Comments Add Comment
विशेष रिपोर्ट :

बालबालिकाका लागि काल बन्दै प्रदेश-२ का पोखरी

१८ असोज, सप्तरी । ५ असोजमा यहाँ एकै दिन तीन जनाको डुबेर मृत्यु भयो । यसमध्ये दुई जना बालिका थिए भने एक युवती । खडक नगरपालिका वडा नम्बर ८ मुसहरनियाँमा तीन वर्षीया एलिजाकुमारी चौधरीको घर नजिकैको आफ्नै पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भयो भने तिलाठी कोइलाडी गाउँपालिका–२ लौनिया बस्ने १२ वर्षीया सबना खातुनको डुबेर ज्यान गयो । यसै दिन महादेवा गाउँपालिका–४ परसाही टोलकी ३० वर्षीया लक्षनकुमारी सदाको पनि पोखरीमा डुबेर मृत्यु भयो ।

भोलिपल्ट ६ असोजमा पनि महादेवा गाउँपालिकामै एक बालिकाको डुबेर ज्यान गयो । वडा नम्बर २ अकबरपुर निवासी रामचरित्र मण्डलकी पाँच वर्षीया छोरी शिवानीको घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भयो ।

२८ जेठ दिउँसो झन् ठूलो दुर्घटना भयो । धनुषाको मुखियापट्टी मुसहरनियाँमा पाँच बालिकाको डुबेर ज्यान गयो । वडा नम्बर ६ स्थित हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा डुबेर १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्द्रकुमारी भगत, १३ वर्षीय मन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर र १२ वर्षीया ललिता सहनीको मृत्यु भयो । उनीहरू बाख्रा चराउन जाँदा पोखरीमा नुहाउन पसेका थिए ।

प्रदेश-२ को आठ जिल्लाका स्थानीय पोखरी र खाल्डाखुल्डीमा डुबेर पछिल्लो दुई वर्षमा मात्रै २८२ जनाको ज्यान गएको छ । जसमा अधिकांश (१८५ जना) बालबालिका छन्, ती पनि १० वर्ष मुनिका ।

४ साउनमा सर्लाहीमा तीन जनाको डुबेरै मृत्यु भयो । बलवा नगरपालिका–९ घर भई हरिपुरवा नगरपालिका–७ बसतपुर बस्दै आएका बिकाउ ठाकुरकी सात वर्षीया छोरी चाँदनी ठाकुरको नहरमा, गोडैता नगरपालिका–८ बस्ने २५ वर्षीय विकासकुमार दासको पोखरीमा र वागमती नगरपालिका–६ बस्ने ४२ वर्षीया अम्बिका काफ्लेको मानपुर शाखाको नहरमा डुबेर ज्यान गयो ।

पानीमा डुबेर अनाहकमा ज्यान गुमाउने केही दृष्टान्त मात्रै हुन् यी । प्रदेश–२ का जिल्लामा दिनहुँजसो यस्ता घटना भइरहेका छन् । धेरैजसो घटनामा बालबालिकाले ज्यान गुमाइरहेका छन् ।

पोखरी, नदी, तलाउ, नहर सहितका जलाशयमा डुबेर मृत्यु हुने क्रम पछिल्लो समयमा बढेको छ । यसबाहेक बाटोमा भएका खाल्डामा समेत डुबेर बालबालिकाले जीवन गुमाइरहेका छन् । प्रदेशका ग्रामीण क्षेत्रमा यस्ता घटना बढी भइरहेका छन् ।

प्रदेश–२ को सामाजिक अवस्था हेर्ने हो भने हरेक गाउँमा पोखरी छन् । कुनै गाउँमा त दुईदेखि तीन वटा र त्योभन्दा बढी पनि पोखरी छन् । पोखरी यो समाजकै अंग हो । ग्रामीण क्षेत्रका मानिसले लुगा, भाडा धुने, नुहाउने, भैंसी सहितका चौपायालाई नुहाउने काम पोखरीमै हुन्छ ।

यस बाहेक सिंचाइका लागि प्रयोग गरिने नहरमा समेत मानिस नुहाउने र अन्य पानी चाहिने दैनिक कामकाज गर्दै आएका छन् । यस बाहेक सांस्कृतिक कारणले पनि मधेशका पोखरी समाजका लागि अनिवार्य ठाउँहरू हुन् जहाँ अर्घ दिने, नुहाउने, बत्ती बाल्ने लगायतका सांस्कृतिक कामहरू हुने गर्छन् ।

