+
+
१०० वर्षअघिको बानेश्वर :

त्यो बेला बानेश्वरभरि पहेँलै तोरी फुल्थ्यो

६०–७० वर्षअघि दशैंअगाडि बानेश्वरभरि पहेलै तोरी फूलेको हुन्थ्यो । तोरीका बोटहरु तारामण्डल हल्लिइरहेका हुन्थे । हरेक घरमा तोरीको साग टिपेर सोह्र श्राद्धको मुख्य तयारी हुन्थ्यो । श्राद्धमा नयाँ सडक पुगेर पान किनेर ल्याउनुपर्थ्यो ।

श्रीहरि अर्याल श्रीहरि अर्याल
२०७८ असोज २६ गते २०:१०

काठमाडौं, वानेश्वरमा जन्मेका वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल हालसम्म बानेश्वरमै क्रियाशील छन् । एक शताब्दीअघिको बानेश्वरको तस्वीर चित्र खिच्ने किताब ‘बानेश्वर सेरोफेरो’ प्रकाशनको तयारीमा रहेका अर्यालको बानेश्वर वयान :

मैले ६५–६६ वर्षयता बानेश्वर नियाल्दै आएको छु । २०११/०१२ सालतिरको बानेश्वर धेरै बस्ती भएको ठूलो गाउँ जस्तो थियो । अहिले पनि धेरै बस्ती पहिलेकै नामले पुकारिन्छ । जस्तो– मगरगाउँ, गिरीगाउँ, बाहुनगाउँ, पराजुली गाउँ आदि । सार्कीगाउँ पनि छ, तर अहिले त्यो नाम भनिँदैन ।

अहिले निजामती अस्पताल रहेको ठाउँमा मीनशम्शेरको दरबार थियो । मीनभवन बनेपछि त्यस वरपरका बस्तीहरुलाई पनि मीनभवन भन्न थालियो । अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भएको ठाउँलाई त्यो बेला ब्यारेक भन्थे । त्यतिबेला अहिलेको बत्तीसपुतली–गौशालासम्मलाई नै बानेश्वर भनिन्थ्यो । वडा नम्बर १० र ३१ को पारीपट्टि अहिले पनि ‘पुरानो बानेश्वर’ लेखेको साइनबोर्ड भेटिन्छ ।

त्यतिबेला डिल्लीबजारबाट बानेश्वर आउने एउटा सडक थियो । बबरमहलबाट ब्यारेक आउने अर्को सडक थियो । १९९३/९४ सालतिर मीनशम्सेरका लागि अर्को दरबार बन्यो । त्योबेला अरु बाटोघाटो थिएन, जसको खेतको आलीबाट पनि मानिसहरु आउजाउन गर्न पाउँथे, रोकटोक थिएन । वस्तुभाउले बाली खाइदेलान् भनेर कतिपय ठाउँमा ठूलो आली बनाएर काँडाघारी उमारिएका हुन्थे ।

०२०/२१ सालतिर जगदिशशम्शेर राणाले बानेश्वर हाइटको बाटो बनाए । त्यहाँ उनले निकै जग्गा किनेछन् । तल एउटा घर रहेछ । आफ्नो जग्गामा जान बाटो चाहियो भनेर उनी त्यो घरपनि किनेर बाटो खुलाए ।

पहिला हात्तीगौंडामा राजा त्रिभुवनको हजुरिया कर्णेल बस्ने घर थियो । त्यो घरसम्म आउन हात्ती हिँड्ने बाटो थियो । अहिले एभरेष्ट होटल भएको ठाउँमा कर्णेल गणेशबहादुरको घर थियो । छक्कुबक्कु भगवती मन्दिरबाट त्यहाँसम्म मुश्किलले बग्गी जाने बाटो थियो ।

भीमसेनगोलामा श्यामबहादुर शाह (बहादुर शाहका सन्तान) बस्थे । श्यामबहादुर सायद बहादुर शाहका पनाती थिए । उनी भीम शम्सेर राणाको हजुरिया कर्णेल थिए । त्यहाँसम्म पनि बग्गी आउने बाटो थियो । त्यो बाहेक जनता जनार्दनका लागि आ–आफ्नो गोरेटो बाहेक कुनै बाटो थिए ।

