+
+

गोर्खाली हौं, अन्तिमसम्म फाइट गर्छौं : किरण चेम्जोङ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते २०:१८

१४ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिपमा नेपालले राम्रो प्रदर्शन गर्ने बताएका छन् ।

शुक्रबारदेखि माल्दिभ्समा शुरु हुने १३ औं साफ च्याम्पियनसिपअघि बिहीबार भएको प्रिम्याच कन्फ्रेन्समा किरणले आफूहरु गोर्खाली रहेको र अन्तिमसम्म पनि फाइट गर्ने बताए । उनले कुनै पनि टिमसँग नडराउने र राम्रो नतिजाका लागि मैदानमा लड्ने बताए ।

च्याम्पियनसिपको पहिलो दिन नेपालले शुक्रबार आयोजक माल्दिभ्सविरुद्ध पहिलो खेल खेल्नेछ । खेल नेपाली समय अनुसार राति ९ः४५ बजे शुरु हुनेछ ।

किरणले माल्दिभ्सलाई होम एडभान्टेज हुने तर आफूहरुलाई त्यसले असर नगर्ने बताए । ‘पक्कै पनि उनीहरुलाई घरेलु मैदानको फाइदा हुनेछ । घरेलु समर्थक हुनेछन् । तर, यसले फरक पार्दैन । हामी गोर्खाली हौं । हामीले विश्वमा इतिहास बनाएका छौं । सारा विश्वले गोर्खाली चिन्छन् । हामी कसैसँग डराउने छैनौं,’ कप्तान किरणले भने, ‘होम र अवेले फरक पार्दैन । हामी कडा फाइट गर्छौं । हामी माल्दिभ्सका समर्थकलाई सम्मान गर्छौं ।’

किरणले यस पटक नेपाली टिममा युवा र अनुभवी खेलाडीको मिश्रण रहेको बताए । ‘युवा खेलाडीहरु राम्रा छन् । टिममा युवा र सिनियर खेलाडीको राम्रो कम्बिनेसन छ,’ उनले थपे, ‘हामी मैदानमा नतिजाका लागि अन्तिमसम्म लड्ने छौं ।’

किरणले फाइनल पुग्ने लक्ष्य रहेको र त्यसका लागि सबै खेल जित्नुपर्ने बताए । ‘कोचले भने अनुसार हामी मात्र साफको उपाधि जित्न बाँकी छ । यसपटक हामी हरेक खेलमा कडा प्रतिस्पर्धा गर्दैर्छौं, उनले अगाडि भने, ‘फाइनल पुग्न हरेक खेल जित्नुपर्छ । हरेक खेल कठिन हुन्छ । मलाई आशा छ हामीले केही राम्रो गर्नेर्छौं ।’

नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले साफको लागि राम्रो तयारी गरेको र यसपटक राम्रो गर्न प्रयास गर्ने बताए । ‘तयारी राम्रो भएको छ । साफका लागि तयार छौं,’ श्रेष्ठले भने, ‘हामी अहिलेसम्म फाइनल पुगेका छैनौं । यसपटक फाइनल पुग्ने प्रयास गर्नेछौं ।’

अहिलेसम्म १२ संस्करण हुँदा फाइनलसम्म पुग्न नसकेको नेपालले यसपटक उपाधि जित्ने  लक्ष्य राखेको छ ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा रहेको नेपालले यसपटक साफका लागि लामो तयारी समेत गरेको छ ।

माल्दिभ्स जानु अघि नेपाली टिमले कतारमा दुई साताको क्याम्प समेत राखेको थियो ।  नेपालले  साफको तयारीका लागि दशरथ रंगशालामा भारतसंग दुई र कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

यसपटक साफमा ५ टिम मात्र सहभागी छन् र सिंगल राउण्ड रोविनपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?