+
+

हामी दुःखी भएको खान नजानेर हो, चाडबाडमा यी कुरा ध्यान दिऔं

डा.अच्युत शाली घिमिरे डा.अच्युत शाली घिमिरे
२०७८ असोज २४ गते १३:४९

सम्पूर्ण हिन्दू नेपालीहरूको महान् चाड बडादशैं सबैको घरघरमा भित्रिसकेको छ । पारिवारिक जमघट, सुखदुःख आदानप्रदान, मीठामीठा परिकार बनाएर खाने, मान्यजनबाट टीका-आशीर्वाद ग्रहण जस्ता क्रियाकलापहरू गरेर मनाइने यो चाड निकै उल्लासमय रहन्छ ।

तर यही अवसरमा हाम्रो अस्वस्थकर आहारले स्वास्थ्यमा आकास्मिक एवं दीर्घकालीन असर पुर्याउन सक्दछन्। त्यसैले हामी समय मै सजग हुनु आवश्यक छ। मीठोमीठो खाने बहानामा एक्कैचोटी धेरै पकाएर कोचीकोची खाँदा र खाना खेर फाल्दा हामीले ध्यान पुर्याउनुपर्ने देखिन्छ।

शरद ऋतु (आश्विन र कार्तिक महिना)मा देवी उठ्ने हुनाले यो बेलाको दुर्गा पूजालाई विशिष्ट मानेर बडा दशैंको रूपमा धुमधाम, मनाउने चलन छ । त्यसैले यस समयमा आयुर्वेद, चरकसंहितामा वर्णन भएअनुसारको शरद ऋतुचर्या अपनाउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ । वर्षा ऋतुमा शरीर शीत भैराखेको हुन्छ र जब शरदमा सूर्यको ताप बढ्छ, पित्त कुपित हुन्छ ।

त्यसैले शरदऋतु (दशैं, तिहार, छठ) भरी सात्म्य आहार जस्तै अन्नमा पित्त प्रशमक, यव, गोधुम, शालि, धृतपान आवश्यक पर्दछ भने औषधमा विरेचन र रक्तमोक्षण आवश्यक पर्दछ । यस शरद ऋतुभरीका असात्म्य (अहित) आहारमा वसा, तैल, क्षार, दधि र असात्म्य विहारमा दिवा स्वप्न,पूर्वी वायुको सेवन आदि पर्दछन् ।

बजारबाट चाडबाडमा किनेर ल्याइने अनेक मिठाई जेरी, लालमोहन एवं सेल र अन्य स्वादिला खानेकुराहरू किन्दा समेत ध्यान दिनुपर्छ । एउटै तेलको प्रयोग गरेर बारम्बार पकाइने हुँदा विषालु तत्व पैदा भई त्यसले शरीरलाई बेफाइदा पुर्याउँछ । घरमा नै पकाएर स्न्याक्सको रूपमा लिइने तारेको भुटेको खानेकुरामा समेत ध्यान पुर्याउनुपर्छ ।

अर्को अझ महत्वपूर्ण कुरा दशैं तिहार जस्ता महत्वपूर्ण चाडबाडमा पेयपदार्थहरू बढी मात्रा खाने गरिएको छ । जसमा चिनीको मात्रा बढी हुने हुनाले मानिसको हड्डी कमजोर हुनेदेखि लिएर मोटोपना र मधुमेह हुने खतरा समेत बढ्छ । यस्ता पेय पदार्थ खानुको साट्टो ताजा फलफूल वा फलफूलको जुस खानु नै सर्वोत्तम हुन्छ ।

मासुको कुरा गर्दा, रातो मासु हुने पशुहरूमा खसी, बोका, भैंसी, राँगा, भेडा, बाख्रा पर्दछन् भने पन्छीमा हाँस, परेवा, टर्की आदि पर्दछन् । सेतो मासु हुनेहरूमा माछा र कुखुरा पर्दछन् । मायोग्लोबिनको बढी मात्रा भएकोलाई रातो मासु र कम मात्रा भएकोलाई सेतो मासु भनी वर्गीकरण गरिन्छ ।

रातो मासुमा जिंक, फस्फोरस, लिपोइक एसिडको मात्रा बढी हुने हुनाले दैनिक रातो मासु सेवन गर्दा मुटु रोग र क्यान्सर हुने जोखिम १३ प्रतिशतले वृद्धि हुने कुरा अध्ययनले देखाउँदछ । त्यसैले शरीरमा युरिक एसिडको मात्रा बढ्ने, मुटु रक्तनलीमा गएर समस्या दिने हुँदा मासु नखाई नहुने बाध्यकारी अवस्थामा विकल्पको रूपमा सेतो मासु उपयोग गर्नु स्वास्थ्यका लागि हितकार रहन्छ ।

