+
+

साफ च्याम्पियनसिप आजदेखि, नेपालले घरेलु टोली माल्दिभ्ससँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते ११:५०

१५ असोज, काठमाडौं। दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजदेखि माल्दिभ्समा सुरु हुँदैछ । नेपालले पहिलो दिनै घरेलु माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । माल्दिभ्स घरेलु टोलीका साथै डिफेन्डिङ च्याम्पियनसमेत हो ।

नेपाल र माल्दिभ्सबीद्बको खेल नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ । यसअघि नेपाल र माल्दिभ्सबीच उद्घाटन खेल हुने भनिएपनि तालिका थोरै परिवर्तन भएकोले अब बंगलादेश र श्रीलंकाबीच पहिलो खेल हुनेछ।

पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमा भएको साफमा नेपाल सेमिफाइनलमा नेपाल त्यही माल्दिभ्सँग पराजित हुँदै फाइनल पुग्नबाट बञ्‍चित भएको थियो । यस पटक पहिलो खेलमै नेपालले माल्दिभ्सँग खेल्दा त्यो हारको पिडा बिर्साउदै सुखद सुरुवात गर्ने अवसर छ । तर माल्दिभ्सलाई घरेलु मैदान र दर्शकको साथ छ ।

यद्यपि नेपालका कप्तान किरण चेम्जोङले माल्दिभ्सलाई होम एडभान्टेज भएपनि त्यसले असर नगर्ने बताइसकेका छन् । ‘पक्कै पनि उनीहरुलाई घरेलु मैदानको फाइदा हुनेछ । घरेलु समर्थक हुनेछन् । तर, यसले फरक पार्दैन । हामी गोर्खाली हौँ । हामीले विश्वमा इतिहास बनाएका छौँ । सारा विश्वले गोर्खाली चिन्छन् । हामी कसैसंग डराउने छैनौँ,’ कप्तान किरणले भने, ‘होम र अवेले फरक पार्दैन । हामी कडा फाइट गर्छौँ । हामी माल्दिभ्सका समर्थकलाई सम्मान गर्छौं ।’

यसैगरी नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले साफको लागि राम्रो तयारी गरेको र यस पटक राम्रो गर्न प्रयास गर्ने बताए । ‘तयारी राम्रो भएको छ । साफका लागि तयार छौँ ’ ‘हामी अहिलेसम्म फाइनल पुगेका छैनौँ । यस पटक फाइनल पुग्ने प्रयास गर्नेछौँ।’

पहिलो खेलमा नेपालले माल्दिभ्ससँग खेल्दैछ र माल्दिभ्स राम्रो टिम भएको श्रेष्ठले बताए । उनले भने, ‘माल्दिभ्स राम्रो टिम हो । उनीहरु साविक विजेता हो र घरेलु टिम हो । उनीहरुसँग राम्रो खेलाडी छ ।’

हरेक पटक प्रतियोगिताअघि नेपाल उपाधिको दाबेदारकै रुपमै गनिन्छ तर प्रतियोगिता सकिँदा नेपाल फाइनलसम्म पनि पुग्न नसकेको अर्को सत्य छ ।
कुवेती प्रशिक्षक अबुदुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपाली टोलीले यस पटक लामो तयारी गरेको छ । तीनवटा मैत्रीपूर्ण खेल समेत खेलेको छ ।

नेपालले दशरथ रंगशालमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दा एकमा बराबरी र अर्कोमा हारको नतिजा निकालेको थियो । यस्तै माल्दिभ्स जानुअघि कतारमा ओमानसंऊ खेलेको अभ्यास खेलमा नेपाल ७-२ ले पराजित भएको थियो ।

कतारमा दुई साताको क्लोज क्याम्प राखेर मालेको पुगेको नेपालको लक्ष्य पहिलो पटक साफ च्याम्पियन बन्ने रहेको छ । तर यो उत्तिकै चुनौतीपूर्ण पनि छ ।
भुटान र पाकिस्तान सहभागि नरहेकोले यस पटक ५ टिमबीच राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा हुनेछ र शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । त्यसैले हरेक खेल नेपालका लागि महत्वपूर्ण छ ।

नेपालसँगै माल्दिभ्स, भारत, बंगलादेश र श्रीलंकाले साफको १३औं संस्करणमा प्रतिस्पर्धा गर्दैछन् । सिंऊल राउण्ड रोविनमा सबैले एक अर्कासँग खेलेपछि शीर्ष दुई टिम फाइनल पुग्नेछन् ।

नेपालका कप्तान किरणले यस पटक फाइनल पुग्ने लक्ष्य रहेको बताएका छन् । ‘हामी फाइनल पुग्न चाहन्छौँ र त्यसका लागि सबै खेल जित्नुपर्नेछ ।’

हेड टु हेड

माल्दिभ्सविरुद्ध विगत हेर्दा नेपाल पछि छ । अझ साफमा नेपालले माल्दिभ्सलाई अहिलेसम्म हराउन सकेको छैन।

नेपाल माल्दिभ्सबीच अहिलेसम्म कूल १६ खेल भएको छ । जसमा माल्दिभ्सले ८ खेल जितेको छ भने नेपालले ४ खेल मात्र जितेको छ । बाँकी ४ खेल बराबरीमा सकिएको छ ।

यस्तै साफमा यी दुई टोली ७ पटक भिड्दा नेपालले एक खेल पनि जित्न सकेको छैन । माल्दिभ्सले ५ खेल जित्दा २ खेल भने बराबरी भएको थियो ।

नेपालको खेल

नेपाल भर्सेस माल्दिभ्स (असोज १५ गते)

नेपाल भर्सेस श्रीलंका (असोज १८ गते)

नेपाल भर्सेस भारत (असोज २४ गते)

नेपाल भर्सेस बंगलादेश (असोज २७ गते)

फाइनल : असोज ३० गते

नेपाली टिम

किरण कुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरज ज्यु ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल,आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा, रोहित चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?