+
+
अग्रपथ :

एमालेभित्रका कमरेड ‘बुखारिन’ हरूको नाममा

डम्बर खतिवडा डम्बर खतिवडा
२०७८ असोज १० गते २०:३०

गत वर्ष कमरेड घनश्याम भुसालका दुई लेख खूबै चर्चित भएका थिए । ‘कसरी बाँच्छ कम्युनिष्ट पार्टी ?’ र ‘नेकपाः बाँच्नका लागि एक मात्र बाटो’ । शायद पहिलो लेख उनले ओली सरकारको कृषिमन्त्री हुनुभन्दा अगाडि लेखेका थिए र दोस्रो त्यसपछि । दुवै लेखले निकै राम्रो चर्चा, प्रशंसा र वाह्वाही पाएका थिए । कम्युनिष्ट पंक्तिको एउटा तप्का आन्दोलनले ‘नयाँ माक्र्स’ पाए जस्तो खुशीले उचालिएको थियो । नेकपाको भविष्य कमरेड घनश्याम भुसालको चिन्तनधारबाट मार्गनिर्देशित हुने अपेक्षा राख्नेहरू धेरै थिए ।

तर, सरसर्ती हेर्दा लेखमा व्यक्त भावना र नेकपाको व्यवहारबीच भने कुनै संगति थिएन । नेकपा र तिनका मूल नेता अर्कै बाटो तताउन उद्यत थिए । दुई पाइलटले हाँकिरहेको जम्बो जेट दुर्घटना हुने निश्चित जस्तो थियो । कमरेड भुसालको लालित्यपूर्ण ‘राजनीतिक निबन्ध-लेखन कला’ ले तत्कालीन सत्तारुढ दल नेकपा डब्बलभित्रको समस्यालाई चित्रण त गर्दथ्यो तर नेकपा उनले प्रक्षेपण गरेको बाटोमा नहिंड्ने प्रष्ट थियो । समस्याको चिन्तन, विश्लेषण गर्नु कुनै नराम्रो कुरा हैन, तर संश्लेषण, मार्गदर्शन र व्यावहारिक अभिमुखीकरण विनाको अतिरञ्जना आत्मरतिमा सीमित हुनु उत्तिकै स्वाभाविक थियो ।

यस्तो यथार्थबोधले मेरो भने कन्पारो तातेको थियो । व्यवहार एकातिर छ, अर्कोतिर ठूल्ठूला गफ र फोस्रा आदर्श । ‘अर्काको पार्टीमा जे सुकै होस्’ भन्न पनि सकिन्थ्यो । तर, लोकतन्त्रमा पार्टीहरू आफ्नो र अर्काको मात्र हुँदैनन्, ती सार्वजनिक सम्पत्ति हुन्छन् । एकको प्रभाव अर्कोमाथि पर्छ । जस्तो कि नेकपा डब्बल नफुटेको र सरकार टिकाउन अनेक तिकडम गर्नुपर्ने नौवत कमरेड केपी ओलीलाई नआएको भए शायद जनता समाजवादी पार्टी फुट्ने थिएन । नेकपा फुटको प्रभाव जसपा र एमालेमा पनि पर्‍यो । देशको राजनीतिक स्थिति र संस्कृति नै भताभुङ्ग जस्तो, विकृति, विसंगत र निम्न स्तरको बन्न पुग्यो ।

त्यही झोंकमा एउटा टिप्पणी लेखिदिएँ- ‘कमरेड घनश्याम भुसालको बुखारिन-छटपटी’ । टिप्पणी पढेपछि उनले ट्वीटरमा छोटो प्रतिक्रिया गरे- ‘इतिहासले मलाई बुखारिन बन्ने छुट दिएको छैन ।’

आज लाग्छ- झोंक मात्र पोखेको थिइनँ, ठीकै अनुमान गरेको थिएँ । ओलीपन्थले अन्ततः ‘घनश्याम प्रवृत्ति’ लाई बनाउने ‘बुखारिन’ नै हो । ‘इतिहासले मलाई बुखारिन बन्ने छुट दिएको छैन’ भन्ने कमरेड घनश्याम अहिले आफैं सगौरव बुखारिन बन्न राजी भएका छन् । आफू मात्र हैन, उनीसँगै करीब एक दर्जन एमाले कमरेडहरू बुखारिन नियतिलाई स्वीकार गर्दैछन्, त्यो पनि बहादुरीका साथ । ‘आत्महत्या गर्न पनि आँट चाहिन्छ’ भन्ने उक्ति बडो सान्दर्भिक भएको छ ।

मलाई भने फेरि एकपटक त्यही लेख दोहोर्‍याउन मन लागेको छ । शीर्षक परिवर्तन र केही सम्पादन सहित दोहोर्‍याउँदैछु ।

बुखारिनको कथा

विश्व साम्यवादी आन्दोलनको इतिहासमा गज्जब-गज्जबका पात्र र प्रवृत्तिको उत्थान-पतनको कथा पाइन्छ । तीमध्ये एक बुखारिनको कथा हो ।

