+
+
ब्लग :

कसैको लागि दशा नबनोस् दशैं

सरस्वती सुवेदी सरस्वती सुवेदी
२०७८ असोज २७ गते १०:५१

वर्षा ऋतुको अन्त्य र शरद ऋतुको सुरुवातसँगै चिसो मौसमको सुरूवात हुन्छ । बिहानबिहानै टिलिक्क परेको घाम उदाउन सुरु भएसँगै दशैंको मौसम सुरु हुन्छ । त्यसमाथि टिभी र रेडियोमा मालसी धुन गुञ्जिन थाल्छ । विभिन्न परिस्थिति तथा बाध्यताले स्वदेश तथा विदेशमा टाढिनुपरेका आफन्तजनहरूको आगमनले दशैं पर्वको रौनकतामा सुखानुभुति थपिदिन्छ ।

दशैं पर्वको सुरुवात घटस्थापनाको दिन जमरा राख्ने दिनदेखि सुरु भई सातौँ दिन फूलपाती भित्र्याई कालरात्री नवमी गरी दशौँ दिनलाई असत्यमाथि सत्यको विजय उत्सवको रूपमा मनाउने गरिन्छ । विजयको प्रतिक, असत्यमाथि सत्यको विजय, अँध्यारोबाट उज्यालोतिरको यात्रा जस्ता उपमाले यस पर्वलाई अझ बढी ओजिलो बनाउँदछ ।

दशैंमा अक्सर आफूभन्दा ठुला मान्यजनबाट टिका लगाएर आर्शिवाद लिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्न सिकाउँदछ भने उहाँहरूले दिने आर्शिवादले हाम्रो जीवनलाई मार्गदर्शन गर्न जीवनपयोगी बाटोतर्फ डोर्‍याउन मद्दत गर्ने विश्वास गरिन्छ । यसले सानालाई माया तथा आफूभन्दा ठूलालाई सम्मान गर्ने संस्कारलाई अगाडि बढाउन प्रेरित गरेको पाइन्छ ।

अहिलेको व्यस्त जीवनमा चाडपर्वहरू मानिसको भेटघाट गराउने माध्यमको रूपमा बढी प्रकट हुन थालेका छन् । यो नेपालमै भएर पनि एक वर्षसम्म भेट हुन नसकेका तथा विदेशमा रहेर वर्षौं भेट हुन नपाएका आफन्त, इष्टमित्र तथा साथीभाइसँग भेट गराई सम्बन्धलाई पुनर्ताजगी गराउने माध्यम बनेको छ दशैं ।

समाज आडम्बरी र खोक्रो बन्दै गइरहेको छ । इष्टमित्रमा समेत धनी र गरिबबीच रहेको असमानताका कारण आफन्तबीचमा समेत दूरी बढ्दै गइरहेको देखिन्छ ।

यस पर्वको समयमा देशको अर्थतन्त्रमा पनि निकै ठुलो हलचल आउँछ । त्यसैले होला, नेपाल राष्ट्र बैङ्कले पनि यही समयलाई लक्षित गरेर करोडौँ रूपैयाँ बजारमा निष्काशन गर्दछ । दान दक्षिण, खानेकुरा तथा लत्ताकपडा किन्ने नाममा नै बजारमा यो रूपैयाँ चलायमान हुन्छ । यहाँ चर्चा गर्न खोजिएको विषयवस्तु भने दशैंमा दिइने दक्षिणाको विषयवस्तुसँग सम्बन्धित छ ।

नेपालमा हिन्दु परम्परा अनुसार कुनै पनि पुजाआजा तथा पर्वहरूमा विषेशत छोरी तथा छोरीमार्फत् जोडिने सम्बन्धका आफन्त इष्टमित्र तथा दशैं जस्ता चाडपर्वहरूमा मान्यजनहरूलाई माया अथवा सम्मानका रूपमा दक्षिणास्वरूप आफ्नो गक्षअनुसार दानदक्षिणा र आशिर्वाद दिने चलन रहेको छ । तर अहिले इज्जत राख्ने नाममा यस्ता पर्वहरू भड्किला बन्दै गइरहेकाले दशैं जस्ता चाडपर्वहरू दशाका रूपमा अगाडि बढेको पाइन्छ ।

हाम्रो देशको राजनीति मात्र होइन, धर्म परम्परा रीतिरिवाज सबै पितृसत्ता–उन्मुख छन्, जसको फलस्वरूप नै विवाह पश्चात् केटीको विवाह पश्चात् ऊ केटाको घरमा जानुपर्ने हुन्छ । यसैको फलस्वरूप आफ्नी छोरी चेलीलाई पालनपोषण होस् भन्ने हेतुले छोरीतर्फका परिवारलाई खुसी पार्ने नाममा दक्षिणाको सुरुवात भएको हुनुपर्छ जुन समयमा छोरीहरू अंशका हकदार थिएनन् । त्यसैले होला छोरीको घरमा गएर बस्नु, खानु हुँदैन, भारा लाग्छ भन्ने चलन नै छ ।

दक्षिणाको विषय यहाँ आइरहँदा लेखिका स्वयम्ले देखेको एउटा परिदृश्य यहाँ उजागर गर्न चाहन्छु । पाँच दिदीबहिनी र बाबा आमाको एउटा परिवार थियो, जसमा सबै छोरीहरूको विवाह पश्चात् पनि ती बाबु आमाले आफ्नो जीवन निर्वाह गरिरहनु भएकै थियो । तर उहाँहरूको बुढेशकाल लागिसकेपछि घरपरिवारको सल्लाहमा एउटी छोरीकोमा गई बस्ने निर्णय पश्चात् उहाँहरू आफ्नो थातथलो छोडेर छोरीकोमा बस्न जानु भयो । छोरीको घरमा उहाँहरूको जीवन राम्रै चलिरहेको थियो ।

