+
+

पस्नै नसकिने काठमाडौंका सार्वजनिक शौचालय

बन्द छन् काठमाडौं महानगरका ४५ मध्ये आधा शौचालय

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ असोज १७ गते २०:१०

१७ असोज, काठमाडौं । रत्नपार्क बस बिसौनी नजिकै रहेको सार्वजनिक शौचालयमा सधैं घुइँचो लाग्छ । बस चढ्ने यात्रु, पैदल यात्रुसहित वरिपरिका पसलेहरूले नियमित प्रयोग गर्ने यो शौचालय बिहान ६ देखि बेलुका ८ बजेसम्म खुल्छ ।

रत्नपार्कमा कपडा पसल सञ्चालन गर्दै आएका सुमन दंगाल यो सार्वजनिक शौचालय प्रयोग गर्नु बाध्यता रहेको बताउँछन् । भाडामा चलेका सटरहरुका लागि छुट्टै शौचालय नहुँदा उनीलगायत रत्नपार्क वरपर पसल–व्यवसाय गर्ने सबै यही शौचालय प्रयोग गर्न बाध्य छन् ।

‘नजिकै अर्को चर्पी नभएकाले पैसा तिरेर यही शौचालय प्रयोग गर्छौं’ उनले भने, ‘पानी निकै फोहोर भएको दिनमात्र खाजा खाने ठाउँको शौचालय जान्छौं नत्र यसैबाट काम चलाउँछौं ।’

रत्नपार्कबाट अलि तल पुरानो बसपार्कनिर भएको शौचालय भने अद्वैतमार्ग भएर हिँड्नेहरुले बढी प्रयोग गर्छन् । यो शौचालय पनि निकै जीर्ण, साँघुरो र फोहोर छ ।

यता भृकुटीमण्डपको गेटनिरै (प्रदर्शनीमार्ग) तथा भृकुटीमण्डप परिसरभित्र दुईवटा गरी त्यस क्षेत्रमा तीनवटा सार्वजनिक शौचालय छन् । भृकुटीमण्डप गेटनिरको शौचालय ठीकठीकै भएपनि भित्रको शौचालय निकै फोहोर छ । पानी चुहिने पुरानो घरमा रहेको उक्त शौचालयबाट दुर्गन्ध फैलिने वरपरका पसल सञ्चालकहरु बताउँछन् ।

बर्खाको बेला यहाँ पानी जम्ने भएकाले लडिने जोखिम छ । केटाकेटी तथा वृद्धवृद्वा शौचालय पस्न नसक्ने अवस्था छ ।

काठमाडौंको अर्को निकै व्यस्त सार्वजनिक शौचालयमा नयाँ बानेश्वरमा छ । नयाँ भवनमा बनेको शौचालय भएपनि यहाँको व्यवस्थापन कमजोर छ ।

जीवन लामा मंगलबार साँझ यो शौचालयमा हात धुन नपाएको गुनासो गरिरहेका थिए । शौचालय पसेर निस्कँदा उनले हात पखाल्ने पानी नै पाएनन् ।

आलटाल गर्दै महानगर

काठमाडौं महानगरपालिकाको स्वामित्वमा अहिले ४५ वटा सार्वजनिक शौचालय छन् । तीमध्ये अधिकांश शौचालय जीर्ण र दुर्गन्धित छन् ।

४५ मध्ये पनि आधाजति शौचालय बन्द हुन पुगेको महानगरका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् । उनका अनुसार महानगरपालिकाले आफ्नो स्वामित्वका जीर्ण शौचालयहरु मर्मत गर्ने काम शुरु गरेको छ ।

प्रवक्ता डंगोलले सार्वजनिक शौचालयका लागि छुट्टै निर्देशिका बनाएर नियमन गर्ने भनेपनि अहिलेसम्म स्वयम्भूमा बाहेक आधुनिक शौचालय बनेको छैन । स्वयम्भूमा भने अपाङ्मैत्री र बायोग्यास प्रविधिसहितको शौचालय बनाइएको छ । अन्य स्थानका शौचालयहरुको फोहोर भने सिधै ढलमा मिसाइएको छ ।