०२६/२७ सालतिर भक्तपुर–माइतीघर सडक बन्यो । बागबजारको बसपार्कबाट दुई तिरबाट गाडी चल्न थाले । म त्यतिबेला जागिर खान थालेको थिएँ, बस चढ्न जाँदा कण्डक्टरहरुले ‘कुन बाटोबाट जाने, नयाँ कि पुरानो बानेश्वरबाट ?’ भनेर सोध्थे । त्यसरी भक्तपुर जाने मिनिबसका कण्डक्टरहरुले पुरानो र नयाँ बानेश्वर नामाकरण गरिदिएका हुन् ।

पुरानो बानेश्वर जाने बस डिल्लीबजार हुँदै र नयाँबानेश्वर जाने भन्यो भने माइतीघर हुँदै आउँथ्यो । यी दुई बानेश्वरले नपुगेपछि मानिसहरुले ‘मध्य बानेश्वर’ पनि लेख्न थाले । अनि त बुद्धनगर, शान्तिनगर, सुरुची गाउँ आदि अनेक नाम जन्मिए ।

०००

म २०१५ सालमा १० वर्षको थिएँ । धुले सडकमा एउटा जीप आउँथ्यो । त्यसमा गीत घन्काइएको हुन्थ्यो, ‘धानको बाला झुल्यो हजुर, देशै रमाइलो… ।’

हामी केटाकेटी बेपरवाह त्यो जीपको पछाडि कुद्थ्यौं, शरीर धुलैधुलो हुन्थ्यो । त्यतिबेला बानेश्वरबाट सूर्यप्रसाद उपाध्याय निर्वाचनमा उठेका थिए । उनी नेपाली कांग्रेसबाट उमेद्वार थिए । मेरा मामा कृष्णप्रसाद पराजुली लगायतहरुबीच कसलाई भोट दिने भनेर छलफल हुन्थ्यो । हामी पिँढीमा बसेर ती कुरा सुन्थ्यौं । को कांग्रेस, को कम्युनिष्ट ? केही भेउ पाउँदैनथ्यौं ।

 

त्यतिबेला राजनीतिक चेतना पटक्कै थिएन । हामीलाई जीपको धुलो र गीत नै रमाइलो थियो । गाउँलेहरु ‘हामी त किसान, धानको बालालाई नै भोट दिनुपर्छ’ भन्न थाले । को उठेको छ, कसैलाई थाहा थिएन । धानको बाला केआई सिंहको पार्टीको चुनाव चिह्न थियो । यस क्षेत्रबाट लोचन शम्शेर जबराले चुनाव जिते । धानको बालासँग जोडिएकाले चुनाव जितेपनि उनी को हुन्, धेरैले चिन्दैनथे ।

त्यो बेलामा राणाहरुको चाकडी गर्ने र तिनै सेरोफेरोका मानिसहरुले मात्र जागिर पाएका हुन्थे । बानेश्वर राणाहरुका आठपहरिया बस्ने ठाँउका रुपमा चर्चित थियो । त्यो भन्दा पहिले मगरहरु रहेछन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा उनीहरु काठमाडौं भित्रिएको हुनुपर्छ । १९८०/९० सालतिर काठमाडौंका कतिपय ठूलाबडाले मगरसँगै जग्गा किनेको कागजात भेटिन्छ ।

०००

२०२४ सालमा ‘गाउँ फर्क राष्ट्रिय अभियान’ शुरु भएपछि गाउँहरुमा एउटा लहर आएको थियो । गाउँमा हुने खानेले फाट्टफुट्ट साइकल किन्न थालेका थिए । हाम्रो घर (पुरानो शिवदर्शन हल भएको ठाउँ) निर डिलमा बाटो थियो । लडे तल खेत वा बारीमा परिन्थ्यो । ‘गाउँ फर्क राष्ट्रिय अभियान’ शुरु भएपछि गाउँलेहरुले कुटो कोदालो लिएर ‘श्री ५ महाराजधिराज कि, जय’ भन्दै साइकलसम्म गुड्ने बाटो बनाए ।

