+
+

पुटिनले ग्यासलाई युरोपविरुद्ध रणनीतिक हतियारको रुपमा प्रयोग गर्दै

सुनिल बराल सुनिल बराल
२०७८ असोज २१ गते १६:२८

२१ असोज, काठमाडौं। युरोपमा हिउँद नजिँकिदै छ । तर चिसो हिउँसलाई न्यायो बनाउन चाहिने ग्यासको मूल्य भने पछिल्लो समय ह्वात्तै बढेको छ ।

दुई दिनको अवधिमा ६० प्रतिशतले ग्यासको भाउ बढेसँगै युरोपेली युनियन सतर्क हुन थालेको छ । ऊर्जाको बढ्दो मूल्यले इक्विटी र बोन्ड मार्केटमा समेत हलचल ल्याइदिएको छ । तर आकासिँदो मूल्य रोकिने कुनै छाँटकाँट देखिँदैन ।

मंगलबार युरोपमा ग्यासको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । ग्यासको बेन्चमार्क मानिने डच टिटिएफको भाउ प्रति मेगावाट ११६ डलर पुगेको थियो । बुधबार बेलायत र अन्य युरोपेली मुलुकमा ग्यासको मूल्य २५ प्रतिशतभन्दा बढीले वृद्धि भयो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुक ग्यासको मूल्य स्थिर बनाउन तयार रहेको बताएलगत्तै बजारमा केही स्थिरता छाएको थियो । तर युरोपमा ग्यासको मूल्य बढिरहेका बेला राष्ट्रपति पुटिनले ग्यासलाई हतियार बनाउन खोजेको आरोप लागेको छ ।

रुसका उप-प्रधानमन्त्री अलेक्जाण्डर नोभाकले नर्ड स्ट्रिम-२ ग्यास पाइपलाइनलाई युरोपले तत्काल अनुमति दिएमा युरोपेली युनियनमा देखिएको संकट अन्त्य हुने बताइसकेका छन् ।

बुधबार नै राष्ट्रपति पुटिनले जारी ऊर्जा संकटका लागि युरोप नै दोषी रहेको टिप्पणी गरे । ग्यास आपूर्ति घटाएर पश्चिमी मुलुकलाई दबाब दिएको आरोप लागेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

यसअघि पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले समेत ग्यास आपूर्ति सीमित पारेर युरोपेली मुलुकलाई दबाब दिएको कुरालाई खण्डन गरेका थिए ।

‘युरोपेली ग्यास बजारमा देखिइरहेको दृश्यमा रुसको कुनै भूमिका छैन’, पत्रकारसँग कुरा गर्दै पेस्कोभले भने ।

रुस तेल र ग्यासको ‘सुपरपावर’ हो । युरोपेली युनियनमा खपत हुने झण्डै ६० प्रतिशत ऊर्जा रुसले नै आपूर्ति गर्छ । रुसी सरकारको स्वामित्वमा रहेको ग्याजप्रोमले युरोपमा प्राकृतिक ग्यास निर्यात गर्छ । जर्मनी र इटाली रुसी ग्यासको मुख्य बजार हुन् । रुसले युरोपमा निर्यात गर्ने झण्डै ५० प्रतिशत ग्यास यी दुई मुलुकमा खपत हुने गर्छ ।

केही समयअघि चान्सलर एङ्गेला मर्केलले ग्यासलाई रणनीतिक ‘हतियार’को रुपमा प्रयोग गरे मस्कोमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएकी थिइन् ।

के हो नर्ड स्ट्रिम-२ को विवाद ?

रुसबाट बाल्टिक सागर हुँदै जर्मनीसम्म जाने प्राकृतिक ग्यासको पाइपलाइन हो, नर्ड स्ट्रिम-२ । नर्ड स्ट्रिम-१ लाई २०११ मे महिनामा र दोस्रो पाइपलाइन २०१२ अक्टोबरमा उद्घाटन गरिएको थियो । १२ सय २२ किलोमिटर लामो नर्ड स्ट्रिम विश्वकै लामो पाइपलाइन हो । यी दुबै पाइपलाइनको ग्याग आपूर्ति गर्न सक्ने वार्षिक क्षमता झण्डै ११० बिलियन क्युबिक मिटर रहेको छ ।

तर अमेरिका, युक्रेनसहितका युरोपेली मुलुकले युरोपमा रुसको प्रभाव बढ्ने भन्दै नर्ड स्ट्रिम परियोजनाको विरोध गर्दै आएका छन् । रुसले वैकल्पिक मार्गबाट ग्यास निर्यात गर्दा पूर्वी तथा मध्य युरोपेली मुलुकले ‘ट्रान्जिट शुल्क’ बापत् पाउने रकमको ठूलो हिस्सा गुमाउने भएकाले समेत विरोध भइरहेको छ ।

आलोचकहरुले उक्त पाइपलाइनलाई हाल ग्यास आपूर्तिको ट्रान्जिट मुलुक बनिरहेका युक्रेन, स्लोभाकिया, चेक रिपब्लिक र पोल्याण्डलाई बाइबास गर्ने रुसी कदमको रुपमा पनि हेर्ने गर्छन् ।

कतिपयले पश्चिम युरोपलाई धम्क्याउँदै ‘ट्रान्जिट’ मुलुकमाथि राजनीतिक दबाब दिने तथा प्रभाव विस्तार गर्ने रुसी हतियार समेत ठान्छन् । त्यस्तै नर्ड स्ट्रिमका कारण युरोप डरलाग्दो रुपमा रुसी प्राकृतिक ग्यासमाथि भर पर्नुपर्ने अवस्था आउने समेत कतिपय आलोचकको तर्क छ ।

तर जर्मनीले आफू बढी लाभान्वित हुने भएका कारण उक्त पाइपलाइनको विरोध गरेको पाइँदैन । ‘ट्रान्जिट शुल्क’ घट्दा आर्थिक बचन हुने जर्मन अधिकारीको तर्क छ । यद्यपि, रुसले पाइपलाइनलाई युक्रेनी मुद्दामा हतियारको रुपमा प्रयोग गर्न सक्ने तर्फ भने उनीहरु सजग देखिन्छन् ।

नर्ड स्ट्रिम परियोजनासँग सैन्य तथा वर्यावरणीय पक्ष समेत जोडिएका छन् । विशेषगरी स्विडेनले परियोजनाका कारण आफ्नो सुरक्षा नीति प्रभावित हुने बताउँदै आएको छ । पाइनलाइनका कारण आफ्नो विशेष आर्थिक क्षेत्रमा रुसी जलसेना तैनाथ हुने र स्विडेनविरुद्ध जासुसी गर्न सक्ने भन्दै कतिपय स्विडिस विज्ञहरुले विरोध गर्दै आएका छन् ।

त्यस्तै पाइपलाइनका कारण युरोपमा जलवायु परिवर्तनको असर बढ्ने भनेर चिन्ता व्यक्त भएको पाइन्छ । ग्यास आपूर्ति तथा खपतको मात्रा बढ्दा कार्बन उत्सर्जनमा वृद्धि हुने र यसले कार्बनमुक्त हुँदै वातावरण संरक्षणका लागि भइरहेका प्रयासहरु ओझेलमा पर्न सक्ने कतिपयको चासो रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?