+
+

रुपन्देहीका सीडीओ भन्छन् – सार्वजनिक सम्पत्ति संरक्षण गर्नु दायित्व हो, संयमता अपनाएका थियौं

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते २१:३९

२४ असोज, काठमाडौं । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीको गोली लागेर चार जना सुकुम्बासीको ज्यान गएको छ । दशैंका वेला प्रशासनले डोजर चलाउँदा भएको झडपका क्रममा उनीहरुको ज्यान गएको हो ।

मृतकको परिचय खुलिसकेको छैन । उनीहरुको शव भैरहवाको युनिभर्सल मेडिकल कलेजमा राखिएको छ ।

आइतबार दिउँसो भएको घटनामा १६ जना सुकुम्बासी घाइते छन्, एकको अवस्था गम्भीर छ । सुरक्षा निकायतर्फ पनि केही घाइते भएको विवरण आएको छ ।

घटनाबारे दिनभर मौनता साँधेको जिल्ला प्रशासनले आइतबार साँझ प्रदर्शनकारीले ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि गोली चलेको बताएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अनलाइनखबरसँग भने, ‘सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हाम्रो दायित्व हो, हामीले संयमता अपनाएका थियौं ।’

प्रस्तुत छ, सीडीओ तिवारीसँग अनलाइनखबरले गरेको टेलिफोन कुराकानीः–

मोतिपुरमा आज कति क्षति भयो ?

चार जनाको मृत्यु भएको हो । सर्वसाधारणतर्फ १६, नेपाल प्रहरीतर्फ १६ जना, सशस्त्र प्रहरीतर्फ १५ जना घाइते छन् ।

गोली चलाउनुपर्ने स्थिति कसरी आयो ?

बाहिर ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएपछि सुरक्षाकर्मीमाथि ढुंगामुढा र पेट्रोल बमबाट आक्रमण भएपछि बाध्य भएर गोली चलाउनु परेको हो । एसपी साबहरुलाई नै पेट्रोल बमले लागेको छ ।

माइकिङ, पानीको फोहोरा, हवाई फायरिङ अनि… मात्रै थप कदम चाल्नुपर्ने थियो होला नि ?

पहिले अश्रुग्यास, त्यसपछि हवाई फायर भएको छ । त्यसपछि मात्रै गोली चलेको छ । प्रदर्शकारीबाट आक्रमण हुन थालेपछि घटना भयो ।

प्रशासनले पहिल्यै माइकिङ गरेर जानकारी दिएको थियो ?

थियो । त्यो क्षेत्र नै निषेधाज्ञा लगाइएको क्षेत्र हो । २८ गतेदेखि हामीले निषेधाज्ञा लगाएर माइकिङ विगतमा पनि गरिरहेको अवस्था हो ।

डोजर लगाउने काम राति-राति भइरहेको रहेछ, होइन ?

यो बीचमा बिहानपख भइरहेको थियो ।

कतिपयले दशैंको समयमा प्रशासन निर्मम नबनेको भए हुन्थ्यो भन्छन् नि ! 

भदौ २८ देखि नै हामीले निषेधाज्ञा लगाएको हो । त्यतिवेलैदेखि जानकारी दिएका थियाैं ।

प्रशासनले अलि संयमता देखाउन नसकेको हो कि?

होइन, हामीले २८ गतेदेखि नै निषेधाज्ञा लगाएर पटकपटक उहाँहरुलाई जानकारी गराएको हो । र, त्यसमा हामीले पूर्वसतर्कता स्वरुप संवेदनशीलता र संयमता पनि अपनाइ आएको अवस्था हो । त्यो अनुसार सुरक्षाकर्मी परिचालित भएको अवस्थामा प्रदर्शनकारीबाट आक्रमण भएको हो ।

प्रशासन निर्मम नभइदिएको भए हुन्थ्यो होला नि…

सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हाम्रो दायित्व भएकाले यसरी…

… निर्मम बन्नु परेको हो ?

निर्मम त होइन, हामीले संयमता अपनाएका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?