यही सामाजिक प्रक्रियाका कारण ठूलो मान्छेसँग जाँदाजाँदै बालबालिका पनि सानै उमेरमा पोखरीमा पुग्ने गर्छन् र कतिपय बेला यस्ता दुर्घटना हुने गर्छ । यस बाहेक मधेशको सामाजिक परिवेश अनुसार गाउँका स–साना बालबालिका खेल्दाखेल्दै पनि नजिकैको पोखरीमा पुग्छन् र बालसुलभ अज्ञानताको परिणाम ठूलो क्षति हुनपुग्छ ।

दुई वर्षमा झण्डै ३०० को डुबेर मृत्यु

डुबेर मृत्यु हुने संख्या पछिल्ला वर्षमा एक्कासी बढेको छ । पछिल्लो दुई वर्षको तथ्यांक हेर्ने हो भने डरलाग्दो स्थिति छ । प्रहरीले उपलब्ध गराएको पछिल्लो दुई आर्थिक वर्ष यताका २६ महीना (आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र २०७८/७९ को दुई महीना गरेर दुई वर्ष दुई महीना) को तथ्यांक अनुसार यो प्रदेशमा २८२ जनाको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा १०८ बालक, ७७ बालिका गरी १८५ बालबालिका छन् । मृत्यु हुने बालबालिकामा अधिकांश १० बर्ष मुनिका छन् । यस बाहेक ६५ जना पुरुष र ३२ जना महिलाको पनि डुबेर मृत्यु भएको छ ।

चालु आवकै दुई महीना १२ दिनमा ७९ जनाको डुबेर मृत्यु भएको छ । यीमध्ये ५२ जना बालबालिका नै छन् । ३२ बालक र २० बालिकाको मृत्यु हुँदा पाँच वर्ष मुनिका १२ बालक र ९ बालिका तथा ६ वर्षदेखि १८ वर्षभित्रका २० बालक र ११ बालिका छन् ।

साउन, भदौ र १२ असोजसम्मको तथ्यांक अनुसार, सबैभन्दा धेरै सप्तरीमा १९ जनाको मृत्यु भएको छ । यसमा ६ बालक र पाँच बालिका छन् । धनुषामा पाँच बालक र तीन बालिका सहित १४ जना, रौतहटमा एक बालक एक बालिका सहित ११, पर्सामा तीन बालक र चार बालिका सहित ११, सिरहामा ९ बालक र एक पुरुष गरी १०, बारामा तीन बालक सहित सात जना, सर्लाहीमा एक बालक, एक बालिका सहित पाँच जना र महोत्तरीमा दुई बालकको मृत्यु भएको छ ।

धनुषाको मुखियापट्टीमा खाल्डोमा डुबेर मृत्यु भएका बालबालिकाका अभिभावक

आर्थिक वर्ष २०७७/७८ मा ११७ जनाको डुबेर मृत्यु भएको छ । यो आवमा ३८ जना बालक, ३६ जना बालिका, २६ जना पुरुष र १७ जना महिलाको डुबेर ज्यान गएको छ ।

आव २०७६/७७ मा ८६ जनाको डुबेर मृत्यु हुँदा ३८ बालक र २१ बालिका गरी ५९ जना बालबालिका नै छन् । यो अवधिमा १७ जना पुरुष र १० जना महिलाले पनि ज्यान गुमाएका छन् ।

जिल्लागत हेर्ने हो भने आव २०७६/७७ मा सबैभन्दा बढी रौतहटमा डुबेर ज्यान गुमाउने छन् । १२ बालक, १० बालिका सहित यो जिल्लामा २६ जनाको डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ ।

सर्लाहीमा सात बालक र दुई बालिका सहित १४ जना, बारामा ७ बालक र तीन बालिका सहित १४ जना, पर्सामा ६ बालक र एक बालिका सहित १० जना, धनुषामा चार बालक र दुई बालिका सहित ८ जना, सप्तरीमा दुई बालिका सहित ६ जना, सिरहामा दुई बालक र एक बालिका सहित पाँच जना र महोत्तरीमा तीन जना पुरुषको डुबेर मृत्यु भएको छ ।