हाम्रो नेपाली परम्परा अनुसार आफ्नी छोरीका घर पक्षका जेठानी, देउरानी छोरी समान छोरीहरू भए भने ज्वाइका दाजुभाइ ज्वाइ समान ज्वाइ तथा नाति नातिनासहित इष्टमित्रमा परिणत भए । यस्तैमा हाम्रा दशैं जस्ता चाडपर्वहरू मनाउने क्रममा पहिलेदेखि आमाबाबाको रूपमा सम्मान गर्दै आइरहेका र आफूभन्दा ठुलाबडाबाट टिका तथा आशिर्वाद ग्रहण गर्ने चाडपर्वमा दक्षिणा दिनैपर्ने परम्पराले उहाँहरूलाई बढी आर्थिक भार पार्‍यो ।

उहाँहरूले दक्षिणा दिनुपर्ने जनसंख्या अझ बढेर गयो । यसको फलस्वरूप उहाँहरूसँग रहेको रकम सकियो । टिकाको २÷३ दिनपछि अस्ति दिन पाइन भन्दै दक्षिणाको जोहो गरिदिनुपर्ने बाध्यता हाम्रो समाजले निर्माण गर्‍यो ।

दशैंमा आफूभन्दा सानालाई मात्र नभई मान्यजनहरूलाई पनि दक्षिणा दिनुपर्ने चलन छ । यसले एउटै घरका दाजुभाइमा पनि सम्पत्तिका दृष्टिकोणले असमानता बढ्दै जाँदो रहेछ । दाजुको परिवार सम्पन्न हुँदा बुहारीले जेठाजुलाई दिने दक्षिणामा कमि भई इज्जतमा धक्का पर्ला कि भन्ने पिर हुने अवस्था सिर्जना हुने रहेछ । भाइको परिवार सम्पन्न हुँदा भाउजुले देवरलाई दिने आशिर्वाद भन्दा मिष्ठान्न भोजन गराएर देवरको इज्जत राख्न सकूँला नसकुँला भन्ने पिर रहेको देखिन्छ ।

विवाहित तथा अविवाहित छोरीहरूलाई दक्षिणा दिइने तर छोराहरूले दक्षिणा लिन हुँदैन भन्ने चलन छ । छोरा मात्र सन्तान भएका घरकाले आफ्नो घरमा आउने होइन, जाने मात्र हो भन्दै नाक खुम्चाउँदै दिएको दक्षिणा छोरीमात्र भएका घरमा जाँदा कस्तो नमज्जा होला ।

सुन्दा सामान्य लाग्ने यस्ता कुराहरूले हाम्रो समाज दिनानुदिन आडम्बरी र खोक्रो बन्दै गइरहेको छ । नेपालजस्तो देशमा धनी र गरिबको अन्तर धेरै नै रहिरहेको र अझ बढ्दै गइरहेको अवस्थामा इष्टमित्रमा समेत धनी र गरिबबीच रहेको असमानता कारण आफन्त बीचमा समेत दूरी बढ्दै गइरहेको देखिन्छ ।

हामी अब छोराछोरी समान हुन्, उनीहरू दुवैलाई वंश र अंश दुवैको अधिकार हुन्छ भन्ने कानूनी युगमा आइपुगेका छौँ । हामीले समान तबरले हुर्काइरहेका सन्तानलाई यस्ता पर्वहरूमा छोरा वा छोरीका नाममा दुईथरी व्यवहार हुँदा उनीहरूको मानसपटलमा कस्तो असर पर्ला ? के यस्तै व्यवहारले हामीले हाम्रा साना नानीबाबुहरूको मानसपटलमा समानताको भावना जगाउन सकौँला त । त्यतातिर पनि हाम्रो ध्यान जानु पर्ला की ?

हामीले हाम्रा नानीबाबुलाई दशैं भनेको नयाँ पैसाको चाडपर्व हो भनेर सिकाउनु हुँदैन । यसको सट्टा हाम्रो संस्कृतिसँग राम्रोसँग घुलमिल हुन सिकाउनुपर्छ । यो संस्कृति कुन समयमा कसरी निर्माण भए ? सो समय परिस्थिति कस्तो थियो ? ती संस्कृतिलाई अहिलेको वैज्ञानिकतासँग कसरी जोड्न सकिन्छ र जोडिनु पर्छ ? भन्ने कुरातर्फ ध्यान पुर्‍याउन सकेमा हाम्रा चाडपर्व कम भड्किला र खुशी साट्ने समय बढी बन्न सक्छ ।

त्यस्तैगरी नेपाल राष्ट्र बैङ्कले पनि चाडपर्वमा नयाँ नोटहरू प्रयोग भई छिटो फाट्ने र देशलाई करोडौँ रूपयाँको घाटा लागेको कुरा जनाइरहेको हुन्छ । दशैंको सम्मुखमा मिती नै तोकेर दशैंका लागि नयाँ नोटको वितरण गरी दशैंलाई दशा बनाउने दोहोरो भूमिका निर्वाह गर्नुहुँदैन । यस्ता चाडपर्वमा समेत समानताले ठाउँ पाउनुपर्छ ।

रातो टिका र जमराको साथमा हर्ष उल्लास बाँढ्न मिल्ने चाडपर्व बन्नुपर्छ । यही कामनासहित सम्पूर्णमा विजया दशमीले सबैको घरमा खुशी बढाउन सकोस् भन्ने शुभकामना !

(सुवेदी अधिवक्ता हुन् ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?