निकोलाई इभानोबिच बुखारिन रूसी कम्युनिष्ट आन्दोलनका एक जाज्वल्यवान व्यक्तित्व थिए । मस्को विश्वविद्यालयमा विद्यार्थी हुँदै सन् १९०६ मा १६ वर्षको उमेरमा उनी लेनिन नेतृत्वको बोल्शेभिक पार्टीमा प्रवेश गरे । उनमा अद्भुत बौद्धिक क्षमता, लेखन, संगठन र भाषणकला थियो भनिन्छ । उनी बोल्शेभिक पार्टीको युवा संगठन ‘योङ कम्युनिष्ट लिग’ का संस्थापक अध्यक्ष थिए, जसलाई रूसी भाषामा ‘कम्सोमोल’ भनिन्थ्यो ।

सन् १९१२ मा पोल्याण्डमा निर्वासित तथा भूमिगत पार्टी नेता लेनिनसँग बुखारिनको पहिलो भेट भयो । लेनिन बुखारिनको बौद्धिकता र सक्रियताबाट यति धेरै प्रभावित भए कि उनले बुखारिनलाई ‘क्रान्तिको सुनौला केटो’ (द गोल्डेन ब्वाई अफ रेभोल्युसन) को उपनाम दिए । विरलै व्यक्तिको प्रशंसा गर्ने लेनिनले बुखारिनबारे लेखेर, बोलेरै यो उपनाम प्रसिद्ध बनाइदिए ।

लेनिनको इच्छा विपरीत बुखारिन, कामेनेभ र जिनोवियेभले त्रोतस्कीको साटो स्टालिनलाई महासचिव चुने जस्तो कमरेडहरूले माधव नेपाललाई भीरबाट हुत्याइदिए । आफूहरू ओलीको पोल्टामा घुस्रिन पुगे । तर, ओलीको पोल्टाको तातो उनीहरूलाई त्यति धेरै काम लाग्ला जस्तो लाग्दैन । ‘वैचारिक आत्मसमर्पण’ गरेको अवस्थामा बाहेक

लेनिनसँग मात्र हैन, रूसी क्रान्तिको अर्को हाँगोका नेता लियोन ट्रोटस्कीसँग उनको सम्बन्ध उत्तिकै घनिष्ठ थियो । सन् १९१७ को फेब्रुअरी क्रान्तिभन्दा केही महीना अघि लेनिनलाई भेट्न जर्मनी पुगेका त्रोतस्कीलाई लिन बुखारिन एक्लै रेलवे स्टेशन पुगे । बुखारिनको पहिलो अभिवादन र मुस्कानलाई त्रोतस्कीकी पत्नीले संस्मरणमा उल्लेख गरेकी छन्, जो त्यो भेटमा सँगै थिइन् ।

लेनिन र त्रोतस्कीबीच एकता गराउन बुखारिनको ठूलो भूमिका थियो । लेनिन र त्रोतस्कीको एकता अक्टोबर क्रान्तिको निर्णायक गठबन्धन बन्न पुग्यो । फेब्रुअरी क्रान्तिपछि हतारमा रूस फर्किएर त्रोतस्की पिटर्सबर्ग गए । मस्को सोभियतको कमाण्ड बुखारिनले गरे । पिटर्सबर्ग सोभियतमा त्रोतस्की र मस्को सोभियतमा बुखारिनको प्रभावकारी भूमिका विना स्टालिन नेतृत्वका रेडगार्डहरूबाट मात्र अक्टोबर क्रान्ति सम्भव थिएन । लेनिन सर्वथा स्टालिन, त्रोतस्की र बुखारिनबीच सन्तुलन मिलाएर हिंड्थे । कामोनेभ र जिनोवियेभको क्षमतामा लेनिनलाई खासै विश्वास थिएन ।

लेनिनको तीव्र इच्छा थियो- आफूपछि पार्टीको नेतृत्व त्रोतस्की र त्यसपछि बुखारिनमा सरोस् । स्टालिनलाई उनी हृदयदेखि नै आफ्नो उत्तराधिकार स्वीकार गर्दैनथे । बुखारिन क्रान्तिकालीन बोल्शेभिक पार्टीको पोलिटब्यूरोमा उमेरले सबैभन्दा कान्छा थिए ।

लेनिनले लेखेका छन्- ‘त्रोतत्की र बुखारिनको अद्वितीय भूमिका विना अक्टोबर क्रान्ति सम्भव थिएन ।’ त्रोतस्की र बुखारिनको तुलनामा स्टालिन कम बौद्धिक र चर्चित थिए । अझ ककेसियन ग्रामीण वर्ग-संघर्षको क्रममा भएका कतिपय बलप्रयोगका घटनाको कारण बदनाम पनि थिए । स्टालिनलाई बौद्धिक जगतमा स्थापित गर्न बुखारिनले लेखेका कैयौं लेख स्टालिनको नाममा छापिन्थे ।

भनिन्छ- स्टालिनको चर्चित थेसिस ‘माक्र्सवाद र राष्ट्रियताको सवाल’ लेनिनको अनुरोधमा बुखारिनले लेखेका थिए । बुखारिनले लेखेको ‘साम्यवादको कखरा’ सोभियत कम्युनिष्ट पार्टीको पार्टी स्कूल विभागको आधार पुस्तिका थियो ।

