+
+
अन्तर्वार्ता :

‘दशैंमा ताला ठोकेर घर जाँदै हुनुहुन्छ ? प्रहरीलाई खबर गर्नुस्’

‘हार–जीतमा तास खेले जो पनि पक्राउ पर्छन्’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते ८:०९

२५ असोज, काठमाडौं । दशैं, तिहार र छठलाई खुशीको पर्व मानिन्छ तर यहीबेला हुनसक्ने आपराधिक क्रियाकलापले परिवारमा निराशा ल्याइदिनसक्छ । त्यसैले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ ।

चाडपर्वका नाममा मादक पदार्थ सेवन गर्ने र जुवातास खेल्ने कार्यलाई निषेध गरिएको प्रहरी प्रधान कार्यालय, नक्सालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामा बताउँछन् । तर घरमा बसेर रमाइलोका लागि खेलिने तासलाई भने नरोकिने लामाको भनाइ छ । उनी भन्छन्, ‘जब जीत–हारमा तास खेलिन्छ, त्यो रमाइलो मात्र रहँदैन, जुवा हुन्छ । त्यस्तो अवस्थामा प्रहरीले कसैलाई छाड्दैन ।’

दशैंमा हुनसक्ने पकेटमारी र चोरीलाई रोक्न सादा पोशाकमा विशेष टोली समेत परिचालन गरिएको उनको भनाइ छ । उपत्यकाबाट घर छोडेर अन्य जिल्ला जाँदा प्रहरीलाई खबर गर्न पनि उनको सुझाव छ । ‘रित्तो घर छाडेर जाँदा चोर छिर्नसक्छन्’ लामाले अनलाइनखबरसँग भने, ‘त्यसैले पहिले छिमेकी र नजिकैको प्रहरीलाई आफू घर छोडेर गएको खबर गर्नुस् ।’

नेपाल प्रहरीको कार्यवाहक प्रवक्तासमेत रहेका लामासँग अनलाइनखबरकर्मी गौरव पोखरेलबिजीशा बुढाथोकीले गरेको कुराकानी :

दशैं, तिहार, छठ जस्ता चाडपर्वका बेला समाजमा विभिन्न खाले अपराध हुने गर्छन् । चाडपर्वका वेला मुलुकको शान्ति, सुरक्षालाई व्यस्थित गर्न नेपाल प्रहरीले कस्तो योजना बनाएको छ ?

दशैं, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना बनाउने गर्छ । चाडपर्वका वेला सवारी दुर्घटना, कर्तव्य ज्यान, कुटपिट, झै–झगडा, जुवातास, लागूऔषधसम्बन्धी अपराध बढी हुने गरेको देखिन्छ । त्यस्ता अप्रिय घटनालाई रोक्न विगतका वर्षमा झैँ प्रहरी प्रधान कार्यालयले कार्य विभागले विशेष सुरक्षा योजना बनाएको छ ।

कार्यक्षेत्रमा खटिने जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय जस्ता सबै युनिटलाई सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिइएको छ । सबै युनिटले यस समयमा अप्रिय घटना नहोस् भनेर विशेष सुरक्षा योजना अन्तरगत काम गरिरहेका छन् ।

सम्भावित घटनालाई रोक्न हामीले मोबाइल, पिकेट र योजनाअनुसार नियमित चेकिङको व्यवस्था गरेका छौं, आकस्मिक चेकजाँच, पैदल गस्ती, मोटरसाइकलमा क्यूआरटी, साइकल गस्ती र सादा पोशाकमा प्रहरी परिचालन पनि बढाइएको छ । नाकामा कुकुरसहितको टोली खटिएको छ ।

प्रहरीले बर्सेनि चाडपर्व सुरक्षा योजना बनाउँछ, नागरिकले सास्ती पनि भोगिरहेका हुन्छन् । यो वर्ष विगतभन्दा फरक तयारी के छ ?

सामान्य अवस्थामा प्रहरी सामान्य तरिकाले नै परिचालित हुन्छ । अहिलेको अवस्था पहिले झैँ छैन । अझै पनि कोरोना भाइरस महामारीको प्रभाव समाजमा छ । यद्यपि, गत वर्षभन्दा यो वर्ष अलिक फरक छ ।

गत वर्ष दशैंका बेला महामारीको संक्रमण दर बढी थियो । कतिपय जिल्लामा निषेधाज्ञा नै थिए । तर अहिले अधिकांश जिल्लामा निषेधका क्षेत्रहरु खुला भइसकेका छन् ।