आव २०७७/७८ मा सबैभन्दा बढी डुबेर मृत्यु हुने जिल्ला रौतहट देखिएको छ । जिल्लामा ७ बालक र ६ बालिका सहित २३ जनाको डुबेर मृत्यु भएको प्रहरीको तथ्यांकले देखाउँछ । सप्तरीमा ८ बालक र ६ बालिकासहित १८ जना, बारामा ११ बालक र ६ बालिका सहित २१ जना, धनुषामा ५ बालक र ८ बालिका सहित २० जना, पर्सामा २ बालिका सहित १५ जना, महोत्तरीमा ३ बालक र ३ बालिका सहित ८ जना, सिरहामा २ बालक र ३ बालिका सहित ६ जना र सर्लाहीमा २ बालक र २ बालिका सहित ६ जनाको डुबेर मृत्यु भएको छ ।

‘यो संख्या वास्तवमै धेरै हो’ प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रवक्ता एसपी कृष्ण प्रसाइँ भन्छन्, ‘यसलाई न्यूनीकरण गर्न सबै सरोकारवालाबीच समन्वय चाहिन्छ ।’ उनी भन्छन्, ‘पहिलो अभिभावकले ध्यान दिनुपर्छ । त्यसपछि अन्य सरोकारवाला पनि यसको न्यूनीकरणमा गम्भीर बन्नुपर्छ ।’

ज्यानमारा खाल्डो

सर्लाहीको वागमती नगरपालिका ६ पर्तामा स्थानीयले बाटो बनाउन २०७८ असार महीनामा खाल्डो खने । आफैं श्रमदान गरिरहेका स्थानीयले बाटो बनाउन खनेको खाल्डो काल भयो । खाल्डोमा जमेको पानीमा डुबेर ९ असारमा ६ वर्षीय बालकको मृत्यु भयो ।

मामा चन्द्रबहादुर तामाङको घरमा आएका काभ्रेका देवराज योञ्जनका ६ वर्षीय छोरा एलेक्स तामाङ खाल्डोमा जमेको पानीमा डुबेका थिए । छिमेकीले डुबेको देखेपछि निकालेर उपचारका निम्ति बरहथवा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरे ।

वडा अध्यक्ष खड्गबहादुर राईका अनुसार, खनिएको खाल्डोमा झण्डै एक दर्जन बालबालिका खेलिरहेको देखेपछि स्थानीयले सबैलाई हटाएका थिए । तर, ती बालक पुनः एक्लै खेल्न जाँदा डुबेका हुन् । राई भन्छन्, ‘गाउँले सामूहिक निर्णय गरेरै बाटो बनाउन जुटेका थिए । त्यही क्रममा खाल्डो खनिएको थियो । सामूहिक निर्णयमा खनिएको थियो अब कसलाई के भन्ने र ?’

३१ असार २०७७ मा महोत्तरीको भंगहा नगरपालिका–६ मजरा टोलमा निर्माण भइरहेको मदरसा भवनमा माटो भर्नका लागि खाल्डो खनियो । ती खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालिकाको ज्यान गयो । सात वर्षीया जयनब खातुन र पाँच वर्षीया सहनाज खातुनको डुबेर मृत्यु भयो ।

धनुषाको यही पोखरीजस्तो खाल्डोमा डुबेर पाँच बालबालिकाको ज्यान गएको छ ।

खाल्डोमा जमेको वर्षाको पानीमा दुवै बालिका नुहाउन जाँदा उनीहरू डुबेको वडा अध्यक्ष चौठी महतो बताउँछन् । ‘मदरसा निर्माण र त्यसमा माटो भर्नका लागि खाल्डो खन्ने काम गाउँलेले सामूहिक रूपमा गरेका थिए । त्यसैले कसैलाई केही भन्न सकिएन’, महतो भन्छन् ।

विभिन्न उद्देश्यले खाल्डो खन्ने र त्यसमा जमेको पानीमा बालबालिका परेर उनीहरूको डुबेर मृत्यु हुने गरेको घटना बारम्बार बाहिर आउने गर्दछ । तर यस्तो खाल्डो खनेर मनपरी छाड्नेलाई अहिलेसम्म कुनै कारबाही भएको छैन ।