म्याडम काप्लानको गोली प्रहारपछि बिमार लेनिन जीवनको अन्तिम क्षण गोर्की गाउँमा आराम गरेर बस्थे । त्यहाँबाट उनी पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै चिट्ठीहरू लेख्थे । ती चिट्ठीहरूमा भावी नेतृत्वको लागि स्टालिन उपयुक्त पात्र नभएको हुुँदा त्रोतस्कीलाई महासचिव बनाउन आग्रह गरिएको हुन्थ्यो । लेनिनको वास्तविक मनसाय बुझेपछि स्टालिन मनमनै क्रूर र कुटिल हुँदै गए । उनले बाहिरबाहिर ‘लेनिनको जयगान’ तीव्र बनाए, भित्रभित्रै पार्टी र सत्ताको नेतृत्व हत्याउने कठोर निर्णय लिए । लेनिनको चिठ्ठी बोकेर पोलिटब्यूरो बैठकमा वाचन गर्न आएकी लेनिन पत्नी नाजेज्दा क्रुप्सकायालाई स्टालिनले बैठकबाटै अपमानपूर्ण ढंगले जगल्ट्याएर निकालिदिए ।

संयोगको कुरा- लेनिन झैं स्टालिन पत्नीको नाम पनि नाजेज्दा नै थियो । नाजेज्दा यलिलुयेब्ना । स्तालिनसँग बिहे हुनुअघि छोटो समयका लागि उनी लेनिनकी राजनीतिक सेक्रेटरी थिइन् । लेनिन र यलिलुयेब्नाका पिताबीच गहिरो मित्रता थियो । क्रुप्साकायाप्रतिको स्टालिनको व्यवहारले यलिलुयेब्ना क्षुब्ध हुन्थिन् । उनलाई टाउको दुख्ने र सदाबहार चिट्चिडाहट हुने रोग हुन्थ्यो । सन् १९३२ मा अक्टोबर क्रान्तिको १५औं वाषिर्कीको रात ३१ वर्षको उमेरमा आफ्नै पेस्तोलले कन्चटमा हानेर उनले आत्महत्या गरिन् ।

अन्तरपार्टी संघर्षमा हावी हुन स्टालिनसँग विशेष क्षमता थियो । उनी पार्टी पिरामिडको उपल्लो तहलाई धम्क्याएर होस् वा फकाएर आफ्नो अनुकूल राख्न सक्थे । त्रोतस्कीविरुद्धको गठबन्धनमा कामेनेभ, जिनोवियेभ र बुखारिनले स्टालिनलाई साथ दिए । त्रोतस्की एक्का भए । लेनिनले स्थापित गरेको सत्ता पाँच वर्ष नपुग्दै स्वयं लेनिनको इच्छा विपरीत हिंड्यो । लेनिन आफैं निरुपाय र खिन्न हुँदै मरे ।

स्टालिनको उदयले बुखारिनको हातमा केही समय शक्ति आए जस्तो भयो, स्टालिनले बुखरिनलाई राम्रै उपयोग गरे । बुखारिन विश्व कम्युनिष्ट संगठन ‘कोमिन्टन’ को महासचिवसम्म बने । एक हिसाबले यो स्टालिनको भन्दा ठूलो पद थियो । स्टालिन सोभियत कम्युनिष्ट पार्टीको मात्र महासचिव थिए । बुखारिन ‘विश्व कम्युनिष्ट पार्टी’ कै महासचिव बने । तर त्यो शक्ति कृत्रिम र देखावटी थियो । स्टालिनको कठपुतली जस्तो थियो ।

सन् १९२६ पछि अर्को चरणको शक्ति-संघर्ष भयो । स्टालिनले युवाहरूलाई पोलिटब्युरोमा ग्रुम गरेर कामेनेभ र जिनोवियेभलाई किनारा गरे । सन् १९२७ पछि मात्र बुखारिनको चेत खुल्यो । स्टालिनले बुखारिनलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरिदिए ।

सन् १९३७ को फेब्रुअरीमा बुखारिनलाई पार्टी केन्द्रीय कमिटीको बैठकबाटै गिरफ्तार गरियो । उनी एक वर्ष १६ दिन जेलमा रहे । उनीमाथि स्टालिनको हत्या र सत्ताविद्रोहको प्रयत्न गरेको आरोप थियो । जेलबाट उनले स्टालिनलाई ३४ वटा चिट्ठी लेखे । ती पत्रमा उनले भावुक हुँदै स्टालिनसँगका सहकार्यका क्षणहरूको चर्चा गरेका थिए ।

चिट्ठीमा बुखारिनले आफूलाई जेलमा सडाएर नमार्न बारम्बार आग्रह गरे । आफूबाट कुनै गल्ती भएको भए क्षमा गर्न बिन्ती गरे । आफूमाथिका सबै आरोप निराधार हुन् भने । तथापि उनले आत्मालोचना गर्दा स्टालिनलाई शान्ति मिल्ने भए आफू सबै गलत आरोपहरू स्वीकार गर्दै सार्वजनिक क्षमापत्र लेख्न तयार रहेको भने ।

जेलमा बुखारिनको मानसिक उतारचढाव इतिहासकै ठूलो ‘विरोधाभासपूर्ण आत्मस्वीकृति’ मानिन्छ । एकातिर उनी भन्छन् कि उनी माथिका सबै आरोप ‘निराधार’ हुन् । अर्कोतिर उनी भन्छन् कि ती सबै निराधार आरोप स्वीकार गर्दै सार्वजनिक क्षमापत्र लेख्न राजी छन् । अर्थर कोइस्टेलरले ‘बुखारिनको विरोधाभासपूर्ण आत्मस्वीकृति’ लाई ‘मध्यदिनको अँध्यारो’ (डार्कनेस एट नुुन) मा उतारेका छन् ।

