+
+

कांग्रेस महाधिवेशनमा ‘गच्छदार फ्याक्टर’ कति निर्णायक ?

चार सय महाधिवेशन प्रतिनिधि नघट्ला, हाम्रा साथीहरु सहमतिमै आउने परिस्थिति बनिरहेको छ : नेता योगेन्द्र चौधरी

कांग्रेस नेता मीन विश्वकर्मा महाधिवेशनमा गच्छदार समूह निर्णायक हुने बताउँछन् । ‘यो समूहले महाधिवेशनमा ठूलो प्रभाव पार्छ । कुल महाधिवेशन प्रतिनिधिको करिव दश प्रतिशत प्रतिनिधि तत्कालिन फोरम लोकतान्त्रिकबाट आउँछन्,’ उनी भन्छन, ‘यो संख्या कसैलाई जिताउन र हराउन पर्याप्त हुन्छ ।’

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ असोज १० गते १९:१५

१० असोज, काठमाडौं । ‘महाधिवेशन सबैका लागि हो, मेरा लागि पनि हो । अब म राजनीतिमा फेरि सक्रिय हुन्छु र महाधिवेशनको तयारीमा जुट्छु,’ करिव डेढ वर्षसम्म सञ्चारमाध्यमबाट टाढा रहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बुधबार पत्रकार सम्मेलनमा भने ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदारले आफ्नो सफाइ दिन पत्रकार सम्मेलन आयोजना गरेको भनिएपनि उनको निशाना भने कांग्रेस महाधिवेशनतर्फ थियो ।

आफूमाथि लागेको भ्रष्टाचारको आरोप महाधिवेशनमा मुद्धा बन्ने भयले उनले पत्रकार सम्मेलन नै गरेर आफूसँग राजनीतिक प्रतिशोध लिन मुद्दा लगाइएको जिकिर गरे ।

मंसिर ९–१३ मा निर्धारित १४ औं महाधिवेशनका लागि कांग्रेसभित्र विभिन्न पदमा उम्मेदवारी घोषणाको होडवाजी चलिरहेका बेला गच्छदारले पनि लामो मौनता तोड्दै महाधिवेशनमा आफू केन्द्रित हुने सन्देश दिए ।

सभापति पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका गच्छदारले समय आएपछि आफ्नो उम्मेदवारी घोषणा गर्ने प्रष्ट पारे । ‘मेरो सभापतिमा प्रतिस्पर्धा हुँदैन, भविष्यमा पनि यो सोच छैन,’ उनले भने, ‘अरु पदमा उम्मेदवारी दिनेबारे समय आएपछि सार्वजनिक गर्छु ।’

कांग्रेसमा दुई दशकअघि एउटा समूह चर्चित थियो, ‘एकेजीबी’ । एकेजीवी अर्थात् अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदार । कांग्रेसमा निकै प्रभावशाली मानिने यो समूहका दुई नेता केसी र गच्छदार मात्रै राजनीतिमा सक्रिय छन् ।

खड्काको दुई वर्षअघि निधन भयो भने अर्का नेता जोशी भ्रष्टाचार आरोप लागेपछि कांग्रेस राजनीतिबाट किनारा पर्दै गएका छन् । करिव चार वर्षअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँमा रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको भन्दै जोशी पार्टी सदस्यबाटै निलम्बनमा छन् ।

कांग्रेस राजनीतिमा सक्रिय दोस्रो पुस्ताका नेताहरुमा पर्छन् गच्छदार । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए भने गच्छदार नवौं महाधिवेशनबाट ।

कांग्रेसमा पहिलो पटक पाँच विकास क्षेत्रबाट एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था अनुसार गच्छदार पूर्वाञ्चलबाट, भीमबहादुर तामाङ मध्यमाञ्चल, रामचन्द्र पौडेल पश्चिमाञ्चल, सुशील कोइराला मध्यपश्चिमाञ्चल र शेरबहादुर देउवा सुदूरपश्चिमबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । तामाङ र कोइरालाको निधन भइसकेको छ भने देउवा, पौडेल र गच्छदार यतिबेला कांग्रेसमा ‘अन्तिमपटक’ का लागि प्रतिस्पर्धामा छन् ।

‘यो समूहले महाधिवेशनमा ठूलो प्रभाव पार्छ । कुल महाधिवेशन प्रतिनिधिको करिव दश प्रतिशत प्रतिनिधि तत्कालिन फोरम लोकतान्त्रिकबाट आउँछन्,’ कांग्रेस नेता मीन विश्वकर्मा भन्छन्, ‘यो संख्या कसैलाई जिताउन र हराउन पर्याप्त हुन्छ ।’

