+
+

भारतमा नेपाली सम्पदा : बिर्सियो काठमाडौंले

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ असोज ३१ गते १९:२४

आर्थिक हिनामिनाको विषयलाई लिएर वि. सं. १८६३ वैशाख १४ गतेको राति भारदारी सभा बसिरहेको बेला आवेगमा आएका रणबहादुर शाहले त्रिभुवन खवासलाई काट्न र आफ्नै भाइ शेरबहादुर शाहको आँखा फोर्न आदेश दिए । तर, आँखा झिमिक्क गर्न नपाउँदै शेरबहादुरले दाजु रणबहादुरकै हत्या गरिदिए । रणबहादुर शाहको हत्याको विषयमा नेपाली इतिहासकारहरुको आ-आफ्नै मत पनि छ ।

निकै सनकी स्वभावका रणबहादुर शाह राजगद्दी त्यागेर ‘निर्गुणानन्द’ स्वामीको रुपमा काशी (वनारस) बसेर १८६१ सालमा काठमाडौं आइ नाबालक छोरा राजा गीर्वाणयुद्व विक्रम शाहको नायब भई राजकाजमा सक्रिय थिए । भेषनारायण दाहालको आलेख ‘साम्राज्येश्वर महादेव मन्दिर र धर्मशालाको जीर्णोद्दार तथा व्यवस्थापनको एक झलक’ अनुसार रणबहादुर शाह काशीको ललिताघाट बस्थे ।

रणबहादुर शाहपछि उनका नाति राजा राजेन्द्र विक्रम शाहको पालामा ललिताघाटसहित तीन ठाउँमा सम्पदा बने । जसमध्ये अहिले दुईवटा सम्पदाको व्यवस्थापन नेपालीले गरेका छन् भने एउटा भारतीयको व्यवस्थापनमा छ ।

राणा शासनकाल र त्यसपछि पनि वनारसमा नेपाली मन्दिर र धर्मशालाहरु खुले । २०१६ सालमा रानी जगदम्बा कुमारी देवीले २ ठाउँमा धर्मशाला स्थापना गरिन्, एउटा वनारसको मंगलागौरीमा र अर्को तमिलनाडूको रामेश्वरम्मा । जसमध्ये दुवै धर्मशाला अहिलेसम्म सञ्चालनमा छन् ।

बनारसका नेपालीहरु सम्मिलित समिति सञ्चालक रहेको यो धर्मशालामा नेपाली तीर्थयात्रीहरुलाई न्यूनतम मूल्यमा बास र खानाको सुविधा छ । श्री ३ चन्द्र शमशेर राणाका कान्छा छोरा जनरल मदन शमशेरका विधवा थिइन्, जगदम्बा।

राजेन्द्र विक्रम शाहको पालामा ललिताघाट र राजराजेश्वरी घाटको निर्माण गरियो । त्यस्तै, उनकी रानी साम्राज्यलक्ष्मीदेवीको नाममा साम्राज्येश्वरी मन्दिर बनाइयो, जसलाई पछि ‘काशीको नेपाली मन्दिर’, ‘पशुपति मन्दिर’ नामले पनि चिन्न थालियो । अहिले ललिताघाट र साम्राज्येश्वरी मन्दिर नेपालको पुरातत्व विभागको प्रत्यक्ष व्यवस्थापनमा सञ्चालित छ ।

लगत संकलन भयो, संरक्षण भएन

पुरातत्व विभागको महानिर्देशक रहँदा भेषनारायण दाहालले २०६९/०७० सालमा नेपाली सम्पदाहरुको लगत तयार पार्न दुईवटा टोली भारत पठाएका थिए । विभागका अधिकृत सन्दिप खनाल नेतृत्वको टोली उत्तरी भारतको हरिद्वार, ऋषिकेश, बद्रीनाथ र केदारनाथ गएको थियो । अर्का अधिकृत अरुणा नकर्मी नेतृत्वको टोली पूर्वोत्तर भारतको आसाम र दक्षिणतर्फ उडिसा, तमिलनाडू र रामेश्वरम् गएको थियो ।

अध्ययन टोलीले भारतमा रहेका आधा दर्जन प्रख्यात नेपाली सम्पदा जोखिमयुक्त अवस्थामा रहेको प्रतिवेदन पुरातत्व विभागमा बुझाएको थियो । त्यसको केही समयमै पुरातत्व विभागको नेतृत्व परिवर्तन भयो । पछि पुरानो नेतृत्वले संकलन गरेको लगत उपर कुनै कारबाही भएन, त्यो अहिले पुरातत्व विभागको दराजमा थन्किएर बसेको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार काशीको साम्राज्येश्वर मन्दिर र ललिताघाटको संरक्षणको लागि विभागले यो आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको छ ।