अझ कतिपय सुकिला मुकिलाहरूलाई त प्लेटमा लिएको खाना आधा मिल्काउन पाउँदा चैन मिल्छ । आफू ठुलो हुँ भन्ने भान पार्न समेत खाना फाल्ने जुन सभ्यता छ, त्यो जस्तो कुरूप सभ्यता अरु केही हुँदैन । नेपाल कै कतिपय गाउँमा भोकमरी छ ।

सम्भावित रोगहरू जस्तै कब्जियतबाट बच्न दशैंमा मासु सँगसँगै सागपात, फलफूल र रेसादार खानेकुरा समेत खानुपर्दछ। ताजा एवं झिंगा नभन्किएको मासु मात्र किन्नु पर्दछ र राम्रोसँग पकाएर मात्र सेवन गर्नु पर्दछ ।

नत्र फुड पोइजनिङ, झाडापखला लाग्ने, ज्वरो आउने जस्ता समस्याहरू देखा पर्न सक्छन् । चाडबाडमा हेभी प्रोटिन युक्त खानाहरूलाई पचाउन र शरीरलाई शारीरिक र मानसिक रूपमा तन्दुरुस्त राख्न नियमित व्यायाम समेत आवश्यक पर्दछ ।

दशैं मात्र होइन अन्य चाडपर्वका नाममा हुने अस्वस्थकर आहारले आफ्नो स्वास्थ्यलाई बाधा पुग्नुको साथै परिवारमा नैराश्यता उत्पन्न गराई आर्थिक क्षति समेत व्यहोर्नुपर्ने हुन सक्छ ।

त्यसैले ग्यास्ट्रिक, मोटोना, मधुमेह, मुटुरोग, उच्च रक्तचाप, क्रोनिक किड्नी रोग आदि समस्या भएका रोगी एवं समस्या नै नभएका व्यक्तिहरूले समेत आफ्नो स्वास्थ्यलाई राम्रो अवस्थामा राख्नका निम्ति दशैंमा मात्र नभएर अरु बेलामा पनि ऋतुचर्या र उचित खानपान शैली अपनाउनु नितान्त आवश्यक छ ।

एकबारको मरेर जाने चोलामा टन्न आनन्दले खानुपर्छ भन्ने मानसिकता कै कारण उब्जिएका अनेक समस्याका कारण अस्पताल जानेको संख्या बढेको देखिन्छ । चाडबाड पछि अस्पतालको बेडमा शरण पर्नुभन्दा अगावै संयमित भोजन गरौं ।

अर्को महत्वपूर्ण विषय हो- हाम्रो खाना फाल्ने बानी । यस्तो बानीमा प्रशस्त सुधार गर्नुपर्ने देखिन्छ । दैनिक घरमा खाँदा होस् वा बिहेभोज वा चाडपर्व आवश्यक भन्दा बढी खाना पकाउने र खेर फाल्ने हाम्रो एडिक्टेड बानी भइसक्यो । हाम्रो नेपाली समाजमा हुने खाने र हुँदा खाने वर्ग छ ।

हुँदा खाने वर्ग बिहान बेलुका काम गरेर एक छाक टार्न संघर्ष गरिरहेको हुन्छ । किनकि हरेक अन्नमा उसको पसिनाको मुल्य परेको हुन्छ । तर हुने खाने वर्ग त्यो अन्नको महत्व नबुझी धेरै हुने बित्तिकै खाना फाल्ने गर्छन् । कतै भोकमरी हुनु र कतै धेरै भएर फालिनु असमानताको ज्वलन्त उदाहरण हो ।

अझ कतिपय सुकिला मुकिलाहरूलाई त प्लेटमा लिएको खाना आधा मिल्काउन पाउँदा चैन मिल्छ । आफू ठुलो हुँ भन्ने भान पार्न समेत खाना फाल्ने जुन सभ्यता छ, त्यो जस्तो कुरूप सभ्यता अरु केही हुँदैन । नेपाल कै कतिपय गाउँमा भोकमरी छ । म हाल कार्यरत बाजुरामा नै कतिपय बालबच्चाहरू ब्यालेन्सड डाइट (सन्तुलित भोजन) को अभावमा कुपोषणबाट ग्रसित छन् ।

