
News Summary
Generated by OK AI. Editorially reviewed.- गुरु दत्तको जन्म ९ जुलाई १९२५ मा कर्नाटकमा भएको थियो र उनले सन् १९६४ मा मृत्यु गरे।
- उनले ‘प्यासा’ जस्ता फिल्म निर्माण गरी भारतीय सिनेमा क्षेत्रमा महत्वपूर्ण योगदान दिए।
- उनको जीवन संघर्ष र मानसिक पीडाले अन्ततः उनलाई १० अक्टोबर १९६४ मा मृत्युको खोजी गराएको थियो।
भारतीय सिनेमाका आइकनिक निर्देशक तथा अभिनेता गुरु दत्तले संसार छाड्दा जम्मा ३९ वर्षका थिए । सन् १९६४ मा उनले धर्ती छाडे पनि फिल्म क्षेत्रमा दिएको योगदान अझै उस्तै छ ।
उनको जन्म ९ जुलाई १९२५ मा कर्नाटकमा भएको थियो । यसकारण यो साता उनको जन्मशताब्दी हो । सुरुमा उनले ‘प्यासा’ र ‘कागज के फूल’ जस्ता कालजयी हिन्दी चलचित्रहरू निर्माण गरेका थिए । पछि भने व्यक्तिगत, आत्मचिन्तन शैलीको चलचित्र निर्माण गरे ।
विशेषत: उनका पात्रहरू जटिल हुन्थे । कतिपय पात्रहरूले त उनकै भित्री संघर्षहरू झल्काउँथे । उनका कथाले संसारिक मोह र निराशालाई उजागर गर्थे । दर्शकलाई भावनात्मक रूपमा झस्काउथे ।
प्रारम्भिक जीवन
गुरु दत्तको बाल्यकाल आर्थिक अभाव र परिवारभित्रको तनावपूर्ण वातावरणमा बित्यो । कामको सिलसिलामा परिवार पूर्वी भारतको बंगाल पुगेपछि त्यहाँको सांस्कृतिक प्रभावले युवा दत्तलाई गहिरो रूपमा छोयो । त्यसले उनको सिने दृष्टिकोण नै बनायो ।
१९४० को दशकमा बम्बै (मुम्बई) फिल्म उद्योग प्रवेश गर्दा उनले आफ्नो थर ‘पादुकोण’ हटाइदिए । त्यसबेला उनी कोरियोग्राफरका रूपमा सिने क्षेत्रमा प्रवेश गरेका थिए । तर, गुजारा गर्न पर्याप्त रकम हुन्थेन । त्यसैले जीवनयापन गर्न टेलिफोन अपरेटरको काम पनि उनले गर्थे ।
त्यो दशकमा भारतमा स्वतन्त्रताका लागि संघर्ष भइरहेको थियो । जसको प्रत्यक्ष असर दत्तको प्रारम्भिक करियरमा पनि असर परेको थियो । त्यसैबेला उनले एउटा कलाकारको निराशामा आधारित कथा लेखेका थिए । जुन पछि उनको फिल्म ‘प्यासा’ को बुनियाद पात्र बन्न पुगेको थियो ।
उदय
त्यसैताका उनको देव आनन्दसँग भेट भएको थियो । उनैले गुरु दत्तलाई फिल्म निर्देशन गर्ने अवसर दिलाएका थिए । यसरी उनको पहिलो निर्देशनमा ‘बाजी’ (१९५१) फिल्म बन्न गयो । त्यो थ्रिलर फिल्म थियो । र, तत्कालीन समयमा हिट पनि भयो ।
त्यसपछि गुरु दत्तले गायिका गीतारायसँग विवाह गरे । अनि आफ्नै फिल्म कम्पनी पनि सुरु गरे । जसमा उनले ‘आर पार’ र ‘मिस्टर एण्ड मिसेस ५५’ जस्ता हिट रोमान्टिक कमेडी फिल्म बनाएका थिए । ती फिल्ममा आफैँ अभिनय पनि गरेका छन् ।
तर कलात्मक गहिराइ खोजिरहेका दत्तलाई त्यस्ता फिल्म पर्याप्त लागिरहेको थिएन । अनि आफ्नै शैली निर्माण गर्ने फिल्म बनाउने निर्णय गरे । जुन हो – प्यासा ।
प्यासा
‘प्यासा’मा एउटा कलाकारको भौतिकतावादी समाजसँगको संघर्ष चित्रण गरिएको छ । यो फिल्म टाइम म्यागेजिनको २०औं शताब्दीका १०० महानतम चलचित्रहरूको सूचीमा पनि परेको थियो । त्यसबेला अन्य कुनै हिन्दी फिल्म उक्त सूचीमा परेका थिएनन् ।
गुरु दत्तलाई चिन्ने धेरैले उनका लागि ‘प्यासा’ सपनाको परियोजना भएको सुनाउँछन् । भनिन्छ, यसको क्लाइमेक्स सिन १०४ पटकसम्म उनले सुट गरेका थिए ।
