+
+
उपन्यास अंश  :

त्यो मुठभेड रातभरी जारी रह्यो

हरि कटुवाल हरि कटुवाल
२०७८ असोज १६ गते १४:५३

ऊ क्रान्तिमा लागेको पनि पाँच वर्ष बितिसकेछ । यस दौरानमा कयौं क्रान्तिकारी योद्धाहरूले शहादत प्राप्त गरे । कमरेड हिमाली, सोनाम कमरेड, सरिता कमरेड, छिरिङ कमरेड, कमरेड रक्तिम, कम्तीमा पनि पाँचहजार क्रान्तिकारी योद्धाहरू सदाको लागि धर्ती छोडेर गए ।

माटोको लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गरे । त्यस्तैगरी सरकारी सुरक्षा निकायका पनि हजारौं योद्धाहरूले शहादत प्राप्त गरे । कयौं निर्दोष र निहत्था मानिसहरू पनि मारिए । हजारौं आमाहरूको काख रित्तियो । महिलाहरूको सिउँदो उजाड भयो । लाखौं बालबलिकाहरू टुहुरा भए ।  तर पनि क्रान्ति जारी रहिरह्यो ।

जसरी ऊ पढाइमा प्रथम हुथ्यो, त्यसै गरी ऊ क्रान्तिको मोर्चामा पनि सधैं अग्रणी स्थानमा रह्यो । आज ऊ डिभिजन सहायक कमाण्डर भएको छ । कमरेड ज्वाला सोही डिभिजनको कमाण्डर थियो । क्रान्तिको दौरानमा हजारौं बस्तीहरूमा पुगे । दशौं हजार माइलको यात्रा गरे ।

हजारौँ कार्यक्रमहरू सन्चालन गरे ।  भीरपाखा, लेकबेसी, कुनाकन्दराहरू छिचोलेर विशाल सामाजिक जागरण ल्याए । गाउँबाट बिस्तार भएको क्रान्तिको विगुल शहरमा पनि घन्किन थाल्यो । कतिपय स्थानमा शत्रुको घेराबाट बल्लबल्ल बाँच्न सफल भएका उनीहरूले कयौं ठाउँमा शत्रुको निर्मम सफाया पनि गरे ।

गाउँ(शहर हरक्षेत्रमा क्रान्तिको आगो सल्कियो । आन्दोलनका बिगुलहरू बज्न थाले । समाजका रहेका कुरीति र कुप्रथाविरूद्ध व्यापक सामाजिक जागरण आयो । क्रान्तिले अब नयाँ उचाइ लिँदै गएको थियो । क्रान्ति अब प्रत्याक्रमणको चरणमा प्रवेश गरेको थियो । शत्रुका कमजोर किल्लाहरू धमाधम कब्जा हुँदै गए । क्रान्तिकारीहरू उत्साहित हुँदै गए ।

वसन्त ऋतुको आगमनसँगै धर्तीभरि नयाँ जोश, जाँगर, उमंग छाएको छ । शिशिरको कठाङ्ग्रिँदो जाडो पार गरेपछि बोटविरुवामा नयाँ पालुवाहरू पलाएका छन् । चराचुरूङगी पनि मस्तले गीत गाइरहेका देखिन्थे । नयाँ वर्षको रौनक थियो सबैतिर । क्रान्तिले पनि नयाँ उचाइ हासिल गरेको थियो । फौजी आक्रमणले एउटा ठूलो कोशेढुङ्गा पार गरेको थियो ।

क्रान्तिकारीहरूले शत्रुका बलिया–बलिया किल्ला समेत आफ्नो नियन्त्रणमा लिन सफल भइसकेका थिए । फौजी आक्रमण निरन्तर जारी थियो । क्रान्तिकारीहरूले शत्रुको छैटौ्र किल्ला कब्जामा लिएर ठूलो मात्रामा आधुनिक हातहतियार र सैन्य बन्दोवस्तीका सामान आफ्नो नियन्त्रणमा लिएका थिए  ।

०००

त्यसको ठिक एक महिनापछि, शत्रुको सातौं किल्ला कब्जामा लिने आदेश पार्टी हेडक्वाटरबाट आयो । सोही मुताविक आक्रमणको रणनीतिक योजना बुन्न क्रान्तिकारी योद्धाहरू तल्लिन देखिए । आक्रमणको चार दिन अगाडिदेखि कमरेड जेनिसा, कमरेड निलम, कमेरड अनिता गुन्यु–चोली र पटुकीमा सजिएर  डोका, नाम्लो र हसियाँ लिएर शत्रुको किल्लाको नक्सांकनको लागि घाँस काट्ने निहुमा गए । किल्लाको हरेक कोणको नक्शांकन गरे । आक्रमणको सम्पूर्ण योजना र कमाण्डिङ कमरेड ज्वालाले नेतृत्व लियो । यस अघिका महत्त्वपूर्ण किल्लाहरूमा उसकै नेतृत्वमा सफल आक्रमण भएका थिए ।