९ असारमा सर्लाहीमा इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका दाजुभाइको ज्यान गयो । सदरमुकाम मलंगवा नगरपालिका वडा नम्बर ११ गम्हरिया निवासी सद्दाम अन्सारीका ८ वर्षीय छोरा रेआज र ६ वर्षीय छोरा नेआज अन्सारीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भयो । दुवै दाजुभाइ बाख्रा चराउन गएको बेला इँटा उद्योगले खनेको खाडलमा जमेको पानीमा पौडी खेल्न पसेका थिए ।

१६ जेठमा महोत्तरीमा एकै परिवारका दाजुभाइको खाल्डोमै डुबेर ज्यान गएको थियो । रामगोपालपुर नगरपालिका ९ गोठबनौली निवासी रामकरण मण्डलका ९ वर्षीय छोरा प्रेमकुमार र १० वर्षीय छोरा आशिक कुमारको घर नजिकै रहेको एमपीएस इँटा उद्योगले इँटा बनाउन खनेको खाल्डोमा डुबेर मृत्यु भयो ।

यसरी पटक–पटक यस्ता घटना दोहोरिंदा पनि स्थानीय सरकारले समेत वास्ता गरेको देखिन्न । यस्तो खाल्डो खन्ने काममा रोक लगाएको देखिंदैन । सडक बनाउने नाममा खाल्डो खनेर वर्षाैंसम्म राख्ने काम अझै पनि विभिन्न जिल्लामा हुँदै आएको छ ।

महोत्तरी भंगहा नगरपालिका–६ का वडा अध्यक्ष महतो र सर्लाही वागमती नगरपालिका–६ का वडा अध्यक्ष राई घटना भएपछि गाउँमा खाल्डो देख्यो कि पुर्न लगाउने गरेको बताउँछन् ।

गाउँघरमा घर छेउमै रहेका खाल्डो प्रमुख समस्या भएको बताउँछन् प्रदेश प्रहरी प्रवक्ता प्रसाइँ । ‘बालबालिका पानीमै खेल्न रुचाउँछन् । घरनजिकै खाल्डोमा जमेको पानीमा उनीहरू गएर खेल्न थाल्दा डुबेका घटनाहरू छन्’ उनी भन्छन्, ‘बाटो बनाउने नाममा खाल्डो खन्ने र लामो समयपछि त्यसै छाडिदिने क्रम बढ्दा पनि बालबालिकाले ज्यान गुमाइरहेका छन् ।’

प्रसाइँ यसबाहेक बालबालिका पोखरीमा जाने र पौड्न नसक्दा ज्यान गुमाइरहेको बताउँछन् । पोखरीहरू बेलैमा सफा गरिए, खाल्डाखुल्डी हुन नदिए र अभिभावक सचेत रहे यस्ता घटना न्यूनीकरण हुने उनको बुझाइ छ ।

अभिभावकको बेवास्ता

सप्तरीको बोदेबर्साइन नगरपालिका–३ मा १६ महीनाकी एक बालिकाको पानीमै डुबेर मृत्यु भयो । तर, त्यो पानी न कुनै पोखरी थियो न त कुनै खोलाको । बाल्टिनमा भरिएको पानीमै डुबेर देबिन यादवकी १६ महीनाकी छोरी अस्मिताको ज्यान गयो । बालिका कसरी बाल्टिनसम्म पुगिन् भन्ने कुराको भेउ अभिभावकले पाएनन् ।

२२ पुस, २०७७ मा सर्लाही सदरमुकाम मलंगवा नगरपालिका वडा नम्बर १ भेडहिया निवासी पप्पु मण्डलका दुई वर्षीय छोरा बजरंगीको घर अगाडिकै नालामा डुबेर ज्यान गयो । खेल्दाखेल्दै बजरंगी त्यहाँ पुगे तर अभिभावकले सुइँको सम्म पाएनन् । उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो ।

यो घटना सेलाउन नपाउँदै ३० माघमा सर्लाहीकै पर्सा गाउँपालिका ५ का एक तीन वर्षीय बालकको नालामा डुबेर मृत्यु भयो । २९ माघदेखि हराइरहेका ब्रह्मदेव साहका तीन वर्षीय छोरा हिमांशु ३० माघमा घर अगाडिकै नालामा मृत फेला परेका थिए ।

