
२१ असोज, बुटवल । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झाडापखालाबाट प्रभावित क्षेत्रको पानीमा कोलिफर्म ब्याक्टेरिया फेला परेको छ । संघीय प्रयोगशाला बुटवलमा पानी परीक्षण गर्दा अत्याधिक मात्रामा कोलिफर्म ब्याक्टेरिया फेला परेको शिवराज अस्पताल, कपिलवस्तुका निमित्त सुपरिटेण्डेन्ट डा. मुकेश चौधरीले जानकारी दिए ।
‘पानी परीक्षणको रिपोर्टमा अत्याधिक मात्रामा कोलिफर्म ब्याक्टेरिया पाइएको छ,’ डा. चौधरीले भने । कोलिफर्म ब्याक्टेरिया दिशामा पाइने जीवाणु हो । पानीमा कसरी दिशाका जीवाणु मिश्रण भयो भन्ने यकिन भइनसकेको डा. चौधरीले बताए ।
स्वास्थ्य कार्यालय कपिलवस्तुले नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट वितरण गरिएको धारा, ४० फिटभन्दा माथि र सय फिटभन्दा कममा गाडेको हाते पम्पको पानीबाट नमुना लिएको थियो । तीमध्ये सय फिटको पम्पमा जीवाणु फेला नपरेको डा. चौधरीले बताए । रिपोर्टको पूर्ण विवरण आइनसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले केही नमुनामा कोलिफर्म ब्याक्टेरिया फेला परेको पुष्टि गरे । तर झाडापखाला फैलिनुको अन्य पनि कारण हुन सक्ने भएकाले आवश्यक अनुसन्धानका लागि थप नमुनाको परीक्षण भइरहेको उनले बताए ।
झाडापखालाबाट कृष्णनगरमा मंगलबार दुई जनाले ज्यान गुमाएका थिए । नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा मंगलबार रातिदेखि झाडापखाला फैलिएको थियो । झाडापखालाबाट वडा नम्बर ९ का ४५ वर्षीय रामप्रसाद केवटको घरमै र वडा नम्बर ८ का ७ वर्षीय बालक राज कश्यपको निजी मेडिकलमा मृत्यु भएको थियो ।
तीनवटा वडाका ४३० जनामा झाडापखाला भई अस्पताल भर्ना भएकोमा ३१४ जना डिस्जार्ज भएका, ३४ जना रिफर भएका र ८२ जना उपचारमा रहेका डा. चौधरीले बताए । स्वास्थ्य कार्यालयले झाडा पखाला प्रभावित वडाका बासिन्दालाई राम्ररी उमालेर सफा पानी मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया 4