निकै सनकी स्वभावका रणबहादुर शाह राजगद्दी त्यागेर ‘निर्गुणानन्द’ स्वामीको रुपमा काशी (वनारस) बसेर १८६१ सालमा काठमाडौं आइ नाबालक छोरा राजा गीर्वाणयुद्व विक्रम शाहको नायब भई राजकाजमा सक्रिय थिए । भेषनारायण दाहालको आलेख ‘साम्राज्येश्वर महादेव मन्दिर र धर्मशालाको जीर्णोद्दार तथा व्यवस्थापनको एक झलक’ अनुसार रणबहादुर शाह काशीको ललिताघाट बस्थे ।

भारतमा रहेका नेपाली सम्पदाको खोजी एवं संरक्षणको लागि अभियान चलाउने अभियान्ता एवं पत्रकार कनकमणि दीक्षित भारतमा रहेका नेपाली धरोहरको संरक्षणमा नेपाल सरकारले चासो दिनुपर्ने धारणा राख्छन् । दीपकुमार उपाध्याय भारतका लागि नेपाली राजदूत हुँदा यस्ता सम्पदाहरुको खोजी गरी संरक्षण अभियान चलाउन आग्रह गरिएको दीक्षितले अनलाइनखबरलाई जानकारी दिए ।

त्यतिबेला राजदूतावास यो प्रस्तावमा सकारात्मक भए पनि पछि राजदूत परिवर्तन भएर काम त्यसै अलपत्र भएको दीक्षित बताउँछन् । यसको लागि नेपाल सरकार नै तात्नुपर्ने उनको भनाइ छ ।

पूरै बेवास्तामा दक्षिण भारतका नेपाली सम्पदा

सन् १९०८ मा बेलायत यात्रा गरेका राणा प्रधानमन्त्री चन्द्र शमशेरले फर्कँदा रामेश्वरममा क्षमापूजा (पतिया) गरेका थिए । साथै, त्यहाँ मन्दिर बनाउनको लागि उनकै पालामा गुठीको समेत व्यवस्था गरिएको थियो । त्यहीँ जगदम्बा कुमारी देवीले २०१६ मा धर्मशाला निर्माण गरेर अभिलेख समेत राखेकी थिइन् । जसमा लेखिएको छ ‘श्री जगदम्बा नेपाली धर्मशाला, श्रीमती रानी जगदम्बा कुमारी देवीबाट नेपाली यात्रुलाई उपहार । स्थापित २०१६ शिवरात्रि ।’ अहिले त्यो धर्मशाला पनि बेवास्ताको शिकार भएको छ ।

पुरातत्वबाट खटिएको टोली प्रमुख नकर्मी रामेश्वरम्मा नेपाली सम्पदा अव्यवस्थित भेटिएको बताउँछिन् । उनका अनुसार, रामेश्वरम्को सम्पदाका लागि गुठी संस्थानबाट मासिक ५०० रुपैयाँ नगद पठाउने परम्परा थियो, तर त्यहाँका पण्डाहरु ‘त्यो कौडी’ लिन आउन छाडेको धेरै भइसक्यो । यसले गर्दा रामेश्वरम्को ठूलो क्षेत्रमा रहेको नेपाली धर्मशालाको व्यवस्थापन (स्वामित्व) नेपालको हातबाट बाहिरिने जोखिम बढेको नकर्मी बताउँछिन् ।

ओडिसा प्रान्तको पुरी जिल्लामा रहेको जगन्नाथ धाममा एउटा नेपाली धर्मशाला छ । त्यो दक्षिणी भारतमा रहेका नेपाली धर्मशालामध्ये सबभन्दा व्यवस्थित रहेको नकर्मी बताउँछिन् । त्यहाँ पनि नेपालबाट सहयोग जान बन्द भइसकेको छ । तर नेपालबाट जाने तीर्थयात्रीलाई अहिले पनि धर्मशालामा निःशुल्क खान बस्नको व्यवस्था गरिन्छ ।

मेटिएका सम्पदा

आसामको कामरुपमा रहेको कामाख्या मन्दिर छेउमा निर्मित नेपाली धर्मशाला अहिले भग्न अवस्थामा छ । धर्मशालासँगै नेपाली शैलीका दलिनयुक्त घरहरु छन् । नकर्मीका अनुसार त्यहाँ पुरातत्व विभागको टोलीसँग धेरैले आफूलाई मूलपण्डा दाबी गरेपछि त्यहाँको मुख्य व्यक्ति पहिचान हुन नसकेको नकर्मी बताउँछिन् ।

