+
+

एनआरएनएको कार्यकाल अवधि थप्ने निर्णयबारे पनि विवाद

वसन्त रानाभाट वसन्त रानाभाट
२०७८ असोज ३१ गते १९:१९

बार्सिलोना । आइतबारबाट कार्यकाल सकिँदै गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो कार्यकालको अवधि ६ महिना लम्वाउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्ले शनिबार सम्पन्न बैठकले स्थगित गरिएको अधिवेशनलाई यथाशिघ्र सम्पन्न गर्ने भन्दै कार्यकाल अवधि थप गर्ने निर्णय गरेको हो ।

तर अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले भने यसबारे बैठकमा कुनै निर्णय नभएको बताएको छ । संस्थापन पक्ष र कुल आचार्य पक्षबीच अवधि थपबारे विमति देखिए पनि नोभेम्बर ३० भित्र निर्वाचन गर्न एकमत देखिएको संकेत गरेका छन् ।

‘अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आवश्यक देखेमा तोकिएको अन्तर्राष्ट्रिय महाधिवेशनको मितिलाई पछि सार्न वा स्थगित गर्न सक्ने छ । तर यो अवधि ६ महीनाभन्दा बढी हुने छैन,’ संघको विधानको धारा १३ को उपधारा २ मा उल्लेख छ ।

संघका प्रवक्ता डीबी क्षेत्रीले विधानको यही व्यवस्था अनुसार आईसीसी बैठकबाट ६ महिना कार्यकाल अवधि थप गर्ने निर्णय भएको बताए । प्रवक्ता क्षेत्रीले अनलाइनखबरसँग भने, ‘एकपटक मात्रै बढाउन पाउने हुँदा हामीले विधान अनुसार नै अवधि थप गर्ने निर्णय गरेका छौं ।’

उनले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयलाई विभिन्न पक्षसँग छलफल गरेर यथाशिघ्र चुनाव गर्न आईसीसी बैठकले निर्देशन दिएको बताए । ‘अध्यक्षले ३० नोभेम्बरसम्म चुनाव गर्ने प्रस्ताव राख्नुभएको थियो ।  मिति तोक्नेमा मिश्रित कुराहरु आएपनि यथाशिघ्र निर्वाचन सम्पन्न गर्ने निर्णय भएको छ,’ प्रवक्ता क्षेत्रीले भने ।

उनले छिट्टै विवाद मिलाउन सम्बन्धित पक्षसँग वार्ता गरिने बताए । ‘विवाद मिलाउनको लागि संरक्षक परिषद लगायत सबैलाई मान्य हुने गरी एक समिति बनाएर विवाद टुंगाउन पहल गर्ने निर्णय भएको छ,’ उनले भने ।

कार्यकाल थप गर्ने बताइए पनि संघले यो समाचार तयार गर्दासम्म बैठकका निर्णयबारे विज्ञप्ति प्रकाशित गरेको छैन ।

महिना कार्यकाल थप गर्ने निर्णय भएको छैन : उपाध्यक्ष केसी

 कुल आचार्य पक्ष निकटका संघका उपाध्यक्ष मन केसीले कार्यकाल अवधि  थप्नेबारे बैठकले निर्णय नगरेको बताए । ‘६ महिना अवधि थप्ने कुरामा म आँफै पनि सहमत छैन । अध्यक्षले अन्त्यमा ल गरौं भनेर प्रस्ताव लानुभयो, तर निर्णय भएको होइन,’ उपाध्यक्ष केसीले अनलाइनखबरलाई भने ।

आगामी  ३० नोभेम्बरभित्र निर्वाचन गर्न पूर्ण बहुमतले निर्णय भएको दाबी गर्दै उनले भने, ‘संरक्षक परिषद, अध्यक्ष र चुनावमा नजाने पदाधिकारीसहित एक समिति बनाएर निकास निकाल्नेबारे सर्वसम्मत निर्णय भएको छ ।’

आँफूले यसअघि पदाधिकारीको बैठकमा पनि ६ महिना अवधि थप नगर्ने मत राखेको उपाध्यक्ष केसीले सुनाए । ‘६ महिना म्याद नथप्दा राम्रो त्यसलाई प्रमोट गर्दा झनै डेन्जर हुन्छ । समय छ नि भन्ने हुन्छ र अन्त्यमा निकास निस्कदैन,’ उनले भने ।

यदि नोभेम्बर ३० भित्र पनि चुनाव भएन भने के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘त्यतिबेला संरक्षक परिषद एक्टिभ हुन्छ । यो विधानले नै परिकल्पना गरेको कुरा हो । सम्पूर्ण एनसीसीहरुको भेला बोलाउनु पर्छ र  समाधान खोज्नु पर्छ ।’

उनले नेतृत्वलाई सके आँफैले गर्न र नसके अरुलाई बाटो छोड्न समेत अनुरोध गरे । ‘अहिले इमान्दर प्रतिबद्वताको खाँचो छ । यति भए एक-दुई हप्तामा नै सुल्झाउन सकिने समस्याहरु छन् । तर  नक्कली प्रतिबद्वताले विवाद समाधान हुँदैन, ’ उपाध्यक्ष केसीले थपे ।

लेखकको बारेमा
वसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?