बानेश्वरका दुई जना प्रख्यात कम्पाउण्डर (त्यतिबेलाका डाक्टर) हरु जुद्धबहादुर थापा र भक्तबहादुर बस्नेतले त्यसपछि साइकल चढेर घरघरमा पुग्न थाले । त्यसअघि बानेश्वरमा झारफुक नै एकमात्रै उपचार पद्धति थियो । कसैलाई केही भए ‘लाग्यो’ भन्थे । नाग लाग्यो भन्थे, विफर आए शितलाको पूजा गर्थे ।

कम्पाउण्डरद्वय थापा र बस्नेतले खोप लगाइदिन थाले । मानिसहरु बिरामी हुँदा अस्पताल जाँदैनथे, तर कम्पाउण्डरकहाँ जान, उनीहरुलाई बोलाउन थाले । त्योबेला सुविधा केही थिएन, बिरामीलाई अस्पताल भन्दा घाट लैजान सजिलो थियो ।

शंखमूल फाँटमा बनेको पार्क र वारीपट्टिको घाट ।

मैले धेरै बुढापाकाहरुसँग सोधेको, १९९० सालभन्दा अघि बानेश्वर(अहिलेको ३१ नम्बर वडा रहेको ठाँउभरमा)मा चार वटामात्र झिँगटीका छाना भएका घर रहेछन् । पुरै बानेश्वरभर १०/१२ वटाभन्दा बढी घर थिएनन् । माथि उल्लेख भएका श्यामबहादुर शाहको झिगटीको घर थियो । अर्का कृष्णबहादुर गिरीको । उनको बानेश्वरमा यति जग्गा थियो कि भनिसाध्यै छैन ।

१९७५ अघि म्याट्रिक पास गर्ने जानकीदत्त लामिछाने र उनका दाजुभाइको पनि धेरै जग्गाजमिन थियो र घर पनि झिँगटीले छाएको । माधवप्रसाद कोइरालाको घर पनि झिँगटीले छाएको थियो । झिँगटीका घरवाला जानकीदत्त साइकल र अरु तीनजना घोँडा चढ्थे रे ।

त्योबेला सबै घर माटोको डल्लाको चाङ लगाएर बनाइएका हुन्थे । अलि हुनेले काँचो इटाको घर बनाउथे । दुईतले घर मुश्किलले भेटिन्थे । परालको छाना हुन्थे । दायाँबायाँ गोठ र भकारो हुन्थ्यो । भकारो वरपर हात्तीका कानजस्ता साग हुन्थे । अनेक खाले तरकारी हुन्थे । तरकारी किन्ने कल्पनासम्म हुदैनथ्यो ।

२०२०/२१ सालतिर जग्गा प्लटिङ गरेर बेच्ने काम पहिलो पटक बानेश्वर हाइटबाट शुरु भएको हो । एकजना व्यापारीले ११ सयको दरमा किनेको जग्गा प्लटिङ गरेर टंकप्रसाद आचार्य, कुलशेखर शर्मा र भेषबहादुर थापालाई प्रतिरोपनी ४ हजारमा बेचेका थिए ।

२०३० सालमा मैले विहे गरेपछि महाबौद्ध गएर एक बोरा चामल किनेको सम्झना छ । त्यतिबेला ट्याक्सी प्रचलनमा आइसकेको थियो, तर बानेश्वर आउन नमानेपछि भरिया लगाएर ल्याएको थिएँ । अरु सामान किन्न कि पाटनको मंगलबजार कि त असन/इन्द्रचोक पुग्नुपर्थ्यो । पुरानो बानेश्वर चोकमा पसलहरु भएपनि सबैथोक पाइन्थेन ।

त्यो बेलाका मानिसको आवश्यकता पनि धेरै थिएन । जुत्ता लगाउने चलन नै थिएन । दशैंमा बल्लतल्ल एकजोर नयाँ लुगा लगाउँथे । प्रायले लवेदा सुरुवाल लगाउथे ।

सुरुवालको घुडाको भाग छिट्टै फाट्थ्यो अनि पुरानो लवेदाको भित्री फेर काटेर घुडामा टालो हाल्थे । त्यसरी कपडा सिलाउन ठाउँठाउँमा दमाइ बसेका हुन्थे ।