स्टालिनले बुखारिनका कुनै पत्रको उत्तर दिएनन् । जेलर र केजीबीका जासूसले बुखारिनका पत्र स्टालिनको टेबुलमा लगेर राखी दिन्थे । त्यसपछि ती कहाँ जान्थे कसैलाई थाहा हुँदैनथ्यो । सन् १९३८ को मार्च १५ गते बिहान बुखारिनलाई जेलबाट निकालियो र कुमुर्नाका बध मैदानमा लगेर गोली ठोकियो । मर्नुअघि बुखारिनले स्टालिनलाई सम्बोधन गर्दै भनेका थिए- ‘कोबा, तिमी मलाई किन मार्न चाहन्छौ म बुझेर मात्र मर्न चाहन्छु ।’

‘कोबा’ स्टालिनलाई गरिने अनौपचारिक र घनिष्ठ सम्बोधन थियो । तर, बध मैदानमा कमरेड स्टालिन थिएनन् । सोभियत गुप्तचर संस्थाका जासूस र सिपाही मात्र थिए । बुखारिन किन मारिंदैछुु भन्ने नबुझी मरे । बुखारिनको प्रश्नको उत्तर न स्टालिनले दिए न इतिहासले दियो ।

बुखारिनको मृत्यु ‘सत्य’ थियो तर उनको प्रश्न र त्यसले नपाएको उत्तर भने ‘मिथ’ बन्यो । यो मिथले आज पनि कम्युनिष्ट आन्दोलनलाई विश्वव्यापी रूपमा तसाइरहेको छ । आफ्नै जीवनभरिको सहयात्री राजनीतिक द्वन्द्वको कुनै बिन्दुमा किन सबैभन्दा ठूलो दुश्मन बन्छ ? सत्ता, शक्ति र अहंको लडाइँ बाहेक के यसको अरू कुनै कारण छ ?

केही दिनअघि कमरेेड प्रचण्ड कतै भाषण गर्दै थिए- ‘कम्युनिष्ट आन्दोलनको के रोग हो यो ?’

क्षमायाचना

१० बुँदेमा कमरेड बुखारिनहरूलाई खुबै गौरव थियो, जेठ २ मा फर्कियो भन्ने भ्रम थियो । इतिहास यसरी फर्किन्छ र सजिलै ? गत वर्ष पुस ५ गतेदेखि यताका घटनाक्रम के थिएटरमा देखाइएका नाटकका दृश्य थिए ? १० बुँदे र जेठ २ गते त मनका लड्डु न हुन्, पैसा तिर्न पर्दैन, जति खाए पनि हुन्छ भकाभक

कमरेड घनश्याम भुसालका उपरोक्त दुई लेखहरूको आशय थियो- ‘एमालेको नीति हामीले लिड गरेको हो । नवौं महाधिवेशनमा हाम्रो लाइन पास भएको हो । ओली त केही दिनका पाहुना हुन्, निमित्त हुन्, विचार बुझ्दैनन्, कार्यदिशा बुझ्दैनन् । गफाष्टक छन् । नवौं महाधिवेशनले नीति एकातिर, नेतृत्व अर्कोतिर बनाइदियो, त्यो नै दुर्भाग्य भयो । छिट्टै त्यस्तो समय आउँछ कि ओलीबाट हामीले पार्टी सत्ता हस्तान्तरण गराउने छौं, अनि नेकपाको नेतृत्वमा नेपालको स्वर्णयुग शुरु हुनेछ ।’

कमरेड भुसालको मनले अहिले पनि यही भन्दै होला । तर, कम्युनिष्ट आन्दोलनको वैचारिक जीन र शक्ति संघर्षका दृष्टान्त कहीं पनि त्यति सजिला छैनन् । ओली सरकारको कृषिमन्त्री बन्दा भुसाललाई लागेको थियो होला- ओली अझै दयालु छन् । स्टालिनले बुखारिनलाई कोमिन्टनको महासचिव बनाए जस्तो आगामी महाधिवेशनमा ओलीले ‘मलाई नै महासचिव बनाउन’ के बेर ? तर, ओलीको अन्तर्यमा अरू नै चिज थिए । ओलीका स्वार्थ, बाध्यता र महत्वाकांक्षाको पोकोपन्तरो अरू नै सर्जामले बनेको थियो । जसरी हुन्छ उनलाई प्रचण्ड र माधव नेपाललाई अलग्याउनु थियो- स्टालिनले त्रोतस्की र बुखारिनलाई अलग्याए जस्तै । ओलीको सक्कली अनुहार पुस ५ गतेको पहिलो ‘प्रतिगमन’पछि गज्जबले खुल्यो ।

त्यसपछि कमरेड बुखारिनहरू सडकमा आए । ओलीसँग ‘साइबर स्याल’ बाहेक केही बाँकी नरहेको उद्घोष गरे । इतिहासचक्र बडो अनौठो गरी घुम्न थाल्यो । ओलीलाई ‘सडक छाप’ बनाउन कस्सिएका कमरेडहरू स्वयं ‘सडक छाप’ भए । पार्टीको आधिकारिकता र सूर्यचिन्ह आफूतिर आउने बुझाइले कमरेडहरू केही दिन लट्ठिए । तर, सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले ब्राण्ड र सूर्यचिहृन ओलीको पोल्टामा पुर्‍याइदियो । अब जिन्दगीभरि ‘सडक छाप’ हुनुपर्ला कि भन्ने पीरले कमरेडहरूलाई छोप्न थाल्यो ।

