+
+

अधिकांश रोग असन्तुलित खानेकुराबाट लाग्छ :  इन्द्रप्रसाद सिटौला

व्यक्तिको स्वास्थ्य अवस्था जाँच नगरी खानेकुरा सिफारिस गर्न सकिँदैन

नुनुता राई नुनुता राई
२०७८ असोज १७ गते १३:०३

अधिकांश नेपाली कुनै न कुनै रोगबाट सताइएका छन् । स्वास्थ्य सचेतनाको कमी, झन्झटिलो उपचार प्रणाली, खर्चिलो अस्पताल सेवा आदिले गर्दा रोग पालेर बस्न बाध्य छन् । धेरैजसोमा दीर्घरोगको समस्या देखिन्छ । यसरी रोगले गाँजेपछि धेरै कुरामा सजगता अपनाउनुपर्ने अवस्था हुन्छ । खानपानमा पनि ।

अक्सर कुनै रोग लागेपछि खानेकुरामा परहेज गराइन्छ । कतिलाई माछामासुमा कटौती गर्न सुझाइन्छ भने कतिलाई चामल–आलु जस्ता अन्नमा कटौती गर्न भनिन्छ । यसरी खानेकुरा कटौती गरेपछि उनीहरुको शरीरमा आवश्यक पोषक तत्वको सन्तुलन बिग्रन्छ वा बिग्रँदैन ? त्यसलाई सन्तुलन राख्नका लागि के गर्नुपर्छ ? यावत् विषयमा पोषणविद् इन्द्रप्रसाद सिटौलासँग कुराकानी गरिएको छ ।

प्रायः दीर्घरोगीहरूलाई कतिपय खानेकुरा बर्जित गरिन्छ, यसले उनीहरूमा पोषणको अभाव हुँदैन ?

होइन खानेकुरा बर्जित गरिँदैन । सीमित अर्थात् थोरैथोरै खानुपर्छ भन्ने हो । पूर्ण रुपमा बन्देज लगाउने होइन । रोगअनुसार अथवा सुगर भएकालाई सुगर बढाउने चीज, उच्च रक्तचाप भएकालाई रक्तचाप बढाउने चीज खाँदा थोरै खान भन्ने हो । डाइट भनेकै खानेकुरालाई कडाइ गर्नु हो । मन लागेजत्ति खानु पनि हुँदैन र खाँदै नखाने गर्ने भन्ने पनि होइन । त्योसँगै अरू खानेकुरा खानको लागि सिफारिस गरिन्छ । जसको कारण पोषणको अभाव हुँदैन ।

उच्च रक्तचाप हुनेलाई बोसोयुक्त खानेकुरा, रातो मासु आदि कटौती गर्न लगाइन्छ । यसको विकल्पमा उनीहरूले के-के खान सक्छन् ?

ती खानेकुराहरु पनि समय समयमा थोरै मात्रामा खाने । त्योभन्दा बाहेक फलफूलको मात्रा मिलाए खाने । वलिभ बोइल, दही, ओखर, बदामका तेलहरु, ओमेगा सिक्स र ओमेगा थ्रीको रेसियो मिलाएर खानुपर्छ ।

 मधुमेह भएकाहरुले चिनीजन्य खानेकुरा र कतिपय फलफूल समेत खान उचित मानिँदैन । उनीहरुले यी खानेकुराको विकल्पमा के खाने ?

मैले अघि पनि भनेँ खाँदै नखाने होइन । सबै चीजको मात्रा मिलाएर खाने हो । स्याउ एउटा नखाएर आधा खाने, केरा आधा खाने, अनार खान सकिन्छ ।

त्योबाहेक सम्बन्धित व्यक्तिको शारीरिक अवस्था, स्वास्थ्य अवस्था अनुसार सिफारिस गर्न सकिन्छ । स्वास्थ्य अवस्था जाँच नगरी यसरी खाने भनेर भन्न सकिँदैन ।

कुनैपनि रोग लागेको अवस्थामा खानपानको सन्तुलन कसरी कायम राख्न सकिन्छ ?

रोग लागेकालाई मात्रै होइन सामान्य व्यक्तिहरुले पनि खानेकुराको सन्तुलन मिलाउनुपर्छ । अधिकांश रोगहरु बंशाणुगतबाहेक लाग्ने रोगहरु असन्तुलित खानेकुराबाट लाग्छ । त्यसैले खानेकुराको सन्तुलन मिलाउन, सचेत हुन अत्यन्तै जरुरी छ ।

तर खानेकुराको सन्तुलन मिलाउनको लागि आफू खुसी गर्ने होइन । पोषणविद् तथा आहारविज्ञको सुझाव लिनुपर्ने हुन्छ । व्यक्तिअनुसार फरकफरक पोषण आवश्यक पर्छ । जसको कारण कुनै आवश्यक चीजको कमी भई अर्को समस्या आउनसक्छ ।

आजभोलि सबै अस्पतालहरूमा पोषणविद्हरु हुन्छन् अथवा कोही चिनजानका पोषणविद्हरु भए सुझाव लिन सकिन्छ ।

पोषणका लागि कुन–कुन खानेकुरा अनिवार्य हुन् ?