कहिलेकाहीँ मासु खान मन लाग्दा धरहरा गए बुढी बाख्री पर्ला भन्ने हुन्थ्यो । त्यतिबेला हाम्रो छिमेकमा ‘ठूलो काले’ भन्ने हर्ताकर्ता थिए । उनले १५ दिन वा एक महिनामा खसी काट्थे अनि भाग लगाएर लिन बोलाउँथे ।

बानेश्वरमा धेरैले गाई पाल्थे । गाई चराउने ठाउ नागलडोल थियो । त्यो भनेको अहिलेको स्टाण्डर्ड चार्टर बैंक रहेको ठाउँ र त्यसमुनिको धाप हो ।

अहिलेको पानीट्यांकी क्षेत्रमा पुग्दो पानी थियो, अरुतिर दुःख नै थियो । महादेवस्थानको बाणगंगा वा थापागाउँको धारामा गएर पानी ओसार्नुपर्थ्यो । त्यो बेला बानेश्वर क्षेत्रमा २५–२६ वटा ढुंगेधारा पनि थिए, अहिले धेरै मासिए । कसैको जग्गामा पानीको मूल रहेछ भने ढुंगेधारासम्म लैजान दिए ‘धर्म हुन्छ’ भन्थे ।

त्यतिबेला जग्गाको खासै महत्व थिएन । २०२१ सालमा नापी आएपछि मानिसले जग्गाको महत्व बुझ्न थाले । २०२५/२६ सालमा बाटो खुल्न थालेपछि मानिसहरु बानेश्वरमा बस्न आउन थाले । ती मानिसले कहाँनिरबाट पानी आउँछ भनेर आफ्नो हित हेर्न थाले अनि इनार खन्न थाले । अनि ढुंगेधारा संकटमा परे ।

०००

२००७ सालमा प्रजातन्त्र आउनुअघि राणाको विश्वासपात्र र सेनामा काम गर्नेहरुका सन्तानले मात्र दरवार स्कूल पढ्न पाउथे । एसएलसी (म्याट्रिक) परीक्षा कलकत्ताबाट हुन्थ्यो । जनताका तर्फबाट पहिलो म्याट्रिक श्रीनिवास गिरीले कलकत्ताबाटै गरेका थिए ।

१९८० सालपछि एलएलसी दिन पटना जानुपर्ने भयो । राणाहरुले पढ्न तेजिला पण्डितका छोराहरुका साथ लगाएर आफ्ना छोराहरु पठाउन थाले । त्यसले गर्दा पण्डितका छोराले पनि औपचारिक शिक्षा पाउन थाले ।

१९८० सालभन्दा अघि म्याट्रिक गरेर आउनेलाई थानकोटमा बग्गी चढाएर, सिन्दुर जात्रा गर्दै श्री ३ महाराजका जुनाफमा दाम राख्न लगिन्थ्यो । पूर्वन्यायाधीश लिलाप्रसाद गिरी २००४ सालमा म्याट्रिक र भवानी शंकर राजवंशी दरवार स्कूलमा बोर्डफस्ट हुनुभएछ । उहाँहरुलाई पहिले बबरशम्सेरको दर्शन गराएछन् । ‘राम्रो गर्नु केटा हो’ भनेर पठाएछन् ।  त्यसपछि मोहनशम्शेरको दर्शन गर्न लगेछन् ।

साराले ‘श्री ३ महाराजकी, जय’ भनेर चिच्याए । त्यहाँ कुन विद्यार्थी कस्तो भनेर राणाहरुले बुझेका रहेछन् । जहिले बोर्ड फर्स्ट भएकालाई पुरस्कृत गर्ने रहेछन् । दाम राख्न चाँदीका डबल खल्तीमा राखेर गएका थिए ।

ती भवानी शंकरको पालो आएर ‘महाराज, यो फलानो’ भन्नासाथ मोहशम्शेर बम्केछन्, ‘बसन्तपुरमा हाम्रो विरुद्ध नारा लगाउन गएको तिमीहरु होइन ? थुनिनुपर्ला ।’

एकाएक सन्नाटा छायो । पूर्वन्यायाधीश गिरीले त्यो घटनालाई ‘नासिने बेलामा कमिलाको प्वाँख पलाएको’ भन्नुहुन्थ्यो । यिनीहरु व्यवस्था विरोधी हुन् भन्ने लाग्यो भने राणाहरु पढेकाहरुलाई पनि सोझै झम्टन्थे ।