‘बुखारिन दुखान्त’ को चर्चा मलाई सर्वथा नमीठो लाग्दछ । क्षमायाचना यसर्थ हो कि नेपाल स्टालिनको सोभियत संघ हैन, यहाँ ‘कुमुर्नाका किलिङ ग्राउन्ड’ छैन, भए ‘दास ढुङ्गाको भीर’ सम्म छ । हामी जे जति बुखारिन हुनबाट जोगिएका छौं, स्टालिनहरूको मायाले हैन, यहाँको लोकतन्त्रले गर्दा जोगिएका छौं । बहुदलीय लोकतन्त्रले सिर्जना गर्ने एक बृहत् स्पेशको कारणले जोगिएका छौं, त्यो नभएको सोभियत संघमा न त्रोतस्की जोगिए, न बुखारिन ।

सोभियत संघलाई न भुसाल आदर्श राज्य मान्छन् न म मान्छु । हिजो मान्थ्यौं, त्यो भिन्नै कुरा । स्टालिनलाई न भुसाल आदर्श चिन्तक मान्छन् न म मान्छु, हिजो मान्थ्यौं, त्यो भिन्नै कुरा । आज हामी एक्काइसौं शताब्दीको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौं, स्टालिनको एकदलीय कम्युनिष्ट शासनमा हैन । भौतिक दमनका यावत् परिपे्रक्ष्यहरू यहाँ सान्दर्भिक छैनन् भन्नका लागि मैले क्षमायाचना गरेको हुँ ।

तर, राजनीतिक परिस्थिति भने खासै भिन्न छ जस्तो लाग्दैन ।

विरोधाभासको रहस्य

कमरेड भुसालको सीमालाई मैले ‘थिंकर’ र ‘डुअर’ बीचको विरोधाभास भनेको थिएँ । नेपाली राजनीतिमा ‘थिंकर’ र ‘डुअर’ बीच गहिरो ‘ग्याप’ छ । ओली ‘डुअर’ हुन्, भुसाल ‘थिंकर’ । हिजो माओवादी आन्दोलनमा त्यही ग्याप थियो- प्रचण्ड ‘डुअर’ थिए, बाबुराम र मोहन वैद्य ‘थिङ्कर’ । बाबुराम र मोहन वैद्यले माओवादी के छोडे, प्रचण्ड न ‘थिंकर’ रहे न ‘डुअर’ ।

आजित भएर उनी एमाले र ओलीसँग तमसुकमा ‘आधाआधा खान’ राजी भए, उधारो आधाआधा । प्रचण्डबाट अर्को चुनावसम्म अझै ‘अर्को आधाआधा खाने तमसुक’ को याचना ओलीसँग हुन बेर छैन । तर ओलीको आँखामा प्रचण्डको मूल्य त्रोतस्की र बुखारिनको जति त के कामेनेभ र जिनोवियेभको जति पनि थिएन । ओली प्रचण्डलाई ‘झन्डुराम’ बनाउन चाहन्थे, बनाइछाडे ।

ओलीको उद्देश्य प्रष्ट थियो । भ्रममा प्रचण्ड आफैं थिए । मदन भण्डारीको ‘आत्मिक उत्तराधिकार’ दाबी गर्नेहरू बीच प्वाँख टाँसेको नक्कली मदन भण्डारी कसैलाई चाहिएको थियो । ‘मदन भण्डारीपछिको मै हुँ’ भन्ने भाषण गर्दैमा कसैले पत्याउनेवाला थिएन । बरु त्यस्तो भाषण सुन्नेहरूलाई विद्रुप, विचित्र र असंगत लाग्थ्यो ।

आज कमरेड बुखारिनहरू माधव नेपाललाई बडो अर्तिउपदेश दिने भएका छन् । तर, उनीहरूमा भन्दा बढी आत्मसम्मान र आत्मविश्वास कम्तीमा माधव नेपालमा देखिन्छ । ‘बाघ बूढो भए पनि घाँस खाँदैन’ भन्ने पुष्टि गरेका छन् उनले, तर कमरेड बुखारिनहरू भने ‘जवानीमै स्याल’ भएका छन् । बरु त्रोतस्की सावित होलान्, तर न त्रोतस्कीले स्टालिनसँग आत्मसमर्पण गरेका थिए, न माधव नेपालले ओलीसँग आत्मसमर्पण गरे । जसको आफ्नै ठेगान छैन, कतिखेर राजनीतिको कुमुर्नाका मैदानमा रेटिनुपर्ने हो, टुंगो छैन, उनीहरू ‘माधव नेपाललाई घर फर्किन’ आग्रह र घोचपेच गर्दै ‘नक्कली शक्ति’ को प्रदर्शन गर्दैछन्, जो बिल्कुलै अशोभनीय देखिन्छ ।

