्ययनका लागि नेपाल सरकार, सम्बन्धित देशका दूतावास लगायत आवासीय र गैरआवासीय नेपाली संघसंस्थाहरूले तथ्यांक संकलन गरिरहेका छन् ।

पछिल्लो समयमा मलेशिया सरकारले कोभिड नियन्त्रणका लागि भनेर विभिन्न चरणमा लकडाउन समेत गरेको थियो । जसको प्रत्यक्ष असर मलेसियन नागरिकलाई भन्दा वैदेशिक रोजगारीमा संलग्नहरूलाई परेको थियो । अधिकांश कम्पनी नै बन्द भएर विना काम बस्नु समेत परेको थियो ।

अझ त्यही समयमा संक्रमित बन्न पुग्नेहरूले झनै कष्टकर जीवन बाँच्नुपर्‍यो । एकातिर जागिर गुमेसँगै आम्दानीका बाटाहरू बन्द भएका छन् भने अर्कोतिर फरक र अप्ठ्यारा व्यवहार भोग्नुपरेको छ । स्थानीयहरूले गर्ने व्यवहार र हेर्ने नजर लगायत अन्य कुराहरूले अझै चुनौतीपूर्ण अवस्था सिर्जना उत्पन्न गरेको थियो ।

तर जसोतसो मलेशियाले अहिले खोप कार्यक्रमलाई प्राथमिकतामा राखेर विभिन्न खोप अभियान सञ्चालन गरिरहेको छ । विभिन्न चरणमा सञ्चालित यस्ता खोप अभियानमा पहिलो चरणमा स्वास्थ्य तथा सुरक्षाकर्मीलाई प्राथमिकता दिइएको छ । दोस्रो चरणमा वृद्ध तथा बालबालिकाहरूलाई प्राथमिकतामा राखिएको थियो ।

अहिले मलेशियाले तेस्रो चरणको कार्यक्रम अन्तर्गत बाँकी रहेका नागरिक लगायत विदेशी नागरिकलाई खोप लगाउने कार्यक्रम गरिरहेको छ । तेस्रो चरण अन्तर्गत हालसम्म मलेशियामा पूर्ण खोप पाउनेको संख्या ५७ प्रतिशत पुगिसकेको छ । मलेशिया सरकारले आगामी फेब्रुअरीसम्ममा देशलाई पूर्ण खोपयुक्त देश बनाउने लक्ष्य लिएको छ ।

पछिल्लो समय मलेशियाले कोरोना संक्रमित घट्न शुरु हुनासाथ लकडाउनलाई केही खुकुलो बनाउँदै लगेको छ । लकडाउनले देशको अर्थतन्त्रमा आएको गिरावटलाई उकास्नका लागि भन्दै अहिले मलेशियाले बाहिर मुलुकबाट कामदार ल्याउने प्रक्रियामा समेत कटौती गरेको छ ।

कानून अनुसार नै यहाँका सुरक्षा अंगले शंकाकै आधारमा जो कसैलाई पनि गिरफ्तार गर्न र थुन्न पाउँछ । मानवअधिकार पालनको हिसाबले विश्व समुदायले मलेशियाको आलोचना गर्छ ।

यसरी कटौती गरेर स्वदेशमा कोरोनाबाट प्रभावित भएर बेरोजगार बनेका नागरिकलाई रोजगारीमा ल्याउने नीति लागू गरिसकेको छ । अधिकांशले पूर्ण खोप लगाइसकेपछि अहिले मलेशियामा जति पनि वैदेशिक कामदार छन्, सबैजसो सामान्य काममा फर्किसकेका छन् ।

तर सेप्टेम्बरको दोस्रो हप्ता मलेशियाले ३२ हजार विदेशी कामदार लिने निर्णय गरेको खबर पनि आएको छ । मलेशिया सरकारले प्लान्टेसन क्षेत्रमा कामदारको अभाव खड्किएसँगै तत्काल ३२ हजार विदेशी कामदार लिन विशेष स्वीकृति दिएको छ ।

यसका लागि ३२ हजार विदेशी कामदार भित्र्याउने तयारी समेत सरकारले शुरु गरेको छ । मलेशियाका मानव संसाधनमन्त्री सरवानन मुरुगनले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुई हजार क्षमताको कोभिड आइसोलेसन केन्द्र समेत स्थापना गरिएको जानकारी दिएका छन् ।

विदेशी कामदारको अभावले आर्थिक क्षेत्रमा दीर्घकालीन घाटा भइरहेको भन्दै मलेशियाले प्लान्टेसन क्षेत्रमा विदेशी कामदार ल्याउने निर्णय गरेको हो । यसरी हेर्दा मलेसियन सरकार विदेशी कामदार रोक्ने निर्णयमा लामो समय टिक्न सकेन ।

