+
+

ईपीएलको उपाधि चितवनले जित्यो, पोखरा ४ विकेटले पराजित

गाेविन्दराज नेपाल गाेविन्दराज नेपाल
२०७८ असोज २३ गते १५:४३

२३ असाेज, काठमाडौं । कमल सिंह ऐरीको उत्कृष्ट बलिङ अनि भीम सार्कीको अर्धशतकको मद्दतमा चितवन टाईगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन पहिलो पटक च्याम्पियन बनेको हो ।

पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५.५ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्‍यो । चितवनका लागि भीम सार्कीले ४५ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाए ।

यस्तै दिलिप नाथले १८, राजेश पुलामीले १४ र मोहम्मद शाहाजादले ११ रन जोडे । पहिलो ओभरमै चितवनमा हासिम अन्सारी खाता नखोल्दै नन्दन यादवको बलमा विनोद भण्डारीबाट क्याचआउट भएका थिए । अर्को ओभरमा करिम जन्नत पनि किशोर महतोको बलमा रिचर्ड लेभीबाट शून्य रनमै क्याचआउट भए ।

चौथो ओभरको अन्तिम बलमा मोहम्मद शाहाजाद ११ रन बनाएर आउट भएपछि चितवनले ४ ओभरमा २० रन बनाउँदा ३ विकेट गुमाएको थियो । किशोरले शाहाजादलाई विपिन रावलबाट क्याचआउट गराए ।

तर त्यसपछि भीम सार्की र दिलिप नाथले चितवनको ईनिङ्स सम्हाले । यी दुईले अर्धशतकीय साझेदारी गर्दै चितवनको जीतको आधार तयार पारे । भीम र दिलिपले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरे ।

दिलिप नाथ १२ औं ओभरमा १८ रन बनाएर आउट भए । दिलिपलाई किशोरल महतोले लोकश बमबाट क्याचआउट गराए । १५ औं ओभरको पहिलो बलमा राजेश पुलामी १४ रन बनाएर नन्दन यादवको बलमा बोल्ड भए ।

सर्वाधिक ६३ रन बनाएका भीम १६ औं ओभरमा आउट भए । जितका लागि २ रन चाहिएको बेला भीम किशोर महतोको बलमा ऋत गौतमबाट क्याचआउट भएका थिए ।
त्यसपछि कप्तान सोमपाल कामीले पहिलो बलमै चौका प्रहार गर्दै चितवनलाई जीत दिलाए ।

बलिङमा पोखराका किशोर महतोले ३.५ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । नन्दन यादवले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रनमा अलआउट भएको थियो ।

पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४, रिचर्ड लेभीले २६, कप्तान विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पोखराले ओपनिङ जोडीमा परिवर्तन गर्दै रिचर्ड लेभीसंग विपिन रावनललाई खेलाएको थियो । यी दुईले पोखरालाई राम्रो सुरुवात दिलाउने संकेत गरेका थिए । तर पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेपछि लेभी आउट भए ।

चौथो ओभरको तेस्रो बलमा रिचर्ड लेभी १५ बलमा ५ छक्का प्रहार गर्दै २६ रन बनाएर आउट भए । करिम जन्नतको बलमा दिलिप नाथले लेभीलाई क्याच आउट गराए । ऋत गौतम पाँचौं ओभरको पाँचौं बलमा २ रन बनाएर आउट भए । ऋतलाई कमल सिंह ऐरीले हासिम अन्सारीबाट क्याचआउट गराए ।

छैटौं ओभरको अन्तिम बलमा सोमपालले साहान अराचचिगेलाई शाहब आलमबाट क्याचआउट गराएपछि पोखराले पावर प्लेमै ३ विकेट गुमाएर ४३ रन बनाएको थियो ।

नवौं ओभरको तेस्रो बलमा विपिन रावल १७ रन बनाएर आउट भएपछि पोखराले ५९ रनमा चौथो विकेट गुमायो । सागर ढकालले शाहब आलमबाट विपिनलाई क्याचआउट गराए ।

त्यसपछि असेला गुनारत्ने र कप्तान विनोद भण्डारीले ईनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर असेला २४ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा ३४ रन बनाएर १४ औं ओभरमा आउट भए । असेलालाई सेकुगे प्रसन्नले दिलिप नाथबाट क्याचआउट गराए ।

१५ औं ओभरमा पोखराले २ विकेट गुमायो । चितवनका कमल सिंह ऐरीले एकै ओभरमा विवेक यादव र लोकेश बमलाई आउट गरेपछि पोखराले १५ ओभरमा १०१ रन बनाउँदा ७ विकेट गुमाउन पुग्यो । यस सिजन उत्कृष्ट खेलिरहेका विवेक ४ रन बनाएर आउट भए र लाकेशले खाता समेत खोल्न सकेनन् ।

कप्तान विनोद भण्डारीले एक छेउबाट ईनिङ्स सम्हाल्ने प्रयास गरेपनि अर्को छेउबाट विकेट गुमाउँदा पोखरा कम स्कोरमै रोकियो ।

लगत्तै अर्को ओभरमा विक्रम सोब पनि १ रन बनाएर आउट भए । उनलाई सेकुगे प्रसन्नले बोल्ड गरे । त्यसपछि नन्दन यादव खाता नखोली करिम जन्नतको बलमा एलबीडब्लु भए ।

अन्तिम विकेटको रुपमा कप्तान विनोद २६ बल खेल्दै २२ रन बनाएर १८ औं ओभरमा आउट भए । चितवनका लागि बलिङमा कमल सिंह ऐरीले ३.५ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए ।

यस्तै करिम जन्नत र सेकुगे प्रसन्नले २-२ विकेट लिए । दुवैले ३ ओभर बलिङ गर्दा प्रसन्नले १३ र करिमले १५ रन खर्चिए । कप्तान सोमपाल कामी र सागर ढकालले समान १ विकेट लिए ।

व्यक्तिगत अवार्डमा चितवनकै वर्चस्व रह्याे । इमर्जिङ प्लेअर अफ दि टुर्नामेन्ट भीम सार्की घाेषित भए । उनले लिगमा १९६ रन बनाएका थिए । उनी सर्वाधिक रन बनाउनेमा दाेस्राे स्थानमा रहे । उनले २ अर्धशतक प्रहार गरे ।

डेयर टु ड्रिम अवार्ड चितवन टाइगर्सका कमल सिंह ऐरीले पाए । चितवनकै सागर ढकाल म्यान अफ दि सिरिज घाेषित भए । उनले लिगभर सर्वाधिक १४ विकेट लिएका थिए । सागर पल्सर माेटरसाइकल प्राप्त गरे ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?