तीनतीर ठाडा भीरहरू घेरेको डाँडाको टुप्पामा रहेको यो किल्लामा एकतिर दमस्याइलो जमिन थियो । त्यही दमस्याइलो जमिनतर्फ सयौँ सर्वसाधारणका घर थिए । दमस्याइलो जमिनतर्फबाट आक्रमण गर्दा शत्रु पक्षबाट प्रत्याक्रमण हुँदा सयौं सर्वसाधारणको ज्यान जान सक्थ्यो ।

हरि कटुवाल

आक्रमणको योजना बुन्दै गर्दा कमेरड ज्वाला बोल्यो, हामी क्रान्तिकारीहरू तिनै सर्वसाधारण जनताको हितका लागि लडेका हौं । उनीहरूको ज्यान जोगाउनु हाम्रो पहिलो कर्तव्य हो ।ु

उसको कुरामा कमरेड परिर्वतनले पनि समर्थन जनायो । ऊ जनताप्रति जिम्मेवार थियो । पार्टी हेडक्वाटरको निर्देशन थियो, जस्तोसुकै मूल्य चुकाएर भए पनि त्यो किल्ला कब्जा गर्नु, चाहे निहत्था जनताको जिउज्यान नै किन नजाओस् ।

नक्शांकन पुरा भएपछि, आक्रमणको खाका तयार भयो । पूर्व र उत्तरपट्टिको भिरालो जमिन उनीहरूको लागि चुनौती र अवसर दुवै थियो । पश्चिमपट्टि भिरालो भए नि अलि सहज थियो । त्यही भिरालो जमिन तर्फबाट आक्रमण सुरु गर्ने, दक्षिणको मानव बस्तीतर्फ कुनै सैन्य गतिविधि नगर्ने, बस्तीबाहिर भने घेरा हाल्ने निर्णय भयो ।

युद्धको दिन क्रान्तिकारी योद्धाहरू कोही उत्साहित थिए । कोही कोहीका मनमा डर र अन्योलका भुमरी मडारिएको थियो । बिहानीको झुल्के घामसँगै उनीहरू युद्ध सामग्री लिएर ठीक परे ।

एसाल्ट समूह, एलएमजि समूह, मिलिसिया समूह, स्वाथ्यटोली आदि विभिन्न समूहमा टोली विभाजन गरेपछि ती टोलीका कमाण्डरहरूले आ–आफ्नो कमाण्डिङ सम्हाले । झण्डै एक हजार छ सयको हाराहारीमा टोली तयार भयो ।

कसैका काँधमा मोर्टार छ, कसैका हातमा इन्सास । कसैकामा एके ४७ । कसैसँग थ्रीनटथि राइफल । कसैसँग एसएलआर । कसैसँग एलएमजी । पे्रसर कुकर बम र सकेट बम पनि बोकेका छन् ।

ग्रिनेडहरू आदि नाना थरीका हतियारहरू बोकिएका छन् ।

उनीहरू आफ्नै ग्रुपको कमाण्डिङअन्तर्गत रहेर लेकबाट बिस्तारै बेसीतर्फ लम्किराखेका छन् । बाटोमा जाँदै गर्दा, धेरै ठाउँमा नयाँ बर्षको जमघट र रमझम थियो । तिनीहरूलाई छल्दै, टोली निरन्तर अगाडि बढिरह्यो । बाटोमा कयौँ खोलानालाहरू भेटिए । कयौँ बस्तीहरू छिचोलिए ।

भीरपाखा–कुनाकन्दराहरूलाई नाँघ्दै, उनीहरू शत्रुको किल्ला नजिकै पुगे । त्यहाँ पुग्दा धर्तीलाई अन्धकारले छोपिसकेको थियो । योजनाबमोजिम कमरेड परिवर्तनले उत्तरतर्फको नेतृत्व लियो । कमरेड जलनले पूर्वतर्फ र कमरेड ज्वालाले पश्चिमतर्फको नेतृत्व गर्यो ।

उत्तर, पूर्वका ती कहालीलाग्दा भीर छिचोल्दै क्रान्तिकारी योद्धाहरू बिरालोका चालमा पहाडको टुप्पामा एक–एक गर्दै उक्लिए । त्यो निस्पष्ट अन्धकारमा क्षणभरमै आफ्नो लागि रक्षा कवचहरू बनाए । पश्चिमतर्फ एलएमजि ग्रुप फायर खोल्नलाई आफ्नो पोजिसनमा बसिसकेको थियो । कमरेड जलन र कमरेड परिर्वतनको टोलीले यही निस्पष्ट अन्धकारको मौका छोपी पूर्व र उत्तरका शत्रुको बाहिरी किल्लामा बसेका योद्धाहरूलाई एक–एक गर्दै गोली नचलाई खुकुरीले छप्काए ।