२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि बानेश्वरमा विकास निर्माणका लागि समिति बन्यो । त्यतिबेलाको सरकार पनि अहिलेझैं अस्थिर थियो । नयाँ पुस्तामा पढे ठूलो मान्छे भइन्छ भन्ने लहर आएको थियो । पुरानाहरुलाई शिक्षाप्रति ध्यान थिएन । बाहुनको छोरा यताउता गरेर ज्यान पालिहाल्छ, छोरी विहे गरेर गइहाल्छे भन्ने सोच थियो ।

चेतनशील मानिसहरुले बानेश्वरमा स्कूल खोल्ने प्रयास गरे । औपचारिक शिक्षाका लागि २०१६ सालमा शिलान्यास भयो, २०१९ सालमा पहिलोपटक रत्नराज्य स्कूल खुल्यो । जानकीदत्त लामिछानेको नेतृत्वमा स्कूलको शिलान्याय भयो । स्कूलको नाम चाहिँ २०१९ सालमा मात्र रत्नराज्य राखियो । रानी रत्नले ८ हजार चन्दा दिएपछि श्री ५ रत्नराज्य लक्ष्मीदेवी विद्याश्रम मिडिल स्कूल नाम रह्यो ।

०००

६०–७० वर्षअघि दशैंअगाडि बानेश्वरभरि पहेलै तोरी फूलेको हुन्थ्यो । तोरीका बोटहरु, तारामण्डल (अहिले त्यसलाई सनफ्लावर भन्छन्) हल्लिइरहेका हुन्थे । हरेक घरमा तोरीको साग टिपेर सोह्र श्राद्धको मुख्य तयारी हुन्थ्यो । श्राद्धमा नयाँ सडक पुगेर पान किनेर ल्याउनुपर्थ्यो ।

मैले थाहा पाउँदा बानेश्वरमा मीनशम्शेरको गाडी थियो । गणेशबहादुर कर्णेलको पनि थियो रे, तर उनी म जन्मनुभन्दा अघि नै बितिसकेका थिए । चिफ कन्जरभेटर रामबहादुर थापाको मोटरसाइकल थियो रे । बानेश्वरको बाटोमा दिनमा एउटा/दुईटा गाडी देख्न पाउदा निकै रमाइलो हुन्थ्यो ।

अहिलेको मीनभवन क्याम्पसमा जेटीए तालिम केन्द्र पनि थियो । त्यहाँ २० नम्बरको गाडीबाट जानकीप्रसाद प्रधान भन्ने व्यक्ति आउँथे । बत्तीसपुतलीमा मुरारीशम्शेरको छोरा मोटरसाइकल चढ्थे ।

त्यो बेला साइकल नै दुर्लभ थियो । कोहीकोही साइकल चढेर चुरोट खान्थे । हाम्रातिरकाले तिनलाई गुण्डा भन्थे । गाउँमा पनि कसैले त्यसै गर्न थाल्यो भने ‘बाटोमा हिँड्ने गुण्डा आवारा जस्तो हुन थालेको’ भनेर गाली गर्थे ।

०००

बानेश्वरभरिमा १२ वटाजति दरवार शैलीका घर थिए । डिठ्ठामुनिको मानिसले झिँगटीको छाना हालेर घर बनाउन पाउँदैनथ्यो । जुद्धशम्शेर कान्छी श्रीमतीसँग बस्थे । हात्ती, घोँडा चढेर हिँड्थे ।

मदनमानसिंह बस्न्यात, बानेश्वरका कतिपय ठाउँमा अहिलेजस्तो बाटो थिएन । सम्पन्न व्यक्तिहरु घोडा चढेर हिँड्थे ।

एकपटक उनी थापागाउँको बाटो हिँड्दै रहेछन् । चिल्लो टायल हालेको घर देखेर ‘यो कसको घर, बोला त्यसलाई’ भनेर हुकुम भएछ । भोलिपल्टै घरवालाको उ कोरीखाना (कुष्ठरोगी राख्ने ठाउँ) को जागिर गयो । राणाको आठपहरियाको घरमा झिँगटीको छाना थिए । तिनीहरु पनि ‘आँखा पर्ला’ भनेर डराउँथे ।