पूर्वी एशियामा तीव्र आर्थिक विकास गरिरहेको मलेशिया बहुजातीय र बहुसांस्कृतिक मुलुक हो । मलेशियामा मुस्लिम धर्म मान्ने जनसंख्या अधिक छ । यहाँको उद्योग व्यवसायको ठूलो हिस्सा चिनियाँ मूलका उद्यमी र व्यवसायीको हातमा छ । ६० प्रतिशत मलायाहरू रहेको मलेशियामा २६ प्रतिशत चिनियाँ मूलका मानिसको बसोवास छ भने भारतीय मूलका मानिसको बसोवास पनि उल्लेख्य छ ।

मलेशियामा कम्प्युटरका चिप्स, कार्ड तथा मोटर र मोटर पार्टहरूका काम हुन्छन् । उद्योगका साथै पर्यटन र कृषि पनि मलेशियाको आम्दानीको स्रोत हो । मलेशियामा आन्तरिक सुरक्षा, ट्राफिक र कामदार कानून निकै कडा छन् । कानून अनुसार नै यहाँका सुरक्षा अंगले शंकाकै आधारमा जो कसैलाई पनि गिरफ्तार गर्न र थुन्न पाउँछ । मानवअधिकार पालनको हिसाबले विश्व समुदायले मलेशियाको आलोचना गर्छ ।

मलेशियाको राजधानी क्वालालम्पुर हो । मलेशियाको मुद्रालाई रिंगिट भनिन्छ ।नेपालको विनिमय दर अनुसार एक रिंगिट बराबर नेपाली रुपैयाँ २८ को हाराहारी हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउसँगै तलमाथि हुन्छ ।

मलाया मलेशियाको राष्ट्रिय भाषा हो । तर चिनियाँ र तमिल भाषा पनि चलन चल्तीमा छ र अंग्रेजीको सामान्य प्रयोग हुन्छ । धेरैजसो नेपाली राजधानी क्वालालम्पुर, जोहार बारु, पेनाङ लगायत शहरमा कार्यरत छन् । धेरैजसो नेपालीले कलकारखानामा मजदूर, सुरक्षा गार्ड, होटल, रेष्टुराँमा काम गर्छन् ।

यसैगरी मलक्का लगायतका क्षेत्रमा कृषि क्षेत्रमा पनि नेपाली कामदार कार्यरत छन् । नेपाली जस्तै यहाँ अरु देशका कामदार पनि धेरै छन् । मलेशियामा काम गर्ने विदेशी कामदारमा सबैभन्दा बढी इण्डोनेसियनहरू छन् । नेपालीहरूको संख्या दोस्रो स्थानमा पर्छ ।

मलेशियामा काम गर्ने नेपालीले भोगिरहेको सबैभन्दा ठूलो समस्या कार्यथलोमा हुने दुर्घटना र सडक दुर्घटना हुन् । यहाँ नेपालमा भन्दा गर्मी हुन्छ । मलेशियामा नेपालीको ज्यान जाने मुख्य कारण सडक दुर्घटना रहेको छ । त्यसैले मलेशिया जान चाहनेले सडक प्रयोगका बारेमा राम्रोसँग बुझेर मात्रै जानुपर्दछ ।

मलेशियामा नेपालको दूतावास राजधानी क्वालालम्पुरमा छ । कुनै समस्या परेमा क्वालालम्पुरमा रहेको नेपाली दूतावासमा सम्पर्क गरेर सल्लाह तथा सहयोग लिन समेत सकिन्छ ।

मलेशियामा केही नेपाली कामदारहरू अवैधानिक तवरले पनि बसिरहेका छन् । यहाँको सरकारले बेलाबेलामा यस्ता कामदारहरूलाई स्वदेश फर्किने अवसर दिने गरेको छ । गत जूनदेखि मलेसियन सरकारले अवैधानिक तवरले बसेका विदेशी कामदारलाई यस्तो अवसर दिन शुरु गरेको थियो ।

कोभिडको कारण यो समयावधि बढाइएको छ । गत ६ जूनदेखि इन्डोनेसियालीले यस्तो अवसर पाएका थिए । अब नेपालीले पनि यो अवसर पाउने सम्भावना बढेको छ ।

अहिले मलेशियाको घरफिर्ती केन्द्रमा सबैभन्दा धेरै इन्डोनेसियाली र नेपाली नागरिकहरू रहेका छन् । मलेशिया सरकारले विभिन्न समयमा आफ्नो देशका विभिन्न जेलमा रहेका अवैधानिक हैसियतका विदेशी नागरिक घर फिर्ता लैजान विभिन्न देशका सरकारलाई अनुरोध पनि गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?