+
+

पोखरामा सुपरम्यान जिपलाइन शुरू, विश्वकै भिरालो दाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते १५:३४

२ कात्तिक, पोखरा । कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेस बाँध्यो । फलामको लठ्ठामा जमिनतिर फर्किएर झुण्डियो । चराले झैं पखेंटा फिँजाउँदै हावाको बेगमा मिनेटमै उपल्लो डाँडाबाट तटमा आइपुग्यो । साहसिक खेल मन पराउनेले पोखरामा यसरी नै हावामा वेग मार्न थालेका छन् ।

सराङकोटबाट आखैंअघि हिमाल, जंगल, बस्ती, खोलाको दृश्यावलोकन गर्दै हेमजासम्म सुपरम्यम जिपफ्लाइङ शुरू भएको छ । हाइग्राउण्ड एडभेन्चर प्रालिले एक दशकदेखि पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यम जिपफ्लाइङ खेलको शुरूवात गरेको हो ।

हाइग्राउण्ड एडभेन्चर जिप लाइनमा बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड ’जिप फ्लायर’को फ्रेन्चाइज हो । सराङकोटको डाँडादेखि हेमजासम्म सन् २०१० मा नेपालमै पहिलोपटक जिपलाइनको शुरूवात भएको थियो । एक दशकपछि त्यहीँ अब सुपरम्यान जिपलाइनको पनि पर्यटकले मजा लिन पाएका हुन् ।

सराङकोट समुन्द्री सतहदेखि १ हजार ५ सय ५० मिटरको उचाइमा सराङकोटको जिप लाइनको टप स्टेसन छ । त्यसको बटम स्टेसन हेम्जासम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर उचाइ छ ।

बिश्वकै लामो मध्येको उक्त जिपलाइनको १ हजार ८ सय ५० मिटर दुरी सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय ४० किमि प्रतिघण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्ने कम्पनीको दाबी छ ।

यति धेरै भिरालो भएको जिपलाइन बिश्वमै अरु नभएकोले गिनिज बुक अफ वल्ड रेकर्डमा ‘बिश्वकै भिरालो जिपलाइन’का रुपमा दर्ता गर्न आवेदन दिएको कम्पनीका चिफ अपरेटिङ अफिसर दिनेश महर्जनले बताए ।

‘यहाँजत्ति छिटो, ठाडो र लामो दूरी विश्वका अन्य ठाउँमा छैन,’ महर्जनको दाबी छ, ‘पहिले ९० सेकेन्डमा जिपलाइन हुन्थ्यो । अब ५० सेकेन्डजतिमा तल पुग्न सकिन्छ । विश्कै सबैभन्दा तिब्रगतिको सुपरम्यान जिपलाइन अब हामीसँग छ । यसले हामीलाई उत्साही बनाएको छ ।’

पोखरादेखि नागबेली बाटो हुँदै ४५ मिनेटमा सडक यात्रापछि सराङकोट टपस्टेसन पुग्न सकिन्छ । फेवाताल नियाल्दै सराङकोटको पुग्ने पर्यटकले उत्तरतिर फर्किँदा अन्नपूर्ण हिमशृंखलाको आनन्द लिने छ ।

३५ देखि १२० किलोसम्मका ब्यक्तिले जिपलाइनमा १२ वर्षदेखि माथिकाले मजा लिन सक्ने महर्जनले बताए । अहिलेसम्म ९४ वर्षीया बेलायतकी नागरिक जुन स्कट जिपलाइन गर्ने सबैभन्दा बढी उमेरकी नागरिक भएको महर्जनको भनाइ छ ।

जिपलाइन रोमाञ्चक र सुरक्षित रहेको कम्पनीको दाबी छ । ‘हरेक दिन सबै उपकरणको सेफ्टी इन्सपेक्सन हुन्छ र हरेक महिना मर्मतको काम हुन्छ । हरेक वर्ष जिप फ्लायर अमेरिकाका प्राबिधिकले सिफ्टी अडिट हुँदै आएको छ,’ महर्जनले भने ।

नेपालीले ६ हजार ५ सय र विदेशीले ८ हजार ५ सय शुल्क तिरेर सुपरम्यान जिपलाइनको मजा लिइरहेका छन् । फोटो भिडियो र टिसर्ट प्याकेजको अतिरिक्त १ हजार ५ सय लाग्छ ।

जिपलाइनकै ग्राउन्ड स्टेसन हेम्जामा क्यान्टिलिभर ब्रीजको मोडलमा बनाइएको टावरमा बन्जी गर्ने सुविधासमेत छ । ‘यो नेपालकै पहिलो टावर बन्जी पनि हो । जोडिले सँगै आंगालो मारेर बन्जी गर्ने टेन्डम बन्जी पनि नेपालमा हामिले नै शुरू गर्यौं जुन अहिले निकै आकर्षणको केन्द्र रहेको छ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?