गच्छदारले देउवा र पौडेललाई अग्रज नेता मान्छन् । ‘उहाँहरु दुबै जना मेरो आदरणीय नेताहरु हुनुहुन्छ, अरु बाँकी केही समकालीन हुन् भने धेरै त जुनियर भाइबहिनी हुन्,’ गच्छदारले भने ।

सभापति देउवा फेरि नेतृत्वमा दोहोरिने तयारीमा छन्, वरिष्ठ नेता पौडेल पनि सभापतिका आकांक्षी छन् भने करिव ६ वर्ष कांग्रेस बाहिर रहेर फेरि मूल घरमा फर्किएका गच्छदार पनि अब कांग्रेसको राजनीतिमा आफ्नो पुरानै ‘प्रभाव’ फर्काउने दाउमा छन् ।

गच्छदारको शक्ति कति ?

कांग्रेसको सहमहामन्त्री भइसकेका गच्छदारले १८ माघ २०६४ मा कांग्रेस छोडेर तत्कालिन मधेसी जनाधिकार फोरममा आवद्ध भई क्षेत्रीय राजनीतिमा लागे । फोरम विभाजनपछि मधेसी जनाधिकार फोरम लोकतान्त्रिक गठन गरेर मधेसकेन्द्रित दलको नेतृत्वसमेत गरेका गच्छदारले १० वर्षपछि ३० असोज २०७४ मा कांग्रेससँग पार्टी एकता गराए । पार्टी एकताको एक वर्षपछि २० कात्तिक २०७५ मा गच्छदार उपसभापति मनोनित भए भने कांग्रेसले फोरम लोकतान्त्रिकबाट आएका ११ नेतालाई २३ फागुन २०७६ मा केन्द्रीय सदस्य मनोनित गरेको थियो ।

कांग्रेससँग एकता गरेपछि गच्छदारको पार्टीलाई दुई सय महासमिति सदस्य, ६ सय महाधिवेशन प्रतिनिधि दिइएको थियो । त्यस्तै २५ हजार क्रियाशील सदस्यता गच्छदार समूहले पाएकोमा क्रियाशील सदस्यता छानविन समितिले २३ हजारको नाम स्वीकृत गरेको छ ।

गच्छदार निकट एक नेताको दावी छ, यसपटक गच्छदार समूहबाटै करिव चार सय महाधिवेशन प्रतिनिधि आउँछन् । ‘चार सय महाधिवेशन प्रतिनिधि नघट्ला भन्ने हाम्रो अनुमान हो । जुन जुन जिल्लामा हाम्रा महाधिवेशन प्रतिनिधि हुनुहुन्छ, ती जिल्लामा त्यही संख्यामा हाम्रा साथीहरु आउनुहुन्छ,’ गच्छदार निकट नेता योगेन्द्र चौधरीले भने, ‘हाम्रा साथीहरु सहमतिमै आउने परिस्थिति बनिरहेको छ ।’

कांग्रेस र फोरम लोकतान्त्रिक पार्टी एकता भएको चार वर्ष पुगेको छ । संघ र प्रदेशको निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकका एक दर्जन नेताले प्रतिस्पर्धा गरेका थिए । त्यसैबाट तत्कालिन फोरम लोकतान्त्रिकका नेताहरु कांग्रेसमा घुलमिल भइसकेको दावी गच्छदार समूहको छ । कांग्रेसभित्र गच्छदारको पुरानो लिगेसी र अन्य नेताहरु स्थानीयदेखि केन्द्रीय भूमिकामा पनि रहेकाले आफूहरुको शक्ति झन् बढेको उनीहरुको निष्कर्ष छ ।

‘हाम्रो पुरानो लिगेसीबाट कति जना आएभन्दा पनि अहिले हामीहरु (तत्कालिन फोरम लोकतान्त्रिक) ले भन्दा कति जनाले भोट हाल्छन् भन्ने महत्वपूर्ण कुरा हुन्छ । अहिले हामीसँग कांग्रेसमै रहेका साथीहरु झन् निकट हुनुभएको छ,’ गच्छदार समूहका एक केन्द्रीय सदस्यले भने, ‘हामी जस्तै जिल्ला–जिल्लामा तत्कालिन फोरम लोकतान्त्रिकका साथीहरु हुनुहुन्छ, कांग्रेसकै साथीहरुसंग उहाँहरु उत्तिकै नजिक हुनुहुन्छ । त्यसकारण हामीले हिजोको फोरम लोकतान्त्रिकलाई मात्रै हेरेर हुँदैन । परिस्थिति बदलिएको छ ।’