२०११ सालमा सुब्बा होमप्रसाद बास्कोटाले बानेश्वरमा सिमेन्ट ढलान गरेको घर बनाए । त्यो नै बानेश्वरको पहिलो आधुनिक घर मानिन्छ । त्यो घर महादेवस्थानभन्दा माथि थियो र त्यसमा अख्तियारको अफिस पनि भाडामा बसेको थियो । त्यो बेला एक लाख रुपैयाँमा बनेको थियो रे त्यो घर ।

त्यो बेला ढलानयुक्त घर किन बन्न सम्भव भएन भने ९–१० सालमा बल्ल त्रिभुवन राजपथको ट्रयाक खोल्न थालिएको थियो । त्यो बाटोबाट बल्ल सिमेन्ट आउन थाल्यो । सुब्बा होमप्रसादको त्यो घर अहिले भत्किसकेको छ । अहिले बानेश्वरमा पुरानो दरवार शैलीको घर त्यही मीनभवन क्याम्पस मात्र हो ।

त्यतिबेला पैसा हुँदैनथ्यो, त्यसैले अर्मपर्मको माध्यमबाट श्रम आदानप्रदान गरिन्थ्यो । एकले अर्कोलाई सहयोग नगरे बाँच्न गाह्रो हुन्थ्यो । मकल बोकेर आगो लिन जाने चलन थियो । अक्कलझुक्कल बाहेक बानेश्वरमा कसैले भैंसी पालेनन् । गाई पाल्थे, तर दूध बेच्दैनथे । घरमा फलेको फलफूल बेचे पाप लाग्ने मान्यता थियो । कुनैपनि घरमा पर्खाल थिएन ।

०००

बानेश्वरमा बोगटीगाउँ थियो, जुन अहिले एभरेष्ट होटल पछाडि टेनिस कोर्टनिर पर्छ । १९०३ सालमा कोत पर्व हुँदा त्यहाँका बोगटीहरुका पुर्खा शरदार रहेछन् । उनीहरु काटिएछन् । परिवारका सदस्यहरु सामाजिक बहिस्कारमा परे ।

त्योबेला सरकारले काटेका मान्छेका परिवारलाई टोल, छिमेक कसैले सहयोग गर्ने कुरा भएन । कुनै तरहले बानेश्वरको निलकाँडा र नर्कटघारीमा आएर बसेछन् । स्यालको बिगबिगी थियो, साँझ परेपछि घरबाट बाहिर निस्कने कुरै थिएन ।

राणाकालभर पनि बोगटीहरुले जागिर खान पाएनन् । काटिएकाहरुको सन्तान भनेर राज्यबाट अवहेलनामा परे । पछि गणेशबहादुर कर्णेल भएपछि बल्ल एक/दुई जनाले पुलिसमा जागिर खाएछन् । शरदारका सन्तानहरु आर्थिक रुपमा तन्नम भएर लामो समय पीडा भोग्नुपरेको रहेछ । एभरेष्ट होटलले बोगटीगाउँ लिइदिएपछि उनीहरु अहिले अलि तल बस्छन् ।

बानेश्वरमा मगरगाउँ पनि छ । सिंहदरवार बनाउने क्रममा पनि उनीहरु बानेश्वर आएर बसेको अनुमान छ । त्योबेला जग्गाको कुनै मूल्य थिएन, जो जहाँ आएर बसे पनि हुन्थ्यो । उनीहरुको एकमुष्ट बस्ती हुन थालेपछि त्यो ठाउँलाई मगरगाउँ भन्न थाले । तर अहिले त्यहाँ २/३ घर मात्र मगर छन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भएको ठाउँमा १९८४/८५ सालमा बनेको ब्यारेक थियो । ब्यारेक बन्नुअघि त्यो जग्गामा ठकुरीहरुको भोगचलन रहेछ । उनीहरुका जिजुबाजेहरु खसी बेच्न काभ्रेबाट काठमाडौं आउने रहेछन् ।

