+
+

सुदूरपश्चिम सरकारसँग कांग्रेस असन्तुष्ट, सल्लाह नगरेको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १८:१५
सुदूरपश्चिम प्रदेशसभा ।

१३ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारसँग नेपाली कांग्रेस असन्तुष्ट बनेको छ । संघमा पाँच दलीय गठबन्धनको सरकार रहेका बेला सुदूरपश्चिम सरकारमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीलाई बेवास्ता गरेको कांग्रेसको भनाइ छ ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा समेत कांग्रेसका प्रदेशसभा सदस्यहरु सहभागी भएनन् । सरकारको रबैयाका कारण आफूहरु बैठकमा सहभागी नभएको कांग्रेसका प्रदेशसभा सदस्यहरुले बताएका छन् । ‘प्रतिपक्षमा भएपनि हामी गठनबन्धनमा आवद्ध दलका जिम्मेवार सांसद हौं,’ प्रदेशसभा सदस्य भरतबहादुर खड्काले भने, ‘तर हामीसँग कुनै सरसल्लाह समेत नगरेर अघि बढेका कारण मंगलबारको बैठकमा नगएका हौं ।’

खड्काले प्रदेश सरकारले जथाभावी योजना बाँड्नेदेखि विभिन्न बहानामा आफू निकटका व्यक्तिलाई पोस्ने काम गरिरहेको आरोप लगाए । ‘गठबन्धनमा सामेल भएका कारण यो सरकारले हामीसँग पनि सरसल्लाह गर्नुपर्छ । कांग्रेस सरकारमा नभए पनि अहिलेको सरकारलाई कसरी अगाडि बढाउने भन्ने कुरामा हाम्रो पनि भूमिका रहन्छ तर सरकारमा भएका साथीहरु एकलौटी गर्न थाल्नुभएको छ । अब हामी संस्थागत निर्णय गरेर कदम चाल्छौं,’ खड्काले भने ।

सोही विषयमा छलफल गर्न बिहीबार बिहान ११ बजे संसदीय दलको बैठक समेत बोलाइएको उनले जानकारी दिए । कांग्रेसले सरकारले बेवास्ता गरेपछि बैठकमा सहभागी नभएको बताए पनि सत्ता गठबन्धनले भने त्यो विषयमा जानकारी नभएको जनाएको छ । एकीकृत नेकपा समाजवादी पार्टीकी प्रमुख सचेतक दुर्गा विकले मंगलबारको बैठकमा कांग्रेसका प्रदेशसभा सदस्यहरु सहभागी नहुने विषयमा सभामुखलाई समेत पूर्व सूचना नदिई एक्कासी अनुपस्थित भएपछि बैठक चलेको बताइन् ।

‘गठबन्धनको बैठकमा उहाँहरु (कांग्रेस)ले हामी गठबन्धनमा भए पनि प्रमुख प्रतिपक्षीमै बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएपछि अस्तिदेखि प्रदेशसभाको बैठक सञ्चालन भएको हो,’ विकले अनलाइनखबरसँग भनिन्, ‘तर उहाँहरु हिजो कुनै सूचना नदिएर एक्कासी बैठकमा आउनुभएन । हामीले सोध्दा पार्टीको महाधिवेशनका कारण नआएको भन्नुभएको छ ।’

यसअघि कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले पनि अब प्रमुख प्रतिपक्षकै भूमिकामा बसेर सरकारलाई खबरदारी गर्ने बताएका थिए । रावलले प्रदेश सरकारले आफू अनुकूलताको गठबन्धन बनाउन खोजेको भन्दै विगतमा जसरी सहयोग गर्न नसकिने धारणा राखेका थिए ।

संघमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार भएपनि सुदूरपश्चिममा कांग्रेस प्रतिपक्षमै बसेको छ । माओवादी केन्द्रले नेतृत्व गरिरहेको प्रदेश सरकारलाई एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?