‘पण्डाहरु आफूलाई लालमोहरीया त भन्छन्’, नकर्मी भन्छिन्, ‘तर, आफ्ना पूर्वजले नेपालका कुन शासकको पालामा लालमोहर पाएको भनेर बताउन सक्तैनन् ।’
जगन्नाथ धामबाट ६३ किलोमिटर उत्तरमा रहेको ओडिसाको भुवनेश्वरमा रहेको नेपाली धर्मशालाको अस्तित्व नामेट भइसकेको छ । त्यहाँ नेपाली धर्मशाला थियो भन्ने कुरा स्थानीयले बताएको नकर्मीले जानकारी दिइन् ।

भुवनेश्वर ओडिसाको प्राचीन राजधानी हो र त्यही क्षेत्रमा रहेको प्रशिद्ध लिंगराज मन्दिर क्षेत्रमा नेपाली धर्मशाला थियो । तर त्यहाँ कसको पालामा धर्मशाला बनेको हो भन्ने प्रमाण भेटिँदैन । सो मन्दिरको रत्नसिंहासनमा पूजा गर्ने अधिकार नेपालका राजालाई मात्रै छ । जसले गर्दा कुनै राजाको पालामा त्यहाँ धर्मशाला बनेको हुन सक्ने अनुमान पुरातत्वका अधिकारीहरुको छ । सोही मन्दिरको रत्न सिंहासनमा पूर्वराजा ज्ञानेन्द्र शाहले २०७४ सालमा त्यहाँ विशेष पूजा गरेका थिए ।

उत्तर भारतका नेपाली सम्पदा

नेपाल र भारतका तीर्थस्थलमा आउजाउ गर्ने चलन धेरै पुरानो हो । मल्लकालमा भक्तपुरमा चारधामको प्रतिमूर्ति स्वरुप मन्दिर निर्माण हुनुले भारतको चारधाम यात्रालाई नेपालीले दिएको महत्व दर्साउँछ ।

नेपालका शासकहरुले भारतका विभिन्न ठाउँमा मन्दिर, घाट, धर्मशाला बनाउने, लालमोहर जारी गरेर सञ्चालक तोक्ने गरेको बुझिन्छ । गंगा किनारमा शिवालिक पर्वतले तीनतिरबाट घेरिएको हरिद्वारको बडा बजारस्थित भारती भवनमा सञ्चालित नेपाली धर्मशाला अहिले पनि नेपाली लालमोहरीया पण्डाहरुले चलाइरहेका छन् ।

विभागबाट उत्तर भारत खटिएको टोलीको नेतृत्वकर्ता सन्दिप खनाल हरिद्वार, ऋषिकेश, बद्रीनाथ, केदारनाथ लगायत ठाउँका सम्पदालाई बेवास्ता गर्दा ती क्षेत्रका नेपाली सम्पदा नेपालीको व्यवस्थापनबाट फुत्किन थालेको बताउँछन् ।

रानी जगदम्बा देवीले हरिद्वारमा पनि एउटा नेपाली धर्मशाला स्थापना गरेको कुरा रानी जगदम्बाको जीवनीमा आधारित महाकाव्य ‘जगदम्बा’मा उल्लेख छ । महाकाव्यमा बद्रीनाथ केदारनाथ र हरिद्वारमा रहेका धर्मशालाको जीर्णोद्धार गराएर आवश्यक व्यवस्थापनको निम्ति अनुदान समेत दिएको उल्लेख छ ।

हरिद्वारबाट २४ किलोमिटर उत्तरपूर्वी क्षेत्रमा पर्ने ऋषिकेशमा एउटा नेपाली धर्मशाला र संस्कृत पाठशाला छ । त्यो पाठशाला र धर्मशाला श्री अनन्तानन्दजी गिरी महाराजले सन् १९१८ मा नेपाली तीर्थयात्रीहरुको लागि निर्माण गरिदिएका थिए । उनी काशीका सन्त स्वामी सच्चितानन्दजी महाराजबाट दीक्षित साधु हुन् । त्यो ठाउँलाई अहिले पनि नेपाली क्षेत्र भनेर चिनिन्छ । अहिले नेपाली तीर्थयात्रीहरु जाँदा खान र बस्न पैसा लाग्दैन ।