कोतपर्वको केही वर्षपछिको कुरा हुनुपर्छ, कसैले पनि उनीहरुको खसी किनेनछन् । उनीहरु खसीहरुको साथमा अहिलेको सम्मेलन केन्द्र भएको ठाउँमा बस्न थालेछन् ।

विस्तारै उनीहरुले त्यो जग्गा कसको रहेछ भनेर सोधीखोजी गरेछन् । एकजनाले ‘सरकार बक्साउनु, यो जग्गा तेरो हुन्छ’ भनिदिएछ । खासमा त्यो जग्गाअघि कोतपर्वमा काटिएका बोगटीहरुको रहेछ । पछि त्यसमा सरकार लागेको रहेछ ।

खसी व्यापारीहरु त्यहीँ बस्न थाले । पछि राणाहरुले व्यारेक बनाउँदा उनीहरुलाई लखेटे । त्यो बेलामा राणाहरुले ‘मलाई यो जग्गा चाहियो’ भनेपछि कुनै उपचार थिएन । उनीहरु लाखापाखा लागे ।

०००

२००५ सालमा बानेश्वरलाई विमानस्थल बनाउनुपर्छ भनेर छलफल हुन थालेछ । एकथरीले विमान उडेपछि फन्को लगाउने क्रममा पशुपति मन्दिर नाघिन्छ र त्यसले अनर्थ हुन्छ भनेर विरोध गर्न थाले । अनि विकल्पको रुपमा गौचरणमा विमानस्थल बनाइएको रहेछ ।

दिल्ली घुमेर आएका राजा महेन्द्रले त्यहाँको चाणक्यपुरी जस्तै आवास क्षेत्र बनाउने योजना बनाएछन् । परिणाम, सम्पूर्ण बानेश्वरको जग्गा रोक्का भयो । कहाँ जाने, कसलाई भन्ने, कसरी विरोध गर्ने ? कोही बोल्न सकेनन् ।

जग्गा रोक्का गरेपनि सरकारसँग बजेट थिएन, योजना अलपत्र पर्‍यो । वीरेन्द्रको पालामा २०३२ सालमा जग्गा फुकुवा भयो । त्यसपछि यहाँको जग्गाको मूल्य बढ्न थाल्यो । भक्तपुरको बाटो भनेपछि झनै भाउ माथि पुग्यो । अब फेरि बाटो विकासको अर्को पाटो शुरु भयो ।

२०२०/२१ सालतिर जग्गा प्लटिङ गरेर बेच्ने काम पहिलो पटक बानेश्वर हाइटबाट शुरु भएको हो । जगदिश शम्सेरले ११ सयको दरमा किनेको जग्गा प्लटिङ गरेर टंकप्रसाद आचार्य, कुलशेखर शर्मा र भेषबहादुर थापालाई प्रति रोपनी ४ हजारमा बेचेका थिए ।

२५–२६ सालमा सडक बनेपछि बानेश्वरमा जग्गाको कारोवार छ्यापछ्याप्ती हुन थाल्यो । सबै जग्गा किन्ने, बाटो रोक्का गर्ने, मिलाउने, गोरेटो फराकिलो बनाएर बेच्ने गर्न थाले । बानेश्वरमा अहिले भएजतिका बाटोका रेखांकन कुनैपनि सरकारी योजना अनुसार भएको होइन ।

शंखमुलदेखि पुरानो बानेश्वर चोकसम्मको बाटो मात्र योजनाअनुसार बनेको हो । राणाकालमा सिंहदरबारदेखि मीनभवनसम्म त्यसरी नै बाटो बनेको हो । बाँकी भागमा सरकारी योजना अनुसार कुनैपनि बाटो बनेन । बाटो बढाए जग्गाको भाउ बढ्छ भन्ने भएपछि मानिसहरुले आली फराकिलो बनाएर जग्गा बेच्न थाले ।

पाटन क्याम्पस पढ्दा बाहुनको छोरालाई सुँगुरले छोला भन्ने डर थियो । त्यहाँ विहानै मानिसहरु कपडा ओढेर दीर्घशौचमा हुन्थे । ‘तिमीहरुको अंग हेरेर पढ्न आउनुपर्ने ?’ भनी विरोध गर्दा पाटनवासी हामीमाथि नै आइलागे ।

