+
+

बार्सिलोनामा रोनाल्ड कोमनका सात गम्भीर गल्ती

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १७:५८

१५ असोज, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोमनमाथि प्रश्न उठ्न थालेको छ । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा र बोर्डका अन्य सदस्यले पनि कोमनलाई चाहेअनुसार गर्न दिएका थिए । तर बार्सिलोनाले राम्रो नतिजा निकाल्न नसकेपछि कोमनमाथि प्रश्न उठ्न थालेको हो ।

च्याम्पियन्स लिगको समूह चरणको पछिल्लो खेलमा बार्सिलोना, बेन्फिकासँग ३–० गोल अन्तरले पराजित भएको छ । यो हार बार्सिलोनाका लागि निकै खराब नतिजा मानिएको छ ।

तर यत्ति नै कारण प्रशिक्षक कोमनको आलोचना भएको होइन । उनी आलोचित हुनुका कारण धेरै छन् ।

१. खेलाडीप्रति आक्रामक

बार्सिलोनाका प्रशिक्षक कोमनले समरमा विना कुनै हिचकिचाहट आफ्ना खेलाडीहरु कमजोर बनेको बताए । युवा खेलाडीहरुलाई अवसर दिँदै आएका उनले आफ्नो कदमको बचाउ गर्ने क्रममा उनीहरुले भेट्रान खेलाडीहरुले भन्दा राम्रो प्रदर्शन गरिरहेको बताएका थिए ।

कोमनको यो अभिव्यक्तिले निकै चर्चा पायो । उनी खेलाडीहरुको आलोचना गर्न अरु बेला पनि छाड्दैनन् । कुनै पनि खेलमा खेलाडीले गुमाएको अवसरको चर्चा गर्छन् र उनीहरुको गल्ती औंल्याउँछन् । बुधबार पनि उनले त्यस्तै गरे ।

बेन्फिाकासँग हार व्यहारेपछि उनले भने, ‘हामीले पहिलो गोल त्यति सजिलै खानु हुँदैनथ्यो । अहिलेको बार्सिलोना आठ वर्षअघिको बार्सिलोनाजस्तो होइन ।’

कोमनको यो प्रतिक्रियालाई खेलाडीले रुचाएनन् ।

२. बार्सिलोनाको शैलीविरुद्ध जानु

बार्सिलोनाले लामो समयदेखि ४–३–३ को शैलीमा खेलाडीलाई मैदानमा उतार्दै आएको थियो ।

तर कोमेनले यसलाई परिवर्तन गरे र ४–२–३–१ को शैली अपनाए । कहिलेकाहीं त उनी डिफेन्समा पाँच खेलाडी पनि राख्छन् । खेलाडीहरुबीच भने अघिल्ला वर्षहरुमा जस्तो तालमेल देखिएको छैन । ग्रनाडासँगको बराबरीमा पनि यसको झल्को देखिएको थियो । प्रशिक्षक कोमनले भने फेरि खेलाडीलाई नै दोषी देखाए, ‘उनीहरु टिकी–टाका खेल्ने खेलाडी थिएनन् ।’

३. लापोर्टासँग समन्वयको अभाव

बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा र प्रशिक्षक कोमनबीच शुरुआतदेखि नै सम्बन्ध सुमधुर थिएन ।

निर्वाचन प्रचारको क्रममा लापोर्टाले कोएमन लामो समय क्लबमा रहनेमा आशंका व्यक्त गरेका थिए । समरमा पनि वैकल्पिक प्रशिक्षकबारे विचार गरिरहेको बताएका थिए ।

४. कोमनको निराशा

कोमनले क्लबका समर्थकलाई भनेका छन्, उनी आफ्नो टोलीको लक्ष्यलाई यथार्थमा बदल्न प्रतिवद्ध छन् । तर त्यसका लागि बनेको योजना बोर्ड र खेलाडीले कार्यान्वयन गर्न सकेका छैनन् । ‘च्याम्पियन्स लिगमा तपाईंले चमत्कारको अपेक्षा गर्न सक्नुहुन्न । लिगमा शीर्ष स्थानमा रहनु सफलता हुनसक्छ,’ उनले भनेका छन् ।

५. क्लबको हिसाबले निर्णय गर्नु

क्लबको कमजोर आर्थिक अवस्थाका कारण सीमाहरु प्रशिक्षक कोमनले बुझेका छन् । क्लबमा भएका केही खेलाडी बेच्नुपर्छ, सकेसम्म फ्रि–ट्रान्सफरमा खेलाडी ल्याउनुपर्छ भन्ने उनलाई थाहा थियो । त्यसैले सजिलै लिओनल मेस्सी, एन्टोनी ग्रिजम्यान, एमर्सन रोयलजस्ता खेलाडीलाई क्लब छाडेर जान दिए । तर उनीहरुको अनुपस्थितिमा बार्सिलोना कमजोर बन्न पुगेको छ ।

६. अरुको कुरा नसुन्नु

लापोर्टा लगायतका केहीको दबाबका बाबजुद कोमन आफ्नो प्रशिक्षण शैलीमा अडिग रहे । लापोर्टा लगायतले सामुएल उम्टिटी र रिकुइ पिगलाई धेरै समय खेलाउन दबाब दिएका थिए । तर कोमनले उनीहरुको तुलनामा पूरा समय खेल्न सक्ने क्षमतावान् खेलाडीहरु टिममा रहेको तर्क गरिरहे, र त्यसअनुसार खेलाए ।

७. असफल जोखिम

कोकनले डच फर्वार्ड लुक डे जोङलाई बार्सिलोनामा ल्याउन व्यक्तिगत जोखिम मोले । तर उनले कोमनले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन् ।

कोमनले खेलको क्रममा लिएका निर्णयमाथि पनि प्रश्न उठ्ने गरेको छ । आफ्नो टोलीका खेलाडीलाई सही पोजिसनमा नखेलाएको भन्दै उनको आलोचना भइरहेको छ ।

मार्काबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?