डंगोलका अनुसार नयाँ बन्ने ‘स्मार्ट सार्वजनिक शौचालय’ बालमैत्री, महिलामैत्री र अपांगतामैत्री हुनेछ । स्यानिटरी प्याड, पर्याप्त पानी, बत्ती र सुविधाजनक शौच गर्ने ठाउँ बनाउने लक्ष्य राखिएको उनले बताए ।

महानगरको शौचालय हेर्ने जिम्मा महानगरकै वातावरण विभागलाई दिएको छ । टेकुमा कार्यालय रहेको विभागका प्रमुख हरिकुमार श्रेष्ठले पाँच दर्जन नयाँ शौचालय बनाउने टेन्डर प्रक्रियामा जाने तयारी रहेको बताए ।

सर्वसाधारणको भीड हुने स्थान बानेश्वर, कालिमाटी, कलंकी, गौशाला, चाबहिल, लैनचौर, लाजिम्पाटलगायत स्थानलाई लक्षित गरी नयाँ शौचालय बनाउने लक्ष्य महानगरको छ ।

शौचालयको पीडा सडकदेखि संसदसम्म

काठमाडौंका ९४ प्रतिशत सार्वजनिक शौचालय प्रयोग अयोग्य रहेको सरकारी अध्ययनले नै देखाएको थियो । त्यसमध्ये ३७ प्रतिशत शौचालय असुरक्षित रहेको, २० प्रतिशतमा महिला र पुरुष दुवैले प्रयोग गर्नपर्ने बाध्यता रहेको २०७६ सालको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

१७ माघ २०७६ मा प्रतिनिधिसभामा सांसद आशाकुमारी विकले सार्वजनिक शौचालय नभएकाले काठमाडौंमा हिंड्दा पानी नखाई निस्कनुपर्ने अवस्था रहेको बताएकी थिइन् । उपत्यकामा सार्वजनिक शौचालय नहुँदा लाखौँलाई समस्या भइरहेको उनले बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘देश खुला दिसामुक्त भइसक्यो तर देशकै संघीय राजधानीमा दिसापिसाब गर्न पाइँदैन, शौचालय भए पनि पानी हुँदैन । रिङरोडमा सार्वजनिक गाडी चलाउनेलाई पनि त्यत्तिकै समस्या छ । शौचालय भएको ठाउँमा गाडी रोक्न पाइँदैन, गाडी रोक्न मिल्ने ठाउँमा सार्वजनिक शौचालय छैन ।’

संसदमा यो कुरा उठेसँगै महानगरले खानेपानी तथा सरसफाइ मन्त्रालयसँग सहकार्य गरेर कुन स्थानमा नयाँ सार्वजनिक शौचालय बनाउने भनेर सर्वेक्षण गरेको थियो ।

सञ्चालक भन्छन् : भाडा तिर्नै गाह्रो छ

प्रवक्ता ईश्व।रमान डंगोल काठमाडौं महानगरले सार्वजनिक शौचालयबाट वार्षिक ९० लाख रुपैयाँ राजस्व संकलन गर्ने बताउँछन् । उनका अनुसार शौचालय सञ्चालन गर्ने जिम्मेवारी ठेक्कामा दिने गरिएको छ ।

काठमाडौंका अधिकांश सार्वजनिक शौचालयले पिसाब गरेको प्रतिव्यक्ति पाँच रुपैयाँ र दिसा गरेको दश रुपैयाँ लिन्छन् । शौचालय ठेक्कावालाले यही रकमबाट महानगरलाई राजस्व तिर्ने गरेका छन् ।

बानेश्वरमा शौचालय सञ्चालन गरेका ठेक्कावालाले लकडाउनमा राजस्व तिर्न गाह्रो परेको बताए । रत्नपार्कमा पनि सार्वजनिक गाडी नचल्दा निकै कममात्र शुल्क उठाएर शौचालय चलाएको त्यहाँका ठेकावाला बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?