+
+

सिंगल हल बन्द हुँदा हराउला सिठ्ठी र तालीको रौनक ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १३:२३

काठमाडौंको गोपिकृष्ण हलमा ७ वटा पर्दा थिए । एकसाथ यी हलमा ७ वटा चलचित्र चल्दा शतप्रतिशत अकुपेन्सीमा २४ सय भन्दा बढी दर्शकको भिड हुन्थ्यो । गोपिकृष्ण त्यही हल हो, जहाँ नेपाली चलचित्रका निर्माता दर्शकको भिड देखाएर चलचित्र हिट भएको खुशी साट्थे । अहिले चलेका सबैजसो स्टारले एकपटक गोपिकृष्णको बार्दलीमा पुगेर हात नहल्लाएसम्म चलचित्र चलेको र स्टारडम बढेको चर्चा हुदैनथ्यो ।

गोपिकृष्णमा चलचित्र हेर्न पुग्ने दर्शक हल बाहिर मात्र होइन, भित्र पनि ताली बजाउने र सिट्टी फुक्थे । दर्शकसँग बसेर चलचित्र हेर्दा मज्जा नै अर्को हुन्थ्यो ।

तर, कोरोना भाइरसको महामारीविच विस्तारै उठ्न थालेको नेपाली चलचित्रले अब यी कुराहरु मिस गर्नेछ । कारण, मोफसलका मात्र होइन उपत्यकाका अधिकांश दर्शकको भिड धेरै हुने हलहरु धमाधम बन्द भएका छन् भने केही हल बन्द हुने अवस्थामा छन् । काठमाडौंकै जय नेपाल, कुमारी हल बन्द हुँदा नेपाली चलचित्रले केही घाटा सहनुपर्ने निश्चित छ ।

ललितपुरको ग्वार्कोमा रहेको गुण चलचित्र भवनमा ८ पर्दा छ । तर, अहिले यो भवनमा एक बैंकले आफ्नो शाखा कार्यालय खोलेको छ । गुण हललाई भत्काउने तयारी यसका संचालकले गरेको वुझिएको छ । यसैले, गुणमा पुग्ने दर्शकको भिडभाड पनि नेपाली चलचित्रले मिस गर्नेछ ।

गोपिकृष्ण, गुण, गंगा, सिद्धार्थ, पुष्पाञ्जली, मयुर, कलंकी, पृथ्वी, आरधना, चामुण्डा जस्ता हलहरु अब इतिहास बन्दैछन् । चलचित्रको पर्दा पर्दा बाहिर देखिने स्टार क्रेज अब यी हलहरुमा मिस हुनेछ । नेपाली चलचित्रलाई सबैभन्दा धेरै शेयर दिने विश्वज्योती हल पनि बन्द भैसकेको छ । यो ठाउँमा अहिले सपिङ मल खुलेको छ भने २ वटा मल्टिप्लेक्स हल संचालनमा आएको छ ।

विशेषगरि, सिंगल भन्दा मल्टिप्लेक्स हलमा पुग्ने दर्शकहरु शान्त हुन्छन् भनिन्छ । काठमाडौंमा सिंगल हल विस्तारै बन्द हुँदै गर्दा केही मल्टिप्लेक्स हलहरु पनि खुल्ने क्रममा छन् । वान सिनेमाज्को कालिमाटीमा नयाँ शाखादेखि दीपकराज गिरी र उनको टिमले नयाँ बाँनेश्वरमा संचालन गर्न लागेको नयाँ हलले दर्शकको ध्यान पक्कै पनि तान्ला । तर, हल भित्रको गुञ्जयमान माहोललाई भने नेपाली चलचित्रका निर्माता, निर्देशक र कलाकारले मिस गर्ने पक्का छ ।

निर्माता तथा कलाकार दीपकराज गिरी सिट्टी र तालीको सस्कार विस्तारै मल्टिप्लेक्स हलमा सरेको बताउँछन् । तर, ३० प्रतिशत भन्दा बढी हल बन्द हुँदा निर्माताले पाउने शेयर पनि कम हुने उनको धारणा छ । दीपक भन्छन्–‘अब, हललाई टार्गेट गरेर चलचित्र बनाउने निर्मातालाई समस्या पर्छ । सिंगल र मल्टिप्लेक्सका दर्शकका लागि भनेर चलचित्र बनाउने अवस्था अब रहदैन । जसले, सिंगल भनेर बढी ध्यान केन्द्रित गर्छन्, उनीहरुलाई गाह्रो पर्छ ।’

दीपकले अब निर्माताले शेयरमा पनि चित्त वुझाउनुपर्ने अवस्था आउने विश्लेषण गरे । भने–‘जस्तो हाम्रो चलचित्र ‘छक्का पन्जा ३’ले १७ करोड माथिको ग्रस कलेक्शन गरेको थियो । अब, हामीले यती धेरै ग्रसको अपेक्षा गर्नु बेकार छ । १० करोड माथिको ग्रस कुनै चलचित्रले गरेको खण्डमा त्यसलाई ठूलो मान्नुपर्ने हुन्छ ।’

दीपकले चलचित्र बनाउँदा अब मेकरले कथामा ध्यान दिनुपर्ने बताए । यस्तै, नायिका पूजा शर्माले अधिकांश सिंगल हल बन्द हुँदा कलाकारलाई सबैभन्दा बढी घाटा हुने बताइन् । उनले भनिन्–‘अब चलचित्र रिलिज हुँदा के नपुगेको नपुगेको जस्तो हुन्छ । अर्कोतिर, निर्माताले राम्रो शेयर पाउने हल बन्द हुनु आफैमा दुःखको कुरा पनि हो ।’

वितरक गोपालकाजी कायस्थ सिंगल हल बन्द हुनु भनेको दर्शकले सुविधासम्पन्न हलको खोजी गरेको भनेर वुझ्नुपर्ने बताउँछन् । तर, बन्द भएका अधिकांश सिंगल हलका संचालकले मल्टिप्लेक्स हल संचालनमा ल्याउने भएकाले पनि निर्मातालाई ठूलो घाटा नहुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?