उनीहरु सुगुर हटाउन पनि मानेनन् । विहान उनीहरुले गरेको फोहोर सबै सुगुरले सफा गर्दो रहेछ । दिउँसो त्यही ठाउँमा धान सुकाउँदा रहेछन् । अहिले तराईका कतिपय जिल्लामा यस्तै समस्या छ ।

बानेश्वरमा हामी जावलाखेलको चिडियाखानामा बाघ कराएका सुन्थ्यौं । घण्टाघरको घण्टी सुनिने कुरा त मामुली थियो । राति बस्दा उज्यालोका लागि मट्टितेल खर्च हुन्थ्यो । त्यसैले सम्साँझै खाना खाएर घुप्लुक्कै सुत्नमा जोड दिइन्थ्यो ।

पुरानो बानेश्वरको पिपलबोट ।

केटाकेटीलाई दशैंमा सबभन्दा रमाइलो हुन्थ्यो । इन्द्रजात्रापछि दशैंको माहोल बन्थ्यो । त्योबेला मासु खाने भनेको निकै दुर्लभ कुरा हुन्थ्यो । दशैंमा चाहिँ जतिसुकै गरिबले पनि छोराछोरीलाई पेटभर मासु खुवाउनुपर्छ भन्ने मान्यता थियो ।

श्राद्धका लागि र जमरा राख्ने बाहेक अरु कामका लागि खोलाबाट बालुका झिकिदैनथ्यो । ठूलाबडाको घरमा बाहुनले जमरा राख्थे । ब्रत बस्ने, चंगा उडाउने चलन निकै थियो । कोजाग्रत पूर्णिमापछि चंगा उडाउन हुदैन भनिन्थ्यो ।

मैले २०२० सालमा प्रवेशिका पास गरेपछि दशैंमा पहिलो पटक प्यान्ट छालाको जुत्ता लगाउन पाएको थिएँ । हामी खालीखुट्टा नै स्कूल जान्थ्यौं ।

त्योबेला जग्गाजमिन प्रशस्तै थियो, तर खान पुर्‍याउनुपर्ने भएकोले अन्न बेच्न मिलेन । त्यसरी पैसाको अभाव थियो । सरकारी जागिरेहरु समेत एकजोर खद्दरका लुगा हाल्न दशैंको पेश्की कुर्थे । लुगा सिलाउने दर्जीले पैसा होइन, बालीघरे प्रथा अनुसार अन्न पाउँथे ।

कयौंलाई दशैंका बेलामा दक्षिणा दिन पनि गाह्रो हुन्थ्यो । दशैंमा केटाकेटीलाई रमाइलो हुन्थ्यो, तर अविभावकलाई कति गाह्रो हुन्थ्यो, अहिले मात्र महशुस हुन्छ । त्यतिबेला सेनामा काम गर्नेका लागि तलब होइन, जग्गा थियो । त्यसलाई खान्गीको जग्गा भनिन्थ्यो । त्यो जग्गाबाट कमाएर व्यवस्थापन गर्न कम्ती दुःख थिएन ।

डिल्लीबजारमा बस्नेहरु हामीलाई ‘काँठे, बानेश्ह्वरे’ भन्थे । हामी कोटेश्वरवासीलाई त्यसै भन्थ्यौं । कोटेश्वरमा भैंसी नपाल्ने र दूध नबेच्ने मान्छे हुदैनथे । उनीहरु दूध बेच्न सहर आउँथे । बाग्मतीमा पुल नभएकोले बाढी आएको बेला तर्न सक्दैनथे ।

अरुबेलामा कतिपयले दूधमा बाग्मतीको जल मिसाएर आउँथे र यता बेच्थे । अनि हामीले जिस्क्याएर ‘यस्तो पनि गर्ने हो ?’ भनेर सोध्थ्यौं । उनीहरुले, ‘बाबु के गर्ने, शहरमा बस्नेलाई के थाहा, बाग्मतीको जल खान दिएर पाप त लाग्दैन नि’ भनेर जवाफ दिन्थे । मान्छेहरुले पहाडको दुख सुनाउँथे । तर, मलाई लाग्छ, काठमाडौं भन्नु मात्र थियो, यहा पनि दुःखको कुनै कमी थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?