दृश्यहरू भने जस्तै नआउँदा उनी पूरै रिसाएका हुन्थे । बढी तनाव लिएकाले उनको निद्रा पनि हराएको थियो । निदाउनका लागि उनले रक्सीमा निद्रा लाग्ने औषधि मिसाएर पिउन थालेका थिए।
यसरी यो फिल्म बनाउन आफूलाई पूर्ण सुम्पेका थिए । अधिक तनावले हुन सक्छ फिल्म पूरा हुनै लाग्दा सन् १९५६ मा उनले आत्महत्या प्रयास गरेका थिए, जतिबेला उनी ३१ वर्षका थिए ।
मानसिक पीडा
सन् १९५७ मा रिलिज भएको ‘प्यासा’ समीक्षात्मक र व्यापारिक दुवै रूपमा सफल भयो । तर दत्त भित्रभित्रै खाली थिए ।
‘म निर्देशक तथा अभिनेता बन्न चाहन्थें । राम्रा फिल्महरू बनाउन चाहन्थें । मैले ती सबै गरेँ पनि । अहिले मसँग पैसा छ । सबै कुरा छ । तैपनि मसँग केही छैन’ उनले नजिकका साथीहरूलाई यस्तो भन्थे ।
तत्कालीन समयमा मानसिक रोगलाई सामाजिक कलंको रूपमा हेर्ने गरिन्थ्यो । त्यसैले परिवारले पनि उनलाई कुनै मानसिक स्वास्थ्य विशेषज्ञ कहाँ लगेनन् । उनी भित्रभित्रै गल्दै गइरहेका थिए ।
अन्तिम प्रयास
‘कागज के फूल’ उनको निर्देशनमा बनेको अन्तिम फिल्म हो । यसमा उनले आफ्नो आधा कथा देखाएका छन् भनौं । किनकि, फिल्मको कथामा एउटा फिल्म निर्देशकको असफल विवाह र एकांकीपन देखाइएको छ ।
यो उनको सबैभन्दा महँगो फिल्म थियो । तर बक्स अफिसमा फिल्मले राम्रो गर्न सकेन । सो कुराले दत्तलाई गहिरो चोट पुर्यायो । यतिसम्म कि उनले निर्देशन गर्नै छाडिदिए ।
त्यसको केही भएपछि उनी ‘चौदहवी का चाँद’ का निर्माता बने । यो फिल्म उनको करियरकै सफल फिल्म बन्यो । यस फिल्मपछि ‘साहिब बीबी और गुलाम’ पनि उनले निर्माण गरे । जुन उनका विश्वासपात्र लेखक अब्रार अल्बीले निर्देशन गरेका थिए । तर यसबेलासम्म गुरु दत्तको व्यक्तिगत जीवन झनै तनावपूर्ण बनिसकेको थियो ।
‘म पागल भएँ जस्तो लाग्छ,’ उनले परिवार र साथीहरूलाई भन्थे ।
त्यसै समयतिर उनले फेरि आत्महत्या प्रयास गरे । यस पटक तीन दिनसम्म उनी अचेत भएका थिए । होस फर्केपछि डाक्टरको सल्लाहमा उनलाई मनोचिकित्सकसँग देखाइएको थियो । तर, त्यो क्रम एक पटक भन्दा भएन ।
अन्तिम अध्याय
जसोतसो ‘साहिब बीबी और गुलाम’ को सुटिङ सक्कियो । रिलिज भयो । फिल्म सफल पनि भयो । यो फिल्म १९६३ को बर्लिन फिल्म फेस्टिभलमा पनि छनौट भयो । तर सबै राम्रो भइरहेको अवस्थामा १० अक्टोबर १९६४ का दिन गुरु दत्त मृत अवस्थामा फेला परे । भारतीय अभिनेत्री वाहिदा रहमानले १९६७ को जर्नल अफ फिल्म इन्डस्ट्रीमा गुरु दत्तबारे लेखेकी छिन्, ‘उनी सधैं मृत्युको कामना गर्थे । खोज्थे । अन्ततः उनले त्यो पाए ।’
उत्तरार्द्ध
‘प्यासा’ को पात्रजस्तै गुरु दत्तलाई मृत्युपछि मात्र सफलता प्राप्त भयो । भारतीय फिल्ममेकरहरू आज पनि भन्ने गर्छन्, ‘यदि उनी बाँचेका भए सायद भारतीय सिनेमा अझै गहिरो, आत्मीय र कलात्मक हुन्थ्यो ।
जे भए पनि उनको जीवन संघर्षले हामीलाई प्रतिभाभित्र पनि पीडा लुकेको हुन सक्ने कुराको सतर्कता गराउँछ । जसलाई हामीले समयमै बुझ्न र सम्बोधन गर्न अत्यन्तै जरुरी छ ।
प्रतिक्रिया 4