फोरम लोकतान्त्रिकले पार्टी एकीकरणका बेला ६३ जिल्लामा आफ्नो संगठन रहेको बताएको थियो । गच्छदारको बढी प्रभाव भने तराईका जिल्लामा देखिन्छ । फोरम लोकतान्त्रिकबाट आएकाहरुलाई झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, पर्सा, बारा, दाङ, बाँके, बर्दिया, कैलालीमा उपसभापतिसहित जिल्ला कार्यसमितिमा भूमिका दिइएको थियो ।

कांग्रेस नेता मीन विश्वकर्मा पनि महाधिवेशनमा गच्छदार समूह निर्णायक हुने बताउँछन् । ‘यो समूहले महाधिवेशनमा ठूलो प्रभाव पार्छ । कुल महाधिवेशन प्रतिनिधिको करिव दश प्रतिशत प्रतिनिधि तत्कालिन फोरम लोकतान्त्रिकबाट आउँछन्,’ उनी भन्छन, ‘यो संख्या कसैलाई जिताउन र हराउन पर्याप्त हुन्छ ।’

कांग्रेसमा फोरम लोकतान्त्रिकबाट महाधिवेशन प्रतिनिधि भएकाहरुलाई नछुटाउन स्थानीय तहबाटै सहमतिमा प्रतिनिधि ल्याउने काम भइरहेको छ । गच्छदार समूहका नेता योगेन्द्र चौधरी वडा अधिवेशनबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरुको संख्याले पनि आफूहरु कमजोर नहुने अवस्था रहेको बताउँछन् ।

‘अधिकांश जिल्लामा हाम्रो समूहका साथीहरुलाई सहमतिमै महाधिवेशन प्रतिनिधि ल्याउने प्रयास भइरहेको छ । सहमतिमै वडा अधिवेशन भयो । वडा अधिवेशनमा हामीले अनुमान गरेजस्तै कार्यसमिति आएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘हरेक ठाउँमा फोरम लोकतान्त्रिकका साथीहरुलाई स्थान दिएको देखिन्छ । क्षेत्रीय प्रतिनिधि पनि सोचे अनुसार नै आउनुभएको छ ।’

कांगेस विधानमा महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यसमिति चयन गर्ने व्यवस्था छ । वडा तहबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्छन् ।

राजनीतिक विश्लेषक एवं कांग्रेसबारे कलम चलाउँदै आएका सुदर्शन आचार्य गच्छदार समूह महाधिवेशनको नजिता नै उल्टाउन सक्ने हैसियतमा नरहेको दावी गर्छन् ।

‘पार्टीमा पाएको सदस्यता संख्या, गच्छदारको कांग्रेसमा निरन्तरता, संगठनको अवस्थाले महाधिवेशनमा ‘धेरथोर’ निर्णायक त बन्छ नै तर उहाँमाथि जुन भ्रष्टाचारको मुद्धा लागेको छ, त्यसले उच्च मनोबलका साथ देशव्यापी माहोल बनाउन सक्रिय हुन दिँदैन,’ उनी भन्छन्, ‘जसले गर्दा उहाँ जता लाग्नुभयो, त्यहीँ पल्लाभारी हुने अवस्था म चाहिँ देख्दिन ।’

गच्छदारको झुकाव कता ?

कांग्रेसमा संस्थापन समूहकै नेता मानिन्छन् गच्छदार । उनले आफू कुनै पनि गुटमा नरहेको दावी गरेपनि सभापति देउवाले बोलाउने हरेक गुटगत बैठकमा गच्छदार सहभागी हुँदै आएका छन् ।

आसन्न महाधिवेशनमा संस्थापन समूहबाट सभापतिमा देउवा दोहोरिन खोजेका छन् भने देउवा समूहमै रहेका उपसभापति विमलेन्द्र निधि पनि नेतृत्वको दौडमा छन् ।

संस्थापनइतर समूहबाट वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापति पदका आकांक्षी हुन् ।

संस्थापन इतर समूह एक ढिक्का नभएको अवस्थामा देउवालाई सबैभन्दा चुनौती अढाई दशकदेखि निकट भएर साथ दिएका उपसभापति निधिको सभापतिमा उम्मेदवारी घोषणाले दिएको छ । प्रदेश २ मा राम्रो पकड भएका निधिले देउवालाई क्षति पुर्‍याउने आकलन संस्थापन समूहको छ । तर देउवा पक्षको दाबी अनुसार सभापति देउवा निधिले पुर्‍याउने क्षति उपसभापति गच्छदार समूहको साथबाट पूर्ति गर्न चाहन्छन् । र महाधिवेशनमा गच्छदार समूहको समर्थन आफूलाई हुनेमा देउवा ढुक्क छन् ।

