+
+

प्रदेश १ : विश्वासको मत दशैं अघि कि पछि ?

हरि अधिकारी हरि अधिकारी
२०७८ असोज १७ गते १०:५८

१७ असोज, विराटनगर । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आहृवान गरेको हिउँदे अधिवेशन असोज २२ गतेबाट सुरु हुदैछ । विश्वासको मत लिनका लागि नियमित अधिवेशन आहृवान गरेका आचार्यले विश्वासको मत लिने समय तोकेका छैनन् ।

सत्ता पक्षका सांसदहरु २२ गतेबाट अधिवेशन सुरु हुने र दसैंपछि मात्रै विश्वासको मत लिने बताउँछन् । तर प्रतिपक्षी दलहरु दसैंअघि नै लिनुपर्ने पक्षमा छन् ।

असोज २६ गतेबाट दसै विदा भएकाले दसैंपछि नै विश्वासको मत लिने तयारी भएको नेकपा एमालेका एक सांसदले बताए ।

नेकपा एमाले विभाजनको एक दिनपछि गत भदौ १० गते भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशमा दल विभाजनको पत्र भदौ २५ गते आएको थियो । २५ पछिको ३० दिन भित्र नै विश्वासको मतका लागि प्रस्ताव लैजाने सत्ता पक्षको तयारी छ ।

प्रदेश १ उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लछुमन तिवारी संविधानले तोकेको समयसीमा भित्र विश्वासको मतका लागि प्रस्ताव लैजाने बताउँछन् । प्रस्ताव लगेपनि विश्वासको मत कहिले लिने भन्ने टुङ्गो नभएको उनको भनाइ छ ।

संविधानको धारा १८८ को उपधारा २ को प्रावधान अनुसार ३० दिन भित्र विश्वासको मत लिनका लागि प्रस्ताव लैजाने तर विश्वासको मत लिने समय नतोकेका कारण विश्वासको मत लिने समयलाई केही दिनपछि सार्ने सत्ता पक्षको तयारी छ । उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागि दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिन भित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । ३० दिनभित्र प्रस्ताव लैजानुपर्ने प्रावधान भएपनि विश्वासको मत लिनका लागि निश्चित समय नतोकिएकाले दसैंपछि मात्रै विश्वासको मत लिने तयारी रहेको ती सांसदले बताए ।

मन्त्री तिवारी भने विश्वासको मत लिनका लागि सभामुखले समय तोक्नुपर्ने बताउँछन् । ‘विश्वासको मत लिनका लागि सभामुखले समय तोक्नुहुन्छ,’ उनले भने, ‘सर्वदलीय छलफल होला, मुख्यमन्त्रीसँग परामर्श भएपछि मिति तोकिएला ।’ २२ गतेबाट प्रकृया सुरु भएपनि मत लिने मिति भने टुङ्गो नभएको तर्क छ ।

प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले असोज २२ गते प्रकृया सुरु गरेर दसैं अघि नै विश्वासको मत लिनुपर्ने बताए । सत्ता पक्षले दसैंपछि विश्वासको मत लिने तयारी गरेको बताउँदै उनले दसैंअघि नै लिने वातावरण बनाउन प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई आग्रह गरिएको बताए । सभामुख प्रदीपकुमार भण्डारीलाई पनि दसैं अघि नै विश्वासको मत लिने मिति तोक्न आग्रह गरिने उनले बताए ।

प्रतिपक्षी दलले केही दिन अघि प्रदेश प्रमुख प्यासीलाई भेटेको थियो । भेटमा प्रदेश प्रमुखको भूमिकाप्रति असन्तुष्टि जनाएको प्रतिपक्षी गठबन्धनले दसैं अघि विश्वासको मत लिने वातावरण बनाउनका लागि पहल गर्न आग्रह गरेको थियो ।

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा एमालेमा ४१ सांसद छन् । विपक्षी गठबन्धनमा ५० जना सांसद छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?