+
+

विराजले च्यासलबाट ए डिभिजन लिग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १८:०३

१२ असोज, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिग च्यासल युथ क्लबबाट खेल्ने भएका छन् । विराज मंगलबार च्यासलसँग अनुबन्धित भएका हुन् ।

ए डिभिजन लिग आगामी कात्तिक २९ गतेदेखि शुरु हुँदैछ । पछिल्लो सिजन विराजकै कप्तानीमा मछिन्द्र क्लबले पहिलो पटक ए डिभिजन लिग जितेको थियो ।

अखिल नेपाल फुलटबल संघ (एन्फा) एकेडेमीका उत्पादन विराजले राष्ट्रिय फुटबल टिमबाट ७३ खेल खेलिसकेका छन् । २००८ मा पोखरामा सम्पन्न पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट विराजले नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन् । विराजले नेपालका लागि १८ खेलमा कप्तानी गरेका छन् ।

विराजकै कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप र १२औं दक्षिण एसियाली खेलकुद (साग) को उपाधि जितेको थियो । त्यस्तै एएफसी सोलिराडिटी कपमा विराजले नै आर्म ब्याण्ड लगाएर टिमको नेतृत्व गरेका थिए । उक्त प्रतियोगितामा नेपालले उपाधि जितेको थियो ।

विराजले यसअघि संकटा, एनआरटी, मनाङ मर्स्याङ्दी, थ्री स्टार र मछिन्द्र फुटबल क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेलिसकेका छन् भने थ्री स्टार, मनाङ र मछिन्द्र क्लबबाट लिगको उपाधि जिताएका छन् । मनाङ र मछिन्द्रले उपाधि जित्दा विराजले कप्तानी गरेका थिए ।

यस्तै च्यासलले स्कटलल्यान्डका ली मान्सनलाई प्राविधिक निर्देशकमा नियुक्त गरेको छ । मान्सन पछिल्लो २५ वर्षदेखि फुटबल प्रशिक्षणमा सक्रिय छन् । उनी पछिल्लो समय लाओस एफसीमा प्राविधिक निर्देशकका रुपमा आवद्ध थिए ।

उनीसँग फिलिपिन्सको पुरुष यू–२३ र महिला राष्ट्रिय टोली सम्हालिसकेको अनुभव छ । मान्सनले एएफसी च्याम्पियन्स कप खेलिसकेको टोली ग्लोबल एफसीमा ६ वर्ष मुख्य प्रशिक्षक भएर काम गरेका थिए ।

यसैगरी च्यासल क्लबले आगामी सिजनको लिगका लागि अन्तर्राष्ट्रिय खेलकुद सामग्री उत्पादक कम्पनी ‘यूक्यान’सँग ‘किट’ प्रयोजन सम्झौता गरेको छ । प्रायोजन सम्झौता पत्रमा यूक्यानका तर्फबाट सीटीएल कम्पनी प्रालिका प्रबन्ध निर्देशक राजेन महर्जन र च्यासल युथ क्लबका तर्फबाट अध्यक्ष रमेश व्यञ्जनकारले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सीटीएलले क्लबलाई आवश्यक खेल सामग्री उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?