कुर्म नारायणको नाममा मासिक ५००० सहयोग

अयोध्यामा कुर्म नारायण मन्दिर छ । अहिलेपनि नेपाल सरकारबाट मासिक ५००० रुपैयाँ नित्य पूजाको खर्च बापत पठाउने गरिएको सो मन्दिरमा नेपाल सरकारको सहयोगमा नै १० कोठाको अतिथि गृह निर्माण गरिएको छ । प्राप्त अभिलेख अनुसार बबरजंग जंगबहादुर राणाकी धर्मपत्नी रानी राजकुमारी देवीले भगवानबाट अनुग्रहित भएर मन्दिर निर्माण गरेको कुरा उल्लेख रहेको मन्दिरका मूल पूजारी स्वामी हरि प्रपन्नाचार्यले अनलाइनखबरलाई जानकारी दिए ।

केदारनाथको धर्मशालाबारे नेपाल बेखबर

त्यहाँ अहिले पनि मुक्तिनाथबाट लगेको शालिकग्रामलाई मुख्य भगवानको रुपमा पूजा गरिन्छ । रानी राजकुमारी देवीले काठमाडौंको वेंकटेस मन्दिर आफ्नी छोरीको सम्झनामा र कुर्म नारायण मन्दिर छोराको सम्झनामा निर्माण गरेको प्रपन्नाचार्यले जानकारी दिए । यो मन्दिर निर्माणका लागि मोदनाथ शर्माको नाममा लालमोहर जारी गरिएको उनले जानकारी दिए ।

भारतको उत्तराखण्डमा मन्दाकिनी नदी किनारमा छ, केदारनाथ मन्दिर । मन्दिर नजिकै रहेको नेपाली धर्मशालालाई ‘नेपाली भवन’ भन्ने चलन थियो । २०७० सालको बाढीले केदारनाथ क्षेत्रका दर्जनौं सम्पदा बगायो या क्षतिग्रस्त बनायो ।

अर्को वर्ष स्थलगत रिपोर्टिङको लागि केदारनाथ पुगेका बीबीसी हिन्दी सेवाका नितिन श्रीवास्तवले बाढीका प्रत्यक्षदर्शी दुई नेपाली भक्तबहादुर र राजबहादुरसँगको कुराकानी प्रस्तुत गरेका थिए । उनीहरुले नेपाली धर्मशाला क्षतिग्रस्त भएको बताएका थिए ।

केदारनाथमा चन्द्र शमशेरकी कान्छी रानी बालकुमारीले राखेको अभिलेख भेटिएको पुरातत्व विभागबाट गएको टोलीका प्रमुख खनाल बताउँछन् । बालकुमारीले पतिको पनि नाम जोडेर भवनको नाम ‘बालचन्द्र’ राखेकी थिइन् । पछि रानी जगदम्बा देवीले त्यहाँको धर्मशाला जीर्णोद्धार गरेको ‘जगदम्बा’ महाकाव्यमा उल्लेख छ ।

नेपाली तीर्थयात्रुहरुलाई निःशुल्क खानेबस्ने व्यवस्था मिलाइएको धर्मशाला (नेपाली भवन) मा चन्द्र शम्शेर र बालकुमारीको पूर्ण कदको तेलचित्र पनि थियो । अहिले त्यो धर्मशालाको अवस्थाबारे थाहा नभएको पुरातत्व विभागका प्रवक्ता कुँवरले बताए ।

बद्रीको धर्मशालामा २०५७ सालसम्म लगानी

ऋषिकेशबाट २५८ किलोमिटर उत्तरपूर्वीको अलकनन्दा नदी किनारमा छ बद्रीनाथ धाम । धाम नजिकै तीनवटा ब्लक भएको नेपाली धर्मशाला छ । त्यहाँ भेटिएको एउटा अभिलेखमा ‘बालचन्द्र भवन श्री ३ बडा महारानी साइबा नेपाल संवत् १९९२’ लेखिएको छ ।

यसका सञ्चालक पण्डाहरुले बालकुमारीले १९९२ मा ब्लक ‘ए’को जीर्णोद्धार गरेको पुरातत्व विभागको टोलीलाई बताएका थिए ।ब्लकहरुको पुनर्निर्माण गर्न २०४६ भदौमा नेपालमा सात सदस्यीय समिति गठन गरिएको थियो ।

जसमा श्रीधर शमशेर जबरा, नेपाली पूज्य भगवती माता, निर्माण तथा यातायात मन्त्रालयका सचिव मदनमान अमात्य र बद्रीनाथ धामकै तीनजना पण्डा थिए । २०५७ सालमा अर्को एउटा ब्लकको उद्घाटन नेपालबाट गएका प्रतिनिधिले नै गरेका थिए ।

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?