मानिसहरु मन्दिरमा जाने क्रम बढ्नसक्छन्, बजारमा भिडभाड हुन्छ । त्यसलाई लक्षित गरेर गतवर्षभन्दा फरक तयारी गरेका छौं । महामारी अझै कायमै रहेकाले नेपाल प्रहरीको उद्देश्य आमनागरिकलाई सजग र सतर्क हुन सचेतना फैलाउँदै सुरक्षित वातावरणमा चाडपर्व मनाउने वातावरण सिर्जना गर्नु हुनेछ ।

दशैंमा घर, परिवारका सदस्य बसेर तास खेल्ने चलन हुन्छ । प्रहरीले कहिलेकाहीं २/४ हजार रुपैयाँ बरामद गरेर जुवाडे समातेको विवरण पठाउँछ । घरमा पनि तास खेल्न प्रहरीले रोक लगाउने हो ?

प्रहरीले सामान्यतया तास खेल्नेलाई समात्ने होइन । जसले संगठितरुपमा लेनदेन गरेर जुवा खेल्छ, त्यसलाई समात्ने हो । त्यसमा हाम्रो विशेष निगरानी हुने हो । घर परिवारबीच रमाइलोका लागि खेलिने खेलमा प्रहरीले ध्यान दिँदैन ।

तर उहाँहरुले गरेको क्रियाकलापले कसैलाई असुविधा, कठिनाइ र समस्या हुनु भएन । अरुलाई समस्या भए प्रहरी चुप लागेर बस्दैन, त्यस्ता कुरामा हाम्रो नजर रहन्छ । लेनदेन भए प्रहरीबाट छापा मार्ने, पक्राउ गर्ने हुनसक्छ । त्यसैले हाम्रो आग्रह के हो भने जित–हारमा तास नखेलिदिनुस् । रकम राखेर खेलिने जुवालाई कानूनले निषेध गरेको विषय हो, त्यसलाई कार्यान्वयन गर्ने विषयमा प्रहरी कठोर बन्छ ।

दशैंमा मादक पदार्थ सेवन गरेर हो–हल्ला र झगडा हुने गरेका पनि देखिन्छन्, त्यस्ता गतिविधिलाई कसरी नियन्त्रण गर्दै हुनुहुन्छ ?

मानिसहरु दशैंमा खुशीयाली मनाउँछन्, त्यसक्रममा मादक पदार्थ सेवन गर्ने र हो–हल्ला गर्ने गतिविधि पनि हुनसक्छन् । त्यसलाई नियन्त्रण गर्ने विषय प्रहरीको विशेष सुरक्षा योजनाको प्राथमिकताभित्र पर्छ ।

प्रहरीको उद्देश्य जनतालाई दशैं, तिहार सुरक्षित तरिकाले मनाउने अवस्थाको सिर्जना गर्नु हो । आमनागरिकको खुशीमा सहयोगी बन्नु हो । त्यसक्रममा कसैलाई समस्यामा पार्ने वा खुशीयालीमा अवरोध गर्ने क्रियाकलाप कोही कसैबाट हुन्छ भने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन्छ ।

दशैंका वेला विभिन्न स्थानमा भेला, जम्मा गरेर झगडा गर्ने कार्यमा प्रहरीको २४सै घन्टा निगरानी रहन्छ । जो मान्छे मादक पदार्थ सेवन गरेर हो–हल्ला गर्दै हिँड्छन् र अरुलाई दुःख हैरानी दिन्छन् उनीहरु तत्कालै पक्राउ पर्छन् । यो कामका लागि मात्रै पनि सादा पोशाकमा विशेष टोली परिचालन गरेका छौं ।

सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नरहोस् भनेर दशैंको बेला प्रहरी प्रधान कार्यालयले बिदालाई पनि निषेध गरेको छ । कुनै पनि कार्यालयका प्रमुख छुट्टीमा घर जान पाउँदैनन् । त्यसबाहेक अन्य प्रहरी कर्मचारीलाई पनि थोरै संख्यामा आवश्यकता अनुसार मात्रै विदा दिन्छौं ।

हाम्रो मुख्य उद्देश्य जनतालाई दशैं, तिहार सुरक्षित तरिकाले मनाउने अवस्थाको सिर्जना गर्नु हो । आमनागरिकको खुशीमा सहयोगी बन्नु हो । त्यसक्रममा कसैलाई समस्यामा पार्ने वा खुशीयालीमा अवरोध गर्ने क्रियाकलाप कोही कसैबाट हुन्छ भने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन्छ ।

दशैंको समयमा लुटपाट, चोरीका घटना बाहिर आउँछन्, ग्याङफाइट पनि भएको देखिन्छ । त्यसलाई प्रहरीले कसरी नियन्त्रण गर्दैछ ?