उनीहरू एक शब्द बोल्न नपाई जमिनमा ढले । पूर्व र उत्तरको बाहिरी घेरा क्रान्तिकारीले कव्जा लिएपछि तीनैतिरबाट फायर खोलियो । पूर्व र उत्तर तर्फबाट क्रान्तिकारीहरूले एकएक गदै शत्रुका पोष्ट कब्जा लिँदै गए ।

त्यो कहालीलाग्दो अँधेरी रातमा आकाशमा ताराहरू तिलमिलाइरहे । जमिनमा भयानक युद्ध चलिरह्यो । बन्दुकबाट गोली निरन्तर निस्किरहे । मकै भुटेजस्तो गोलीहरू पड्किरहे । बमहरूको आवाजले बेला–बेलामा  भुकम्म गएझैं  जमिन थरथराइरह्यो ।

पूर्व र उत्तरबाट क्रान्तिकारी योद्धाहरूले शत्रुका पोष्ट ढाल्दै गर्दा पश्चिमबाट पनि टोली अगाडि बढ्यो । टोली अगाडि बढ्दै गर्दा कमरेड परिवर्तनको कमाण्डमा रहेका अग्रपंक्तिका योद्धाहरू शत्रु पक्षको गोली र बम लागेर हेर्दा उसैको आँखा अगाडि ढले ।

कोही पीडामा छटपटिन थाले । कोही आफ्नै शरीरबाट निस्केका आलो रगतमा डुवेर छटपटाइरहे । कयौले हेर्दाहेर्दै वीरगति प्राप्त गरे । क्रान्तिकारी घाइतेहरूलाई स्वंयसेवक टोलीले बोक्दै स्वास्थ्य टोली समक्ष पुर्याइरहे ।

कयौंपटक कमरेड परिवर्तनको नजिकैबाट शत्रु पक्षका गोलीहरू बर्सिरहे । बम र बारूदहरू पडकिइरहे  । तर पनि उसले हिम्मत हारेन ।

ऊ निरन्तर लडिरह्यो । कमरेड जलन र कमरेड ज्वालाले पनि निरन्तर नेतृत्व लिइरहे ।रातको बाह्र बजेबाट सुरू भएको, त्यो घमसान मुठभेड रातभरी जारी रह्यो । बिहानको पाँच बजिसकेको थियो । दुवै पक्षका सयौँ योद्धाहरूले प्राण त्यागिसकेका थिए । कसैको टाउकोमा गोली लागेको थियो । कसैको पेटका आन्द्राहरू निस्किएर भुइँमा छरपष्ट थिए ।

कसैका हातगोडाहरू छुटिएर शरीरबाट अलग भएका थिए । कोहीकोही रगतको आहालमा डुबेर रातभरी छटपटाइरहे । कसैको शरीर जलेर चिनिनसक्नु भएको थियो ।  मानिसहरू काला ठुटा जस्ता देखिएका थिए ।

बिहान छ बज्न लागेको थियो । अन्धकारलाई चिर्दै उज्यालो बिस्तारै धर्तीमा पोखिँदा वारिपारिका  बस्तीहरूको दृश्य देखिन थालेको थियो ।  रातभरीको निरन्तर युद्ध पश्चात् बल्ल कमरेड जलन, कमरेड ज्वाला र परिर्वतनको भेट भएको थियो । अझै पनि शत्रुको अन्तिम पोष्ट कब्जामा लिन बाँकी नै थियो । शत्रुहरूले निरन्तर त्यो पोष्टबाट प्रतिकार गरिरहेका थिए ।

उनीहरू अन्तिम युद्धको लागि रणनीतिक सल्लाह गर्दै थिए । शत्रुको किल्लाबाट निस्किएको गोली  कमेरड परिर्वतनको कन्चट छेउबाट गयो । बिजुलीको रफ्तारमा ज्वालाको छातीमा गएर बजारियो ।

ज्वाला चिच्यायो, ऐया नि

हेर्दाहेर्दै ऊ काटेको रूख ढलेझैं ढल्यो । ऊ भुइँमा ढल्न नपाउँदै कमरेड परिर्वतनले च्याप्प अँगालोमा हाल्यो ।

उसलाई  भुइँमा ढल्न दिएन । अत्तालिँदै बोल्यो, दाइ, तपाईंलाई के भयो  ?