यो सबै कुराहरूप्रति ज्ञात हुँदाहुँदै पनि हामी खाना फालेर वीर हौं झै पल्टिन्छौं । के ती कुपोषणबाट पीडित बालबालिकाप्रति हामीले फाल्ने अन्नको कुनै जवाफदेहिता रहँदैन ? त्यो मात्र होइन कतिपय सडक बालबालिकादेखि असहायहरू एक छाक खान नपाएर तड्पिरहेका हुन्छन् तर चाडबाडका नाममा इज्जत प्रतिष्ठा बढ्ने आंकलनमा भएभरका धन, सम्पति खर्च गरेर बढी खाना फालेर आफूलाई खान्दानी भएको देखाउन माहिर हुन्छौं हामी ।त्यसैले हामी जस्तो बुद्धु र अबुझ अरु कोही हुँदैन ।

बाजुरा, अछाम, मुगु, जुम्ला, हुम्ला आदि जिल्लामा स्थानीय उत्पादन हुने जौ, मकै, धान, गहुँ, कोदो, फापर, भटमासमा आजकल त्यहाँका मानिसको रुचि घट्दै गएको छ । अनि आयातित बजारको सेतो टल्केको चामल खाएन भने त हेपिने पो हो कि भन्ने मनोविज्ञान बढ्दो छ । जुन दुःखद हो । त्यसैले आफ्नो सु-स्वास्थ्यको लागि उपयोग हुने आफैंले उत्पादन गर्ने अन्न फालेर वा सस्तोमा मिल्काएर विज्ञापनको भरमा चाडबाडमा महंगा चामल किनेर घर ल्याउने चलन दुर्गम गाउँहरूमा नि व्याप्त छ । हामी दुःखी दरिद्री भए कै खान नजानेर हो ।

दुर्गम गाउँठाउँ जहाँ बोराको चामल लिन चाडबाडका बेला दुई दिन लामो लाइन बस्नुपर्छ, त्यही लिन मानिस तँछाडमछाड गर्छन् । तर मौसम अनुसारको अन्न र फलफूल खान नाक खुम्च्याउँछन् । बजारका जंक फुडले बच्चादेखि यौवनसम्म सबैका स्वास्थ्य बिग्रिसके । त्यसैले चाडबाडमा हुने यस्ता बजारीया आतंकबाट जोगिदै घरकै अन्नमा मुख मिठ्याउने गरौं ।

हरेक अन्न हाम्रो प्राणदाता हुन् । विकसित देशका मानिसहरूले अन्नको सम्मान गर्न सिके कै कारण हामीभन्दा कयौं गुणामाथि फड्को मारिसके । हामी भने भोकभन्दा पनि भोजन ठुलोको जालोमा अल्झिँदा कयौं नेपालीहरू नै आधा पेट खाएर सुत्न बाध्य भएका छन् ।

अन्नको श्राप लाग्ने दृष्टान्त राख्दै, आफूले खान सक्ने खाना मात्र थालमा राखेर सबै सक्ने बानी बसालौं । अलिकति चाखेर अनेक बहानामा खाना फाल्नु अपराध सरह हो । खाना खेर हुन नदिन पकाउने बेलामा नै आफू भोको रहेको वा अघाएको पूर्व सूचना दिने गरौं । त्यति मात्र होइन बालबालिकाहरू विशेषतः यस्तो सूचना दिन नसक्ने हुन सक्छन् र उनीहरू अन्नको महत्व पनि बुझ्न नसक्ने हुन सक्छन् ।

बालबालिकाको पेटको अवस्था अभिभावकले नै अड्कलेर एकपटकमा थोरै मात्र खाना पस्किने गरौं । कोची कोची खाँदा समेत स्वास्थ्य विकराल हुन्छ र खाना खेर फाल्दा त झन् पाप लाग्छ । त्यसैले आफ्नो स्वास्थ्य र अन्नको अमूल्य सम्पत्ति जोगाउन समेत बरु अलिकति खाली पेट उठ्दा केही फरक पर्दैन तर थाल भरी अटाइ नअटाइ सुरुमा नै टन्‍न खाना लिएर बस्ने बानी बदलौं । रुचि अनुसार थप्दै खाउँ र सन्तुलित भोजनमा ध्यान पुर्‍याऔं । चाडबाडमा दीर्घायु र निरोगीपनको कामना गर्दै उमङ्गले मनाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?