दशैंमा तपाईंले खुशीयाली मनाउँदै गर्दा अरुको खुशीमा असर पुग्नु हुँदैन । त्यस कारणले नेपाल प्रहरीको आग्रह के हो भने हामीले कसैलाई कारबाही गर्नु नपरोस् । दशैंलाई अपराधमुक्त बनाउने जिम्मेवारी सर्वसाधारणको पनि हो ।

तपाईंहरु आफैं सतर्क र सजग हुनु भयो भने प्रहरीले कसैलाई कारबाही गर्नु पर्दैन । यस्ता वेलामा भिडभाडमा नजाने, अपरिचत व्यक्तिले दिएका खानेकुरा तथा पेय पदार्थ खानु हुँदैन । घरका सबै मानिस बाहिर जाँदा सामाजिक सञ्जालमा सार्वजनिक गर्नु पनि सुरक्षाको दृष्टिकोणले राम्रो हुँदैन । बहुमुल्य गहना लगाएर भिडभाड वा एकान्तमा नजान प्रहरीको अनुरोध छ ।

जब तपाईं होसमा रहनु हुन्न, त्यतिवेला गलत क्रियाकलाप हुनसक्छ । त्यस कारणले होसमै नरहने गरी मादक पदार्थ सेवन नगर्नुस् । त्यति हुँदाहुँदै पनि गलत क्रियाकलाप भए, त्यसलाई नियन्त्रण गर्न प्रहरी खटिएकै छ । तपाईंहरु कुनै पनि समस्यामा पीडित हुनुहुन्छ वा समस्यामा पर्न लागेको छनक पाउनु हुन्छ भने तत्काल नजिकको प्रहरी कार्यालय वा १०० मा फोन गरेर जानकारी दिनुस् । प्रहरी सकेसम्म चाँडो उपस्थित हुनेछ ।

दशैंको वेला ठूलो संख्यामा सर्वसाधारण उपत्यकाबाट बाहिरिन्छन् । त्यसक्रममा सडकमा जाम हुने गरेको छ, त्यसलाई प्रहरीले कसरी व्यवस्थित गरिरहेको छ ?

उपत्यकाका विभिन्न ठाउँ, जहाँबाट सवारीसाधन छुट्छन्, त्यहाँ प्रहरीले ‘हेल्प डेस्क’ राखेको छ । डेस्कमा २४ सै घन्टा यात्रुलाई सूचना र आवश्यक विषयमा सहयोग प्रदान गर्छौं ।

विभिन्न जिल्ला जान लागेका यात्रुका गुनासो सुन्ने र भिडभाडको समयमा हुनसक्ने घटनालाई रोक्न अभियान चलाइरहेका छौं । सवारीसाधन छुट्ने ठाउँमा पकेटमारी र झैझगडाका घटना हुनसक्छन्, त्यसबाट सतर्क हुने किसिमले प्रहरीले सचेतनामूलक सन्देशहरु पनि प्रदान गरिरहेका छौं ।

यो बेलामा जति पनि उपत्यकाबाट बाहिर जाँदै हुनुहुन्छ, उहाँहरुलाई असहज नहोस् भन्नेमा हामी सतर्क छौं । हेल्प डेस्कमा समस्या सुनेर तुरुन्तै निराकरण गर्छौं । अझ सादा पोशाकमा पनि टोली परिचालन गरेर यात्रुको पिरमर्काबारे बुझ्ने काम गरिरहेका छौं ।

सादा पोकाशमा खटिएका कर्मचारीले पकेटमारमाथि पनि निगरानी राखिरहेका हुन्छन् । यसबाहेक पनि ठूलो संख्यामा सवारीसाधन बाहिर जाने भएकाले ती सवारीसाधनहरु विभिन्न ठाउँमा सवारीका रुटमा ट्राफिक प्रहरीको विशेष तैनाथी गरेका छौं । नागढुंगा, झ्याप्ले खोला लगायतका ठाउँमा जाम नहोस् भनेर विशेष योजना लागू गरेका छौं ।

कतिपय अवस्थामा ट्राफिक नियम उलङ्घन, तीव्र सवारी चाप, ओभरटेक र लेन अनुशासनको पालना नगरेकाले पनि जाम हुने गरेको छ, त्यस्तोमा कारबाहीलाई पनि तीव्र बनाएका छौं ।

उपत्यका छाडेर बाहिर जानेलाई तपाईंको सुझाव के छ ?

