+
+

‘हामी शिक्षकहरू सिकाउँदैनौं, सुनाउँछौं’

प्रा.डा.बालचन्द्र लुईंटेल, शिक्षाविद् प्रा.डा.बालचन्द्र लुईंटेल, शिक्षाविद्
२०७८ कात्तिक १ गते २०:००

हाम्रो पठन संस्कृति सुनाउने प्रकृतिको छ । पढाउनु भनेकै पाठ्यक्रमको कुरा विद्यार्थीलाई सुनाउनु हो भन्ने बुझाइ छ । दरबार हाइस्कूल स्थापनापछि सुनाउने शिक्षा प्रणाली विकास भयो । यसैलाई आधुनिक शिक्षा भनियो । त्यही पठन संस्कृतिले निरन्तरता पाउँदै आएको छ ।

कोभिड महामारीपछि पनि त्यही प्रणाली कायम छ । विद्यार्थीलाई पाठ्यक्रमको कुरा सुनाएर शैक्षिक सत्र सक्ने गरेको पाइन्छ । पाठ्यक्रम सुनाएर सक्ने चिन्तामा भौतिक रूपमै विद्यालय सञ्चालन हुन थालेको छ । तर कुनै शैक्षित्रक सत्रमा विद्यार्थी कति सिके भन्नेमा ध्यान गएको देखिदैन ।

त्यसैले पठन प्रणाली परिवर्तन गर्न जरुरी छ । विद्यालय र शिक्षक सिर्जनात्मक हुन आवश्यक छ । विद्यार्थीलाई सुनाउने संस्कृतिबाट माथि उठ्नुपर्छ । शिक्षा प्रणालीको तौरतरिका, पढाई, लेखाई परिवर्तन हुन जरुरी छ । सुनाउने कुरा कम गर्दै सुनेको कुरा छलफल गरिनुपर्छ ।

कोर्सले दिने सूचना कसरी ‘प्रोसेसिङ’  गर्ने भन्ने सिकाउने हुनुपर्छ, पाठ्यक्रम । यसो गर्दा तीन घन्टे जाँचको उपादेयता घट्दै जान्छ । तीन घन्टे परीक्षाबाट हामीले खोज्ने भनेको सूचना हो । तीन घन्टे परीक्षा आवश्यक छैन, परीक्षालाई रचनात्मक बनाउनुपर्छ ।

हामी शिक्षकले विद्यार्थीलाई सुनाउने होइन, छलफल गर्ने र छलफल गरेर सिर्जना गर्ने बनाउनुपर्छ । जस्तो– कुनै स्थानमा धेरै बाढीपहिरो जान्छ भने किन जान्छ ? कुन र कस्तो स्थानमा जान्छ ? यसको जवाफ पाउनेगरी पढाउनुपर्छ ।

वनजंगल माँसिदैछ, पानीको मुल सुक्दैछ भने यसबारे बुझाउनुपर्छ । यो समस्या स्थानीय होइन, विश्वव्यापी संकट हो भनेर कक्षागत रुपमा छलफल गरिनुपर्छ । मुद्दा केन्द्रीत सिकाई भयो भने बच्चाहरुलाई चासो पनि लाग्छ । थप सूचना आफै खोज्न थाल्छन् । उनीहरुलाई पाएको सूचना संश्लेषण र विश्लेषण गर्न सूचनाको आधारमा ज्ञान निर्माण गर्न शिक्षकको पहल हुनुपर्छ ।

टाढाको कुरा सिक्नुलाई हामीले शिक्षा भन्यौ । वरपरको तथ्यबाट जोड्दै लाने कुरालाई शिक्षा भनेनौं । यस्तो बुझाइ निर्माणमा दरबार हाइस्कूलको विचारधारा सहयोगी बन्यो । दरबार हाइस्कूलले विदेशीको शिक्षा (अंग्रेजी) लाई नै आधुनिक शिक्षा भन्ने दृष्टिकोण बनायो । हामीले पत्तै पाएनौं ।