अकालमै बालबालिकाले ज्यान गुमाउनुपर्ने घटना बारम्बार सार्वजनिक भइरहेका छन् । तर पनि स्थानीय समाज र अभिभावकमा पर्याप्त सचेतना पाइँदैन । १६ फागुनमा बाराको परवानीपुर गाउँपालिका ४ चैनपुरका विनय साह सोनारका १६ महीनाका छोरा आयुष साहको घर नजिकै रहेको नालाको पानीमा डुबेर ज्यान गएको थियो ।

प्रदेश-२ को नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा अभिभावकमा हदैसम्म लापरबाही देखिएको बताउँछन् । ‘आफ्ना बच्चालाई छाडिदिने र मतलब नै नराख्ने भएका कारण बच्चा पानीमा डुब्ने घटना बढेको छ’ झा भन्छन्, ‘अभिभावक जागरुक बन्नु जरूरी छ ।’ तर पछिल्ला दिनमा पोखरी र बाटो अव्यवस्थित तरिकाले खनिएका कारण पनि अबोध बच्चा जमेको पानीमा डुबिरहेको उनको भनाइ छ ।

छैन कसैको सरोकार

प्रदेश-२ का जिल्लाले त्यसै पनि विभिन्न किसिमको प्रकोपको सामना गर्नुपरिरहेको हुन्छ । गर्मी मौसममा अत्यधिक गर्मी, वर्षामा बाढी, जाडोमा शीतलहरका कारण कतिपय व्यक्तिको ज्यान जाने गर्दछ । यी प्रकोपहरूलाई तीनै तहको सरकारले सम्बोधन गर्न बजेट विनियोजन गरे पनि डुबेर भइरहेको मृत्युलाई सबै निकायले नदेखे झैं गरेका छन् ।

विस्तारै विपत्को रूप धारण गर्दै गइरहेको यो घटनाबारे कसैले चासो दिएका छैनन् । प्रदेश सरकारले बनाएको विपत् व्यवस्थापन ऐनमा पनि यो विषय समावेश छैन । प्रदेश र स्थानीय सरकारले आफ्नो योजना तथा बजेट बनाउँदा यो विषयलाई महत्व दिएकै छैन ।

‘यस्ता घटनामा सबैले चासो दिनु जरूरी छ’ प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष झा भन्छन्, ‘तर सबैभन्दा बढी स्थानीय सरकारले ध्यान दिनु जरूरी छ ।’

सबै कुराको जानकार हुने घरआँगनको सरकार स्थानीय तह नै भएकाले सचेतना जगाउने र खाल्डो तथा पोखरी पुर्न लगाउने कुरामा उसैले ध्यान दिनुपर्ने झाको भनाइ छ । यसपछि नीतिगत रूपमा के गर्न सकिन्छ भनेर प्रदेश सरकारले पनि चासो दिनुपर्ने उनी बताउँछन् ।

उनी मानव बसोबास भएको नजिक ठाउँमा पोखरी खन्न नदिने, खाल्डा बनाउन नदिने र नालाहरू पनि व्यवस्थित गर्ने सम्बन्धमा स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउँछन् ।

यस्ता घटना न्यूनीकरण गर्न कानून बनाएर मात्रै हुँदैन, नागरिकको सामाजिक उत्तरदायित्व महत्वपूर्ण हुने उनी बताउँछन् । ‘सबै काम कानून बनाएर मात्रै हुँदैन’ उनी भन्छन्, ‘यस्ता घटना कम गराउन सबै सरोकारवालाले आ-आफ्नो ठाउँबाट ध्यान दिनुपर्छ ।’

प्रदेश-२ का मुख्य मन्त्री लालबाबु राउत अभिभावकलाई चेतना फैलाउनु नै यो समस्या न्यूनीकरण हुनु हो भन्ने ठान्छन् । अनलाइनखबरसँग कुरा गर्दै राउतले भने, ‘प्रदेश सरकार पनि यस मामिलामा गम्भीर छ । हामी ऐन बनाउँछौं र यस्ता समस्या न्यूनीकरण गर्ने काम शुरू गर्छौं ।’

यो पनि पढ्नुहोस ‘डुबेर मृत्यु हुने घटना न्यूनीकरण गर्न कानून ल्याउँदैछौं’ यो पनि पढ्नुहोस डुबेर मृत्यु : बच्चाको होइन, जलाशयको व्यवस्थापन गरौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
श्रवण देव

ट्रेन्डिङ

Advertisment