कमरेड अष्टलक्ष्मी शाक्य र भीम आचार्य अल्पमतको मुख्यमन्त्री पाएर केटाकेटीले चकलेट पाएजस्तो मक्ख परेका छन् । मुश्किलले अरू केही दिन जाला उनीहरूको मुख्यमन्त्री । कमरेड योगेश भट्टराईको ‘प्रचार विभाग’ को फुली मुश्किलले फिर्ता भएको छ, । कमरेड भीम रावलको इन्चार्जसिप ‘अत्तरियाको चौबाटोमा अलपत्र’ छ । कमरेड भुसाल आफैं सत्यनारायणको पूजा लागेको घरको आँगनमा गाउँभरिका केटाकेटीले प्रसादको टपरी पर्खेर बसेजस्तो भाषण गर्ने पालो पर्खेर बसेका छन् ।

फेरि दाबी चाहिं के छ भने- पख्नोस् न, एमाले हाम्रै लाइनमा हिंड्छ । बिल्कुल भ्रम हो त्यो । एमाले कसैको लाइनमा हिंड्दैन, ओली बाहेक । उनको सेखपछि भिन्नै कुरा हो । यतिखेर एमाले भन्नु नै ओली र ओली भन्नु नै एमाले हो । स्टालिन भन्नु नै बोल्शेभिक र बोल्शेभिक भन्नु नै स्टालिन भएजस्तो । यदि ओलीको उत्तराधिकार लिनुछ भने बुखारिन हैन, निकिता ख्रुश्चेभ हुनुपर्दछ ।

ख्रुश्चेभपथमा कमरेड ईश्वर पोख्रेल, विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेलदेखि विष्णु रिमाल, सूर्य थापा, महेश बस्नेत र गोकुल बाँस्कोटासम्म लामै लाइन छ । त्यसपछि गएर उभिन कमरेड भुसाल लगायतलाई शायदै सुहाउँला ।

ख्रुश्चेभको आत्मस्वीकृति

निकिता ख्रुश्चेभको चरित्रचित्रण विना कम्युनिष्ट आन्दोलनको वास्तविक चित्र उतार्न सकिन्न । खु्रश्चेभले जीवनभरि स्टालिनको एक शब्द कहिल्यै काटेनन् । स्टालिनलाई लाग्थ्यो कि यो केटो नै मेरो वास्तविक उत्तराधिकार हो । सिंगो पार्टी पंक्तिमा त्यही भान र प्रतीत थियो । जब स्टालिनको निधन भयो र पार्टी सत्ता ख्रुश्चेभको हातमा आयो, पहिलो पार्टी बैठकमै उनले स्टालिनकालीन नीतिहरूको चर्को आलोचना गरे । ख्रुश्चेभले स्टालिनको यति धेरै विरोध र आलोचना गर्ला कसैले कल्पना गरेको थिएन ।

स्टालिनको व्यक्तित्व पूजाबाट उदाएका ख्रुश्चेभको ‘स्टालिन-निन्दा’ ले आजित कसैले पार्टी बैठकमा सोध्यो- ‘कमरेड, ख्रुश्चेभ यो के पारा हो ? हिजो तपाईं स्टालिनको सबै कुरा ठीक भन्नुहुन्थ्यो, आज स्टालिन मर्ने बित्तिकै सबैथोक बेठीक कसरी भयो ?’

ख्रुश्चेभले प्रश्न नसुने जस्तो, प्रश्न गर्नेलाई नचिने, नदेखे जस्तो अभिनय गरे । एकक्षण मौन रहे, बैठक हल शान्त र स्तब्ध भयो । अन्ततः ‘कसले के प्रश्न गर्दै हुनुहुन्थ्यो, फेरि एकपटक उठेर भन्नुस् त ?’ भने । कोही उठेन, कोही बोलेन । ख्रुश्चेभले उत्तर फर्काए- ‘आज तपाईंको जे हालत छ, हिजो स्टालिन जीवित छँदा मेरो त्यही हालत थियो ।’

शक्तिमा हुँदा पछि लागेकाहरू सधैं वास्तविक वैचारिक उत्तराधिकार हुन्छन् भन्ने छैन । पार्टी सत्ताबाट ओलीको पतन हुने हो भने ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल र प्रदीप ज्ञवालीहरूले नै शायद ओलीलाई बाँकी राख्ने छैनन् । नयाँ ख्रुश्चेभ बन्ने छन् । ओलीले करीब साढे तीन वर्षमा जेजति गर्न हुने नहुने गरे, निवृत्त जीवनमा त्यसको नैतिक जिम्मेवारी शायद विद्या भण्डारीले समेत लिने छैनन् । त्यतिखेर ओलीको विरासतलाई माया गर्ने विष्णु रिमाल, महेश बस्नेत, गोकुल बाँस्कोटा जस्ता केही ‘लञ्जुफञ्जु’ बाँकी रहलान्, जसको इतिहासले कुनै गणना गर्ने छैन ।

१० बुँदेमा कमरेड बुखारिनहरूलाई खुबै गौरव थियो, जेठ २ मा फर्कियो भन्ने भ्रम थियो । इतिहास यसरी फर्किन्छ र सजिलै ? गत वर्ष पुस ५ गतेदेखि यताका घटनाक्रम के थिएटरमा देखाइएका नाटकका दृश्य थिए ? १० बुँदे र जेठ २ गते त मनका लड्डु न हुन्, पैसा तिर्न पर्दैन, जति खाए पनि हुन्छ भकाभक ।