पोषणका प्रोटिन, कार्बोहाइड्रेट अर्थात् शक्तिबद्र्घक पाउने खानेकुराहरु स्वास्थ्य व्यक्तिका लागि अनिवार्य हो । माछामासु, अण्डा, गेडागुडी दूध, अनाज, आलु, सख्खरखण्ड लगायतका चीजहरु खानुपर्छ ।

बिरामीहरूको लागि भने पोषणविद्को सुझाव अनुसार खानुपर्छ । पानी सबैले दैनिक कम्तीमा दुई लिटर पिउनुपर्छ ।

शरीरमा आवश्यक सबै पोषकतत्व खानेकुराबाट मात्रै प्राप्त हुने हो ?

हो, हाम्रो शरीरमा आवश्यक पोषण तत्व मुख्य खानेकुराबाट नै हो । हामी कहाँ उपलब्ध हुने चीजहरूबाट पोषण प्राप्त गर्न पनि सकिन्छ । समस्या मात्रा मिलाउनु हो ।

 हाम्रो शरीरलाई आवश्यक मिनरल्स अर्थात् खनिजको स्रोत के हो ?

शरीरलाई आवश्यक खनिजको स्रोत भनेको गाँजर, मुला, फलफूल, रातो मासु, टमाटर लगायतका चीजहरु प्राप्त गर्न सकिन्छ । जमिनमुनि फल्ने चीजहरु खानुपर्छ । मुलको पानी पिउँदा पनि आवश्यक खनिज प्राप्त गर्न सकिन्छ । सम्भव भएसम्म ओजोनाइज्ड गरेको पानी नपिउनु ।

धेरैले शरीरको बोसो घटाउने कुरा गरिरहेका हुन्छन्, तर शरीरलाई त बोसोजन्य खानेकुरा पनि जरुरी हुन्छ होइन ?

हो, मोटायो भनेर चिल्लो खाँदै नखाने होइन । त्यो हामीले खाने चीजहरूमा हुन्छ । अनाज, दही, दूधहरूमा पाइन्छ । त्यसले पनि शरीरलाई आवश्यक पुग्छ ।

तारेको, एकपटकभन्दा बढी पटक प्रयोग गरिएका तेलबाट बनेका चीजहरु खानु हुँदैन । जस्तो दालमोठ, भुजिया, सेल रोटी, समोसा जस्ता चीजहरु भने नखाँदा ठीक हुन्छ । यस्ता चीजहरु पटक–पटक प्रयोग भएका तेलबाट बन्ने भएकोले तेलबाट पाइने तत्व नष्ट भएर खराब तत्व हुन्छ ।

उमेर अनुसार नियमित व्यायाम गर्नुप¥यो । साँझ खाना कम खाने । थोरै क्यालोरी, थोरै प्रोटिन भएका चीजहरु खानुपर्छ । काँक्रो, गाँजर, मुला बढी खाने गर्न सकिन्छ ।

अहिले हामी कहाँ बेमौसमी खानेकुरा खाने प्रवृत्ति बढ्दो छ, यसबाट हाम्रो शरीरलाई आवश्यक पोषक तत्व आपूर्ति हुन्छ होला ?

बेमौसमी सिजनका फलफूलबाट पोषक तत्व नै नपाइने भन्ने त होइन तर प्रकृतिले पनि त्यही अनुसार ब्यालेन्स गरेको हुन्छ । त्यसैले बेमौसमीभन्दा मौसमी फलफूलबाट बढी पोषक तत्व पाइन्छ । त्यसैले मौसमी फलफूल सकेसम्म बढी खानुपर्छ ।

हामी कहाँ एउटा गलत मान्यता के छ भने मौसमी फलफूल सस्तो हुने र बेमौसमी फलफूल महँगो हुने हुन्छ । महँगो चीज राम्रो भन्ने गलत बुझाइ पनि पाइन्छ । त्यो गलत बुझाइ हो । मौसमी फलफूलकै स्वादिलो पनि पोषिलो पनि हुन्छ । त्यसैले सकेसम्म मौसमी फलफूलको सेवन बढाउन अनुरोध गर्न चाहन्छु ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?