अहिले प्रहरीले सचेतनामूलक पर्चा, पम्प्लेट बाँड्ने र माइकिङ गरेर सर्वसाधारणलाई सुरक्षित रहने विकल्पबारे अनुरोध गरिरहेको छ । चोरीको घटना अहिले हुनसक्छन् । किनभने, विभिन्न जिल्लाबाट आएका नागरिकहरु दशैंको समयमा बाहिर जान्छन् ।

दशैंमा गाउँ फर्किँदा घरमा ताला लगाएर जाँदै हुनुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा खबर गर्नुस् । त्यसो भयो भने प्रहरीले तपाईंको घरलाई नियमित निगरानीमा राख्नेछ ।

गाउँ फर्किंदा काठमाडौंका घर खाली हुन्छ, त्यही मौकालाई चोरले निशाना बनाउँछन् । त्यसैले सर्वसाधारणलाई के सुझाव दिन चाहन्छौं भने तपाईंले घरमा ताला लगाएर जाँदै हुनुहुन्छ भने नजिकको प्रहरी कार्यालयमा खबर गर्नुस् । त्यसो भयो भने प्रहरीले तपाईंको घरलाई नियमित निगरानीमा राख्नेछ । छिमेकीलाई पनि खबर गरिराख्नुस्, ताकी कुनै अप्रिय वा शंकास्पद गतिविधि भए, प्रहरीसम्म खबर पुगोस्, तपाईंलाई खबर होस् ।

काठमाडौंको स्थिति के छ भने छिमेकी एकअर्कालाई चिन्दैनन् । छिमेकीमा के भइरहेको छ, नजिकको छिमेकीले सरोकार राख्दैन । तर दशैंको बेलामा छिमेकीले एकअर्कालाई सहयोग गर्नुपर्छ । सबै सजग हुनुपर्छ र चोरीको घटना हुन नदिन लाग्नुपर्छ, किनकि यो सबैलाई आइपर्नसक्ने समस्या हो ।

हुन त हामीले चोरी, पाकेटमारीमा संलग्नहरुलाई नियन्त्रणमा लिने अभियानै चलाएका छौं । विगतका अभिलेखका आधारमा २ सय बढी पाकेटमार पक्राउ परिसकेका छन्, अझै केही निगरानीमा पनि छन् । तर सर्वसाधारण आफैं सचेत नभएसम्म यस्ता घटना शून्यमा झर्न सक्दैनन् ।

दशैंको मुखमा राम्रोसँग जिम्मेवारी निर्वाह नगरेको भनेर नागढुंगा प्रहरीको सेटै परिवर्तन भएको छ । आमनागरिकको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको प्रहरी आफैं पनि पटक-पटक विवादमा पनि मुछिन्छ । यस्तो अवस्थामा प्रहरी आमनागरिकको अपेक्षा अनुसारको सुरक्षा दिन सक्षम छ ?

शान्ति सुरक्षा कायम गराउने मुख्य जिम्मेवारी नेपाल प्रहरीको हो । यसमा प्रहरी संगठन सक्षम छ । यदाकदा प्रहरीमाथि प्रश्न उठ्ने खालका घटना नहुने होइनन् । तर प्रहरीको सक्रियता र जनताको प्रहरीप्रतिको विश्वास र सहकार्यले आपराधिक घटनामा पनि कमी आएका छन् ।

म सबै प्रहरी राम्रा छन् भनेर पनि भन्दिन । तर एक/दुई जनाको गल्तीले संगठनलाई नै आक्षेप लगाउनु पनि गलत हुन्छ । यदि अधिकारी व्यक्तिगत स्वार्थका लागि काम गर्छ भने ऊ कारबाहीको दायरामा आएको छ । आफ्नै कर्मचारीको निगरानीका लागि पनि प्रहरी प्रधान कार्यालयले विशेष टोली परिचालन गरेको हुन्छ । त्यसैले प्रहरीमाथि कसैले पनि शंका गर्नु हुँदैन ।

तपाईंहरुका सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरुको काम कारबाही न्यायसंगत हुँदैन वा छैनन् भने माथिल्लो निकायमा जानकारी दिनु तपाईंको दायित्व पनि हो ।

प्रहरी स्वच्छ हुनुपर्छ, प्रहरी इमान्दार हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैले हरेक प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयको निर्देशन के छ भने फिल्डमा खटिएका बेला नागरिकको सुरक्षाबाहेकका गतिविधिमा ध्यान नदिनुस् ।

ड्युटीबाहेकको समयमा मनोरञ्जनको काम गर्नुस् । तर यदि तपाईं कार्यक्षेत्रमा खटिनुहुन्छ भने समाजलार्ई भयरहित बनाउन कुनै कसर बाँकी नराख्नुस् । यदि ड्यूटीमा कुनै कमजोरी भए, क्षम्य हुँदैन भन्ने हाम्रो निर्देशन छ ।

तस्वीरहरुः चन्द्र आले-अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?