फेरि क्षमायाचना

कमरेडहरूलाई हियाउन, होच्याउन, पीडा दिन र मेख मार्न यस्तो लेखेको हैन । उनीहरूको नियतिभित्र थोरै भए पनि कतै आफ्नै नियतिको झझल्को देखेर आफैं रोएको मात्र हो । नेपाली राजनीतिमा ‘थिंकर’ र ‘डुअर’ बीच यति ठूलो ग्याप किन बन्यो, रहस्य खोज्न आवश्यक छ । एमालेभित्रका कमरेड बुखारिनहरूका लागि मात्र हैन, सिंगो देशको राजनीतिमै आज यो ‘ग्याप’ छ ।

विश्व राजनीतिमा यस्तो ग्याप कम थियो । लेनिन चिन्तक र कर्ता दुवै थिए । गान्धी र नेहरू चिन्तक र कर्ता दुवै थिए । लि क्वान यु चिन्तक र कर्ता दुवै थिए । नेपालमै बीपी कोइराला र मदन भण्डारी चिन्तक र कर्ता दुवै थिए ।

आज या त चिन्तक छन्, कर्ता छैनन्, या त कर्ता छन्, चिन्तक छैनन् । यो विरोधाभास २०४६ सालपछि गिरिजाप्रसाद कोइरालाकै युगबाट प्रारम्भ भएको थियो । आज ओली युगमा पनि जारी छ । यो प्रवृत्तिबाट हामी यति धेरै ‘भिक्टिम’ भएका छौं कि एकअर्काप्रति क्षमाशील हुनु बाहेक अरू कुनै उपाय देखिएको छैन । भगवानले हामी र हाम्रो पुस्ताको रक्षा गरून् ।

विचार पक्रेको भ्रम

अक्सर कमरेडहरू भन्ने गर्छन्- हामीसँग विचार छ, ओलीसँग विचार छैन । हामीसँग कार्यदिशा छ, ओलीसँग कार्यदिशा छैन । विचार र कार्यदिशाले ओलीज्ममाथि विजय अपरिहार्य छ । धैर्य गरौं, पहिला पार्टी ब्राण्ड र चुनाव चिहृन जोआउँ, त्यसपछि विचार र आन्दोलन जोगाउँला ।

यथार्थमा यो आफ्नै चुनावी भविष्यको मोह बाहेक केही हैन । त्यो पनि यति निम्न कोटिको कि जनताले ‘एमाले’ र ‘सूर्य’ बाहेक केही चिन्दैन, बुझ्दैनन्, विश्लेषण गर्दैनन् भने जस्तो इतिहासको गति र मतदाताको विवेकमा नै अविश्वास गर्ने धृष्टता । के इतिहास सर्वथा कुनै ब्राण्डको पछि हिंड्छ ? यदि हिंड्थ्यो त संसारमा यति धेरै क्रान्ति र परिवर्तनहरू कसरी भए ? नयाँ-नयाँ राजनीतिक मोडहरू कसरी आए ?

ब्राण्ड निष्ठामा शक्ति नहुने हैन, तर त्यसको पनि सीमा हुन्छ । यदि हुँदैनन्थ्यो त ७४ वर्षे साम्यवाद सोभियत संघमा पतन हुँदैनथ्यो । पूर्वी युरोपमा ‘पीपलको बोटमा नास्पाती’ फल्ने थिएन । सन् १९७८ मा चीनमा देङ सियाओ पिङको उदय हुने थिएन । पश्चिम बंगालमा ३४ वर्षको विरासत मटियामेट हुने थिएन । सृष्टिको नियम कम्युनिष्टहरूलाई मात्र लागू हुने हैन, सबैलाई हुने हो, कम्युनिष्ट ब्राण्ड र चुनाव चिहृनलाई झन् धेरै लागू भएका दृष्टान्त छन् संसारमा ।

विचारकै कुरा गर्ने हो भने पनि के विचार, कुन विचार ? शास्त्रीय मार्क्सवाद, लेनिनवाद, माओवाद, किम इल सुङवाद, क्यास्त्रोवाद वा नयाँ जनवाद, जनताको बहुदलीय जनवाद, परिमार्जित नौलो जनवाद र एक्काइसौं शताब्दीको जनवाद आदि इत्यादि के यी कुनै नयाँ र युक्तिसंगत विचार हुन् र एक्काइसौं शताब्दीमा ?

लाग्छ- देश ‘कम्युनिष्ट ओभरलोडेड’ भइसक्यो । जता फर्कियो त्यतै कम्युनिष्ट । हुनु खानु केही छैन, तातो न छारो । देशको गरीबी र कुशासन झन्झन् बढेको छ । राजनीतिक संस्कार र संस्कृति झन्झन् गिर्दो छ । लोकतन्त्रको चौतर्फी क्षयीकरण भएको छ

जबज के, कसरी र कुन कोणबाट त्यत्रो नयाँ सृजनशीलता हो ? त्यही अवधारणाबाट आयो त नेपालमा गणतन्त्र, संघवाद, धर्मनिरपेक्षता ? जबजभन्दा धेरै अघि एन्टोनियो ग्राम्स्की, रोजा लक्जेम्बर्ग, हबर्ट माक्र्युज, फ्रयांक्र्फट स्कुल र पाउलो फेरी थिए, ‘न्युु लेफ्ट’ थियो, ‘युरो कम्युनिज्म’ थियो ? ती किन पुग्दो वा न पुग्दो भए ? समीक्षा गर्ने आँट छ ?

