
सोमबार काठमाडौैंको चन्द्रागिरीमा आयोजना भएको ‘प्रथम नेपाल बेष्ट म्युजिक भिडियो’ अवार्ड कार्यक्रम आयोजना भयो । कार्यक्रममा नायिका आँचल शर्मा पनि पुगेकी थिइन् । आँचललाई आयोजकले ‘पब्लिक च्वाइस अवार्ड’ प्रदान गर्यो ।
अवार्ड शोमा पुगेका कमेडियन सुन्दर खनालले स्टेजमा आफ्नो प्रस्तुति राख्ने क्रममा आँचललाई पनि ब्यङ्ग्य प्रहार गरे । उनले भने–‘पत्रकार साथीहरु भन्नुहोस् त, अहिले आँचलको प्रेम कोसँग छ ? पल शाह सँग पनि थियो हैन । मैले भन्या होइन है, यो पत्रकारहरुले भनेका हुन् ।’
सुन्दरले आँचलले बिहेपछि ‘आँप’ खान छाडेको भन्दै कमेडी गरे । तर, सुन्दरको कमेडीलाई आँचलले रोष्टको रुपमा बुझिन् । कार्यक्रम सकिएपछि केही बोल्छु भन्दै स्टेजमा पुगेकी आँचलले भनिन्–‘हामी यहाँ रमाइरहेका थियौं । तर, एकजना स्टेज पुग्नु भयो र कमेडीभन्दा धेरै रोस्ट गर्नुभयो । कुनै पनि कलाकारको नितान्त व्यक्तिगत जीवनको कुरा, जुन पुष्टि पनि भएको छैन । त्यो बिषयलाई यसरी प्रस्तुत गर्दा कलाकारको सम्मान होइन अपमान भएको छ । हामी यहाँ सम्मान लिन आएका हौं । यसरी अपमान गरिन्छ भने को कलाकार आउँछ ?’
आँचलले सबै कलाकारलाई यस्तो लागेपनि आफूले बोल्ने हिम्मत गरेको तर्क गरिन् । आँचलले, एक विवाहित महिलालाई कुनै पुरुषको नाम जोडेर कमेडी गरिएकोमा चित्त दुखेको प्रतिक्रिया दिइन् । सुन्दरले हलमा उपस्थित नायिका पूजा शर्मा, दुर्गेश थापालाई पनि ब्यङ्ग्य गरेका थिए ।
तर, कमेडियन सुन्दरले भने आफूले आँचललाई ब्यङ्ग्य गरेकोभन्दा पनि उनको समर्थनमा कुरा गर्दै पत्रकारलाई प्रश्न सोधेको तर्क गरे । आँचललाई यो कुराले चित्त दुखेको भए आफूले माफी माग्ने सुन्दरकोे भनाई थियो ।
प्रतिक्रिया 4