कमरेड जलनले दाह्रा किट्यो । नजिकै रहेको एलएमजि उठायो र शत्रुको किल्लामा निरन्तर प्रहार गरिरह्यो । ज्वालाको शरीरबाट रगतको भुल्का छुट्यो । कमरेड परिर्वनले आफूले लगाएको सैन्य पोशाक खोल्यो । त्यही पोशाक ज्वालाको छातीका टाँस्यो र रगत थाम्ने कोशिस गर्यो ।

बोल्यो, दाइ, तपाईंलाई केही हुँदैन । नआत्तिनुस् दाइ ।

उसलाई हतार–हतार पिठ्युमा बोकेर घस्रिँदै अलि तल सुरक्षित ठाउँमा ल्यायो । हातमा ग्रिनेड लिएर उसले दाह्रा किट्यो । तीव्र हावाको झोकाजस्तै गरेर शत्रु किल्लातर्फ अगाडि बढ्यो । बाघले आफ्नो शिकारलाई झम्टेजस्तै शत्रुको किल्लामा जाइलाग्यो । क्षणभरमै शत्रुका सम्पूर्ण पोष्टहरू ध्वस्त भए । पोष्ट ध्वस्त भएपछि बचे–खुचेका शत्रुहरूले आत्मसमर्पण गरे ।

अन्य सबै क्रान्तिकारीहरू जीतको खुसियाली मनाउन थाले । तर उसको मनमा खुसी छाएन । ऊ हतार –हतार कमरेड ज्वाला नजिकै गयो । उसलाई पिठ्युमा बोक्यो । एकातिर एस.एम. जि. भिर्यो ।

बोल्यो, दाइ तपाईंलाई केही हुँदैन । म छु दाइ तपाईंलाई ठिक हुन्छ ।

ज्वाला पीडामा छटपटाइरह्यो । ऊ हतारहतार उरालो झर्यो । ऊ मेडिकल टीम नजिकै पुग्दा उसको स्वर मलिन हुँदै गयो । त्यहाँ पुर्याउँदा ऊ निकै शिथिल भैसकेको थियो ।

कमरेड परिवर्तनको शरीर उसकै रगतले नुहाएझै निथ्रुक्क भिजेको थियो । ऊ हडबढाउँदै बोल्यो, डाक्टर उहाँलाई जसरी भए पनि बचाउनु पर्छ

अरू योद्धाहरू त्यति अतालिएका थिएनन् जति ऊ अतालिएको थियो । कमरेड ज्वालाको, दुबै आखाँमा आँसु टिलपिल भरिएको थियो । आँसुमा रगत मिसिँदा आँखा रातै भए ।  ऊ बोल्यो, भाइ परिर्वतन तिमी मेरो आफ्नैजस्तो लाग्छ । जुन दिन तिमीले आफ्नो अभिभावक गुमाएका थियौ । सहाराको लागि छट्पटिएका थियौ ।

त्यो दिन मैले तिमीलाई सहारा दिए ।  अब मेरो भौतिक शरीर यो संसारमा रहँदैन । क्रान्तिको अभिभारा बाँकी नै छ । म मरेर गए पनि हामीले महत्वपूर्ण सफलता हासिल गरेका छौँ । तिमी लगायत सम्पूर्ण योद्धाहरूलाई मेरो धेरै–धेरै धन्यवाद छ । क्रान्तिको दौरानमा हामी टाउकोमा कात्रो बाँधेर युद्धमा निस्केका हौं । यस्ता मृत्यु हजारौं भए, हजारौं हुन बाँकी छन् ।  मृत्युले क्रान्तिकारीहरूलाई कहिले पनि विचलित बनाउन सक्दैन । क्रान्तिकारीहरू मृत्युसमक्ष कहिल्यै पनि आफ्नो विचारको आत्मसमर्पण गर्दैनन् । नराम्रो नमान, अब म बाँच्दिनँ भाइ ।

उसले प्यारेको हात आफ्नो हात राख्यो ।

फेरि मन्द स्वरमा बोल्यो, तिमीलाई थाहा छ, मेरो बाबा बेपत्ता हुनुहुन्छ । म उहाँलाई धेरै माया गर्छु । यदि उहाँ मर्नुभएको रहेछ भने हाम्रो भेट स्वर्गमा होला । जीवितै हुनु हुँदोरहेछ भने तिमीले मेरो बाबालाई सुनाइदिनु ।

तपाईंको छोराले समाज र राष्ट्रको निम्ति लड्दालड्दै वीरगति प्राप्त गर्यो

उसले खल्तीबाट एउटा पुरानो फोटो निकाल्यो र प्यारेलाई दियो । ऊ बोल्दै गर्दा रगत निरन्तर उसको शरीरबाट निरन्तर रगत बगिरह्यो । ऊ केही बेरपछि छटपटायो थाल्यो ।

कटुवालको प्रकाशोन्मुख उपन्यास  फेरि अर्को बिहानीबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?