नेपालको कम्युनिष्ट पार्टीले आन्दोलनको हिसाबले समाजको परिवर्तनमा ठूलो योगदान गर्‍यो भन्ने कुरामा कुनै शंका छैन । तर कार्यक्रमिक हिसाबले त्यो आन्दोलन कहिल्यै मौलिक र युक्तिसंगत थिएन । सन् १९४० को माओको ‘अन द न्यु डेमोक्रेसी’ र पुष्पलालको ‘नयाँ जनवाद’, सन् १९७८ को यूरोकम्युनिष्टहरूको बर्लिङ्गन सम्मेलनको दस्तावेज ‘युरो कम्युनिज्म एण्ड स्टेट’ र मदन भण्डारीको ‘बहुदलीय जनवाद’, सन् १९५४ को ख्रुश्चेभको मस्को भाषण र तुलसीलाल अमात्यको ‘राष्ट्रिय जनवाद’ बीच तुलना गर्दा त्यो चित्र प्रष्टै देखिन्छ ।

लोकतान्त्रिक निष्ठामै शंका

आफैंले जीवन खर्चिएर बनाएको पार्टी, ब्राण्ड र चुनाव चिहृनको मोह अस्वाभाविक हैन । तर, राजनीतिक निष्ठा र वैचारिक प्रतिबद्धताको सवाललाई चाहिं के गर्ने हो ? ओलीको राजनीतिक लाइन प्रष्ट छ- दुईदुई पटकको प्रतिनिधिसभा विघटनलाई उनले जायज भन्ने छन्, भनिसके-औपचारिक राजनीतिक प्रतिवेदनमै ।

त्यसको अर्थ हुन्छ- संविधान बाहिरको अधिकार (एक्ट्रा-कन्ष्टिच्युसनल राइट) को दाबी । जुन अधिकार राजा ज्ञानेन्द्रलाई दिन नागरिक राजी भएनन्, त्यस्तो अधिकार ओलीले प्रयोग गर्दा समर्थन गर्ने राजनीतिक प्रतिवेदनलाई स्वीकार गर्ने हो ? ओलीको संविधानवाद विरोधी चरित्र सर्वोच्च अदालतले बारम्बार पुष्टि गर्‍यो, अब ‘संविधानको सर्वोच्चता’ एक मुख्य विशेषता मान्ने जबजले के भन्छ ? के अब कमरेडहरूको लोकतन्त्रको आधारभूत निष्ठाप्रति नै शंका गर्दा हुँदैन ?

कमरेडहरू पनि अब ‘परमादेशको संसद’, ‘परमादेशको सरकार’ भन्दै हिंड्ने हो ? संवैधानिक लोकतन्त्रमा संविधानको उल्लंघन केवल संविधानको उल्लंघन मात्र हुँदैन, त्यो संविधानवाद, विधिको शासन, शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलन, आवधिक निर्वाचन र जनादेश सिद्धान्तको समेत उल्लंघन हुन्छ । समग्रमा लोकतन्त्रकै उल्लंघन हुन्छ ।

अन्तिम कुरा

इतिहास आफैं कठघरामा छ अहिले । ओलीका लागि मात्र हैन, सबैका लागि । कमरेड प्रचण्डको प्रचण्डपथ कहाँ पुग्यो ? कसैलाई थाहा छैन । कमरेड माधव नेपालको नियतिको चिन्ता अब धेरै नगरे भयो- उनी यसै त्रोतस्की, उसै त्रोतस्की । हार्लान्, जित्लान्, तर आत्मसम्मानका साथ मर्लान् ।

लाग्छ- देश ‘कम्युनिष्ट ओभरलोडेड’ भइसक्यो । जता फर्कियो त्यतै कम्युनिष्ट । हुनु खानु केही छैन, तातो न छारो । देशको गरीबी र कुशासन झन्झन् बढेको छ । राजनीतिक संस्कार र संस्कृति झन्झन् गिर्दो छ । लोकतन्त्रको चौतर्फी क्षयीकरण भएको छ । नेपाली कांग्रेस जस्तो कुनै भविष्य चिन्ता नभएको पार्टीलाई बारम्बार चिट्ठा परेको छ । देश मौतको कुवामा फन्फनी घुमेको छ । न दौडिन छोडेको छ, न कहीं पुगेको छ ।

कमरेडहरू भने विचार, सिद्धान्त, अजेण्डा, कार्यदिशा, कार्यशैली, संस्कार र संस्कृति विनाको गालीगलौजको राजनीतिमा छन् । काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर ।

तर, कुरा कम्युनिष्टहरूको मात्र हैन, युगको हो, इतिहास चेतको हो, भविष्य दर्शनको हो । के यसरी नै बन्छ त देश ? कति वर्षपछि कसरी बन्छ यसरी ? बुखारिन नियतिग्रस्तताले पक्कै केही मिथहरू बनाउँला, केही नयाँ कथाहरू जोड्ला । निश्चित छ- त्यसले देश भने बनाउने छैन । जनताको भलो भने गर्ने छैन ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?