अर्थात्, १३० बढी भाषा भएको नेपालमा अंग्रेजी मात्रै स्थापित हुने जोखिम बढ्दै गइरहेको छ । अंग्रेजी भाषाप्रति नेपाली समाजको दृष्टिकोण थाहै नपाई बनेको हो । यसरी थाहै नपाई बनेको दृष्टिकोण सबैभन्दा घातक हुन्छ । थाहा पाएर बन्ने दृष्टिकोण सच्याउँदै लगिन्छ । तर थाहै नपाई बनेको दृष्टिकोण सच्याउने मौका मिल्दैन ।

त्यसैले अबको पाठ्यक्रम सुनाउने भन्दा पनि ज्ञान निर्माण गर्ने प्रकृतिको हुनुपर्छ । अहिलेको पाठ्यक्रम धेरै सुधारिएको छ, तर पाठ्यक्रम सुधारिएको हेक्का तलसम्म पुगेको छैन ।

महामारीले परिवर्तन

कोभिड महामारीले शिक्षण प्रणालीमा केही परिवर्तन ल्याएको छ । शिक्षकहरुलाई पनि खोजी गर्ने बनाएको छ । पठनपाठन अनलाइनमा गएपछि अनलाइनका साधन खोज्ने, तालिमहरूमा स्वतः सहभागी हुने, पढाउन नयाँ शैली अपनाउने गरेको पाइयो ।

बालबालिकाहरुले पनि सिकेका छन् । किनभने, सिकाई प्राकृतिक प्रकृया पनि हो । तर, उनीहरुले सिकेका कुरा अध्ययन र अभिलेखीकरण गर्ने गरिएन । बालबालिकाले उमेर, वातावरण र दक्षताअनुसार विभिन्न प्रकारको सिकिरहेका हुन्छन् । तर, त्यो सिकाईलाई हामीले कसरी मूल्यांकनमा ल्याउने भन्ने कुरा हो ।
एउटा संरचित मूल्यांकनले त्यो गर्न सक्दैन । कसले कति सिकेछ भन्ने कुरा चैं विद्यालय, शिक्षकले अध्ययन गरेर अभिलेखीकरण गर्नुपर्छ । यो नहुनु शिक्षक र विद्यालयको मात्रै गल्ती होइन । महामारी शुरु भएको लामो समय शिक्षा मन्त्रालयले साह्रै सुस्त गतिमा काम गर्‍यो ।

अर्कातिर राजनीतिक व्यवस्था छिटो छिटो परिवर्तन भए । त्यहीअनुसार, आवाज उठे । समावेसी सहभागिताको बहस भए ।तर, त्यसले हाम्रो शिक्षा प्रणालीमा केही प्रभाव नै परेन । पढाईलेखाईको तौर–तरिका उस्तै रहिरह्यो । त्यसको कारण के हो भने संरचना (शिक्षा मन्त्रालय)ले नै सोंचिदिएन । शिक्षा मन्त्रालयले जसरी सोच्नुपर्ने हो, त्यो हुन सकेन । एकदम ढिलोगरी परिवर्तनको बाटोमा छ ।

प्रविधि भनेको मोबाइल, ल्यापटप, अनलाइन मात्रै भन्ने हिसाबले अगाडि बढियो । हामीले मानेको प्रविधिमा विद्यार्थीको पहुँच कम भयो । अहिले १७ देखि २० प्रतिशत विद्यार्थी मात्रै अनलाइनको पहुँचमा रहेको सुनिन्छ ।

तर प्रविधि भनेको हामीले गर्ने काम सजिलोसँग गर्ने साधन, तरिका र विधि हो । त्यो आधुनिक प्रविधि हुन् वा परम्परागत प्रविधि (ढिकी, जाँतो, हलो लगायत) । त्यस्ता कुरा बुझाउन अनलाइन सहयोगी बन्न सक्ने माध्यम हो ।

(अनलाइनखबरकर्मी नुनुता राईले गरेको कुराकानीको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?