कांग्रेस विभाजन हुँदा देउवालाई दरिलो साथ दिएका थिए गच्छदारले । देउवाले उनलाई कांग्रेस प्रजातान्त्रिकको सहमहामन्त्री मनोनित गरेका थिए । गिरिजा प्रसाद काेइराला सभापति हुँदा कांग्रेस परित्याग गरेका गच्छदारलाई देउवाले आफू सभापति भएपछि फेरि पार्टीमै फर्काए ।

गच्छदारको पार्टी कांग्रेसमा आउँदा संस्थापनइतर समूह बेखुस थियो भने देउवाले आफ्नो शक्ति थप बढेको रुपमा लिएका थिए । पार्टीभित्र गच्छदारलाई भूमिका दिने विषयमै पौडेल पक्षले असन्तुष्टि जनाएपछि कांग्रेस प्रवेश गरेको एकवर्षपछि मात्रै गच्छदारलाई उपसभापति मनोनित गरिएको थियो भने उनका समूहका अन्य नेताहरुलाई दुई वर्षपछि मात्रै जिम्मेवारी दिइएको थियो ।

गुटगत राजनीतिले जेलिएको कांग्रेसलाई गुटमुक्त बनाउन आफू लागिपरेको गच्छदारको प्रष्टोक्ति छ । उनी आफू कुनै गुटभन्दा कांग्रेसलाई एकतावद्ध बनाउन लागिपरेको दावी गर्छन् । तर देउवासँगको पुरानो निकटता र ललितानिवास प्रकरणले पनि गच्छदारको समर्थन संस्थापन समूहलाई नै हुने यो पक्षका नेताहरु बताउँछन् ।

‘ललितानिवास मुद्धाका कारण पनि पार्टीभित्र देउवासँग दूरी बढाउने परिस्थिति छैन गच्छदारको’ कांग्रेसका एक नेताले भने, त्यसैले गच्छदारको सहयोग महाधिवेशनमा देउवालाई नै हुनेमा शंका छैन । उहाँको यो बाध्यता पनि हुनसक्छ ।’

सहमतिमै उपसभापति हुने चाहना

गच्छदार चाहन्छन्, महाधिवेशनमा उनी कुनै पनि गुटका पक्षमा खुल्न नपरे हुन्थ्यो । त्यसैले उनी आफूसहित तत्कालिन फोरम लोकतान्त्रिकबाट आएका नेता कार्यकर्ताको ‘सेटलमेण्ट’ सहमतिमै होस् भन्ने पक्षमा छन् । त्यसका लागि उनी सभापति देउवा, वरिष्ठ नेता पौडेललगायतसँग लबिङ गर्दै आएका छन् ।

‘उपसभापतिमै आउने उहाँको चााहना छ । सभापति म लड्दै लड्दिन भनिसक्नुभयो । त्यो परिस्थिति पनि छैन, यो कुरा उहाँले बुझ्नुभएको छ,’ कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले भने, ‘रामचन्द्र गुट र देउवा गुट भन्दापनि एकताको राजनीति कांग्रेसले खोजिरहेका बेला उहाँ दुई नेताबीचको दूरी कम गराउने प्रयासमा हुनुहुन्छ । त्यसैले दुबैजना नेताको साझा प्रस्तावमा उपसभापति बन्ने उहाँको अपेक्षा छ ।’

गच्छदार समूहकै नेता रामजनम चौधरी सहमहामन्त्री बन्ने योजनामा छन् । त्यसैले केन्द्रीय कार्यसमितिमा रहेका आफ्नो समूहका नेताहरुको व्यवस्थापनको चुनौती पनि छ गच्छदारलाई । लामो समय पार्टीभित्र आफूलाई साथ दिएका नेताहरुको व्यवस्थापन गर्न नसकिरहेका बेला गच्छदारसहित उनीनिकट नेताहरुलाई महाधिवेशनमा जिम्मेवारी दिन देउवालाई पनि उत्तिकै कठिन छ ।

‘अहिलेसम्म हामीसँग कुरा हुँदा गच्छदारले उपसभापतिमा दोहोरिने चाहना राख्नुभएको छ । त्यसमा पनि उहाँको समूहका नेताहरुको व्यवस्थापनको कुरा पनि छ,’ देउवानिकट एक नेताले भने, ‘देउवालाई आफ्नै समूह मिलाउन सजिलो छैन, गच्छदारलाई उपसभापति दिँदा आफूलाई सभापति जित्न कति सजिलो वा गाह्रो हुन्छ, यो हिसाबकिताब त उहाँले राख्नुभएकै होला ।’

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?